दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला सकिएको छ । गत बुधबारदेखि सुरु भएको मेलाको ५ दिनमा ९२ हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।
इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भएको मेलाले एकै छानामुनी सेवाग्राहीलाई सस्तो मूल्यमा गुणस्तरीय सामान किन्ने अवसर प्रदान गरेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यस किसिमका मेलाहरुलाई चेम्रले प्रवद्र्धन गर्दै लैजाने उनको भनाइ छ ।
असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा तथा शनिबार २ दिन विदा परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिती भएको इभेण्ट सोलुसन प्रलिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
इभेण्ट सोलुसनले पछिल्लो ३ वर्षदेखि नियमित रुपमा स्टक क्लियरेन्स मेला आयोजना गर्दै आईरहेको छ । चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो ।
‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ सञ्चालन गरिएको मेलाबाट उपभोक्ता र व्यवसायी दुवै लाभान्वित भएको इभेण्ट सोलुसनका बजार निर्देशक नविन भट्टले बताए ।
मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको शोरुममा अवलोकनकर्ता तथा ग्रागहकको विशेष चाप देखिएको थियो ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको थियो ।