दसैं नजिकिँदै छ। लुगाफाटा, जुत्ता, भाँडाकुँडादेखि घरायसी सामान किन्ने मन धेरैलाई होला। तर यी सबै कुरा नयाँ किन्न कतिको घर-बजेटले नधान्ला।
यस्तै समस्यामा परेकाका लागि उपयुक्त विकल्प बनेको छ 'सुखावती'।
सुखावती प्रतिष्ठानले विगत आठ वर्षदेखि सेकेन्ड ह्यान्ड लुगाफाटा, जुत्ता, भाँडाकुँडा, घरायसी सामान लगायत बेच्दै आएको छ। एकपटक प्रयोग भइसकेका सामान सुखावतीले धोइपखाली, मर्मतसम्भार गरी चिटिक्क पारेर बेच्छ। र, यी सामानको मूल्य बजारभाउ भन्दा निकै कम हुन्छ।
कति कम भन्नुहोला?
लुगाफाटा किन्न हो भने दस रूपैयाँदेखि नै पाइन्छ। जुत्ता र भाँडाकुँडाको भने अवस्थाअनुसार तोकिएको छ। बच्चादेखि पाका उमेरसम्मकालाई हुने लुगाफाटा यहाँ पाइन्छ।
सुखावतीका सञ्चालक चिजमान गुरूङ यसलाई 'सेकेन्ड लाइफ' सामान पाइने पसल भनेर चिनाउँछन्।
सुरूमा आर्थिक क्षमता धेरै कमजोर भएका वर्गको मात्र रोजाइमा पर्ने सुखावतीका ग्राहक अहिले फेरिइसकेका छन्। चिजमानका अनुसार अहिले सामान किन्न विदेशीहरू समेत आउँछन्।
'धेरै मानिसको सोच बदलिएको छ,' उनले भने, 'आफूलाई नचाहिने सामान दिन्छन्, चाहिने सामान लैजान्छन्।'
सुखावती प्रतिष्ठानका उपाध्यक्ष चिजमान गुरूङ![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/sunita%20sitaula/sukhawati%20(5).jpg)
यसको मुख्य कार्यालय वनस्थलीमा छ। पुराना सामान पुनः प्रयोगको अवधारणा थप प्रचारप्रसारका लागि नेपालटार र झम्सिखेलमा पनि पसल खोलेको उनले बताए।
पसलअनुसार सामानको गुणस्तर र मूल्य फरक छ। त्यहीअनुसार ग्राहक पनि फरक छन्।
वनस्थली र नेपालटारमा सस्ता सामान राखिएको छ। झम्सिखेल पर्यटकीय क्षेत्र भएकाले अलि महँगा र ब्रान्डेड सामान पाइन्छ। झम्सिखेलमा नेपालीसँगै विदेशीहरू पनि आउँछन्। यहाँ तीन सयदेखि नौ हजार रूपैयाँसम्मको सामान पाइन्छ।
'सामानमा ब्रान्डको नाम, त्यसको बजारमूल्य र हालको मूल्य राखिएको हुन्छ,' चिजमानले भने।
सुखावतीका सामान यसको फेसबुक र इन्स्टाग्राममार्फत पनि किन्न सकिन्छ।
यसले पुनः प्रयोग गर्न मिल्ने सामान दाताहरूबाट दान स्वरूप निःशुल्क लिन्छ। त्यसको बिक्रीबाट आएको आम्दानी सामाजिक कार्यमा खर्चिन्छ।
सुरूमा सुखावतीका सञ्चालक सदस्यहरू आफैं बाटो बसेर लुगा बेच्थे। अहिले १४ जनालाई रोजगारी दिएको छ। त्यसमध्ये चार जना फरक क्षमताका भएको चिजमानले बताए।
'झम्सिखेलको पसलमा उहाँहरूलाई काम गर्न सहज छ। नेपालटार र वनस्थलीमा भने फरक क्षमता भएकालाई ग्राहकको सोधीखोजी बढी हुन्छ,' उनले भने, 'हामी सक्दो बुझाउने प्रयास गर्छौं।'
त्यस्तै सुखावतीलाई दिगो रूपमा सञ्चालन गर्ने उद्देश्यले नयाँ शैलीमा काम गरिरहेको उनले बताए। दाताहरूबाट आएका कति लत्ताकपडा लगाउन नमिल्ने हुन्छन्। यस्ता लुगाफाटा व्यवस्थापन मुस्किल हुन्थ्यो। अहिले भने तिनै कपडाबाट झोला, भान्सामा प्रयोग हुने टालो लगायत सामान बनाइन्छ।
'संकलन भएका ४० प्रतिशत सामान काम नलाग्ने हुन्छन्। फाल्न पनि कहाँ फाल्नु! त्यसैले हामीले त्यसबाट बनाउन मिल्ने जति सामान बनाउन थालेका हौं,' उनले भने।
![sukhawati-(2)-1696703255.jpg](https://img.setoparty.com/uploads/posts/sukhawati-(2)-1696703255.jpg?timestamp=1696703268835)
![sukhawati-(1)-1696703255.jpg](https://img.setoparty.com/uploads/posts/sukhawati-(1)-1696703255.jpg?timestamp=1696703268835)
यसका लागि सुखावतीको वनस्थली कार्यालयमा दुइटा मेसिन राखिएका छन्। त्यहाँ कर्मचारीले पुनः प्रयोग गर्न नमिल्ने कपडाबाट झोला, पर्स, समाउने टालो लगायत सामान बनाउँछन्। त्यस्तै गोलढुंगाको अपांग सेवा केन्द्रमा पनि दुइटा मेसिन दिएको छ। त्यहाँका सदस्यहरूले पनि यस्तै सामान बनाउँछन्। सुखावतीले उनीहरूलाई गोटाको हिसाबले ज्याला दिन्छ।
अहिले सुखावतीका तीनवटै पसलबाट दैनिक १५ देखि १७ हजार रूपैयाँको व्यापार भइरहेको चिजमान बताउँछन्। यो रकमले सञ्चालन खर्च धान्न भने कठिन भएको उनले बताए।
हाल सुखावतीमा मध्यम वर्गीय दाताबाट उनीहरूलाई साँघुरो भएका लुगाकपडा धेरै आइरहेको छ। त्यसैले सामान संकलनका लागि स्कुल र वडाहरूमा प्रचारात्मक कार्यक्रम गरिरहेको उनले बताए। सुखावतीको लक्ष्य फेरीफेरी धेरै लुगा लगाउने दाताहरूसम्म पुग्ने हो।
'विदेशबाट उपहार आएका, महँगा लुगा वर्षौंसम्म नलगाएर थन्काएर राख्ने जमात हामीकहाँ धेरै छ,' उनले भने, 'ती दातासम्म पुग्ने हाम्रो उद्देश्य हो।'
हामीकहाँ ठिक्क नभएका, मननपरेका वा विदेश गएका छोराछोरीका लुगा ठाउँ नभए पनि खाट वा भर्याङ मुनितिर कोचेर राख्ने चलन छ। यस्ता लुगा साँचेर मात्र राख्नुपरेको छ भने आफूहरूलाई दिन पनि उनी आग्रह गर्छन्। त्यसलाई अरू कसैले लगाएर आफ्नो आवश्यकता पूरा गर्न सक्छन्।
सुखावतीलाई सामान दिन पसलै गए हुन्छ। पायक नपर्नेले फोन गरेर जानकारी दिए सुखावतीका सदस्यहरू दातासम्म पुग्छन् पनि। यसबाहेक काठमाडौं उपत्यकाका ६ ठाउँमा सुखावतीले 'ड्रप–बक्स' राखेको छ। ती बाकसमा हालिदिए पनि हुन्छ।
यस्ता ड्रप-बक्स हाल भैंसेपाटी, नख्खिपोट, हात्तीवन हाउजिङ, नारायणथान, नेपालटार र वनस्थलीमा रहेका साथीमार्टका अगाडि राखिएको छ।
'सहयोग गर्न चाहने तर समय नभएकालाई मध्यनजर गरेर ड्रप–बक्स राखेका हौं,' चिजमानले भने।
ड्रप–बक्स भरिएपछि सुखावतीले सामान संकलन गर्छ। यी बाकस आइज्याक नामक संस्थाको सहयोगमा बनाइएको हो। अरू ठाउँमा पनि बाकस थप्दै जाने योजना छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/sunita%20sitaula/sukhawati%20(2).JPG)
चिजमानले सुखावतीको अवधारणा कोरिया बस्दा सोचेका हुन्। उनी वैदेशिक रोजगार निम्ति सन् १९९३ मा कोरिया पुगेका थिए। साढे छ वर्ष बसेपछि सन् २००२ मा नेपाल फर्किए। त्यो अवधिमा उनले त्यहाँ कोरियन खाना बनाउन सिके। फर्केर पोखरा लेकसाइडमा कोरियन रेस्टुरेन्ट खोले। यो रेस्टुरेन्ट अहिले पनि चलिरहेको छ। नक्सालको हाङकुक साराङ रेस्टुरेन्टमा पनि उनको लगानी छ। ठमेलमा पनि यसको शाखा छ।
उनले कोरियाली महिलासँगै बिहे गरे। सन् २००७ मा उनी फेरि कोरिया गए। एकदिन काम गर्न त्यहाँको 'ब्युटीफुल' स्टोरमा पुगे। त्यहाँ एकपटक प्रयोग भइसकेका सामान बेचिन्थ्यो।
'मैले त्यहाँ साढे दुई वर्ष काम गरेँ। कोरियामा यस्ता पसल धेरै छन्। ती एकदम राम्रो चलेको देखेँ,' उनले सुनाए, 'विकसित देशमा त पुराना कपडा बेचेर आवश्यक पर्नेलाई सहयोग गरिन्छ भने नेपालमा किन सकिँदैन भन्ने लाग्यो।'
नेपाल फर्केपछि उनले त्यही अवधारणामा काम गर्ने सोचे। सेवामूलक काम भएकाले उनलाई सहयोग चाहिन्थ्यो। केही गैरसरकारी संस्थाहरूकहाँ पुगेर योजना सुनाए।
सबैले 'राम्रो छ, गर' भनेपछि उनी हौसिए। दुई वर्षको अथक प्रयासपछि सन् २०१४ मा सुखावती स्टोर स्थापना भयो।
सामान बटुल्न सुरूमा आफ्ना संस्थाका साथीहरूलाई नै भने। विदेशमा सिकेकाले सामान छान्न र मूल्य राख्न उनलाई सहज भयो।
'सामान त छानियो, मूल्य पनि राखियो तर कहाँ लगेर बेच्ने? त्यतिखेर मैले केही सोच्न सकिनँ,' उनले भने, 'हाम्रो कुनै पसल थिएन। त्यसैले बसुन्धराका बाटोमा राखेर बेच्न थाल्यौं। राम्रै चल्यो।'
ग्राहकको चित्त बुझाउन भने सहज थिएन। दस–बीस रूपैयाँमा कहाँबाट–कस्ता कपडा ल्याएको भन्दै शंका गर्थे।
'यस्तो सोध्ने मान्छे हुन्छन् भनेरै म आफैं खटिन्थेँ। उनीहरूको जिज्ञासालाई चित्तबुझ्दो जवाफ दिनुपर्यो नि,' चिजमानले भने।
हामीकहाँ पुराना लुगा अरूलाई दिने चलन छ। दाइको भाइले, दिदीको बहिनीले लाउने वा सहरमा भएकाले गाउँमा लगिदिन्छन्। तर अचेल यो छैन। फेसन र गाउँको आयस्रोत बढ्दै जाँदा नयैं लाउन खोज्ने हुन्छन्। यसो वरपर कसैलाई दिने सोचे पनि हेपेको भन्ठान्ने डर। लाउनेलाई पनि अरूले दिएको लाएँ भन्ने अनुभूति।
'यसरी व्यावसायिक रूपमै काम गर्दा मैले मागेर लाएको होइन, किनेर लाएको हो भन्ने महसुस हुँदो रहेछ,' उनले भने।
बिस्तारै मान्छेको भ्रम चिरियो। मान्छेले आफैं सामान दान दिन थाले। चिजमान आफू पनि सामान संकलन गर्न दौडधुप गरिरहन्थे। कपडा धेरै आउन थालेपछि बाटोमा राख्न समस्या भयो। म्हैपीमा एउटा सटर भाडा लिएर सामान त्यहीँ राखे। सटरमा पसल राखेपछि झन् धेरै कपडा आउन थाल्यो। ठाउँ अपुग भयो।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/sunita%20sitaula/sukhawati%20(3).jpg)
ठूलो सटर खोज्ने तयारी थियो, भुइँचालो आइदियो। सुखावतीले आफूसँग भएका लुगाफाटा सहयोग स्वरूप भूकम्पपीडितलाई दियो।
उनले काम गर्दा सहयोग मात्र होइन, गाली पनि खेपेका छन्। तर काम गर्न त्यस्ता सबै नकारात्मक टिप्पणी पन्छाउनुपर्ने चिजमान बताउँछन्।
'अर्काको कपडा ल्याएर बेची खाने भनेर सामाजिक सञ्जालमा लेखेको देख्छु। त्यहीँ फेरि राम्रो काम प्रशंसा पनि आउँछ,' उनले भने, 'पहिलेभन्दा अहिले धेरैले बुझिसकेका छन्। हामी अझै बुझाउने प्रयास गर्दैछौं।'
कुनै संस्थाले लुगाकपडा चाहियो भनेर सिफारिस गरे सुखावतीले सित्तैमा पनि दिन्छ। यसबाहेक साना व्यवसाय गर्नेलाई पुँजी लगानी समेत गरिदिने गरेको उनले बताए।
'ठूलो त सक्दैनौं। पानीपुरी, चटपटे, मकै पोल्ने लगायत व्यवसाय गर्न सानो पुँजी लगानी गरिदिन्छौं,' उनले भने।
रानीवनको मानव सेवा आश्रममा सुखावतीले आफैं तलब दिएर नर्स उपलब्ध गराइदिएको छ। त्यस्तै चेपाङहरूले उत्पादन गरेको अकबरे खुर्सानी पनि बेच्न थालेको छ।
पछिल्लो समय सुखावतीजस्तै पुराना सामान बेच्नेहरू बढेका छन्। यसमा चिजमान खुसी व्यक्त गर्छन्।
भन्छन्, 'पहिले पुराना लुगा बेच्ने हामी मात्रै थियौं। अहिले धेरै आए, खुसी लाग्छ। अब पुराना लुगा किनेर लगाउन हुन्छ भनेर बुझाउने हामी मात्रै छैनौं!'