घोराही उपमहानगरपालिक–१५ को गैरागाउँ हुँदै धारापानी मन्दिर जाँदा गैरागाउँमै चिटिक्क परेको एउटा होटल देखिन्छ। यो हो २९ वर्षीय जनक कुमाल र उनकी २८ वर्षीया श्रीमती कल्पनाले चलाएको ‘रैथाने खाजा घर’।
भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट करिब एक किलोमिटर र घोराही बजारबाट करिब दुई किलोमिटर दूरीमा छ यो खाजा घर। धारापानी मन्दिरमा विश्वकै अग्लो भनिएको त्रिशूल स्थापना गरिएको छ। कल्पना किचनमा पाहुनाको अर्डरअनुसार रैथाने खाजा र खाना बनाउन तल्लीन रहन्छिन्। उनका साथमा हुन्छन् हेड कुक।
जनक पाहुनालाई सेवा दिन्छन्। उनी किचनमा पसेर कल्पनालाई काम पनि सघाउँछन्। हाँसको छोइला, लोकल माछाका र लोकल कुखुराका परिकार बनाउन जनक पनि अघि सर्छन्।
![khana-raithane-1699415485-ink-1699418655.jpeg](https://img.setoparty.com/uploads/posts/khana-raithane-1699415485-ink-1699418655.jpeg?timestamp=1699418683165)
जनकले स्नातक तहको पढाइ पूरा गरेका छन्, कल्पना हाल स्नातक तहमा पढ्दै छिन्।
आफन्त, साथी र चिनजानका मानिस आउँछन्; रैथाने खाजा खान्छन् र कुमाल दम्पतीलाई हौसला दिन्छन्। कल्पना र जनक आफूहरूले सुरू गरेको कामबाट सन्तुष्ट छन्।
कल्पना भन्छिन्, ‘हामीले आफ्नै काम रोज्यौँ। जागिर खेज्नेतिर लाग्नुभन्दा आफ्नै व्यवसाय चलाउनु उचित ठानेर सुरू गरेका हौँ।’
होटल सुरू गर्नुअघि जनकले पाँच वर्ष तुलसीपुरमा शिक्षण पेसा गरे। निजी स्कुलमा पढाएर आफ्नो पढाइ खर्च जुटाए। एकाएक शिक्षण पेसा छाडेर मोबाइल फोनको पसल चलाए। यसमा पनि मन अडिएन, चार वर्ष चलाएर छाडे।
उनलाई आफ्नो पहिचानसहितको केही काम गर्ने हुटहुटी जाग्यो। उनले स्थानीय परिकार खुवाउने सानो होटल चलाउने विचार गरे। आफन्तजन र केही साथीहरू उनको विचारमा सहमत भएनन्। बरु विदेश जान सल्लाह दिए।
आफूले सोचेजस्तो होटल खोल्ने आर्थिक सामर्थ्य थिएन तैपनि उनले विदेश जाने सोच्दै सोचेनन्। निकटका थोरै साथीहरूलाई आफ्नो मनको कुरा सुनाए।
ती साथीहरूलाई जनकको कुरा राम्रो लाग्यो। अन्ततः चार जना मिलेर मौलिक परिकारहरू बनाउने ‘रैथाने खाजा घर’ नामको होटल चलाउने निष्कर्षमा पुगे। होटल स्थापना भयो।
![raithane-1699415786-ink-1699418655.jpeg](https://img.setoparty.com/uploads/posts/raithane-1699415786-ink-1699418655.jpeg?timestamp=1699418691906)
रैथाने खाजा घरको संरचना घोराही उपमहानगरपालिक–१५ स्थित गैरागाउँमा ६ कट्ठा जमिनमा बनेको छ। जमिन वार्षिक एक लाख ६० हजार रुपैयाँमा तिर्ने गरी दस वर्षका लागि भाडामा लिएका छन्। आकर्षक डिजाइमा चिटिक्क परेका एकतले घर ६ वटा छन्।
होटेलको दक्षिण कुनामा एउटा भ्यु टावर छ। होटल परिसरमा अनेक थरीका बोटबिरुवा र फूलहरू छन्। झुला पनि राखिएका छन्। होटल परिसरमा फोटो खिच्ने र टिकटक बनाउने युवायुवतीको भिडभाड भइरहन्छ। जनकका अनुसार होटलका यी सबै संरचना बनाउन हालसम्म ७० लाख रुपैयाँ खर्च भएको छ। यसमध्ये २० लाख रुपैयाँ बैंकको कर्जा छ।
होटलमा एक रातमा चार जनासम्म बस्ने सुविधा पनि छ।
जनक र कल्पना एकै गाउँका हुन्। उनीहरूको घर तुलसीपुर उपमहानगरपालिका–७, पर्सेनी हो। पर्सेनीको कुमाल गाउँ कुनै समय ‘होम स्टे’ का लागि चर्चित थियो।
जनकको घरमा होम स्टे थियो। पाहुनाहरू आइरहन्थे। उनकी आमा र श्रीमती स्थानीय परिकारहरू बनाएर पाहुनालाई खुवाउँथे। उनीहरूले बनाएको सिस्नोको तरकारी र सुप; सिलौटामा पिसेर बनाएको गोलभेडाको अचार; गुन्द्रुक, अदुवा, काँक्रा, बोडी र मुलाको अचार पाहुनाहरू खुब रुचाउँथे।
आगन्तुकहरूलाई घरमै पालेका लोकल कुखुरा र हाँसका परिकार खुवाउँथे। रैथाने परिकार पाहुनाको रोजाइमा हुन्थ्यो।
त्यही समय जनकको मनमा अर्गानिक (जैविक) उतपदनका रैथाने परिकार खुवाउने एउटा होटेल खोल्ने रहर जागेको थियो। समय परिपक्व भएपछि उनको त्यही रहरले रैथाने खाजा घर भएर मूर्तरूप लिएको हो।
जनक भन्छन्, ‘हाम्रो घरको होम स्टे नै रैथाने खाजा घरको प्रेरणा स्रोत हो।’
यसरी रैथाने खाजा घर सुरु भएको दुई वर्ष पूरा भयो। जनक आज पनि आमाले घरमा बनाएको गुन्द्रक र आफ्नै बारीमा फलाएको तरकारी ल्याउँछन्। गाउँघरबाट खोजेर लोकल कुखुरा ल्याउँछन् र ग्राहकले मागेको परिकार खुवाउँछन्।
बदिया भालेको र हाँसको परिकार दाङको पहिचान बनेको छ। रैथाने खाजा घरले कालिज, बट्टाई र स्थानीय माछाका परिकार पनि खुवाउँछ।
‘हामी ग्राहकलाई सन्तुष्ट बनाएर पठाउने प्रयास गर्छौं। एक पटका आएका ग्राहक फेरि पनि आऊन् भन्ने हाम्रो चाहना हुन्छ,’ जनक भन्छन्, ‘हामी ग्राहकको रुचि अनुसारको परिकार तयार गरेर सेवा दिन्छौँ।’
गत साउनमा कलाकारहरूको एउटा टिम रैथाने खाजा घर पुगेको थियो। जनकले भने, ‘कलाकारहरूले खाना खानुभयो। सबैले धेरै राम्रो भनेर प्रशंसा गर्नुभयो। हामीलाई हौसला दिनुभयो।’
रैथाने खाजा घरमा रोल्पा, रुकुम, जुम्ला लगायका जिल्लामा फलेको मकैको ढिँडो पाइन्छ। जनकका अनुसार यस्तो ढिँडो खाना आउनेको संख्या बढ्दो क्रममा छ।
![raithane--1699415598-ink-1699418655.jpeg](https://img.setoparty.com/uploads/posts/raithane--1699415598-ink-1699418655.jpeg?timestamp=1699418698570)
जुम्लाको मार्सी चामल र बासनदार दंगाली तिलकी चामलको खाना पाइन्छ। परिकारहरू बनाउन तोरीको तेल प्रयोग हुन्छ।तुलसीपुरको पर्सेनीमा जनकको खेत छ। होटलमा आउने पाहुनालाई तिलकी चामलको भात खुवाउन आफैँले एक बिघा खेतमा तिलकी धान रोपका छन्।
जनकले छोटो समयमै व्यवसायमा धैर्य, सहनशीलता र निरन्तरता चाहिँदो रहेछ भन्ने थाहा पाएका छन्।
भन्छन्, ‘व्यवसायमा उतारचढाव पनि हुन्छ। यस्तो बेलामा धैर्य चाहिन्छ। हार्नु हुँदैन, शिक्षा लिनुपर्छ।’
रैथाने खाजा घरको किचनको व्यवस्थापन कल्पनाले सम्हालेकी छन्। दम्पतीबाहेक दस जना कर्मचारी छन्। सबैजसो कर्मचारी कलेजका विद्यार्थी छन्।
जनक भन्छन्, ‘काम गर्दै पढ्न चाहनेहरूलाई सहयोग होस् भनेर मैले विद्यार्थीलाई प्राथमिकता दिने गरेको छु। मैले पनि स्कुलमा पढाउँदै आफ्नो पढाइ खर्चको जोहो गरेको थिएँ। त्यो दिन मैले भुलेको छैन।’
किचन जिम्मा लिएर कल्पना खुसी छन्। भन्छिन्, ‘हाम्रो लगानी धेरै लगानी छ। त्यसैले आफैले पनि काम गर्नुपर्छ भन्ने लागेपछि मैले आफ्नो किचनको काम सिकेँ।’
आफूले भान्सा सम्हालेपछि बचत बढेको छ। म बाहिरी व्यवस्थापन हेर्छु। उनी किचन हेर्छिन्। चिनमा म ढुक्क छु।’
किचनमा हेड कुक छन्। कल्पनाले कुकका लागि किचनको सबै व्यवस्थापन मिलाउँछिन्। यसो हुँदा हेड कुकलाई पनि सजिलो भएको छ।
जनक र कल्पना खुसी छन्।
भन्छन्, ‘हामी (दम्पती) मिलेर काम गर्दै छौँ, खुसी छौँ। मिठो खुवाउनुभयो भनेर ग्राहकले धन्यवाद दिँदा सबैभन्दा धेरै खुसी लाग्छ ।’
रैथाने खाजा घर बजारको कोलाहलबाट अलिक पर शान्त ठाउँमा छ। जन्मोत्सव र विवाह उत्सव मनाउने युवायुवतीको रोजाइमा रैथाने खाजा घर नै पर्न थालेको छ। यस्तो समारोहका लागि धरै जना अटाउने ठाउँ पनि छ।
रैथाने खाजा घरलाई पारिवारिक जमघटको थलो बनाउने र रैथाने परिकारको पहिचान बनाउने कुमाल दम्पतीको लक्ष्य छ। चार जनाले लगानी गरेर सुरु गरेका भए पनि रैथाने खाजा घर हाल जनक एक्लैको स्वामित्वमा छ।