यो वर्ष सरकारले गर्ने कर आम्दानी थप न्यून देखिएको छ। आर्थिक वर्षको ६ महिना सकिँदा जम्मा ३ प्रतिशतको मात्रै राजस्व वृद्धिदर पाइएको छ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा ५ खर्ब ८१ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। जबकि सरकारले यो अवधिसम्म ७ खर्ब १२ अर्ब रूपैयाँको अनुमान गरेको थियो।
यो हिसाबले लक्ष्यको तुलनामा १८ प्रतिशत अर्थात एक खर्ब ३१ अर्ब रूपैयाँ कम राजस्व उठेको छ।
अघिल्लो वर्षको तुलनामा भने १४ अर्ब मात्रै बढेको छ। पुस महिनासम्म गत वर्षको तुलनामा २६ प्रतिशत राजस्व बढ्ने अनुमान गरिएकोमा ३ प्रतिशतको मात्रै वृद्धिदर देखिएको हो।
विशेष गरी पुस महिनामा यी करदाताले बुझाउने राजस्वले ठूलो अर्थ राख्ने गर्छ।
आर्थिक ऐनको व्यवस्था अनुसार चालु वर्षमा हुने अनुमानित (आकलन गरिएको) आयको आधारमा तिर्ने कर मध्ये पुसमा ४० प्रतिशत बुझाउनु पर्ने हुन्छ।
चैतसम्म थप ३० प्रतिशत गरी ७० प्रतिशत र असारमा बाँकी ३० प्रतिशत बुझाउनुपर्ने व्यवस्था छ। यसै महिनाभित्र अघिल्लो आर्थिक वर्षको आय विवरण पनि पेस गर्नुपर्ने भएकाले अघिल्लो वर्ष छुटेका वा बाँकी रहेका करसमेत पुसमै उठ्छ।
यो वर्ष पुस महिनामा एक खर्ब ७१ अर्ब रूपैयाँको राजस्व संकलन भएको छ। पुसमा मात्रै उठ्ने राजस्व अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले बढेको छ। २०८१ को पुसमा एक खर्ब ६१ अर्ब रूपैयाँको राजस्व संकलन भएको थियो।
राजस्वमा अत्यन्तै नगन्य योगदान रहेका शिक्षा सेवा शुल्क र निर्यात शुल्कको नाममा उठ्ने राजस्व लक्ष्यभन्दा धेरै उठे पनि अन्य सबै प्रकारका राजस्व लक्ष्यको तुलनामा अति न्युन उठेका छन्।
यद्यपि ठुलो खाडल भने आयकर र गैरकरमा देखिएको छ।
पुससम्म आयकर २.६६ प्रतिशतले घटेर एक खर्ब ३८ अर्ब रूपैयाँ मात्रै संकलन भएको छ। जबकि सरकारले यो अवधिमा एक खर्ब ९४ अर्ब रूपैयाँ आयकर संकलन गर्ने लक्ष्य लिएको थियो।
आयकरमध्ये ब्याज आम्दानीबाट लाग्ने कर मात्रै १६ प्रतिशतले घटेको छ भने अन्य संस्थागत आयकर पनि १ प्रतिशतले घटेको छ।
यसरी राजस्व संकलन लक्ष्य र यथार्थ बीच खाडल देखिनुमा मुख्य चार कारण देखिएको छ।
पहिलो, ब्याज करबाट अपेक्षित राजस्व नउठ्नु।
दोस्रो, सेयर कारोबार र घरजग्गा कारोबारबाट उठ्ने पुँजीगत लाभकरमा आएको गिरावट।
तेस्रो, गैर–कर राजस्वमा ठूलो कमी र चौथो गैर करमा आएको कमी।
गैर–कर राजस्व चालु वर्षको सबैभन्दा कमजोर पक्ष बनेको छ। गत आर्थिक वर्ष नेपाल टेलिकमबाट करिब १४ अर्ब गैर–कर राजस्व प्राप्त भएकोमा यो वर्ष एक अर्ब मात्र प्राप्त भएको छ।
मंसिरसम्मको तुलनामा भन्सार, मूल्य अभिवृद्ध र अन्तशुल्क शीर्षकको राजस्व वृद्धिदर पनि घटेको छ।
६ महिनाको अवधिमा भन्सार महसुल ७.१ प्रतिशतले बढेर एक खर्ब १५ अर्ब रूपैयाँ पुगेको छ। अघिल्लो महिनासम्म यसको वृद्धिदर करिब १० प्रतिशतको थियो।
मूल्य अभिवृद्धिकर पनि ७.४२ प्रतिशतले बढेर एक खर्ब ६६ अर्ब पुगेको छ। अन्तशुल्क ९ प्रतिशतले बढेर ९१ अर्ब रूपैयाँ पुगेको छ।
गैरकर राजस्व १२ प्रतिशतले घटेर ६१ अर्ब २८ करोड मात्रै संकलन भएको छ।
समग्रमा आन्तरिक राजस्व विभागबाट उठ्ने राजस्व २.९ प्रतिशतले बढेर २ खर्ब ३६ अर्ब पुगेको छ। भन्सार विभाग मातहत उठ्ने राजस्व ७ प्रतिशतले बढेर २ खर्ब ३६ अर्ब पुगेको छ। अन्य (गैरकर) राजस्व भने उल्लेखनीय घट्दा २ प्रतिशतको मात्रै वृद्धिदर देखिएको हो।