शनिबार काठमाडौंको थापाथली र गौरीगाउँको सुकुम्बासी बस्ती हटाएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेर मनोहरा खोला किनारको सुकुम्बासी बस्ती हटाइँदैछ।
मध्यपुर थिमी-१ को मनोहरा सुकुम्बासी बस्तीमा सरस्वती आधारभूत विद्यालय पनि छ। प्रहरी डोजर लिएर बस्तीमा छिरेपछि प्रधानाध्यापक इन्दिरा महत जनपद प्रहरी र महानगर प्रहरीसँग आफ्नो विद्यालयमा डोजर नचलाउन आग्रह गरिरहेकी छन्।
यसअघि उनले वडाध्यक्ष बाबुकाजी डंगोल र केही स्थानीयसँग बिहानदेखि छलफल गरेकी थिइन्।
'बस्तीमा डोजर पस्यो भन्ने सुनेपछि बिहानै विद्यालय आउन खोजेकी थिएँ। प्रहरीले तत्काल नजान आग्रह गर्नुभयो,' प्रधानाध्यापक महतले सेतोपाटीसँग भनिन्, 'विद्यालय पनि भत्काउलान् भन्ने पीरले स्कुल आएँ।'
मनोहरा सुकुम्बासी बस्तीमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी तैनाथ थिए। ९ बजेतिर यो संख्या झनै बढ्यो। शनिबार थापाथली र गैरीगाउँमा जति प्रहरी परिचालन गरिएका थिए, त्यसको तुलनामा लगभग तीन गुणा बढी प्रहरी मनोहरामा तैनाथ छन्।
प्रहरीहरू डोजर लिएर सुकुम्बासी बस्ती छिरेको थाहा पाएपछि इन्दिरा करिब १० बजेतिर विद्यालय आइपुगिन्। आउनासाथ जनपद प्रहरी र महानगर प्रहरीलाई भेटेर विद्यालय नभत्काउन आग्रह गरेको उनी बताउँछिन्।
'प्रहरीले सुरूमा त विद्यालय भत्किँदैन भनेको थियो। फेरि केही बेरअघि महानगर प्रहरीले भत्किन्छ भन्यो,' उनले भनिन्, 'हामी अलमलमा परेर बसेका थियौं। अब फेरि भत्काइहाल्यो भने कागजात पुरिन्छ भनेर निकाल्न थालेका छौं।'
उनका अनुसार यो स्कुलमा कक्षा ८ सम्म पढाइन्छ। यहाँ २८० जना विद्यार्थी पढ्छन्। तीमध्ये आधा मात्र सुकुम्बासी परिवारका केटाकेटी हुन्।
यो स्कुलमा २०६२ सालमा स्थापना भएको हो। २०६४ देखि सरकारी मान्यता पाएर सञ्चालनमा आइरहेको छ। २०७१ देखि कक्षा ८ सम्म अध्ययन गराउन थालेको प्रधानाध्यापक महत बताउँछिन्।
उनका अनुसार यहाँ १५ जना शिक्षक र एक जना कार्यालय सहयोगी छन्। १० वटा कक्षाकोठा छन्।
'सुकुम्बासी बस्तीका आधा र बाँकी नजिकका ठाउँहरूबाट पढ्न आउँछन्,' उनले भनिन्, 'प्रहरीले भत्काइहाल्ला भनेर अहिले डोजर चल्नुअघि नै स्कुलका महत्त्वपूर्ण कागजात निकाल्न थालेका छौं।'
बिहान साढे १० बजेदेखि डोजर चल्न थालेको भए पनि स्कुलसम्म नआइपुगेको उनी बताउँछिन्।
विद्यालयसँगै चर्च र गुम्बा पनि छ। प्रहरीले चर्च भने भत्काइसकेको छ।





