शनिबार दिउँसो साढे १ बजेको थियो।
थापाथलीको सुकुम्बासी बस्ती भत्काएर जनपद र सशस्त्र प्रहरीहरू ठूलो संख्यामा गैरीगाउँ छिरे। काठमाडौं महानगरपालिकाका नगर प्रहरीले त्यहाँको सुकुम्बासी बस्तीमा गएर सामानहरू निकाल्न माइकिङ गर्यो।
डोजरसहित आएका सुरक्षाकर्मीको फौज देखेर आतंकित सुकुम्बासीहरूले आ-आफ्नो घरका सामान हतार हतार निकाल्न थाले।
नगर प्रहरीले अन्तिम पटक माइकिङ गर्दा गैरीगाउँ सुकुम्बासी बस्तीको त्यो पहिलो घर खाली भइसकेको थियो।
घरधनीहरू घर छाडेर हिँडिसकेका थिए।
तर एउटा सेतो रङको कुकुरले घर छाडेको थिएन।
जसै प्रहरी समूह डोजर चलाउन अघि सर्यो, आँगनमा बसिरहेको त्यो सेतो कुकुर घरभित्र फुत्त पस्यो।
घर अगाडि झुम्मिएका पत्रकार र आसपासका मानिसहरूले एकै स्वरमा भने, 'रोक्नुहोस्, त्यहाँ कुकुर छ।'
त्यो सुनेर प्रहरीले सिट्टी फुक्यो।
घर भत्काउन तम्तयार डोजर चालक रोकिए।
त्यसपछि एक प्रहरीले घरको सटर खुला भएको ठाउँबाट कुकुरलाई समातेर बाहिर निकाल्यो।
कुकुरलाई निकालेपछि डोजरले घर कोपर्न सुरू गर्यो।
डोजरले एकचोटि त्यो घरमा प्रहार मात्र के गरेको थियो, त्यो कुकुर फेरि फुत्त भित्र पस्यो।
आसपास उभिएका मानिसहरूले एकै स्वरमा भने, 'कुकुर फेरि गयो।'
दोस्रो पटक पनि प्रहरीले कुकुरलाई घरबाट निकाल्यो।
तर त्यो कुकुरले त्यति सजिलै घर छाडेन।
प्रहरीले धपाउँथ्यो, कुकुर फेरि भित्र पस्थ्यो। तेस्रो पटकमा भने प्रहरीले कुकुरलाई घाँटी समातेर बाहिर निकाल्यो र 'केही बेर समातिराख्नू' भन्दै अर्को व्यक्तिलाई जिम्मा दियो।
कुकुरको पहरा पन्छिएपछि डोचर चालकले लगातार घर कोपर्न थाले।
हेर्दा हेर्दै त्यो घर गर्ल्यामगुर्लुम भयो।
कुकुर पनि कुइँकुइँ गर्दै टाढिँदै गयो।
यो मात्र होइन, शनिबार दिउँसो गैरीगाउँमै डोजरको चर्को आवाजले तर्सिएर एउटा कुकुर बागमती नदीमा खसेको थियो। त्यही बेला एक युवकले नदीमा पसेर भिजेको कुकुरको उद्धार गरेका थिए।
उनले कुकुरको उद्धार गरेर एक किशोरीलाई जिम्मा दिएको दृश्य हामीले नदी पारिबाट हेरिरहेका थियौं।
आइतबार बिहान साढे ११ बजेतिर पनि यस्तै दृश्य देखियो।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, मनोहरा सुकुम्बासी बस्तीमा घरहरू भत्किँदै थिए। १०–१५ वटा घर भत्किसकेका थिए। थप घर भत्काउने क्रम जारी थियो।
एक जना युवकले डोजर नजिकै बसेका प्रहरीलाई अगाडिको घर देखाउँदै केही छुटेको वा निकाल्नुपर्ने संकेत गरे।
युवकले केही बेर प्रहरीसँग कुरा गरेपछि प्रहरीले हातको इसाराले डोजर रोक्न संकेत गर्दै सिट्टी फुक्यो। डोजर तत्काल रोकियो।
त्यसपछि युवक र प्रहरी डोजरले भत्काइरहेको घरभित्र पसे।
फर्किँदा युवकले हातमा परेवा बोकेका थिए।
त्यसपछि फेरि घर भत्काउने क्रम सुरू भयो।
यो पनि पढ्नुहोस्:
***
-ink-1777206743.jpeg)
-ink-1777206743.jpeg)
-ink-1777206743.jpeg)