प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भत्काइएका थापाथली, गैरीगाउँ, सिनामंगल लगायतका सुकुम्बासी बस्तीबाट आइतबार मध्याह्नसम्म २१९ परिवार रंगशाला पुगेका छन्।
प्रहरीले सुकुम्बासी बस्ती भत्काएपछि अन्त कतै जाने ठाउँ नभएका र आफै आवास प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सुरूमा दशरथ रंगशाला लगिएको हो। त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा 'होल्डिङ सेन्टर' मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।
यस क्रममा अहिलेसम्म रंगशाला पुगेकामा २१९ परिवारका ९९७ जना मानिस रंगशाला पुगेका हुन्। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्।
समिति र प्राधिकरणले रंगशाला पश्चिमतर्फको कुनामा छुट्टाछुट्टै डेक्स राखेर फारम भराइरहेका छन्।
सेतो पानामा विवरण राखेर भराइएको फारममा इन्ट्री गराउनेको संख्या २१९ पुगेको अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाले जानकारी दिए।
'हिजोको तुलनामा निकै नै भीडभाड छ। थापाथली बस्तीबाट आउने संख्या कम हुँदै गएको छ। सिनामंगल, गैरीगाउँ, शान्तिनगर क्षेत्रका बस्तीबाट आउनेको संख्या ह्वात्तै बढेको छ। आज हामीले डेस्क थपेका छौं,' उनले भने, '२१९ परिवार एकीकृत तथ्यांक हो, अब हामी कुनकुन ठाउँबाट कति आउनुभयो भनेर छुट्टछुट्टै विवरण तयार पार्छौं।'
हिजो फारम भराइएकामध्ये ३१ परिवारलाई कीर्तिपुर पठाइएको थियो।
कीर्तिपुरको सत्संग भवनमा सुकुम्बासी राख्न होल्डिङ सेन्टर बनाइएको छ। ३१ परिवार बसेको होल्डिङ सेन्टरको भरिएका कारण बाँकीलाई अन्यत्रै व्यवस्थापन गरिएको थियो।