निजी क्षेत्रका तीन प्रतिनिधिमूलक संस्थाले पछिल्ला दिनहरूमा घटेका घटनाप्रति साझा धारणा सार्वजनिक गरेका छन्।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका निर्वतनमा अध्यक्ष शेखर गोल्छा पक्राउ परेपछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्तिबाट आफ्नो धारणा दिएका हुन्।
'नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भइ लगानीको वातावरण बन्ने अपेक्षा गरिएको समयमा उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकबाट निजी क्षेत्र निरुत्साहित भएको छ' विज्ञप्तिमा भनिएको छ।
महासंघका अध्यक्ष चन्द्र ढकाल, परिसंघ अध्यक्ष विरेन्द्रराज पाण्डे र चेम्बर अध्यक्ष कमलेश अग्रवालले जारी गरेको विज्ञप्तिमा अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुऱ्याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजस्व एवं पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइएको हो।
'नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै पनि उद्योगी व्यवसायीलाई पक्राउ गरिएको सन्दर्भमा आर्थिक कसुरका सम्बन्धमा पहिले सुन्ने अनि कसुर प्रमाणित भएपछि मात्र थुन्ने दृष्टिकोण र व्यवहार गर्न सरकारलाई गम्भीर रूपमा आग्रह समेत गर्दछौं' विज्ञप्तिमा भनिएको छ।
उद्यमी व्यवसायीहरूले अनुसन्धानलाई सघाउन आफू पूर्ण तयार रहेको र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी गराउँदा गराउँदै पनि आर्थिक कसुरकै अभियोजनमा पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित एवं दुःखी बनाएको विज्ञप्तिमा उल्लेख छ।
'उद्यमी व्यवसायीलाई यसरी धरपकड हुँदा व्यक्तिमात्र नभइ लाखौं रोजगारी, आपूर्ति श्रृंखला, बैंकिङ क्षेत्र र सम्पूर्ण प्रणालीमै गम्भीर धक्का पुग्न गइ अर्थतन्त्र गम्भीर संकटमा पर्ने तर्फ हामी पुनः ध्यानाकर्षण गराउँदछौ' विज्ञप्तिमा भनिएको छ।
उनीहरूले अहिलेको धरपकडले निजी क्षेत्रलाई थप सशंकित बनाएको दाबी गरेका छन्।
'कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागीदार हुनुपर्छ भन्नेमा निजी क्षेत्रको कुनै विमति छैन। नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको स्मरण गराउँदै, समग्र निजी क्षेत्र यसबारे सरकारलाई गम्भीर हुन आग्रह गर्दछ' विज्ञप्तिमा उल्लेख छ।