कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२ / ०८३ मा बजेट विनियोजन भएका एक हजार २ सय ४२ योजना कार्यान्वयनमा लगेको छ।
मन्त्रालयका एक हजार तीन सय ७६ योजनामध्ये झण्डै ९०.२६ प्रतिशत योजना कार्यान्वयनमा लगेको छ। एक सय ३४ वटा योजना कार्यान्वयनको चरणमा छन्।
त्यसमध्ये एक ३९ वटा योजना सम्पन्न भइसकेका छन् भने ५६ वटा योजना विभिन्न कारणले कार्यान्वयन हुन नसकेको मन्त्रालयका सूचना अधिकारी इन्जिनियर सागर आचार्यले बताए।
जिल्लागत विवरण अनुसार सुर्खेतमा सबभन्दा धेरै एक सय ७७ योजना सञ्चालनमा रहेकामा एक सय ६८ वटा कार्यान्वयन भइसकेका छन्।
सल्यानमा ७९ मध्ये ७४, दैलेखमा एक सय ८३ मध्ये एक सय ७४, कालिकोटमा एक सय ५९ मध्ये एक सय ५३, जुम्लामा एक सय चारमध्ये ९७, मुगुमा ९४ मध्ये ८४ योजना कार्यान्वयन भएका छन्।
त्यस्तै, रूकुम पश्चिममा एक सय ४३ मध्ये एक सय २०, जाजरकोटमा एक सय १३ मध्ये एक सय दुई, डोल्पामा एक सय ६ मध्ये एक सय एक, हुम्लामा दुई सय २२ मध्ये दुई योजना कार्यान्वयन भएको सूचना अधिकारी आचार्यले जानकारी दिए।
आर्थिक वर्ष २०८२/०८३ मा यस मन्त्रालयका लागि तीन अर्ब ८३ करोड तीन लाख बजेट विनियोजन भएकोमा अहिलेसम्म ९४ करोड २४ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ। जसमा चालुतर्फ ५३.३ र पुँजीगततर्फ २२.४१ प्रतिशत गरी जम्मा २४.६० प्रतिशत बजेट खर्च भएको छ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले अधिकांश योजना सन्तोषजनक रूपमा कार्यान्वयन भएको उल्लेख गर्दै बाँकी योजनाहरूलाई शिघ्र सम्पन्न गर्न निर्देशन दिइएको बताए।
कार्यान्वयनको गति मात्र होइन, गुणस्तरमा समेत विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए।