अर्थमन्त्री रामेश्वर खनाल बेला बखतमा फेसबुकमा छोटो तर अर्थपूर्ण स्ट्याटस लेख्छन्।
माघ १ गते बिहान ९ बजेतिर उनले लगातार दुइटा स्ट्याटस लेखे। त्यसबाट अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभाग (आइआरडी) सँग सम्बन्धित कर्मचारीहरू दंग परे।
खनालले पहिलो स्ट्याटसमा आन्तरिक राजस्व विभागमा कार्यरत उपसचिव पदम भण्डारीले राखेको फोटोको स्क्रिनसट समावेश गरेर लेखेका थिए — पुसको मध्यरात नाघ्दासमेत आइआरडीको आइटी टोली यसरी खटियो। उचित सम्मानको साथ नागरिक सेवाले काम गरेर देखायो।
उपसचिव भण्डारीले राति १२ बजेर १३ मिनेट जाँदा एउटा सामूहिक फोटो राखेर 'पुस मसान्त, २०८२ को राति १२ बजेसम्म विभागको आइटी टिम काम गर्दै' लेखेका थिए।
बिहीबारै अर्थमन्त्री खनालले अर्को स्ट्याटस लेखे — कर्मचारीतन्त्र सरूवाले सुध्रिने होइन, हौसला र भरोसाले हो। रातभर अफिसमा बिताए राजस्वका टिमले।
मन्त्रीले सार्वजनिक रूपमा गरेको यो प्रशंसाले कर्मचारीहरूमा छुट्टै उत्साह भरिदिएको छ।
'मन्त्री त क्या खुसी हुनुभएछ, हाम्रो खुब प्रशंसा गर्नुभयो। मन्त्रीले यत्ति भनिदिँदा खुब आनन्द लाग्दो रहेछ,' विभागका एक कर्मचारीले भने।
करदाताहरूले पनि यस पटक सहज अनुभव गर्न पाएको प्रतिक्रिया दिएका छन्।
विगतका वर्षहरूमा अन्तिम दिन सिस्टम चल्दैन कि भन्ने डर हुन्थ्यो। ओभरलोड भएर पोर्टल ह्याङ हुने, भुक्तानी देखिन ढिला हुने समस्या सामान्य थियो। यसपालि आन्तरिक राजस्व विभागको अनलाइन प्रणाली सहज रूपमा चलेको करदाताहरूले बताए।
चार्टर्ड एकाउन्टेन्ट दिवाकर पाण्डेले यसपालिको अनुभव सहज रहेको बताए।
'पहिले त अन्तिम दिन कर बुझाउन तनाव हुन्थ्यो। यसपालि सिस्टम राम्रो चल्यो, समन्वय पनि उस्तै राम्रो भयो। करदातालाई अनावश्यक हैरानी भएन,' उनले भने।
पुस, चैत र असार मसान्त राजस्व कार्यालयका लागि सबभन्दा व्यस्त दिन मानिन्छन्। यी महिनामा विशेषगरी आयकर संकलनको दबाब हुन्छ।
आर्थिक ऐनको व्यवस्था अनुसार चालु वर्षमा हुने अनुमानित (आकलन गरिएको) आयको आधारमा तिर्ने करमध्ये पुसमा ४० प्रतिशत बुझाउनुपर्ने हुन्छ।
चैतसम्म थप ३० प्रतिशत गरी ७० प्रतिशत र असारमा बाँकी ३० प्रतिशत बुझाउनुपर्ने व्यवस्था छ। यसै महिनाभित्र अघिल्लो आर्थिक वर्षको आय विवरण पनि पेस गर्नुपर्ने भएकाले अघिल्लो वर्ष छुटेका वा बाँकी रहेका करसमेत पुसमै उठ्छ।
करदाताले कर बुझाउने अन्तिम समय भएकाले कार्यालय बिहानदेखि नै व्यस्त हुन्छ।
दिउँसो करदातासँग प्रत्यक्ष सम्पर्कमा बित्छ। कर्मचारीहरूले फोन गरेर कति भ्याट, आयकर वा टिडिएस बुझाउने भन्ने समन्वय गर्छन्। ठूला करदातासँग व्यवसायको अवस्था बुझिन्छ र सम्भावित कर संकलनको विवरण संकलन शाखामा पठाइन्छ।
रात परेसँगै कामको दबाब थप बढ्छ।
अनलाइनबाट तिरेको पैसा 'रेभिन्यू एकाउन्टिङ सिस्टम र रेभिन्यू इन्फरमेसन म्यानेजमेन्ट सिस्टम' (रिम्स) मा देखियो कि देखिएन भनेर निगरानी गरिन्छ। यदि राति १२:०१ बज्यो भने सिस्टमले स्वतः ब्याज र जरिवाना गणना गर्ने भएकाले, त्योभन्दा अगाडि नै भौचर चढाउन करदातालाई सहजीकरण गरिन्छ।
विशेषगरी ठूला र मध्यमस्तरीय करदाता कार्यालयमा कर्मचारीहरूलाई निश्चित करदाताको जिम्मा दिइएको हुन्छ।
उनीहरूले फोन गरेर जानकारी लिन्छन्, कति कर बुझाइँदैछ भन्ने विवरण संकलन गर्छन् र सम्बन्धित शाखामा पठाउँछन्।
संकलन शाखा र कार्यालय प्रमुखले राति अबेरसम्म बसेर कति राजस्व उठ्यो, बैंकबाट आएको रकम सिस्टममा ठिकसँग देखियो कि देखिएन भनेर रूजु गर्छन्।
सबैभन्दा बढी दबाबमा भने प्राविधिक अर्थात् आइटी टिम हुन्छ। सिस्टमले काम गरिरहेको छ कि छैन, कुनै प्राविधिक त्रुटि आयो कि आएन, आएको खण्डमा तुरून्त समाधान गर्न उनीहरू रातभर खटिन्छन्।
'हाम्रो सिस्टमका कारण करदातालाई समस्या नहोस् भन्ने हाम्रो ध्येय हुन्छ। हामीले समन्वय नगरेका कारण करदाता जरिवानाको भागीदार नहोस् भनेर हामी खटिएका हुन्छौं,' मध्यमस्तरीय करदाता कार्यालयका एक कर अधिकृतले भने।
सामान्य अवस्थामा सरकारी कार्यालयको समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुन्छ। मसान्तको दिन यो समय अर्थहीन हुन्छ। पुस, चैत र असार मसान्तमा कर कार्यालयका प्रमुख, संकलन शाखा र आइटी कर्मचारीहरू सबै राजस्व 'क्लियर' नभएसम्म कार्यालयमै बस्छन्।
कतिपय अवस्थामा राति १२ बजेदेखि १२:०३ बजेसम्म पनि काम चलिरहन्छ।
'करदाताले राति ११:५५ बजेसम्म पैसा पठाउन सक्छन्। त्यो पैसा सिस्टममा देखियो कि देखिएन भनेर हेर्न हामी बस्नैपर्छ। ढिलो भयो भने करदातालाई जरिवाना पर्छ। त्यसैले हामी पनि जिम्मेवार हुन्छौं,' राजस्वका प्रतिनिधिले भने।
मसान्तको राति हिसाब मिलाउने काम सबभन्दा चुनौतीपूर्ण हुन्छ। कम्प्युटर प्रणाली र बैंकबीच नमिलेका अंकहरू सच्याइन्छ। ठूला सरकारी बैंकहरूसँग फोन गरेर भुक्तानी छिटो देखाउन आग्रह गरिन्छ। किस्ता हाल्न बाँकी रहेकालाई ताकेता गरिन्छ। साथै अघिल्लो वर्षको तुलनामा यस वर्ष कति राजस्व उठ्यो, कुन क्षेत्रमा सुधार भयो भन्ने प्रारम्भिक विश्लेषण पनि गरिन्छ।
हरेक आधा–एक घन्टामा माथिल्लो तहमा अपडेट दिइन्छ। कुन सेक्टर कस्तो अवस्थामा छ, लक्ष्य नजिक पुगेको छ कि छैन भन्ने जानकारी पठाइन्छ।
अन्य सामान्य दिनहरूमा पनि अर्थ मन्त्रालयका सचिव र कतिपय विभागीय प्रमुखहरू बिहान ९ नबज्दै मन्त्रालय पुगेका हुन्छन् भने साँझ ७/८ बजेसम्म खटिएका हुन्छ। यो परम्परा अर्थमन्त्री खनाल लगायतहरू कर्मचारी हुँदा नै बसालेका थिए। खनाल पूर्वअर्थ सचिव हुन्।
राजस्व सचिव भूपाल बराल कर्मचारीको अतिरिक्त मेहनतलाई राजस्व संकलनको आधार मान्छन्।
'प्रोत्साहन दिनुपर्छ, त्यसपछि काम निकाल्न सकिन्छ। राजस्व राम्रो स्तरमा संकलन हुनुमा कर्मचारी साथीहरूको ठूलो मेहनत छ। उनीहरूको अहोरात्र खटाइकै कारण यो सम्भव भएको हो,' उनले भने, 'कर्मचारीलाई सधैं दोष दिएर हुँदैन। सही नेतृत्व, स्पष्ट निर्देशन र भरोसा भयो भने कर्मचारीले परिणाम दिन सक्छन् भन्ने यो उदाहरण हो।'