चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ठूला करदातामार्फत करिब एक खर्ब १६ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ।
वार्षिक एक अर्ब रूपैयाँभन्दा बढीको कारोबार गर्ने करदाता ठूलाको रूपमा वर्गीकरण गरिएको छ।
ठूला करदाता कार्यालयबाट प्रशासन गरिने यस्ता करदाता ५८९ मात्रै छन्।
त्यस्तै, मध्यमस्तरीय करदातामार्फत ७ अर्ब ९५ करोड रूपैयाँ राजस्व संकलन भएको छ।
वार्षिक ५० करोडमाथि एक अर्बभन्दा कमको कारोबार गर्ने करदाता मध्यमस्तरीय करदातामा पर्ने गर्छन्, जसको प्रशासनका लागि छुट्टै कर कार्यालय (मध्यमस्तरीय करदाता कार्यालय) छ।
यो वर्ष समग्रमा ३ प्रतिशतले राजस्व सुधार देखिए पनि वार्षिक ५० करोडमाथिको कारोबार गर्ने ठूला तथा मध्यमस्तरीय करदाताबाट संकलन हुने राजस्वमा सुधार देखिएको छैन।
मूल्य अभिवृद्धिकर र अन्तशुल्कमा केही सुधार देखिए पनि आम्दानी तथा नाफाको आधारमा तिर्ने कर (आयकर) घटेको छ।
विशेष गरी पुस महिनामा यी करदाताले बुझाउने राजस्वले ठूलो अर्थ राख्ने गर्छ। आयकर बापत उठ्ने राजस्वका दृष्टिले पुस महिना आधार महिना हो।
गत वर्षको आम्दानीबाट करदाताले बुझाउनुपर्ने कर यो महिनाभित्र बुझाइसक्नुपर्छ।
त्यस्तै, चालु वर्षको पनि पहिलो किस्ताको आधार पुस मसान्तभित्र नै बुझाउनुपर्छ।
यसै कारण पनि पुस मसान्तलाई राजस्व प्रशासनले प्रमुख आम्दानी महिनाको रूपमा लिने गरेका छन्।
आयकर ऐनको व्यवस्थाअनुसार पुस महिनामा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ। थप ६० प्रतिशतमध्ये चैत महिनासम्म थप ३० प्रतिशतसहित ७० प्रतिशत कर तिर्नुपर्छ।
त्यस्तै, असार महिनामा थप ३० प्रतिशत करसहित शतप्रतिशत कर बुझाउनुपर्ने हुन्छ। यस हिसाबले राजस्व प्रशासनलाई चालु वर्षमा उठ्ने आयकरको विवरण करिब थाहा हुने गर्छ।
पुस महिनामा ठूला करदाता कार्यालयमार्फत जम्मा ४५ अर्ब र मध्यमस्तरीय करदाता कार्यालयमार्फत २ अर्ब ९६ करोड रूपैयाँ राजस्व संकलन भएको छ।
जबकि ठूला करदाता कार्यालयले गत वर्ष ४६ अर्ब ३५ करोड रूपैयाँभन्दा बढीको राजस्व संकलन गरेको थियो भने यो वर्ष करिब ४५ अर्ब रूपैयाँ मात्रै संकलन गरेको छ।
पछिल्ला दुई वर्षदेखि नै ब्याजदरमा आएको गिरावट, बैंकको नाफामा देखिएको कमी तथा दूरसञ्चार क्षेत्रको आम्दानीमा आएको गिरावटले आयकरमा ठूलो प्रभाव देखिएको कर अधिकृतहरूको भनाइ छ।
यो वर्ष समग्र रूपमा पनि ठूला करदाताले आयमा सुधार नआउने आकलन गरेको पाइएको उनीहरूको भनाइ छ।
'पुससम्मको अवस्था हेरेर उहाँहरूले आय नबढ्ने आकलन गरेको देखिन्छ। वातावरणमा सुधार देखिए चैतको राजस्वमा प्रभाव देखिएला,' ती अधिकारीले भने।
व्यवसायी र चार्टर्ड एकाउन्टेन्डहरूका अनुसार पुसमा अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने आयकरको ४० प्रतिशत बुझाउने क्रममा आय कति हुन्छ भन्ने अनुमानका लागि मुख्यतः दुईवटा विधि प्रयोग गरिएको पाइन्छ।
कतिपय व्यवसायीले गत वर्ष भएको आम्दानीको ट्रेन्डको आधारमा यो वर्षको अनुमान गर्ने गर्छन् (गत वर्ष तीन प्रतिशतले बढेको छ भने यो वर्ष पनि तीन प्रतिशत बढ्छ)। अधिकांशले चालु वर्षको पुससम्म भएको कारोबारको आधारमा आम्दानी अनुमान गरेका हुन्छन्।
पुस महिनामा गत वर्षको अन्तिम आय विवरणको आधारमा बुझाउनुपर्ने बराबरको कर नबुझाएको भए बुझाउनुपर्ने हुन्छ।
ठूला करदाता कार्यालयले यसरी पछिल्ला वर्षहरूमा करिब १० देखि १५ अर्ब रूपैयाँको राजस्व संकलन गर्दै आएका छन्।
अन्तिम परीक्षण गर्ने क्रममा अनुमानितभन्दा १० प्रतिशत माथि भयो भने बुझाउनुपर्ने करको १५ प्रतिशत ब्याज र आय रकमको ०.०१ प्रतिशत जरिवाना पनि लाग्ने गर्छ।
यस्तो अवस्थामा ठूला करदाता सकेसम्म अनुमानित आयको विवरण देखाउने गर्छन्। बढी भएको खण्डमा आगामी वर्षमा मिलान गर्न पाइने हुन्छ।