आर्थिक वर्ष २०७८/७९ देखि तीन वर्ष लगातार उकालो लागेको फलाम तथा स्टिलजन्य वस्तुको निर्यात पछिल्लो डेढ वर्षदेखि खस्किएको छ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा फलामे पाता, सिआरसिट (चिल्लो, सफा र मेसिनरी कामका लागि प्रयोग हुने फलामे पाता), एमएस स्टिल स्ट्रिप (पाइप, ट्युब, फ्रेम, ग्रिल, फर्निचर तथा अन्य फलामजन्य उद्योगमा प्रयोग हुने कच्चा पदार्थ) लगायतका वस्तुको निर्यातमा उल्लेखनीय गिरावट देखिएको छ।
यी वस्तुको निर्यातमा गिरावट देखिॅंदै गर्दा स्टिल मिश्रित फलामे रोल (एचआर सिट) को आयात पनि घटेको छ। शुद्ध फलामको आयात भने यो वर्ष पनि बढेको छ।
नेपालले भारतबाट शुद्ध फलाम र एचआर सिट आयात गरेर भारतमा नै फलामे पाता, जस्ता पाता, सिआरसिट, एमएस स्टिल स्ट्रिप लगायतका वस्तु निर्यात गर्ने गरेका थिए।
कच्चा पदार्थको आयातमा सरकारले दिएको भन्सार छुट, निर्यातमा दिइएको नगद अनुदान, विद्युतको उपलब्धता र तुलनात्मक रूपमा श्रम लागत कम भएको कारण भारतबाट कच्चा पदार्थ लिएर पनि सोही बजारमा प्रतिस्पर्धी बनेको व्यवसायीहरूको भनाइ थियो।
यो वर्ष भने यी वस्तुको आयात निर्यात घटेको छ। २०८२ साउनदेखि पुस महिनासम्म फलामे पाताको निर्यात ८० प्रतिशतले घटेको छ।
२०८१ को साउनदेखि पुससम्म ४ अर्ब ७ करोड बराबरको निर्यात भएकोमा अहिले घटेर ७८ करोडमा सीमित छ।
त्यस्तै, सिआरसिट ७८ करोडबाट घटेर ६ करोड र एमएस स्टिल स्ट्रिप ६३ करोडबाट घटेर २ करोड बराबरको मात्रै भएको छ।
यी वस्तुको निर्यात घट्दा एचआर सिटको आयात १७ प्रतिशतले घटेको छ। २०८१ को साउनदेखि पुससम्म २१ अर्ब २१ करोड रूपैयाँ बराबरको भएकोमा अहिले १७ अर्ब ४९ करोडको छ।
शुद्ध फलामको आयात भने मूल्यगत आधारमा ३ र मात्रात्मक रूपमा १२ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको यो अवधिमा २५ अर्ब ७१ करोड रूपैयाँ बराबरको आयात भएकोमा अहिले २६ अर्ब ६५ करोड बराबरको भएको छ।
यसरी निर्यात घट्नुमा मुख्यतः भारतीय नीति भएको व्यवसायीहरूको भनाइ छ। पहिले भारतले यस्ता वस्तुमा भारतीय गुणस्तर चिह्न दिन ढिलाइ गरेको कारण केही बाधा पुगेको थियो।
हालसम्म पनि नेपालबाट सबैभन्दा बढी जस्तापाता निर्यात गर्ने आरती स्ट्रिपको बिआइएस नवीकरण भएको छैन। यसका साथै पछिल्लो महिनादेखि भारतले स्टिल आयातमा सेफगार्ड ड्युटी (शुल्क) लगाएको छ।
कुनै वस्तुको अस्वाभाविक आयात भएको लागेमा आफ्ना उद्योग संरक्षण गर्न यस्तो शुल्क लगाउने गरिन्छ। यसको प्रभाव पनि निर्यातमा देखिएको उद्योगीहरूको भनाइ छ।
भारत सरकारले स्टिल आयातमा अधिकतम १२ प्रतिशतसम्म सेफगार्ड ड्युटी लगाएको छ। पहिलो वर्ष १२ प्रतिशत, दोस्रो वर्ष ११.५ प्रतिशत र तेस्रो वर्ष ११ प्रतिशत रहने भारतले जनाएको छ।
विभिन्न कारणले निर्यातमा उल्लेख्य गिरावट आएर पनि त्यस्ता वस्तुको आयात तुलनात्मक रूपमा बढ्नुले स्वदेशी बजारको माग बढेको संकेत गर्छ।
तर, उद्योगीहरू अहिले स्थानी बजारमा पनि यस्ता वस्तुको माग नबढेको दाबी गरेका छन्।
राजेश मेटलका सञ्चालक तथा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष राजेश अग्रवालका अनुसार अहिले यस्ता वस्तुहरूको उत्पादन ३५ देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालित भएको छ।
निर्माण क्षेत्रमा आएको सुस्तीको कारण निर्माण सामग्रीको माग बढ्न नसकेको उनीहरूको भनाइ छ।
त्यस्तै, नयाँ उद्योगहरू पनि सञ्चालनमा आउन नसकेको कारण अपेक्षित रूपमा फलामे वस्तुको माग नबढेको उनीहरूको प्रतिक्रिया छ।