चालु आर्थिक वर्षको दोस्रो त्रैमास कात्तिक, मंसिर र पुस महिनामा ४.५ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक राष्ट्रिय लेखा तथ्यांक अनुसार नेपालको अर्थतन्त्रले यो वृद्धि हासिल गर्ने देखिएको हो।
गत आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा यस्तो वृद्धिदर ३.८ प्रतिशत मात्र रहेको थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा यो वर्षको सोही अवधिमा अर्थतन्त्र केही चलायमान भएको र सकारात्मक दिशामा अघि बढेको देखिएको छ।
तथ्यांक कार्यालयले आर्थिक वृद्धिदरलाई दुई वटा प्रमुख पाटोबाट हेर्ने गर्दछ। एउटा मौसमी प्रभावलाई नहटाई निकालिएको तथ्यांक र अर्को मौसमी प्रभावलाई हटाएर निकालिएको तथ्यांक।
मौसमी प्रभाव भन्नाले चाडपर्व, खेतीपातीको समय वा मौसमका कारण अर्थतन्त्रमा आउने नियमित उतारचढावलाई बुझाउँछ। जस्तै दसैँ वा तिहारको समयमा व्यापार निकै बढ्छ भने वर्षाको समयमा निर्माण कार्यहरू रोकिने गर्दछन्। यस्ता नियमित रूपमा दोहोरिने प्रभावहरूलाई गणितीय विधिबाट हटाएपछि मात्र अर्थतन्त्रको वास्तविक चाल र प्रवृत्ति कस्तो छ भन्ने थाहा हुन्छ। यसरी मौसमी प्रभाव मिलाएपछि अर्थात् समायोजित गरेर हेर्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा अर्थतन्त्र २.०४ प्रतिशतले विस्तार भएको पाइएको छ।
यस पटकको आर्थिक वृद्धिमा ऊर्जा क्षेत्रको योगदान सबैभन्दा उत्साहजनक र महत्त्वपूर्ण देखिएको छ। विद्युत् तथा ग्याँस क्षेत्रको वृद्धिदर २२.७४ प्रतिशत पुगेको छ। जलविद्युत् उत्पादनमा भएको ठूलो बढोत्तरी र विद्युत् वितरण प्रणालीमा आएको सुधारले गर्दा यो क्षेत्रले समग्र अर्थतन्त्रलाई बलियो सहारा दिएको देखिएको छ।
कृषि क्षेत्रको अवस्था पनि यस पटक धनात्मक नै रहेको छ। धानको उत्पादनमा केही कमी आए पनि पशुपालन, फलफूल र तरकारी खेतीमा भएको सुधारका कारण कृषि क्षेत्रमा २.२१ प्रतिशतको वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। कृषि क्षेत्रले देशको कुल उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने भएकाले यसको सानो वृद्धिले पनि समग्र जीडीपीमा ठूलो प्रभाव पार्दछ।
सेवा क्षेत्र अन्तर्गतका गतिविधिहरूमा सुधार देखिएको छ। आवास तथा भोजन क्षेत्र अर्थात् होटल र रेष्टुरेन्ट क्षेत्रमा पर्यटकको आगमन बढेसँगै ५.१८ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै यातायात तथा भण्डारण क्षेत्रमा नौ दशमलव छ पाँच प्रतिशत र वित्तीय क्षेत्रमा १२.५१ प्रतिशतको उच्च वृद्धि हुनुले बैंक तथा वित्तीय संस्थाहरूको कारोबारमा तीव्रता आएको संकेत गरेको छ।
थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.११ प्रतिशतको सुधार देखिएको छ। बजारमा स्वदेशी उत्पादनको उपलब्धता र आयातमा भएको बढोत्तरीले यो क्षेत्रलाई चलायमान बनाएको हुन्छ।