नेपालबाट भारतीय नाका पानीट्यांकी पुगेको चार दिनपछि सोमबार भारतीय पक्षले नेपाली चियाको नमूना संकलन गरेको छ।
भारतीय पक्षले चियाको नमूना संकलन गरेर प्रयोगशाला परीक्षणका लागि कोलकाता पठाएको छ। अन्तिम परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री नगर्न पनि भारतीय पक्षको निर्देशन छ।
मे १ देखि कडा कानूनी तगारो खडा गरेर नेपालको चिया प्रवेशमा कठाइ गरेको भारतको 'मूड' बुझ्न नेपाली पक्षले शुक्रबार चिया बोकेको एउटा गाडी भारततिर पठाएको थियो।
‘शुक्रबार पानीट्यांकी नाका पुगेको गाडीमा रहेको चियाको नमूना सोमबार संकलन भएको छ,’ नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भने, ‘परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री नगर्न निर्देशन दिइएको छ।’
मे १ अघिसम्म नेपालबाट भारत जाने चियाको एउटा नमूना प्रयोगशालामा जाँचेर पास भएपछि तीन महिना वा २० वटा गाडीसम्म निर्यात गर्न पाइने सुविधा थियो।
मे १ देखि लागू हुने गरी भारतीय टि बोर्डले प्रत्येक गाडीको चिया परीक्षण गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ।
यो प्रावधानले नेपाली चिया उद्योगीहरूमाझ त्रास र झन्झट थपेको छ।
काँकडभिट्टाबाट चिया बोकेको गाडी भारत पश्चिम बंगालको नाका पानीट्यांकी पुगेको चार दिनपछि नमूना संकलन भएपछि अब नेपाली पक्ष रिपोर्टको प्रतिक्षामा रहनेछ।
कोलकातामा मात्रै नमूना परीक्षण हुने भएकाले अन्तिम प्रतिवेदन कहिले आउँछ यकिन नभएको नेपाली पक्षको भनाइ छ।
हालसम्म खाद्य परीक्षण रिपोर्ट छिटोमा एक साता र ढिलोमा दुई सातामा मात्रै आइपुग्ने गरेको छ।
‘यो भारतीय पक्षको नियत र मुड बुझ्नलाई पठाइएको चिया हो, उनीहरूले नेपाली चियाको गुणस्तरमै शंका गरेका हुन् कि हाम्रो बजार नै बन्द गरिदिने योजना बनाएका हुन् केही दिनमा खुल्नेछ,’ झापाका एक चिया उद्योगीले भने, ‘यदि समयमै रिपोर्ट दिन भारतीय पक्षले तदारूकता देखायो भने शंका निवारण हुन्छ। अन्यथा हाम्रो शंका वास्तविकता बन्छ।’
चिया उद्योगीहरूका अनुसार भारतीय पक्षले चिया र अदुवामा सधैं नयाँ–नयाँ बखेडा झिक्दै अवरोध सिर्जना गर्दै आएको छ।
भारतकै चिया उत्पादकहरूको दबाब त्यहाँ तीव्र रहेको नेपाली उद्योगीहरू बताउँछन्।
‘इलामको अर्थोडक्स चियालाई भारतीयहरूले दार्जिलिङको ब्राण्डमा बेच्न थालेको धेरै भइसकेको छ,’ चिया निर्यातकर्ता सन्जिव राठीले भने, ‘विभिन्न बहाना गरेर रोक्ने प्रयास धेरै अघिदेखि हुँदै आएको हो। अहिले कानुन नै लागू गरेर झन्झट थपिएको छ। अब के हुन्छ यसै भन्न कठिन छ।’
झण्डै पाँच वर्षअघि नै दार्जिलिङ चिया बोर्डले नेपाली चियाको आयात रोक्न पश्चिम बंगाल सरकारलाई लिखित आग्रह गरेको थियो।
त्यो बेला नै पश्चिम बंगाल सरकारले विभिन्न भारतीय सञ्चार माध्यममार्फत् नेपाली चियाको गुणस्तरबारे लामो समयदेखि नकारात्मक सन्देश फैलाइरहेको छ।
उद्योगीहरूका अनुसार अहिले गुणस्तर परीक्षणको नाममा नेपाली चिया रोकिनु त्यसैको निरन्तरता हो।
‘नेपाली चिया गुणस्तरहीन र अखाद्य भएको भ्रम भारतभर फैलाउने प्रयास लामो समयदेखि हुँदै आएको हो,’ राठीले भने ‘यसले समस्या ल्याएको छ। समस्या समाधान गर्न नेपाल सरकारले कूटनीतिक तहबाट पहल गर्नु अत्यावश्यक छ।’
त्यसो त नेपाली चियाको आयात रोक्नुपर्ने आवाज भारतको संसदमै पनि उठेको थियो।
सन् २०१९ मा पश्चिम बंगालबाट राज्यसभामा प्रतिनिधित्व गर्ने तत्कालीन सांसद शान्ता क्षेत्री ले नेपाली चियाको गुणस्तरमाथि प्रश्न उठाउँदै आयात रोक्नुपर्ने माग गरेकी थिइन्।
त्यसअघि सन् २०१७ मा दार्जिलिङ टि एशोसिएसनले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेर नेपाली चियाको आयात नियन्त्रण गर्न ज्ञापन बुझाएको थियो।
नेपालका उद्योगीहरूका अनुसार नेपाली चिया सधैं भारतको केन्द्रीय खाद्य प्रयोगशालाबाट परीक्षण भएर मात्रै बजारमा जाने भएकाले गुणस्तरहीन भएको दाबी तथ्यसंगत छैन।
‘तैपनि निरन्तर एकै प्रकारको बखेडा झिकिरहने गरेको छ भारतले,’ झापाका एक चिया उद्योगीले भने, ‘नेपाल सरकारले कि स्थायी समाधान खोजेर सजिलो अन्तर्राष्ट्रिय बजार सुरक्षित गर्नुपर्यो कि भरपर्दो अर्को अन्तर्राष्ट्रिय बजार खोज्नुपर्यो।’
नेपालका चिया निर्यातकर्ताहरू आफ्नो उत्पादनको गुणस्तरप्रति विश्वस्त रहँदै आएका छन्।
चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली नेपाली चिया गुणस्तरहीन नभएको र अखाद्य पनि नरहेको बताउँछन्।
‘हामी आफ्नो उत्पादनमा विश्वस्त छौं,’ उनले भने ‘यति हो सकेसम्म चाँडो परीक्षण रिपोर्ट दिने प्रबन्ध होस्।’
उनले भने जस्तै नेपाली पक्षले भारतीय सीमा नाकामा प्रयोगशाला स्थापना गरिदिन लगातार माग गर्दै आएको छ।
चिया मात्रै नभइ अदुवादेखि अन्य धेरै खाद्यवस्तु परीक्षण भएर आउँदा समय लाग्दै आएको छ।
यद्यपि भारतले नेपालको सीमा नजिकै कुनै पनि प्रयोगशाला स्थापना गरेको छैन। त्यसैले निर्यात हुने सबै खाद्यवस्तुको परीक्षण कोलकातामा मात्र हुँदै आएको छ।
कोलकाताबाट नमूना परीक्षण भएर आइपुग्न समय लाग्ने र त्यसले नेपाली उत्पादनको लागत बढाउने र झन्झट थप्ने काम हुँदै आएको छ।
अहिले प्रत्येक गाडीमा भएका चियाको प्रयोगशाला परीक्षण गर्नुपर्ने प्रावधान सुरू भएको ११ दिनयता नेपाली चियाको भारत निकासी ठप्प छ। नाकामा पुगेको एउटा गाडीको नमुना बल्ल संकलन भएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा उत्पादन हुने सिटिसी चियाको ५० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा पुग्छ। अर्थोडक्स चियाको ९० प्रतिशत हिस्सा पनि भारत नै निर्यात हुन्छ।
नेपाली चियाले भारतीय पक्षबाट यस्तो अवरोध झेलेको यो पहिलो घटना भने होइन।
नेपालबाट भारतीय बजार जाने चिया होस् या कुचो, अदुवा होस् वा अलैंची, यी वस्तुले हरेक वर्ष कुनै न कुनै बहानामा भारतीय अवरोध झेल्दै आएका छन्। तीमध्ये चिया र अदुवाले बढी अवरोध झेल्नुपर्ने बाध्यता छ।
नेपालमा वार्षिक १ करोड ९० लाख किलो सिटिसी चिया उत्पादन हुने बोर्डको तथ्यांक छ। त्यसमध्ये १ करोड किलो चिया भारतीय बजारमा निर्यात हुन्छ। सिटिसी चिया झापामा सबभन्दा धेरै उत्पादन हुन्छ।
त्यस्तै, वार्षिक ७० लाख किलो उत्पादन हुने अर्थोडक्स चियामध्ये ६० लाख किलो भारतीय बजार पुग्छ। इलाम, पाँचथर, धनकुटा लगायतका पहाडी जिल्लामा यो चिया उत्पादन हुने गरेको छ।
हरेक वर्ष सरदर साढे चार अर्ब रूपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याउने चियाको अन्तर्राष्ट्रिय बजार गुम्ने भय पछिल्लो घटनाक्रमले थपेको उद्योगीहरु बताउँछन्।