बैंक र वित्तीय प्रविधि कम्पनीहरू अब प्रतिस्पर्धी नभई रणनीतिक साझेदारका रूपमा अघि बढ्न थालेको फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले बताएका छन्।
सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभ २०२६ मा बोल्दै उनले बैंकहरूले नियमन, उत्पादन र वित्तीय संरचना व्यवस्थापन गर्ने र फिनटेकहरूले प्रयोगकर्ता अनुभव तथा प्रविधिमा केन्द्रित भएर काम गर्ने नयाँ सहकार्य मोडेल विकास भइरहेको बताए।
उनका अनुसार भविष्यमा फिनटेक कम्पनीहरू बैंकका उत्पादनहरू ग्राहकसम्म पुर्याउने प्रमुख वितरण च्यानल बन्नेछन्, जसले वित्तीय सेवाको पहुँच विस्तार गर्नेछ।
सापकोटाले बैंकिङ प्रणालीलाई आधुनिक बनाउन एपीआई आधारित संरचना अनिवार्य हुने बताए।
ठूला सफ्टवेयर कम्पनीमा मात्र निर्भर रहँदा बैंकहरूले सामान्य परिवर्तनका लागि पनि समय र लागत बढी व्यहोर्नु परेको उल्लेख गर्दै उनले आफ्नै एपिआई गेटवे निर्माण र प्रणाली नियन्त्रण आवश्यक रहेको बताए।
उनले परम्परागत भारी प्रणालीको सट्टा छरितो प्रविधि अपनाउनुपर्नेमा जोड दिँदै आधुनिक आर्किटेक्चरले उच्च कारोबार क्षमता व्यवस्थापन गर्न सक्ने बताए।
उनका अनुसार भविष्यको बैंकिङ प्रणाली ओपन बैंकिङ र ओपन एपीआईतर्फ उन्मुख हुनेछ।
डिजिटल र बिना धितो कर्जाबारे बोल्दै उनले परम्परागत बैंकिङका लागि साना कर्जा प्रवाह महँगो हुने भएकाले फिनटेकले प्रविधिमार्फत यो लागत घटाउन सक्ने बताए।
मोबाइल प्रयोग व्यवहारका आधारमा वैकल्पिक क्रेडिट स्कोरिङ प्रणाली विकास गर्न सकिने र रियल–टाइम डेटा प्रयोग गरी ऋण तिर्ने क्षमता मूल्यांकन गर्न सकिने उनको भनाइ थियो।
सापकोटाले नेपालको ऋण बजार करिब ४८० अर्ब रुपैयाँ बराबरको रहेको उल्लेख गर्दै अझै ठूलो जनसंख्या वित्तीय पहुँच बाहिर रहेको बताए।
राष्ट्रिय परिचयपत्र प्रणालीलाई डिजिटल बैंकिङको महत्वपूर्ण आधारका रूपमा उपयोग गर्न सकिने उनले बताए।
उनका अनुसार डेटा साझेदारी र क्रेडिट स्कोरिङका लागि स्पष्ट कानुनी संरचना अझै कमजोर भएकाले यसले नवप्रवर्तनमा चुनौती सिर्जना गरेको छ।
उनले बैंकिङको भविष्य कृत्रिम बौद्धिकतामा आधारित हुने बताउँदै ऋण स्वीकृति, जोखिम मूल्यांकन र ग्राहक सेवामा यसको प्रयोग बढ्ने उल्लेख गरे।
हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि लगानीकर्तामा देखिएको 'पर्ख र हेर' अवस्थाले कर्जा विस्तार सुस्त भएको उनको भनाइ थियो।
आगामी मौद्रिक नीतिले यसलाई दिशा दिन सक्ने अपेक्षा गरिएको उनले बताए।
सापकोटाले यी सबै परिवर्तन सफल बनाउन बैंक सञ्चालक समिति र उच्च व्यवस्थापनको स्पष्ट दृष्टिकोण आवश्यक हुने बताउँदै प्रविधिलाई खर्च होइन, व्यवसाय विस्तारको मुख्य आधारका रूपमा हेर्नुपर्ने निष्कर्ष प्रस्तुत गरे।