काखमा सानी छोरी, नयाँ देश र अपरिचित समाज।
सन् २००४ मा साउदी अरब पुग्दा यासमिन बेगम सैयदको ध्यान आफ्नै परिवारमा थियो। समयसँगै उनले साउदीमा महिलाको जीवनमा आएको गहिरो परिवर्तनलाई आफ्नै आँखाले देख्ने अवसर पाइन्।
यासमिन श्रीमान राजु सैयदसँग साउदी गएकी हुन्। राजु त्यसभन्दा आठ वर्ष अगाडिदेखि नै साउदीमा काम गरिरहेका थिए।
राजु स्याङ्जाका हुन् भने यासमिन पाल्पाकी। बिहेपछि पढाइलाई निरन्तरता दिएर अर्थशास्त्रमा स्नातकोत्तर गरेकी यासमिनले केही समय पढाएकी पनि थिइन्।
साउदी गएपछि उनी पूर्ण गृहिणी बनिन्। तीन सन्तान भए। उनी सन्तानको हेरचाहमै केन्द्रित भइन्।
'साउदी गएपछि म बच्चा हुर्काउने र सामाजिक काममा केन्द्रित भएँ। आर्थिक उपार्जनका लागि काम गर्नैपर्ने बाध्यता पनि थिएन,' उनले भनिन्।
साउदीमा राजुको आफ्नै व्यवसाय थियो। सुरूमा नेपाली रेस्टुरेन्ट चलाएका उनले पछि कोरियन गाडीको पाटपुर्जाको पसल गरे। यो व्यवसाय अहिले पनि चलिरहेको छ।
यासमिन भने यस्तो समयमा साउदी गएकी थिइन्, जति बेला त्यहाँ महिलाहरूलाई सडकमा देख्नसमेत मुस्किल पर्थ्यो। देखिएका महिलाहरू पनि शिरदेखि पाउसम्म, मुख समेत छोपेर हिँड्थे।
'आँखा मात्र देखिने गरी बुर्का लगाएका हुन्थे। मैले पनि कयौं पटक सडकमा हिँड्दा नियम अनुसार मुख नछोपेको भन्दै गाली खाएकी थिएँ,' उनले भनिन्।
उनी साउदीमा हुने नेपाली समुदायका कार्यक्रममा सहभागी हुन्थिन्। सहभागी मात्र होइन, आफ्ना धारणा पनि राख्थिन्।
यासमिनका अनुसार सन् २००७ मा उनकै घरबाट सागर नेपालको सक्रियतामा 'गैरआवासीय नेपाली संघ (एनआरएनए), साउदी अरब' गठन भयो।
त्यो समितिमा उनी थिइनन्, तर त्यसका सबै कार्यक्रममा उनको सहभागिता हुन्थ्यो।
'मेरो श्रीमानले व्यवस्थापन गरेका नेपाली समुदायका कार्यक्रमहरूमा उहाँ पछाडि सिटमा बस्नुहुन्थ्यो। अनि मलाई बोल्नु भनेर अघि सार्नुहुन्थ्यो,' उनले सुनाइन्।
श्रीमानको साथ र आफ्नो सक्रियताकै कारण एनआरएनए आइसिसीको उपाध्यक्षसम्म हुने अवसर पाएको उनले बताइन्।
यासमिन सन् २०२१ देखि २०२३ सम्मको कार्यकालमा महिला उपाध्यक्ष बनेकी थिइन्। सन् २०२५ देखि २०२७ को कार्यकालमा उनी सल्लाहकार छिन्।
उनलाई धेरैले सोध्छन्— त्यो समयमा अर्थशास्त्रमा स्नातकोत्तर गरेर पनि किन केही काम गर्नुभएन?
उनी जबाफ दिन्छिन्— तीन सन्तान हुर्काउनमा र समाजसेवामै सन्तुष्ट छु।
आफू साउदी गएका समयमा महिलालाई काम गर्न सजिलो पनि नभएको उनी बताउँछिन्।
'अहिले त साउदीमा महिलाले गाडी चलाउन थालिसकेका छन्। त्यो देख्दा त मलाई सपना जस्तै लाग्छ। महिलालाई अघि बढाउने उद्देश्यले हरेक कार्यालयमा महिला कर्मचारी राख्न सरकारले प्रोत्साहन गर्न थालेको छ,' उनले भनिन्, 'अहिले मर्यादित र सहज हुने पोसाक लगाउन पाइन्छ। पुरूषले पनि हाफ पाइन्ट र टप लगाउन पाउँदैनन्। त्यसैले पोसाकमा अनुशासन अपनाइएको छ, तर कडाइ छैन।'
उनी धेरै समयसम्म साउदीमा हुने नेपाली कार्यक्रमकी एक्ली महिला हुन्थिन्। अहिले दिदीबहिनी समूह गठन भइसकेको छ। एनआरएनए साउदीको अध्यक्ष नै महिला भइसकेकी छिन्। सन् २०२३ देखि २०२५ को कार्यकालमा एनआरएनए साउदीको अध्यक्ष रविना अर्याल थिइन्।
'साउदीका धेरै सहरमा नेपाली नर्सहरू कार्यरत छन्। कोही ब्युटीपार्लरमा काम गर्छन् अनि कोही स्कुलमा पढाउँछन्। घरेलु काममा गएका महिलाहरू पनि शुक्रबार सार्वजनिक कार्यक्रममा निस्किन्छन्,' यासमिनले भनिन्, 'बच्चाहरू पढाउन पनि सहज हुँदै गएको छ। तर नेपालीको सट्टा हिन्दी पढ्नुपर्छ।'
कुनै बेला महिलाहरू हिंसामा पर्नुपर्ने बाध्यताबाट यो ठाउँसम्म आइपुग्नु ठूलो उपलब्धि रहेको उनको भनाइ छ।