बेलायतको विश्वविद्यालयमा पढ्न आएपछि सुरूआती दिनदेखि नै एउटा फरक शैक्षिक संस्कृति अनुभव भएको थियो।
त्यो भिन्नता केवल विश्वविद्यालयको भवन, प्रविधि वा सुविधाको मात्र थिएन।
त्यो फरक थियो — सोच्ने तरिकामा।
कक्षाको पहिलो दिनदेखि नै प्राध्यापकहरूले एउटा कुरा बारम्बार दोहोर्याइरहेका थिए, 'Be critical' (आलोचनात्मक होऊ)।
सुरूमा मलाई लाग्थ्यो, यो उच्च शिक्षामा प्रयोग हुने एउटा सामान्य शब्द होला। विश्वविद्यालयहरूले आफ्नो उद्देश्यमा लेख्ने एउटा आकर्षक वाक्य होला।
बिस्तारै बुझ्दै गएँ — यहाँ आलोचनात्मक चिन्तन केवल बोल्ने विषय मात्र थिएन। यो विश्वविद्यालयको सम्पूर्ण अभ्यासमा समावेश भएको रहेछ। यहाँको एक संस्कृति नै बनेको रहेछ।
यो पाठ्यक्रमको उद्देश्यमा उल्लिखित थियो। मूल्यांकनको ढाँचा र मापदण्ड आलोचनात्मक चिन्तनबाटै निर्देशित थियो।
सबभन्दा महत्वपूर्ण कुरा, मैले लिएका सबै कक्षाहरूको शिक्षण सिकाइको अभ्यासमा थियो।
प्राध्यापकहरूले आफ्नो पाठ योजना र कक्षा सञ्चालन गर्ने तरिकामा आलोचनात्मक चिन्तनलाई गहन रूपमा समावेश गरिरहेको देखेँ।
उनीहरूको पाठमा विभिन्न महादेशहरूको दर्शन, अभ्यास र विचारहरू समावेश थिए। उनीहरूले कक्षामा लाओत्सु, बुद्ध, गान्धीदेखि सिमोद दि बाउबर र बेल हुक्ससम्मको दर्शन र विचारहरू ल्याएन मन्थन गर्थे र गराउँथे। ब्राजिलमा पाउलो फ्रेरेले गरेको शैक्षिक अभ्यासदेखि लिएर स्थानीय विद्यालयको अभ्यास समेत प्रस्तुत गर्थे।
उनीहरूले हामीलाई कुनै पनि विषय, सिद्धान्त वा तर्कलाई चिन्तन नगरी जस्ताको त्यस्तै स्वीकार नगर्न प्रोत्साहन गरे। कुनै विचार सही छ भनेर विश्वास गर्नुअघि त्यसको प्रमाण खोज्न, त्यसको आधार बुझ्न र त्यसका सीमाहरू पहिचान गर्न प्रेरित गरे।
उनीहरूको सन्देश थियो— तथ्यहरू मात्र प्रस्तुत नगर, तिनको अर्थ बुझ। कुनै विचार केवल स्थापित छ भनेर स्वीकार नगर, वा कुनै स्थापित वा प्रख्यात मानिसले दिएको विचार भनेर पनि यत्तिकै स्वीकार नगर। त्यसलाई परीक्षण गर। त्यस विचारका आधार, वा त्यस विचारमा लुकेका पूर्वाग्रह वा कुनै स्वार्थ छन् कि, त्यो पनि गहिरिएर विश्लेषण गर। अरूले के बोले वा लेखे भन्ने मात्र होइन, तिमी आफै के सोच्छौ भन्ने कुरा पनि निर्माण गर।
प्राध्यापकहरूले हामीलाई सक्रिय बहसमा सहभागी गराए। उनीहरूले प्रस्तुत गरेको विचारमाथि असहमति जनाउँदा उनीहरू झनै उत्साहित भए। कक्षामा कुनै प्रश्न वा विचारलाई सही वा गलत भनेनन्।
बरू सोधिरहे— तिमीलाई किन त्यस्तो लाग्छ? तिमी के प्रमाणको आधारमा बोलिरहेका छौ? तिमीले बोलेको कुरा तिम्रो अनुभूति र विचार हो कि तथ्य हो?
पठनपाठनको संरचनामा पनि मैले एउटा ठूलो फरक महसुस गरेँ।
नेपाल र अन्य केही देशको विश्वविद्यालयको अभ्यासमा शिक्षक कक्षामा उपस्थित हुने समयको आधारमा पाठ्यभार (क्रेडिट आवर) को गणना हुन्थ्यो।
तर बेलायतमा कुनै कोर्सहरूमा विद्यार्थीलाई स्वतन्त्र अध्ययन गर्न लाग्ने समयलाई पनि क्रेडिट आवरमा गणना गरेको पाएँ।
आफ्नो विश्वविद्यालयमा, एक महिना कक्षा सञ्चालन गरेपछि विद्यार्थीहरूलाई एक साताको अध्ययन बिदा दिएको पाएँ।
शिक्षण सिकाइ अभ्यास हेर्दै गर्दा महसुस भयो— यहाँ विश्वविद्यालयको काम विद्यार्थीलाई सबै कुरा सिकाइदिनु होइन रहेछ। बरू विद्यार्थीलाई आफै खोज्न, पढ्न, विश्लेषण गर्न, नयाँ ज्ञान निर्माण गर्न र सीप सिक्न सक्षम बनाउनु रहेछ।
आफूले अध्ययन गरेको विषयको मूल्यांकन गर्ने पद्धति पनि यहाँ फरक थियो।
जस्तै, 'शिक्षा नीति' मेरो एउटा विषय थियो। कक्षामा मैले शिक्षा नीतिका संसारभरिका सिद्धान्त र अभ्यासहरू अध्ययन गरेँ। नीतिको निर्माण र विश्लेषण गर्ने सीप सिकेँ।
यस विषयको मूल्यांकनमा प्रश्न थियो— आफूलाई जिज्ञासा लागेको वा आफू परिचित भएको कुनै एउटा शिक्षा नीतिको अध्ययन गर, त्यसको अभ्यास कसरी भइरहेको छ, अध्ययन गर। त्यस नीतिको सामर्थ्य र कमजोरी पहिचान गर। त्यस नीतिलाई नयाँ तरिकाले कसरी सोच्न र निर्माण गर्न सकिन्छ, तथ्यपरक रूपमा आफ्नो विचारहरू प्रस्तुत गर।
यो असाइनमेन्ट गर्न मैले नेपालकै एउटा शिक्षा नीति छनोट गरेँ। त्यस नीतिको इतिहासदेखि वर्तमानसम्मको विकासको चरणहरू अध्ययन गरेँ।
कसरी कार्यान्वयन भएको छ भनेर खोज्न अभ्यास गर्ने मानिसहरूसँग कुरा गरेँ, त्यस नीतिबाट लाभान्वित हुने वर्गसँग कुरा गरेँ।
शिक्षा नीतिमा काम गरिरहेका केही मानिसहरूसँग संवाद गरेँ। ऐतिहासिक र वर्तमान तथ्य र तथ्यांकहरू संकलन गरेँ। अनि, सबैलाई एक ठाउँ राखेर सिद्धान्त र अन्य देशको अभ्यासको आधारमा विश्लेषण र संश्लेषण गरेँ।
यो ५ हजार शब्दको असाइनमेन्ट गर्न मैले गर्नुपरेको मिहिनेत, अभ्यास र त्यस प्रक्रियामा मैले सिकेको कुरा निकै गहन थियो।
तर नेपालको सामाजिक र शैक्षिक परिवेशमा कक्षा १ देखि स्नातकोत्तरसम्म अध्ययन गरेर आएको मेरा लागि यो फरक शैक्षिक अभ्यासमा घुलमिल हुनु सहज थिएन।
दक्षिण एसिया, अफ्रिका र दक्षिण अमेरिकाबाट आएका मेरा केही सहपाठीहरूका लागि पनि यो अनुभव चुनौतिपूर्ण भइरहेको थियो। आफ्नो देशमा शिक्षकहरूको कक्षाबाट निर्देशित हुने हामीलाई यहाँ स्वायत्त सिकाइ वातावरणमा हुँदा कताकता हराइरहेको महसुस भएको थियो।
आफूले विद्यालय र विश्वविद्यालयमा अध्ययन गरेको सम्झिन्छु। कतिपय कक्षाहरूमा शिक्षकहरूले हुबहु आफ्नो नोट सार्न लगाउँथे। कतिपय कक्षाहरू पूर्णतः व्याख्यानमा आधारित थिए। गणित जस्तो विषयहरूमा शिक्षकहरूले कालो पाटी/सेतो पाटीमा गणितीय समस्याको समाधान गरिदिन्थे र बुझाइदिन्थे।
जस्तै, फिजिक्स पढ्दा थाहा भएको थियो, आइज्याक न्युटनको क्लासिकल मेकानिक्समाथि प्रश्न गरेर र त्यसको त्रुटि पत्ता लाएर अल्बर्ट आइन्सटाइनले सापेक्षताको सिद्धान्त प्रस्तुत गरेका थिए।
तर फिजिक्सको आफ्नो कक्षामा त्यस्तो प्रश्न गर्न सिकिएन। न्युटन र आइन्स्टाइनले प्रतिपादन गरेको सिद्धान्तको व्याख्या गरियो, उनीहरूको सूत्रबाट कतिपय गणितीय समस्याको हल गरियो। तर आफैले उनीहरूमाथि प्रश्न गर्ने शैक्षिक वातावरण थिएन किनकि परीक्षामा त्यस्तो प्रश्न आउँदैन थियो। कक्षामा त्यस्तो चर्चा हुँदैन थियो।
केही कक्षाहरू अन्तरक्रियात्मक थिए तर ती अपवाद थिए।
यहाँ मैले शिक्षकको आलोचना गर्न खोजेको होइन। उनीहरूलाई जे सिकाइयो वा जसरी प्रशिक्षित गरियो, उनीहरूले त्यही सिकाए। वा, आफूले जसरी विश्वविद्यालयमा सिके, त्यसै गरी सिकाए।
शिक्षाको उद्देश्यहरूमा लेखिए पनि, हाम्रो शैक्षिक संरचनामा आलोचनात्मक चिन्तन सायद अभ्यासमा आएन।
हामीले शिक्षकलाई प्रश्न गर्न सिकेनौं। शिक्षकले भनेको कुरा सुन्न, सम्झिन र परीक्षामा पुनः लेख्न सिक्यौं। जसले शिक्षकसँग असहमति राखे वा कक्षामा फरक विचार प्रस्तुत गरे, उनीहरूले कक्षामा शिक्षकको गाली खाएको मैले देखेको छु। उनीहरू कक्षाबाट बहिस्कृत हुनुपरेको देखेको छु।
आलोचनात्मक चिन्तनलाई मैले हाम्रो सामाजिक संस्कृतिसँग पनि जोडेर हेरेँ।
हामीले परिवारमा आफूभन्दा अग्रजको सम्मान गर्न सिक्यौं। धेरै पटक आमाबुबा वा ठूला मानिसको निर्णयसँग असहमति भए पनि हामी चुप लागेर बस्छौं। मनमा प्रश्न उठे पनि सायद हामी कतिपयले प्रश्न सोध्दैनौं। परिवारमा अग्रज सदस्यहरूसँग आफ्ना सवाल राख्दैनौं।
जसले धेरै प्रश्न गर्छ वा असहमति राख्छ, परिवारसँग उनीहरूको सम्बन्ध चिसिएको पनि हामीले देखेका छौं। उनीहरूमाथि अग्रजको अपमान गरेको आरोप लाग्ने गरेको पनि हामीले देखेका छौं।
सबै व्यक्ति र परिवारमा यस्तै हुन्छ भनेर मैले सामान्यीकरण गर्न खोजेको होइन। मैले देखेका अधिकांश साथीहरू र आफन्तहरूको अनुभवको आधारमा सामान्य धारणा बनाएको हो।
बेलायत आएर यहाँको आलोचनात्मक चिन्तनको अभ्यासमा घुलमिल भइरहँदा सुरूमा मलाई लघुताभास महसुस भयो। यहाँ आफूले कुरा गरेका अधिकांश नेपाली विद्यार्थीहरूलाई पनि त्यस्तै महसुस भएको पाएँ।
यस्तो महसुस भइरहेको थियो, मलाई त सोच्नै आउँदैन रहेछ। तथ्य र अनुभूति मैले किन छुट्ट्याउन नसकेको होला? मेरो विद्यालय र विश्वविद्यालयले मलाई किन आलोचनात्मक चिन्तन सिकाएनन्?
मैले आफैलाई प्रश्नहरू सोध्न थालेँ— के हाम्रो सोच्ने तरिका गलत नै हो त? के आलोचनात्मक चिन्तन व्यक्ति र समाजका लागि अपरिहार्य नै हो त?
फेरि मस्तिष्कमा एउटा विचार आयो, धेरै सोचेर के हुन्छ र— झनै तनाव बढ्छ।
आध्यात्मिक गुरूहरूले पनि भन्छन् — धेरै नसोच। सोचबाट आफूलाई बाहिर राख। शान्त बन। विचारले तिमीलाई खुसी हुन दिँदैन, विचार शून्य भएर ध्यान गर। खुसी होऊ।
विश्वविद्यालयका हरेक कक्षामा विचारहरूमा बहस भइरहँदा मभित्र यो द्वन्द्व पनि चर्किँदै थियो।
म सोच्दै थिएँ, के आलोचनात्मक चिन्तनको अभ्यास कम हुनु भनेको हाम्रो संस्कृति कमजोर हुनु हो? के प्रश्न नगर्नु भनेको हामी सोच्न नसक्ने समाज हौं भन्ने हो?
सायद उत्तर त्यति सरल छैन।
हरेक समाजको आफ्नै इतिहास हुन्छ। आफ्नै जीवनशैली हुन्छ। आफ्नै मूल्य र मान्यता हुन्छन्। कुनै एउटा समाजलाई अर्को समाजको मापदण्डबाट मात्र हेरेर सही वा गलत छुट्ट्याउन सकिँदैन।
बेलायतको समाज व्यक्तिगत स्वतन्त्रता, बहस र असहमतिको संस्कृतिमा बढी आधारित होला। नेपालजस्तो समाजमा सम्बन्ध, परिवार, सामाजिक जिम्मेवारी र सामूहिकताको मूल्य बलियो होला।
हामी भौतिक विकासमा पछाडि छौं होला। प्रविधि, अनुसन्धान र संस्थागत विकासका धेरै क्षेत्रमा हामीले अझै धेरै यात्रा गर्न बाँकी छ। तर पारिवारिक सम्बन्ध, आपसी सहयोग र सामाजिक बन्धनका केही पक्षमा हामीसँग आफ्नै शक्ति छन्।
एक दिन सोधपत्र लेख्ने क्रममा मैले मेरो सुपरभाइजरसँग आफ्नो द्वन्द्व खुलेर राखेँ।
मैले सुनाएँ, 'म बिहानै ध्यान गर्छु। त्यहाँले ध्यान सञ्चालन गर्ने साधु भन्छन्, विचारलाई ढोकाबाहिरै फालेर ध्यानमा आऊ। यहाँ दिउँसो विश्वविद्यालय आउँछु, तपाईंहरू भन्नुहुन्छ, सोच, आलोचनात्मक चिन्तन गर।'
मेरो कुरा सुनेर ती प्राध्यापक मुसुक्क हाँसिन् र भनिन्, 'तिमी के सोचिरहेका छौ, खुलेर सुनाऊ।'
मैले उनलाई सुनाएँ, 'विश्वविद्यालयमा हरेकले आलोचनात्मक चिन्तन गर भन्नु हुन्छ। हरेक असाइनमेन्टमा त्यही पृष्ठपोषण हुन्छ। तपाईंहरूले सिकाएको आधारमा म आलोचनात्मक पनि भएको छु।
अघिल्लो परीक्षामा मैले आलोचनात्मक भएर लेखेँ, विशिष्ट श्रेणीको अंक पनि पाएँ। तर त्यो मैले भित्री अनुभूतिबाट लेखेको होइन, जबर्जस्ती तपाईंहरूको मापदण्ड पूरा गर्न लेखेको हो। मैले जसरी महसुस गर्छु, त्यसरी लेखेको भए मेरो लेखाइ फरक हुन्थ्यो। तर परीक्षामा सायद मैले कम अंक ल्याउँथे।'
मैले थपेँ, 'मेरो परिवारमा मभन्दा बढी उमेरका कसैले कुनै निर्णय गरे र मलाई त्यो सही लागेन भने पनि म अधिकांश समय प्रश्न गर्दिनँ। मेरो आमाबुबाको कुनै व्यवहारसँग म असहमत हुन सक्छु, तर म उहाँहरूलाई चुनौती दिँदिनँ। किनभने मलाई उहाँहरूको जीवन कथा थाहा छ। उहाँहरूले किन त्यस्तो सोच्नुहुन्छ भन्ने कारण थाहा छ। उहाँहरूका संघर्ष, सीमितता र गुणहरू थोरबहुत थाहा छन्। त्यहाँ हरेक पटक किन आलोचनात्मक हुनु? किन हरेक पटक प्रश्न गर्नु? केही चरम अवस्थामा बाहेक म आफ्ना प्रश्नहरू यत्तिकै छाडिदिन्छु।'
प्राध्यापक मलाई चाख दिएर ध्यानपूर्वक सुनिरहेकी थिइन्। उनको अनुहार हेर्दा महसुस हुन्थ्यो, उनी मलाई मात्र सुनिरहेकी छिन्, मलाई जबाफ दिन सोचेर बसेकी छैनन्।
परिवारको उदाहरण जोडेर मैले थपेँ, 'कुनै प्राज्ञिक अनुसन्धान पढ्दा नि त्यस्तै हुन्छ। अनुसन्धानको परिधि र सीमितता थाहा छ, त्यहाँ किन प्रश्न गर्नु? त्यसको सबल पक्ष मात्र हेरे भएन र, कमजोरीलाई किन खोतल्नु? किन टाउको दुखाउनु?'
यही सन्दर्भमा म करिब १५ मिनेट बोलिरहेँ। आफ्ना द्वन्द्व, आफ्नै विचारका विरोधाभाष र असंगति सुनाइरहेँ।
नेपालमा आफ्ना शिक्षकहरूसँग यति खुलेर कुरा कहिल्यै राखिएको थिएन। त्यो आँट पनि थिएन। अहिले पनि कति शिक्षकहरू अगाडि देखा पर्दा डर लागेको अनुभूति हुन्छ।
तर यहाँ आफ्नो मनमा उब्जेका हरेक प्रश्न र सवालहरू खुलासँग राख्न प्राध्यापकहरूले सुरक्षित वातावरण सिर्जना गरेका थिए।
उनीहरूलाई नै आलोचना गर्दा पनि यहाँ महसुस हुन्थ्यो, सायद उनीहरूले त्यसलाई व्यक्तिगत रूपमा लिँदैनन्। आफूलाई 'जज' गर्दैनन् र सम्भवतः पूर्वाग्रह राख्दैनन्।
मेरो मनको द्वन्द्व र छटपटी सुनेपछि ती प्राध्यापकले मुसुक्क हाँसेर भनिन्, 'यो कुरा मलाई सुनाएकोमा धन्यवाद! आफ्नो कुरा यति खुलेर राखेकामा धन्यवाद! म खुसी छु कि तिमीले यो आफूभित्रको द्वन्द्व मलाई सुनायौ।'
त्यसपछि प्राध्यापकले मलाई दुई महत्त्वपूर्ण कुराहरू भनिन्।
पहिलो, आलोचनात्मक चिन्तनलाई तिमीले कसरी हेरिरहेको छौ, त्यसलाई पनि आत्मावलोकन गरेर हेर। आलोचनात्मक चिन्तन भनेको सधैं नकारात्मक हुनु भन्न खोजेको पनि होइन।
दोस्रो, आलोचनात्मक चिन्तन तिम्रो व्यक्तिगत र सामाजिक मूल्यको विरोधमा छन् भने, त्यसलाई आफ्नो असाइनमेन्ट वा सोधमा खुलाएर आफ्नो तर्क राख। आफ्नो अनुभव र प्रमाणका आधारमा व्याख्या गर। तिमीले अहिले सोचिरहेको जस्तै केही अनुसन्धाता पनि छन्, उनीहरूले पनि पश्चिमी देशहरूमा प्रचलित आलोचनात्मक चिन्तनको विरोध गर्छन् र आफ्नै तरिका प्रयोग गर्छन्। हाम्रो विश्वविद्यालयको उद्देश्य तिमीलाई जबर्जस्ती केही सोच्न वा सिक्न बाध्य पार्नु होइन, तिमीलाई तिम्रो सत्यको नजिक पुग्न सहजीकरण गर्नु हो।
एक विद्यार्थीको रूपमा यो संवादमा मैले केही महत्त्वपूर्ण कुरा पहिचान गरिरहेको थिएँ।
पहिलो, मेरो कुरा मेरो प्राध्यापकले अस्वीकार गरिनन्। मलाई गलत सोच्दै छौ भनिनन्। बरू आत्मावलोकन गर्न सुझाव दिइन्।
दोस्रो, उनले भनिनन् — तिम्रो संस्कृतिमा समस्या छ। उनले मलाई आफ्नो सोच त्याग्न भनिनन्, बरू इमानदारितापूर्वक प्रस्तुत गर्न भनिन्।
त्यसपछि मैले उनलाई अर्को प्रश्न गरेँ, 'तपाईंले मेरो कुरा बुझ्नुभयो। मेरो पृष्ठभूमि र मेरो मूल्यलाई सम्मान गर्नुभयो। मलाई अझै विस्तृतमा कुराहरू बुझ्न सल्लाह दिनुभयो। म अझै सिक्नेछु। तर अर्को कुनै प्राध्यापकले मेरो विचार स्वीकार गर्नुभएन भने? उहाँहरूले मेरो सोचलाई गलत ठान्नुभयो भने?'
मेरो प्रश्न सुनेपछि उनी केही समय मौन भइन्।
त्यसपछि उनले एउटा वाक्य भनिन्, जसले मलाई जरैबाट हल्लाइदियो।
उनले भनिन्, 'त्यस्तो अवस्थामा म तिम्रो लागि लड्छु।'
म केही बेर बोल्न सकिनँ। मैले जीवनमा कुनै शिक्षकबाट यस्तो कुरा सुनेको थिइनँ।
मैले शिक्षकहरूबाट ज्ञान पाएँ। सुझाव पाएँ। सुधारका लागि निर्देशन पाएँ। कतिपयबाट सामान्य शिक्षकले गर्ने भन्दा धेरै सहयोग पाएँ।
तर एउटा शिक्षकले मेरो विचार राख्ने अधिकारका लागि लड्ने कुरा गरेको पहिलो पटक सुनेँ।
प्राध्यापकले मलाई हेरेर त्यो वाक्य भनिरहँदा म भावुक भएको थिएँ। आँखामा आँसु टिलपिल भइरहेको थियो। जिउमा काँडा उम्रिरहेको थियो।
करिब १३ वर्षदेखि शिक्षा क्षेत्रमा काम गरिरहेको मेरा लागि त्यो अमूल्य प्रेरणाको क्षण थियो।
हुन त, आजसम्म मैले सयौं शिक्षकहरू देखेको छु, जसले शिक्षकको सामान्य जिम्मेवारी भन्दा अत्यधिक मेहनत, माया र जिम्मेवारीबोध गरेर विद्यार्थीको जीवन परिवर्तन गरेका छन्। विद्यार्थीहरूको वास्तविकतासँग लडेका छन्। परिवारको सदस्यभन्दा बढी विद्यार्थीलाई साथ र सहयोग गरेका छन्।
यहाँ भने म आफैले मेरो विचारका लागि लड्छु भनेर मलाई आश्वासन दिने प्राध्यापक भेटेको थिएँ।
उनी मेरो पक्षमा लड्ने भन्नुको अर्थ मेरो हरेक विचार सही छ भनेर समर्थन गर्नु थिएन। उनी मेरो विचार निर्माण गर्ने अधिकार, मेरो अनुभवको सम्मान र मेरो बौद्धिक स्वतन्त्रताको रक्षा गर्ने कुरा गर्दै थिइन्।
त्यही रात ती प्राध्यापकले मलाई करिब १ हजार शब्दको एउटा लामो इमेल पठाइन्।
त्यसमा उनले लेखेकी थिइन्— मेरो कुराले उनलाई पनि आत्मचिन्तन गर्न बाध्य बनायो।
उनले केही प्राज्ञहरूको किताब पठाइन्, जसमा पश्चिमा शैलीको आलोचनात्मक चिन्तनमाथिको समीक्षा थियो। उनले आफूले बुझेको आलोचनात्मक चिन्तन के हो भनेर पनि व्याख्या गरिन्।
त्यो इमेल मेरो लागि एउटा साधारण प्रतिक्रिया थिएन। त्यसमा उनले अनुभवलाई सम्मान गर्दै मलाई अझ गहिरो प्रश्न गर्न प्रेरित गरिन्।
उनको सन्देश लगभग यस्तो थियो— तिम्रो समाज, तिम्रो अनुभव र तिम्रा मूल्यहरू ज्ञानका स्रोत हुन्। तर सिकाइको अर्थ आफूले पहिल्यै बुझेको कुरामै अडिनु मात्र पनि होइन। सिकाइ भनेको आफूले विश्वास गरेको कुरालाई पनि नयाँ दृष्टिकोणबाट हेर्न सक्ने क्षमता विकास गर्नु पनि हो।
त्यो इमेल पढेपछि मलाई महसुस भयो, म आलोचनात्मक चिन्तनसँग डराइरहेको रहेछु। मैले त्यसलाई पूर्ण रूपमा बुझेको रहेनछु।
हाम्रो समाजमा 'आलोचना' भन्ने शब्द धेरै पटक नकारात्मक अर्थमा प्रयोग हुन्छ। आलोचना गर्नु भनेको कसैको कमजोरी खोज्नु, विरोध गर्नु वा अस्वीकार गर्नु जस्तो बुझिन्छ।
तर विश्वविद्यालयमा मैले सिकेको आलोचनात्मक चिन्तन त्यो होइन रहेछ। कसैलाई गलत प्रमाणित गर्ने प्रक्रिया होइन रहेछ। यो सत्यलाई अझ नजिकबाट बुझ्ने प्रक्रिया रहेछ। यो आफ्नो र अरूको विचारलाई सम्मानपूर्वक परीक्षण गर्ने प्रक्रिया रहेछ।
यो 'म सही छु र मलाई सबै थाहा छ' भन्ने ठाउँबाट होइन, 'म अझ राम्रोसँग बुझ्न चाहन्छु' भन्ने ठाउँबाट सुरू हुने खोजीको यात्रा रहेछ। यो अरूलाई धैर्यपूर्वक सुन्ने प्रक्रिया पनि रहेछ।
ती प्राध्यापकले आज मसँग जे गरिन्, त्यो पनि आलोचनात्मक चिन्तनकै एक पाटो थियो। उनले मलाई आलोचनात्मक चिन्तनबारे प्रवचन दिइनन्, बरू त्यो आफैले रोल मोडलिङ गरेर देखाइन्।
प्राध्यापकसँगको संवादपछि मैले हाम्रो आफ्नै परम्परातर्फ पनि फर्केर हेर्न थालेँ।
हाम्रोमा प्रश्न गर्ने संस्कृति उल्लेख्य रहेछन्।
उपनिषदहरू प्रश्न र संवादमा आधारित छन्। नचिकेताले यमसँग जीवन र मृत्युबारे प्रश्न गर्छन्। अर्जुनले युद्धभूमिमा कृष्णसँग निरन्तर प्रश्न गर्छन्।
बुद्धले पनि आफ्ना अनुयायीलाई कुनै कुरा केवल परम्परा, विश्वास वा अधिकारका आधारमा स्वीकार नगर्न आग्रह गरेका थिए।
अर्थात्, प्रश्न हाम्रो संस्कृतिको विरोधी होइन रहेछ। बरू प्रश्न गर्ने साहसलाई हामीले नयाँ रूपमा पुनः खोज्नुपर्ने रहेछ।
यो अनुभवपछि म नेपालको शिक्षा प्रणालीबारे सोच्दै छु— हामीले विद्यार्थीलाई के सिकाइरहेका छौं? के हामी उनीहरूलाई केवल सही उत्तर लेख्न सिकाइरहेका छौं? कि सही प्रश्न गर्न पनि सिकाइरहेका छौं?
के विद्यार्थीहरूलेले शिक्षकसँग सम्मानपूर्वक असहमति राख्न सक्छन्? के शिक्षकहरूले विद्यार्थीको फरक विचारलाई चुनौती होइन, सिकाइको अवसरका रूपमा लिन सक्छन्?
अहिले पनि म मेरो प्राध्यापकको त्यो वाक्य सम्झिरहेको छु— म तिम्रो लागि लड्छु।
अहिले म त्यसको अर्थ अझ राम्रोसँग बुझ्दैछु।
उनी मेरो विचारसँग सहमत भएर लड्न खोजेकी थिइनन्। उनी मेरो सोच्ने स्वतन्त्रताका लागि लड्न तयार थिइन्।
उनी मेरो उत्तरको रक्षा गर्न होइन, मेरो प्रश्न गर्ने साहसको रक्षा गर्न तयार थिइन्।
सायद असल शिक्षकले विद्यार्थीलाई आफूजस्तै सोच्न सिकाउँदैनन्, उनीहरूले विद्यार्थीलाई आफ्नै तरिकाले सोच्न सक्षम बनाउँछन्।
सायद शिक्षाको एउटा महत्त्वपूर्ण उद्देश्य पनि यही हो, स्वतन्त्र रूपमा सोच्न सक्ने बनाउनु।
म समग्र समाजबारे पनि सोच्दै छु — के हामी धेर्यपूर्वक अरूको कुरा सुन्छौं? के राजनीतिमा फरक विचारको सम्मान हुन्छ? के कुनै नीति नियम बनाउँदा विविध दृष्टिकोणबाट हेरिन्छ? के हामी अरूले भनेको कुरा यत्तिकै पत्याउछौं वा परीक्षण गरेर हेर्छौं?
अहिले लाग्दैछ, मेरा ती प्राध्यापकले आत्मसात गरेको आलोचनात्मक चिन्तन जस्तै राजनीति, शिक्षा र समग्र समाजमा आलोचनात्मक चिन्तन समाहित भए हामी अझै उन्नत अवस्थामा हुन्छौं होला।
***
(लेखक विजयमणि पौडेल बेलायत सरकारको चेभनिङ छात्रवृत्ति अन्तर्गत हाल युनिभर्सिटी अफ एक्सेटरमा शैक्षिक नेतृत्व र व्यवस्थापन अध्ययन गर्दै छन्।)
एक्स (ट्वीटर)- @mani_bijaya