कुनै कम्पनीले कायम रहेका सेयरधनीलाई अंकित मूल्य (सामान्यतया एक सय रूपैयाँ) मा जारी गर्ने थप सेयरलाई हकप्रद भनिन्छ।
कायम सेयरधनीको हक लाग्ने भएकाले पनि यस्ता सेयरलाई हकप्रद सेयर भनिएको हो।
बजारमा अंकित मूल्यभन्दा धेरैमा कारोबार भइरहेका सेयर कम मूल्यमा पाउने यो एउटा अवसर पनि हो। यसका लागि आफूसँग पहिले पनि सो कम्पनीको सेयर भने हुनुपर्छ।
हकप्रद सेयर जारी गर्नुअघि कम्पनीहरूले बुक क्लोज (सेयरधनी पुस्तिका बन्द गर्ने अवधि) मिति तोकेका हुन्छन्। सो समयसम्म सेयर स्वामित्व भएकाहरूले हकप्रद सेयरमा आवेदन दिन पाउँछन्।
आज हामीले हकप्रद सेयर जारी गर्ने तयारीमा रहेका पिपुल्स हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको वित्तीय अवस्था, सम्भावना र जोखिमको चर्चा गरेका छौं।
पिपुल्स हाइड्रोपावर कम्पनी
पिपुल्स हाइड्रोपावरले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। एक सय कित्ता सेयर हुने लगानीकर्ताले एक सय कित्ताकै लागि आवेदन दिन पाउनेछन्।
हाल धितोपत्र बोर्डमा अनुमति प्रक्रियामा रहेको पिपुल्स हाइड्रोले यही साल वैशाख ९ गते यसका लागि आवेदन दिएको हो।
एक वर्षअघि बजारमा यसको सेयर प्रतिकित्ता ५०० रूपैयाँभन्दा धेरैमा कारोबार भइरहेको थियो। १० महिनादेखि भने ४०० रूपैयाँ कट्न सकेको छैन। बिहीबार पिपुल्सको सेयर ३०६ रूपैयाँमा कारोबार भएको छ।
बुक क्लोजसम्म मूल्य ३०६ रूपैयाँ नै रहे, सो समयसम्म सेयर किनेका लगानीकर्तालाई हकप्रद सहित प्रतिकित्ता लागत २०१ रूपैयाँ पर्न आउँछ।
मूल्य परिवर्तनबाट हुने लाभको लागि लगानीकर्ताले हकप्रदपछि २०१ रूपैयाँभन्दा बढीमै सेयर बिक्री गर्नुपर्छ।
पिपुल्स हाइड्रोको गत आर्थिक वर्ष २०८२–८३ को वार्षिक वित्तीय विवरण सार्वजनिक भइसकेको छैन। वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्ममा ३८ लाख रूपैयाँ मात्रै नाफा कमाएको छ।
२०८१–८२ को तेस्रो त्रैमासमा १३ करोड ५२ लाख रूपैयाँ नोक्सानमा थियो। सो समय यसको २३ करोड सञ्चित नोक्सान थियो। हाल सञ्चिति ६६ लाख रूपैयाँले सकारात्मक छ।
पिपुल्सले विद्युत बिक्रीबाट ८२ करोड ९४ लाख रूपैयाँ आम्दानी गरेको छ। यसको ऋणभार उच्च छ। यसले ब्याज तिर्न नै ४६ करोड रूपैयाँ खर्च गरेको छ।
हकप्रद जारी गरेर उठ्ने तीन अर्ब २० करोड रूपैयाँ ऋण घटाउन प्रयोग गरिने भएको छ। यसको ऋण लगायत वित्तीय दायित्व आठ अर्ब रूपैयाँ छ।
यसको ५४ मेगावाट क्षमताको सुपरदोर्दी जलविद्युत आयोजना 'ख' निर्माण सम्पन्न भए पनि प्रसारण लाइन अभावमा सबै विद्युत बिक्री गर्न सकिरहेको छैन। अन्य वैकल्पिक माध्यमबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भए पनि क्षमताभन्दा कम विद्युत उत्पादन गरिरहनुपरेकाले आम्दानीमा असर परेको वित्तीय विवरणमा उल्लेख छ।
नेपाल विद्युत प्राधिकरणले गत असार २३ गते एक सूचना जारी गर्दै २२० केभी क्षमताको मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको परीक्षण भएको उल्लेख गरेको छ। यसो भएमा यसले बिना अवरोध उत्पादित विद्युत बिक्री गर्न सक्ने अवस्था बन्नेछ। र, आम्दानीमा थप सुधार हुनेछ।
यसको पूर्ण स्वामित्वमा रहेको ५७ मेगावाट क्षमताको अर्को आयोजना हिमचुली दोर्दीको वर्षौंदेखि विद्युत खरिद सम्झौता नै हुन सकिरहेको छैन।
भर्खरै नाफामा देखिन थालेको पिपुल्स हाइड्रोले हालसम्म लाभांश दिएको छैन। केही समयअघि यसको सेयर मूल्य घटेर २५० रूपैयाँ पुगेको थियो। त्यसपछि केही साताअघि ३२७ रूपैयाँसम्म पुगेको थियो।
बुधबार र बिहीबारको कारोबारमा पिपुल्सको सेयर मूल्यले दुवै दिन दोजी आकृति बनाएको छ। यसले मूल्य थप बढ्नेमा लगानीकर्ताहरू विश्वस्त हुन नसकिरहेको संकेत गर्छ।
हिमालयन हाइड्रोपावर कम्पनी
हिमालयन हाइड्रोले पनि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। चैत १० गते यसले हकप्रद सेयर निस्कासनका लागि अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ।
एक वर्षयता हिमालयनको सेयर ३०० देखि ५०० रूपैयाँ दरमा कारोबार भइरहेको छ। यो बिहीबार ३५० रूपैयाँमा कारोबार भयो। हकप्रदपछि २२५ रूपैयाँभन्दा बढी मूल्यमै सेयर बिक्री गर्ने अवसर मिलेमा मात्रै यसमा लगानी गर्दा फाइदा हुन सक्छ।
हिमालयन हाइड्रोले ०८२–८३ को तेस्रो त्रैमाससम्ममा ६ करोड ८० लाख रूपैयाँ नाफा कमाएको छ।
सोभन्दा अघि आर्थिक वर्ष २०८१-–८२ को तेस्रो त्रैमासमा ६ करोड ४१ लाख नाफा कमाएको थियो।
तर अहिले पनि यो १७ करोड सञ्चित नोक्सानमा छ। नाफा कमाएर यो नोक्सान नघटाएसम्म यसले लाभांश दिन सक्ने अवस्था बन्दैन।
विद्युत बिक्रीबाट यसले २५ करोड ४५ लाख रूपैयाँ आम्दानी गरेको छ। ऋणको ब्याजदर घटेका कारण पनि लागत केही घटेको हो। यसले ब्याज तिर्न ६ करोड रूपैयाँ खर्च गरेको छ।
हकप्रद जारी गरेर उठ्ने रकम एक अर्ब २२ करोड उठाएपछि यसको ऋण लगभग सकिने देखिन्छ। त्यसपछि हिमालयनले लाभांश बाँड्ने सम्भावना भएको वित्तीय विवरणमा उल्लेख गरेको छ।
हिमालयनको १२ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत आयोजना सञ्चालनमा छ। २०७९ सालमा नेप्सेमा सूचीकृत भएको हिमालयन हाइड्रोले हालसम्म लाभांश दिएको छैन।
सात कारोबार दिनअघि ३०० रूपैयाँसम्म कारोबार भइरहेको हिमालयनको सेयर मूल्य बढ्ने प्रयासमा छ। केही दिनदेखि लगातार हरियो मैनबत्ती आकृति बनाए पनि यो बिहीबारको उच्च मूल्य (३६२ रूपैयाँ) मा टिकिरहन सकेन।