अमेरिका र इसराइलको अत्यन्तै चर्को आलोचना गर्ने इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई ती देशले सत्ता सुम्पन खोजेको समाचारले पछिल्लो समय सबैलाई चकित पारेको छ।
अमेरिका र इसराइलले संयुक्त आक्रमणको सुरूआतमै फेब्रूअरी २८ मा सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीसहित कयौं वरिष्ठ अधिकारी र जनरललाई मारेका थिए।
त्यसको केही दिनपछि सुरूआती आक्रमणमै अहमदिनेजाद पनि मारिए भनेर चर्चा चल्न थाल्यो। सुरूमा इरानी शासकले समेत उनी आक्रमणमा मरेको ठानेर आधिकारिक सूचना नै प्रकाशित गरेको अमेरिकी मिडियाले लेखेका छन्।
सन् २००५ देखि २०१३ सम्म इरानका राष्ट्रपति रहे पनि पछिल्लो समय अहमदिनेजादको खमेनीसँग सम्बन्ध बिग्रिएको थियो। यसरी सत्ताबाट टाढा भइसकेका नेतालाई अमेरिका र इसराइलले किन मारे भनेर प्रश्न उठेको थियो। तर पनि त्यसलाई उनले राष्ट्रपति हुँदा अमेरिका र इसराइलको ज्यादै नै खेदो गरेको रिस फेरेको रूपमा लिइयो।
त्यसपछि भने तेहरानमा रहेको उनको निवासमा भएको आक्रमणमा उनी जोगिएको चर्चा चल्न थाल्यो। केही पश्चिमा मिडियामा त इरानी सेनाको निगरानीमा रहेका अहमदिनेजाद उनको निवासमा भएको आक्रमणमा जोगिएपछि भागे भनेर समाचार आए। यस्तोमा सर्वोच्च नेता खमेनीलाई त मार्न सफल भएकोमा अहमदिनेजादमाथि लगाएको निशाना कसरी चुक्यो भनेर शंका उठ्न थाल्यो।
त्यसपछि अहमदिनेजादलाई सुरक्षा दिन खटिएका ५० भन्दा बढी सैनिकलाई मात्रै निशाना लगाइएको कुरा आयो। यसले उनी भागून् भन्ने आक्रमणकारीको चाहना रहेको देखाउँथ्यो।
त्यसपछि बिस्तारै अहमदिनेजादलाई सत्ता सुम्पने अमेरिका र इसराइलको योजना थियो भनेर हल्ला चल्न थाल्यो। अमेरिकी पत्रिका 'द न्यूयोर्क टाइम्स' ले त यसबारे समाचार नै लेख्यो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेका थिए। त्यसपछि उनले तत्कालीन उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई भेनेजुएलामा शासन चलाउन दिएका छन्।
इरानमा पनि डेल्सी रोड्रिगेजजस्तै आफूले भनेको मान्ने अहमदिनेजादलाई शासन सुम्पने योजना थियो भन्ने टाइम्सको जिकिर थियो। तर यस्तो दाबी अपत्यारिलो थियो।
एकातिर अमेरिका र इसराइलको त्यति धेरै आलोचना गर्ने अहमदिनेजाद कसरी उनीहरूले भनेजसरी शासन चलाउन राजी भए भन्ने स्वाभाविक प्रश्न उठ्यो। त्यसमाथि पछिल्लो समय उनी इरानको सत्ताबाट धेरै टाढा भइसकेका थिए। भेनेजुएलामा पो रोड्रिगेज उपराष्ट्रपति भएकाले मदुरोको स्वाभाविक उत्तराधिकारीका रूपमा सेनासहित सत्ता नजिकका सबैले स्वीकार गर्थे। शक्तिबाट त्यति टाढा रहेका अहमदिनेजादलाई कसरी इरानका सत्तानिकटले स्वीकार्थे भनेर टाइम्सको समाचारको आलोचना भयो।
तर केही दिनअघि टाइम्सले फेरि समाचार लेखेर इसराइलको जासुसी संस्था मोसादले अहमदिनेजादलाई 'एजेन्ट' नै बनाइसकेको ठोकुवा गर्यो।
इसराइलले कहिलेदेखि अहमदिनेजादलाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्यो भन्ने प्रस्ट छैन। तर सन् २०२३ मा वातावरणसम्बन्धी सम्मेलनमा भाग लिन गुवाटेमाला गएको बेला इसराइलले अहमदिनेजादसँग सम्पर्क गरेको इरानी अधिकारीहरूको हवाला दिँदै टाइम्सले लेखेको छ।
उक्त सम्मेलनमा भाग लिन विमानस्थल पुगेका अहमदिनेजादलाई सुरक्षाकर्मीले विमान चढ्नबाट रोकेका थिए। उनले विमानस्थलमै धर्ना गरेर विरोध गरेपछि बल्ल सरकारले उनलाई गुवाटेमाला जान दिएको थियो।
ल्याटिन अमेरिकाका अधिकांश देशको तुलनामा गुवाटेमालाको इसराइलसँग राम्रो सम्बन्ध भएकाले इरानले उनलाई भ्रमण गर्नबाट रोक्न खोजेको हुनसक्छ।
सन् २०२४ मा हंगेरीको लुडोविका विश्वविद्यालयले आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन अहमदिनेजाद बुडापेस्ट पुगेका थिए। टाइम्सका अनुसार अहमदिनेजाद र तत्कालीन मोसाद प्रमुख डेभिड बर्नियाको भेट गराउनका लागि मात्रै उक्त सम्मेलन आयोजना गरिएको थियो।
हंगेरीका त्यस बेलाका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टर ओर्बानको इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग धेरै राम्रो सम्बन्ध थियो। त्यसैले ओर्बान सरकारले लुडोविका विश्वविद्यालयलाई उक्त सम्मेलन आयोजना गर्न लगाएर वातावरण सम्बन्धी कुनै विज्ञता नभएका अहमदिनेजादलाई निमन्त्रणा पठाउन लगायो। नेतन्याहु आफैले समेत २०२५ अप्रिलमा उक्त विश्वविद्यालयमा भाषण गरे।
अहमदिनेजादले मोसादसँग सहकार्य गर्न थालेपछि इसराइललाई के-के गोप्य सूचना दिए भनेर अझै खुलेको छैन। तर २०२५ जुनमा इसराइलले इरानमाथि आक्रमण गर्नु केही दिनअघि अहमदिनेजाद फेरि लुडोविका विश्वविद्यालय पुगेर मोसादका अधिकारीसँग भेटेको टाइम्सले खुलासा गरेको छ।
उक्त भ्रमण क्रममा उनीसँग पठाइएका सुरक्षाकर्मीलाई छलेर दुई पटक लामो समयसम्म उनी हराएको भनेर सुरक्षाकर्मीले प्रतिवेदनमै लेखेका थिए। सुरक्षाकर्मीले सोध्दा अहमदिनेजादले प्रोफेसरहरूसँग कुरा गरेको बताएका थिए।
अहमदिनेजादले मोसाद अधिकारीलाई भेटेको केही दिनमै इसराइलले थालेको युद्धको सुरूआतमै कयौं इरानी जनरलहरू मारिएका थिए। १२ दिने उक्त युद्धको अन्त्यमा इरानका आणविक भट्टीमा हमला गर्न अमेरिका पनि सहभागी भएको थियो।
त्यसपछि अहमदिनेजाद र मोसादबीच सम्पर्क भयो कि भएन भनेर टाइम्सले खुलाएको छैन। तर यस वर्षको युद्धमा सुरूमै इसराइलले अहमदिनेजादलाई निगरानी गर्न बसेका सुरक्षाकर्मीमाथि आक्रमण गर्यो।
त्यति बेला अहमदिनेजादको निवास बाहिर एउटा कालो कार उनलाई पर्खिरहेको थियो। इसराइली जासुसले उक्त कारमा राखेर अहमदिनेजादलाई इरानभित्रै रहेको मोसादको एउटा सेफ हाउसमा पुर्याएको टाइम्सले लेखेको छ।
सर्वोच्च नेता खमेनीसहित धेरै वरिष्ठ नेता र जनरल मारिए पनि अमेरिका र इसराइलले सोचेजस्तो इरानको सत्ता ढलेन। इरानको इस्लामिक सत्ता ढाल्न अमेरिका र इसराइलले इरानका विभिन्न कुर्द समूहलाई हतियार दिएर इरानभित्र स्थलगत आक्रमणको तयारी समेत गरेका थिए। तर आफ्नो देशमा कुर्द पृथकतावादी समस्या भोगेको टर्कीको विरोध लगायत विविध कारणले उक्त योजना अघि बढेन।
केही समयपछि खमेनीका माइला छोरा मोज्तबा खमेनीलाई सर्वोच्च नेता घोषणा गरियो।
सत्ता सम्हाल्न इसराइली सेफहाउसमा कुरेर बसेका अहमदिनेजाद पछिल्ला दिनमा इसराइली योजनासँग मोहभंग भएको टाइम्सले लेखेको छ। अहमदिनेजादले केही सीमित उच्च अधिकारीको मात्रै हत्या भएपछि सत्ता सम्हाल्ने योजना मानेका थिए। तर अमेरिका र इसराइलले देशैभरि रहेका पूर्वाधारसमेत ध्वस्त पारेपछि भग्नावशेषमा उभिएर क्षतविक्षत इरानमा शासन गर्न उनलाई उचित नलागेको पनि हुनसक्छ।
त्यसपछि उनले सेफ हाउस छोडेर गए पनि त्यसबारे विस्तृत विवरण खुलेको छैन। उनी हाल कुन स्थितिमा छन् भन्ने पनि थाहा छैन।
उनी एकै पटक करिब दुई साताअघि भएको खमेनीको अन्तिम संस्कारमा देखिए। उनको वरिपरि सुरक्षाकर्मीजस्ता देखिने व्यक्तिहरू भएकाले उनी अहिले पनि इरानी सरकारको निगरानी वा हिरासतमा छन् भन्ने प्रस्ट देखिन्छ।
उनी इरानी सेनाको हिरासतमा भएको भए उनलाई किन अन्तिम संस्कारमा सहभागी हुन दिइयो? कतिले इरानका सबै नेताहरू एकताबद्ध रहेको सन्देश दिन उनलाई अन्तिम संस्कारमा सहभागी हुन दिइएको हुन सक्ने जिकिर गरेका छन्। यदि त्यस्तो हो भने नरमपन्थी पूर्वराष्ट्रपति मोहम्मद खतामी र हसन रूहानी चाहिँ अन्तिम संस्कारमा किन सहभागी भएनन् भन्ने प्रश्न उठ्न सक्छ।
अहमदिनेजादले मोसादमा भर्ती भएर इसराइलका लागि के-के गरे भन्ने अझै खुलेको छैन।
तर पछिल्ला वर्षमा उनले आफू निकटका केही व्यक्तिसँग विदेशीको सहयोगमा आफूले फेरि सत्ता सम्हाल्ने दाबी गरेको टाइम्सले लेखेको छ। अमेरिका र इसराइलले सत्ता ढालेर कोही विपक्षीलाई कुर्सीमा पुर्याउनुभन्दा आफू सत्तामा हुनु देश र सत्तामा रहेकाहरूका लागि पनि राम्रो हुने उनको जिकिर थियो।
सन् १९७९ मा भएको इस्लामिक क्रान्तिमा सत्ताच्युत भएका मोहम्मद रेजा शाह पहलवीका छोरा सत्तामा आए अहिले सत्तामा रहेका प्राय: सबैलाई कारबाही हुने खतरा रहन्छ। यस्तोमा केही सीमित सत्तानिकटलाई मात्रै मारेपछि इस्लामिक शासकसँग नजिक रहेका आफू सत्तामा पुग्नु उनीहरूका लागि समेत राम्रो हुने अहमदिनेजादको तर्क थियो।
यहाँनेर अहमदिनेजाद मोसादमा भर्ती भएको समाचार किन अहिले सार्वजनिक भयो भन्ने पनि प्रश्न उठ्छ।
इसराइली योजनासँग मोहभंग भएर उनले आफू अबदेखि सहभागी नहुने भनेकाले रिस फेर्न अमेरिका र इसराइलले यसबारे सूचना चुहाएका हुन सक्छन्।
उनको निवासमा आक्रमण गर्दा उनी जोगिएर सम्पर्कविहीन भएपछि इरानले शंका गरेर उनको बारेमा फेरि विस्तृत छानबिन गरेको मानिन्छ। सूचना नचुहाएको भए पनि उक्त छानबिनपछि उनले मोसादसँग सहकार्य गरेको खुल्ने नै थियो।
यस्तोमा उनको उपादेयता सकिएको ठानेर अमेरिका र इसराइलले यसबारे सूचना चुहाएका पनि हुन सक्छन्। वा, उनको उपादेयता सकिएपछि पनि अन्तिम पटक उनीबाट फाइदा लिन सूचना चुहाइएको हुनसक्छ।
मोसादले राष्ट्रपति भइसकेको मान्छेलाई त भर्ती गर्नसक्छ भने कसैलाई विश्वास गर्न सकिँदैन भनेर सत्तामै रहेकाबीच संशय फैलाउनका लागि पनि यसो गरिएको हुनसक्छ।