चितवनको सबैभन्दा उदण्ड र नेपालकै सबैभन्दा बदनाम जंगली हात्ती धुर्वे फेरि चर्चाको चुलीमा छ।
कारण — गत असार २० गते राती ११:३० बजे धुर्वेले चितवनको जगतपुर क्षेत्रमा शनिश्चरा बोटेको सानो जस्ताले छाएको घर भत्काइदियो। निकै मत्ता भएको ठानिएको धुर्वे हात्तीको लात्ती र सुँडको तान्डवबीच घरभित्र सुतिरहेका उनकी २१ वर्षीया बुहारी आशिका र चार वर्षीय नाति भरतको मृत्यु भयो।
शनिश्चराका छोरा, आशिकाका श्रीमान पुनुले आफ्नी ६ वर्षीया छोरी शिरिषालाई च्यापेर भागेर ज्यान जोगाए। ओछ्यानबाट भाग्न सफल शनिश्चरा जसोतसो आफ्नो कच्ची घरको खरको पालीमा आगो लगाएर धुर्वेलाई तर्साउन र आफ्नो ज्यान जोगाउन सफल भए।
'त्यसपछि दाइ, छोरा पुनु र नानीको ज्यान बच्यो। भित्रपट्टी बुहारी र नातिको ज्यान गइसकेछ,' पुनु बोटेका काका शनिशले सेतोपाटीसँग भने।
'त्यस रात पुनुको घरमा पाहुनासहित ९ जना सुतेका रहेछन्,' बोटे परिवारका छिमेकी तथा भरतपुर उपमहानगर पालिका २३ का वडा अध्यक्ष दिपक दवाडी भन्छन्, 'आगो लगाएर धुर्वे नभगाएको भए अझै ठूलो क्षति हुन सक्थ्यो।'
जंगली धुर्वे हात्तीको विध्वंशका कारण विगत १६ वर्षमा २५ जनाको ज्यान गइसकेको बताइन्छ। तस्बिर: चितवन राष्ट्रिय निकुञ्ज
बोटे परिवार धुर्वे हात्तीबाट अत्यन्त आतंकित र त्रसित भइरहने अर्को कारण यस्तो छ — झन्डै १४ वर्षअघि, २०६९ साल मंसिर ३० गते, धुर्वे हात्तीले उनीहरूको माडीमा रहेको अर्को घरमा आक्रमण गर्दा शनिश्चराका ६० वर्ष हाराहारी उमेरका बुबा सोमला र आमा झरलीको प्राण गएको थियो।
त्यही साल धुर्वेले चितवन दक्षिणमा पर्ने पर्साको ठोरीमा झन्डै ७० वटा घर भत्काइदिएको थियो। विगत १६ वर्षमा धुर्वेले किसानको खेतीपाती र बालीनालीमा पुर्याएको क्षतिको त हिसाबकिताब नै छैन।
धुर्वेकै आक्रमणपछि २०७४ सालमा चितवनको मेघौली नजिकै नेपाली सेनाका एक मेजरको समेत ज्यान गएको थियो।
धुर्वेको आतंक र उपद्रोको सीमा नाघेपछि तत्कालीन सरकारले धुर्वेलाई देख्यो कि गोली हान्ने आदेश दिएको थियो। त्यति बेला धुर्वेलाई गोली हानिएको भनिए पनि धुर्वे पछि जीवितै विचरण गरिरहेको भेटियो।
मत्ता धुर्वे किन अति उग्र?
धुर्वेको आक्रमणपछि आफ्नी श्रीमती र छोरा गुमाएका पुनु बोटे निकुञ्ज अधिकारीबाट क्षतिपूर्ति रकमको चेक लिँदै। तस्बिर: दिपक दवाडी
विज्ञहरूका अनुसार साँढे हात्तीहरू बर्सेनि मत्ता हुन्छन्। त्यस्तो बेला उनीहरूको शरीरमा अत्यधिक टेस्टोस्टेरोन (Testosterone) हर्मोन निस्किने गर्छ। कतिपय अवस्थामा मत्ता भएको बेला साँढे हात्तीमा सामान्यभन्दा ६० गुणा बढी टेस्टोस्टेरोन निस्किन्छ।
फलत: उनीहरु पोथी खोजेर गर्भाधानका लागि लालायीत मात्रै हुँदैनन्, अत्यन्त मत्ता भएर उदन्ड तथा आक्रामक हुन्छन्।
साँढे हात्ती यसरी मत्ता हुने अवस्था केही हप्ता र केही महिनासम्म पनि रहने गरेको पाइन्छ।
अन्दाजी ३५ वर्ष उमेरको धुर्वेकै उपद्रो र आक्रमणको सिलसिलामा विगत १६ वर्षको अवधिमा चितवन निकुञ्ज र वरपर कम्तीमा २५ जनाको ज्यान गइसकेको छ।
चितवन निकुञ्ज र पूर्वी नेपालमा भारत–नेपाल आउजाउ गरिरहने करिब सयदेखि डेढ सय जंगली हात्ती भएको अनुमान छ। बर्दिया र शुक्लाफाँटामा पनि त्यतिकै संख्यामा भएको अनुमान छ। चितवनमा धुर्वेका अतिरिक्त रोनाल्डो र गोबिन्दे नाम गरेका जंगली हात्ती पनि उत्तिकै कुख्यात छन्।
विध्वंश र क्षति गर्नमा भने धुर्वेलाई कसैले जित्न सकेको छैन। त्यसैले धुर्वेले 'एसियाकै सबैभन्दा खतरनाक एवं समस्याकारी जंगली हात्ती' को उपमा समेत पाइसकेको छ।
धुर्वे मत्ता भएका बेला उसमा अरू साँढे हात्तीभन्दा बढी टेस्टोस्टेरोन हर्मन निस्किने आशंका संरक्षणकर्मीले अनुमान गरे पनि यसबारे वैज्ञानिक अनुसन्धान हुन सकेको छैन।
दाह्रा कटिएपछि धुर्वे के गर्दैछ?
असार २० गते बोटे परिवारको घर भत्काउन पुगेको धुर्वे हात्तीलाई त्यसको ११ दिनपछि बेहोस बनाएर दुवै दाह्रा काटिएको थियो। तस्बिर: चितवन राष्ट्रिय निकुञ्ज
असार २० गतेको विध्वंशपछि धुर्वेको उपद्रो कम गर्न निकुञ्जले केही कारबाही गरेको छ। घटना लगत्तै धुर्वेको खोजीमा जुटेका निकुञ्ज कर्मचारी तथा नेपाली सेनाको टोली केही दिनपछि धुर्वेलाई भेट्टाउन सफल भएका थिए।
त्यसपछि मौका हेर्दा हेर्दा ११ दिनपछि बल्ल धुर्वेलाई एक्ल्याएर नियन्त्रणमा लिइएको निकुञ्जका सहायक संरक्षण अधिकृत अविनाश थापा बताउँछन्। उनका अनुसार उचित स्थानमा धुर्वे देखिएपछि उसलाई १०–१२ मिटर परको दुरीबाट विशेष बन्दुकको सहयताले बेहोस पार्ने सुई हानिएको थियो।
धुर्वे ढलेपछि केही घन्टा लगाएर उसका दुवै दाह्रा करिब आधा मिटर जति काटिएको थियो। उसको घाँटीमा स्याटलाइटमार्फत अनुगमन गर्न मिल्ने जिपिएस जडित रबरको माला बेरियो।
त्यसपछि १०–१० मिनेटमा धुर्वेको अवस्थिति (लोकेसन) थाहा भइरहेको निकुञ्जको भनाइ छ। मंगलबार अपराह्नतिर धुर्वे हात्ती लामीताल पूर्व चुरेको फेदीतिर देखिएको थियो।
धुर्वे गाउँतिर नजाओस् भनेर निकुञ्जले त्यस आसपास केही पोथी हात्ती पनि लगेर राखेको छ।
तैपनि चितवन निकुञ्ज वरपर बस्ने बोटे परिवार जस्ता स्थानीयबासीको त्रास हटिसकेको छैन।
बोटे परिवारको सानो घर जगतपुरको बीच भागतिर केराघारी नजिकै बनेको थियो। धुर्वेको आक्रमणका बेला त्यो भत्किएपछि निकुञ्जले पक्की घर बनाउन सामग्री दिएर सहयोग गरिदिने आश्वासन दिएको छ।
तर पटक पटक आफ्नो घरलाई छानेर धुर्वेले आक्रमण गरेकाले बोटे परिवार आफ्नो भविष्यबारे अत्यन्त चिन्तित छन्।
'हामीलाई मात्रै पटक पटक किन यस्तो भएको होला? देउता रिसाएर हो कि किन हो?,' शनिश बोटे प्रश्न गर्छन्, 'धुर्वेले हाम्रै मात्रै घर किन ताकेर आक्रमण गरिरहन्छ? धुर्वे फेरि फर्किएर आउने हो कि भनेर हामीलाई राति निद्रा पनि लाग्दैन।'
समाधान के होला?
धुर्वेको आक्रमणका क्रममा आफ्नो बाबु, आमा र बुहारी तथा नाति गुमाएका शनिश्चराको परिवारले निकुञ्ज तथा अन्य सरकारी निकायबाट क्षतिपूर्ति रकम पाइसकेको छ। अब उनीहरू धुर्वे वा अन्य जंगली जनावरका कारण थप क्षति बेहोर्ने अवस्थामा छैनन्।
उनी भन्छन्, 'मान्छे ठूलो कि जनावर ठूलो? यदि मान्छे बचाउने भने अब धुर्वेलाई मारिदिनुपर्छ। नत्र यसले फेरि गाउँ पसेर अरू मान्छे गरिदेला।'
आफ्नो श्रीमती र छोरा गुमाएका पुनु पनि धुर्वेलाई सम्भव भएसम्म मारिदिनुपर्ने पक्षमा रहेको उनका छिमेकी तथा वडा अध्यक्ष दिपक दवाडीको बुझाइ छ।
'बोटे परिवार सबै दु:खी भएका छन् र धुर्वेदेखि अति रिसाएका छन्,' उनले भने।
संरक्षणकर्मीहरू भने मानव–वन्यजन्तु द्वन्द्वका घटना सामान्य ठान्दै त्यसलाई कम गर्ने उपाय पहिल्यानुपर्नेमा जोड दिन्छन्।
हालै सेतोपाटीमा प्रकाशित आफ्नो लेखमा नेचर गाइड एसोसिएसन, भरतपुरका अध्यक्ष मनीष लिम्बूले चितवनका धुर्वे र अन्य वन्यजन्तुसँग मानिस सँगसँगै बाँच्ने वातावरण बनाउनु नै सर्वोत्तम समाधान भएकोमा जोड दिएका छन्।
स्थानीय मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दवाडीका विचारमा बोटे परिवार जस्ता स्थानीयवासीको ज्यान जोगाउने हो भने सरकारले सावधानी अपनाएर बेलैमा धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर खोरमा थुनिदिनुपर्छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुनका अनुसार धुर्वेलाई समातेर खोरमा राख्न विभिन्न अप्ठ्यारा रहेकाले निकुञ्जले अहिले त्यसबारे सोचिसकेको छैन। असार ३१ गते दाह्रा काटेर घाँटीमा जिपिएस जडान गरेपछि तत्कालका लागि धुर्वेको व्यवस्थापन भइसकेको उनी ठान्छन्।
'अहिले उसको लोकेशनबारे हामीले लगातार जानकारी पाइरहेका छौं। फेरि मानव बस्तीतिर गएमा हामी सेना पठाएर धपाउन सक्छौं। अब धेरै नै दु:ख दिइरह्यो भने अन्य सबै विकल्पहरूबारे पनि कानुन अनुसार कारबाही गर्न हामी तयार छौं,' उनले भने।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal