नेपाल सरकारको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७४ अर्ब ९० करोड पुगेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो रकम कुल गार्हस्थ्य उत्पादनको ४५.०७ प्रतिशत पुगेको हो।
आर्थिक वर्ष २०८२/८३ को सुरूमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रूपैयाँ रहेको थियो।
असार मसान्तसम्म आइपुग्दा कुल ऋण दायित्वमा ३ खर्ब ८५ करोड रूपैयाँले वृद्धि भएको छ।
यस अवधिमा नेपाली मुद्रा कमजोर भएका कारण विनिमय दरमा मात्र १ खर्ब ६७ अर्ब बराबरको नोक्सानी भएको छ।
यो नोक्सानीका कारण सुरुको ऋणमा ६.२४ प्रतिशतले भार थपिएको छ।
असार मसान्तसम्म कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.७७ प्रतिशत रहेको छ भने आन्तरिक ऋणको हिस्सा भने ४६२३ प्रतिशत कायम भएको छ।
कुल बाह्य ऋण दायित्व १५ खर्ब ९९ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ।
आन्तरिक ऋण दायित्व १३ खर्ब ७५ अर्ब ४१ करोड रूपैयाँ रहेको छ।
सरकारले यो आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। तर असार मसान्तसम्म ४ खर्ब ४७ अर्ब १८ करोड रूपैयाँ मात्र ऋण प्राप्त भएको छ।
यो वार्षिक लक्ष्यको ७५ .०७ प्रतिशत मात्र हो।
ऋण प्राप्तिको लक्ष्यमध्ये आन्तरिक ऋण ९९.०८ प्रतिशत र बाह्य ऋण ३७.८८ प्रतिशत प्राप्त भएको छ।
पछिल्लो वर्षमा कुल प्राप्त ऋणमा आन्तरिक ऋणको हिस्सा ८०.२१ र बाह्य ऋणको १९.७९ प्रतिशत छ।
यस वर्ष ऋणको सावाँ र ब्याज भुक्तानीमा ३ खर्ब ८६ अर्ब २२ करोड रूपैयाँ खर्च भएको छ। यो बजेट विनियोजनको ९३.९७ प्रतिशत हो।
आन्तरिक ऋणतर्फ ३ खर्ब ११ अर्ब ९३ करोड र बाह्य ऋणतर्फ ७४ अर्ब २८ करोड भुक्तानी भएको छ।
यस अवधिमा सार्वजनिक ऋणको खुद परिचालन १ खर्ब ३३ अर्ब ८५ करोड रूपैयाँ रहेको छ।