चालु आर्थिक वर्षको साउन महिनामा नेपालको कुल आयात एक खर्ब ८७ अर्ब पुगेको छ। यो अघिल्लो वर्ष अर्थात २०८२ को साउनको तुलनामा ३१ प्रतिशतले बढी हो।
गत साउनको तुलनामा वैदेशिक व्यापारमा यति ठूलो वृद्धि देखिनुको मुख्य कारण आन्तरिक बजारको वास्तविक खपत बढ्नुभन्दा पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र इन्धनको आयात देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा नेपालमा आयात भएका सबैभन्दा प्रमुख र बढी रकम बाहिरिने १६ वस्तुहरूको कुल आयात रकम मात्रै ७९ अर्ब ६४ करोड पुगेको छ।
यी १६ प्रमुख वस्तुको आयात रकम गत साउनको तुलनामा ४२ प्रतिशतले बढेको हो। कुल १ खर्ब ८७ अर्ब रूपैयाँको वैदेशिक आयातमा यी १६ वटा वस्तुले मात्रै ४२.५९ प्रतिशत हिस्सा ओगटेका छन्।
तर यो रकम वृद्धि वास्तविक खपतका कारण नभई मुख्य रूपमा मूल्य वृद्धिका कारण भएको तथ्यांकले पुष्टि गर्छ। यी १६ प्रमुख वस्तुमध्ये अधिकांश (१० वटा) वस्तुको परिमाणात्मक आयात घटेको छ भने ६ वटाको मात्र बढेको छ। परिमाण घटेका वस्तुहरूमा पनि आयात मूल्य भने उकालो लागेको वा परिमाण घटेको अनुपातमा मूल्य नघटेको देखिन्छ।
चालु आर्थिक वर्षको साउन महिनामा बजारमा एलपीजी ग्यासको अभाव अत्याधिक देखिएको थियो। तर तथ्यांकअनुसार भने साउनमा अहिलेसम्मकै उच्च परिमाणमा ग्यास आयात भएको छ।
त्यस्तै, डिजेलको आयात परिमाण ५८.६९ प्रतिशतले बढेर १ लाख ३ हजार ३९६ किलोमिटर (केएल) पुगेको छ। इन्धन (डिजेल) को आयात यसरी अत्याधिक बढ्नुलाई सामान्यतया देशमा निर्माण तथा औद्योगिक गतिविधि बढेको संकेतका रूपमा लिइन्छ। तर तथ्यांकमा ठिक उल्टो चित्र देखिन्छ। निर्माण क्षेत्रमा अनिवार्य प्रयोग हुने प्रमुख कच्चा पदार्थ 'हट रोल फलाम/स्टिल'को परिमाणात्मक आयात ५३.१२ प्रतिशतले अत्याधिक घटेको छ। यसले डिजेल आयात बढ्नु निर्माण क्षेत्रको चलायमानताभन्दा पनि अन्य कारणले भएको देखाउँछ।
प्रमुख १६ वस्तुको आयात मूल्य र परिणामको अवस्था:
सोयाबिन कच्चा तेल
साउनमा सबैभन्दा बढी आयात हुने वस्तुमा अर्धतयारी भटमासको तेल परेको छ। प्रशोधन गरी पुनः निर्यात वा आन्तरिक खपतका लागि आउने सोयाबिनको कच्चा तेलको परिमाणात्मक आयात १० करोड ८५ लाख ३० हजार २३९ लिटर पुगेको छ। यो गत वर्षको साउनको तुलनामा ५१.३५ प्रतिशतले बढी हो।
यसको आयात मूल्य ७०.२६ प्रतिशतले बढेर १८ अर्ब ४० करोड ४२ लाख रूपैयाँ पुगेको छ। सोयाबिन तेलबाट ५९ करोड ७८ लाख रूपैयाँ राजस्व उठेको छ, जुन अघिल्लो साउनको तुलनामा १३६.२४ प्रतिशत बढी हो।
डिजेल
इन्धनमध्ये सबैभन्दा बढी आयात हुने डिजेलको परिमाणात्मक आयात ५८.६९ प्रतिशतले बढेर १ लाख ३ हजार ३९६ किलोमिटर (केएल) पुगेको छ।
परिमाणमा भएको उच्च वृद्धि र अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिका कारण डिजेलको आयात मूल्य १३५.३१ प्रतिशतले बढेर १३ अर्ब ८५ करोड ४५ लाख रूपैयाँ पुगेको छ। डिजेल आयातबाट राज्यले ३ अर्ब ६६ करोड ८९ लाख रूपैयाँ राजस्व प्राप्त गरेको छ, जुन अघिल्लो वर्षभन्दा ४१.३६ प्रतिशत बढी हो।
पेट्रोल
साउन महिनामा पेट्रोलको परिमाणात्मक आयात १६.८६ प्रतिशतले घटेर ५६ हजार ३०९ किलोमिटर (केएल) मा सीमित भएको छ। परिमाण घटे पनि मूल्य वृद्धिका कारण आयात मूल्य भने १९.२५ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड २४ लाख रूपैयाँ पुगेको छ। यद्यपि, शुल्क संरचना वा अन्य परिवर्तनका कारण यसबाट संकलित राजस्व भने ३९.०४ प्रतिशतले घटेर २ अर्ब ३३ करोड २७ लाख रूपैयाँ कायम भएको छ।
एलपीजी ग्यास
खाना पकाउने एलपीजी ग्यासको परिमाणात्मक आयात २९.३७ प्रतिशतले बढेर ५ करोड ७३ लाख ३४ हजार १०६ किलोग्राम पुगेको छ। साउनमा बजारमा उपभोक्ताले ग्यासको चरम अभाव झेल्नुपरेको भएता पनि तथ्यांकमा भने हालसम्मकै उच्च आयात भएको देखिन्छ। मूल्य वृद्धिसमेत जोडिँदा यसको आयात मूल्य ८१.४९ प्रतिशतले बढेर ८ अर्ब ४६ करोड ९२ लाख रूपैयाँ पुगेको छ। ग्यासबाट १ अर्ब ५७ करोड ९५ लाख रूपैयाँ राजस्व संकलन भएको छ।
डीएपी मल
कृषिका लागि अत्यावश्यक डीएपी मलको परिमाणात्मक आयात ३०.७० प्रतिशतले बढेर ५ करोड २४ लाख ७५ हजार किलोग्राम पुगेको छ। परिमाण वृद्धि र अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिका कारण यसको आयात मूल्य ६९ प्रतिशतले बढेर ७ अर्ब ८६ करोड ९३ लाख रूपैयाँ पुगेको छ।
हवाई इन्धन
साउन महिनामा हवाई इन्धनको परिमाणात्मक आयात ४.५८ प्रतिशतले घटेर १३ हजार ८२८ किलोमिटर (केएल) मा सीमित भएको छ। परिमाण घटे तापनि अन्तर्राष्ट्रिय मूल्य वृद्धिका कारण यसको आयात मूल्य भने ६१.०७ प्रतिशतले बढेर २ अर्ब ७ करोड ७० लाख रूपैयाँ पुगेको छ। यसबाट राज्यले ३० करोड २८ लाख रूपैयाँ राजस्व संकलन गरेको छ, जुन गत वर्षको तुलनामा ४९.८९ प्रतिशत बढी हो।
चामल मसिनो
साउनमा चामलको परिमाणात्मक आयात ४६.६२ प्रतिशतले घटेर १ करोड १८ लाख ५२ हजार १९९ किलोग्राममा झरेको छ। परिमाण आधा जस्तै घटेकाले यसको आयात मूल्य पनि ४०.९२ प्रतिशतले घटेर ८३ करोड ३३ लाख रूपैयाँ कायम भएको छ। चामल आयातबाट राज्यलाई ७ करोड ५० लाख रूपैयाँ राजस्व प्राप्त भएको छ।
सुन
साउन महिनामा सुनको परिमाणात्मक आयात बराबर ५० प्रतिशतले घटेर ५० हजार ग्राम (५० किलो) मा सीमित भएको छ। परिमाण ५० प्रतिशतले घटे पनि मूल्य वृद्धिका कारण आयात मूल्य भने ३३.६६ प्रतिशतले मात्र घटेर १ अर्ब १ करोड २६ लाख रूपैयाँ कायम भएको छ। सुन आयातबाट २० करोड २५ लाख रूपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो साउनको तुलनामा ३२.६९ प्रतिशत बढी हो।
मकै
पशुआहार तथा दाना उद्योगका लागि आउने मकैको आयातमा भारी गिरावट आएको छ। साउनमा मकैको परिमाणात्मक आयात ८७.५६ प्रतिशतले घटेर ४९ लाख ७२ हजार ९९५ किलोग्राममा सीमित भएको छ। परिमाणसँगै यसको आयात मूल्य ८८.३७ प्रतिशतले घटेर १८ करोड रूपैयाँमा झरेको छ भने राजस्व ९० लाख रूपैयाँमा सीमित भएको छ।
मोटरसाइकल (अनएसम्वल ५०-१२५ सीसी)
पाना वा पार्टपुर्जाका रूपमा आउने ५० देखि १२५ सीसी क्षमताका मोटरसाइकलको परिमाणात्मक आयात ३३.४१ प्रतिशतले घटेर ११ हजार १९ थानमा झरेको छ। यसको कुल आयात मूल्य २९.८७ प्रतिशतले घटेर १ अर्ब २२ करोड ३६ लाख रूपैयाँ कायम भएको छ। मोटरसाइकल आयातबाट १ अर्ब १२ करोड २ लाख रूपैयाँ राजस्व उठेको छ।
औषधि
खुद्रा बिक्रीका लागि तयार पारिएका विभिन्न प्रकारका औषधिको परिमाणात्मक आयात ११.७६ प्रतिशतले घटेर ८ लाख १८ हजार ७८७ किलोग्राममा झरेको छ। परिमाण घटे पनि औषधिमा भएको मूल्य वृद्धिका कारण आयात मूल्य भने ४४.९८ प्रतिशतले बढेर २ अर्ब ७६ करोड ८४ लाख रूपैयाँ पुगेको छ। यसबाट १३ करोड ६८ लाख रूपैयाँ राजस्व संकलन भएको छ।
कोइला
उद्योगहरूमा प्रयोग हुने कोइलाको परिमाणात्मक आयात ३०.०५ प्रतिशतले घटेर १० करोड ५९ लाख ८६ हजार ४७० किलोग्राम कायम भएको छ। परिमाण घट्दा आयात मूल्य २०.९४ प्रतिशतले घटेर १ अर्ब ६१ करोड ६ लाख रूपैयाँ भएको छ। कोइलाबाट ३५ करोड ६४ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ।
युरिया मल
कृषि प्रयोजनका लागि आउने युरिया मलको परिमाणात्मक आयात ६.३१ प्रतिशतले सामान्य बढेर ३ करोड ५१ लाख ७० हजार किलोग्राम पुगेको छ। तर, मूल्य वृद्धिका कारण यसको आयात रकम भने ९०.२९ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड २१ लाख रूपैयाँ पुगेको छ। मलमा अनुदान तथा छुट हुने भएकाले यसबाट संकलित राजस्व नगण्य (सांकेतिक मात्र) छ।
हट रोल फलाम/स्टिल
निर्माण तथा उत्पादन क्षेत्रमा प्रयोग हुने ६०० एमएमभन्दा बढी चौडाइका हट रोल फलाम तथा स्टिलको परिमाणात्मक आयात ५३.१२ प्रतिशतले घटेर १ करोड ८८ लाख ७ हजार ३९३ किलोग्राममा झरेको छ। परिमाणसँगै आयात मूल्य पनि ४८.८७ प्रतिशतले घटेर १ अर्ब ५७ करोड २८ लाख रूपैयाँ कायम भएको छ। यसबाट २६ करोड ८३ लाख रूपैयाँ राजस्व उठेको छ।
स्मार्टफोन
साउन महिनामा स्मार्टफोनको परिमाणात्मक आयात १४.७० प्रतिशतले घटेर १ लाख ६९ हजार १८५ थानमा सीमित भएको छ। तर परिमाण घटे पनि महँगा ह्यान्डसेटको आयात वा मूल्य वृद्धिका कारण कुल आयात मूल्य १३.४१ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७८ लाख रूपैयाँ पुगेको छ। स्मार्टफोन आयातबाट ७२ करोड ३५ लाख रूपैयाँ राजस्व संकलन भएको छ।
स्पन्ज आइरन (फलामको कच्चा पदार्थ)
डण्डी तथा फलाम उद्योगका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनको परिमाणात्मक आयात १५.७५ प्रतिशतले बढेर १० करोड ९३ लाख ७२ हजार ७३० किलोग्राम पुगेको छ। आयात परिमाणसँगै यसको आयात मूल्य पनि १८.०१ प्रतिशतले बढेर ४ अर्ब ६१ करोड ५५ लाख रूपैयाँ पुगेको छ। यसबाट ६५ करोड २१ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ।
यी तथ्यांकले बजारको वास्तिविक खपत बढेको कारण नभइ मूल्य वृद्धिले आयात बढेको संकत गर्छ।