चालु आर्थिक वर्ष सुरु भएको ३५ दिनमा सरकारले एक खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
अघिल्लो वर्षको तुलनामा राजस्व संकलनको समग्र वृद्धिदरमा केही सुधार देखिएको छ।
गत आर्थिक वर्षको पहिलो ३५ दिनमा ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने एक खर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेका छन्। उनले कर प्रशासनलाई ‘मिसन १६ खर्ब’को राजस्व संकलनतर्फ अघि बढाउने बताएका छन्।
समयका हिसाबले चालु आर्थिक वर्षको ९.५ प्रतिशत अवधि सकिएको छ। यस अवधिमा सरकारले वार्षिक लक्ष्यको ६.७ प्रतिशत राजस्व संकलन गरेको छ।
साउन महिनाको राजस्वमा भन्सार र गैरकरतर्फ सुधार देखिए पनि आन्तरिक राजस्वतर्फ भने अपेक्षित प्रगति भएको छैन। विशेषगरी मूल्य अभिवृद्धिकर (भ्याट), अन्तःशुल्क र आयकरको संकलन लक्ष्यभन्दा पछाडि छ।
भ्याट र अन्तःशुल्कमा सुधार, तर लक्ष्य भेटिएन
साउनमा आन्तरिक भ्याट १४ अर्ब ८२ करोड रुपैयाँ संकलन भएको छ।
गत वर्षको साउनमा १३ अर्ब ६९ करोड रुपैयाँ संकलन भएको थियो। यस वर्षको संकलन गत वर्षको तुलनामा ८.२ प्रतिशत बढी हो।
तर सरकारले साउनमा १६ अर्ब ६२ करोड रुपैयाँ आन्तरिक भ्याट संकलन गर्ने लक्ष्य राखेको थियो। लक्ष्यको तुलनामा संकलन करिब ११ प्रतिशत कम हो।
आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्क पनि गत वर्षको साउनको तुलनामा ५ प्रतिशत बढेको छ। यस वर्ष ९ अर्ब ८५ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको छ।
तर सरकारले साउनमा १२ अर्ब ३४ करोड रुपैयाँ अन्तःशुल्क संकलन गर्ने लक्ष्य राखेको थियो। लक्ष्यको तुलनामा संकलन २१ प्रतिशत कम हो।
भ्याट र अन्तःशुल्क उपभोग तथा कारोबार बढ्दा बढ्ने कर हुन्। यी दुवै करको संकलन गत वर्षको तुलनामा बढे पनि लक्ष्यअनुसारको वृद्धि भने देखिएको छैन।
आयकरतर्फ भने संकलन घटेको छ। गत वर्ष साउनमा १६ अर्ब ५२ करोड रुपैयाँ आयकर संकलन भएको थियो। यस वर्ष १४ अर्ब ८२ करोड रुपैयाँ मात्रै उठेको छ।
गत वर्षको तुलनामा आयकर संकलन १२ प्रतिशत घटेको हो। सरकारले राखेको लक्ष्यको तुलनामा पनि आयकर संकलन करिब ३० प्रतिशत कम छ।
बहाल आयमा लाग्ने कर भने केही बढेको छ। यस्तो कर १.४ प्रतिशतले बढेको छ। ब्याज आयमा लाग्ने कर भने ३.९ प्रतिशतले घटेर ५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ।
आन्तरिक राजस्व घट्दा भन्सारमा सुधार
समग्रमा आन्तरिक राजस्व विभागअन्तर्गत संकलन हुने राजस्व गत वर्षको साउनको तुलनामा १.३ प्रतिशत घटेको छ।
गत वर्ष साउनमा आन्तरिक राजस्व विभागले ४७ अर्ब ६४ करोड रुपैयाँ संकलन गरेको थियो। यस वर्ष करिब ४७ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।
जबकि सरकारले साउनमा आन्तरिक राजस्व विभागबाट ५९ अर्ब ६८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो।
भन्सार विभागअन्तर्गत संकलन हुने राजस्व भने करिब ११ प्रतिशत बढेको छ। गत वर्ष साउनमा भन्सार बिन्दुबाट करिब ३६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। यस वर्ष ४० अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ।
तर यही अवधिमा आयात भने ३१ प्रतिशतले बढेको छ। आयातको तुलनामा भन्सार राजस्वको वृद्धि भने कम देखिएको छ।
गैरकर राजस्वमा उल्लेख्य सुधार भएको छ। गत वर्ष साउनमा ३ अर्ब ७९ करोड रुपैयाँ गैरकर राजस्व संकलन भएको थियो। यस वर्ष ७ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ।
साउनको राजस्वमा उतारचढाव
समग्रमा यस वर्ष साउनमा राजस्व संकलन गत वर्षको तुलनामा बढेको छ। चालु वर्ष अघिका ५ आर्थिक वर्षको साउनको औसत राजस्व वृद्धिद १० प्रतिशततको छ। अहिले पनि करिब औसत बराबरको वृद्धिदर देखिन्छ। तर पछिल्ला वर्षहरूको साउन महिनाको प्रवृत्ति हेर्दा राजस्व संकलनमा ठूलो उतारचढाव देखिन्छ।
आर्थिक वर्ष २०७८/७९ को साउनमा अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशतले राजस्व बढेर ९३ अर्ब रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा १४ प्रतिशतले घटेर ७९ अर्ब रुपैयाँमा झर्यो।
आर्थिक वर्ष २०८०/८१ को साउनमा पनि राजस्व १ प्रतिशतले घटेर ७८ अर्ब ८७ करोड रुपैयाँमा सीमित भयो।
आर्थिक वर्ष २०८१/८२ मा भने साउनको राजस्व २० प्रतिशतले बढेर ९४ अर्ब ७४ करोड रुपैयाँ पुगेको थियो। गत आर्थिक वर्षमा फेरि १० प्रतिशतले घटेर ८४ अर्ब ४७ करोड रुपैयाँमा सीमित भयो।
चालु आर्थिक वर्षको साउनमा राजस्व ९ प्रतिशतले बढेर ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
यसले साउनमा मात्रै उठेको राजस्वका आधारमा वर्षभरको राजस्व संकलनको अवस्था अनुमान गर्न कठिन हुने देखाउँछ। पछिल्ला ६ वर्षकै तथ्यांकमा साउनको राजस्व वृद्धिदरमा ठूलो उतारचढाव देखिएको छ।
भदौमा सुधार हुने सरकारी अपेक्षा
आन्तरिक राजस्व विभागका अधिकारीहरू साउनमा अपेक्षाअनुसार राजस्व संकलन हुन नसके पनि भदौदेखि सुधार हुने बताउँछन्।
‘करदातालाई प्रोत्साहन र राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउने काम गरिएको छ। साथै आयात पनि बढेको कारण भदौ र असोजको आन्तरिक राजस्वमा सुधार आउँछ भन्ने बुझाइ हो,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले भने।
कर जानकारहरू भने साउनको राजस्वलाई मात्रै आधार बनाएर बाँकी अवधिको अवस्था अनुमान गर्न नसकिने बताउँछन्।
‘सरकारले बजेटमार्फत केही प्याकेज ल्याएको छ। त्यसको प्रभाव देखिन बाँकी छ। साउनमा संकलन भएको राजस्वलाई मात्रै आधार मानेर बाँकी अवधिको मूल्यांकन गर्न सकिने अवस्था छैन। साउनको राजस्व वृद्धिदर औसत मात्रै हो,’ चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले भने।