सुन्दरीजलदेखि ८ किलोमिटर उत्तरतिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको धाप ड्यामको जलाशय काठमाडौंवासीका लागि पुग्नै पर्ने गन्तव्य बनेको पनि धेरै भइसक्यो।
धाप ड्यामदेखि दक्षिणतिर वर्षाको पानी संकलन गरेर बनाइएको विशाल सरोवर देखिने गरी खिचिएका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा छाउन थालेको पनि धेरै भइसक्यो।
नहोस् पनि किन?
प्रायः काकाकुल रहने काठमाडौं उपत्यकाभित्र धाप ड्याम जस्तो जलाशय कतै भेटिँदैन। त्यसैले हरेक विदाको दिन निकुञ्जभित्र धाप ड्याम र सरोवरको सौन्दर्य र स्वच्छ हावापानीको स्वाद लिन राजधानीका युवाको धुइरो लाग्छ।
त्यस क्रममा हुइँकिने मोटर र मोटरसाइकलका कारण सुन्दरीजल र मणिचुड क्षेत्रमा वनजंगल मात्रै थर्किँदैनन्, कच्ची सडक पनि धुलाम्मे बन्छ — त्यस क्षेत्रमा पैदले रमाउन हिँडेका हाइकरहरूलाई सास्ती हुनेगरी।
करिब ५१ करोड रूपैयाँको लागतमा बनेको धाप ड्याम निर्माण भएर उद्घाटन भएको यो फागुनमा तीन वर्ष पुगेको छ। यही बेला धापदेखि दक्षिणतिर अर्को अझै ठूलो बाँध बनाउने योजना अघि बढेको छ।
बागमती नदीमा पानीको वातावरणीय बहाव अझै बढाउन धाप ड्यामको सरोवरको १२ लाख घनमिटर पानी अपुग भएपछि अधिकारीहरू तथा दाता यतिखेर अर्को गृहकार्यमा जुटेका छन् — धाप ड्यामदेखि करिब डेढ किलोमिटर दक्षिणतिर नागमती नदीमा अझै ठूलो बाँध बाँधेर सरोवर निर्माणको विस्तृत खाकालाई अन्तिम रूप दिन।
त्यसका लागि केही दिनअघि मात्रै धाप ड्यामका लागि ऋण सहयोग गरेको एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिहरूले नेपाली अधिकारीहरू तथा नागमती बाँधस्थल वरपरका स्थानीयवासीसँग सघन छलफल गरेका छन्।
त्यसपछि उनीहरू र नागमती ड्याम आयोजनाको निर्माण अबको दुई वर्षपछि सुरू गर्ने गरी तयारी थाल्न सहमत भएको जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितको भनाइ छ।
नागमती ड्यामको तयारी
शिवपुरीको धाप क्षेत्रदेखि दक्षिणतिर मूलखर्क माथि प्रस्ताव गरिएको नागमती बाँध क्षेत्रको रेखांकन। नयाँ बाँध बन्ने खबरले स्थानीयवासी निकै उत्साहित बनेका छन् तर भन्छन् बाँध ठूलो भूकम्प थेग्नसक्ने बलियो बन्नुपर्छ। तस्बिरः नागमती तथा धाप बाँध आयोजना
नागमती तथा धाप बाँध आयोजना प्रमुख समेत रहेका पण्डितका अनुसार नागमती बाँध तथा सरोवर आयोजनाबारे गहन अध्ययन गरिरहेको एडिबी अब त्यसको विस्तृत इन्जिनियरिङ डिजाइन, भौगर्भिक अनुकूलता, वातावरणीय र सामाजिक असर तथा फाइदाको पाटोबारे तयार पुराना प्रतिवेदनको समीक्षा गर्दै अघि बढ्न सहमत भएको छ।
फेब्रुअरीको पहिलो साता नेपाल आएका एडिबीका टोली सदस्यहरूसँगको छलफलबारे उनले भने, 'उहाँहरूले नेपाल सरकारका अधिकारीहरू तथा स्थानीय सरोकारवालाहरूसँग छलफल गर्नुभएको छ। त्यसपछि अब सन् २०२८ देखि काम सुरू गरेर सन् २०३४ भित्र आयोजना पूरा गर्नेबारे सकारात्मक भएर फर्किनुभएको छ।'
नागमती ड्याम निर्माणका लागि सुरूआती चरणका अध्ययनहरू ८ वर्षअघि पूरा भइसकेका छन्। आउने दिनमा विस्तृत खाकालाई अन्तिम रूप दिने लगायत कामहरू पूरा गर्दै ऋण सम्झौता र त्यसपछि आयोजना निर्माणको काम अघि बढ्ने विश्वास अधिकारीहरूको छ।
नागमती ड्याम सुन्दरीजलको मूलखर्क गाउँदेखि पूर्वतिरको खोँचबाट उत्तर–दक्षिण बग्ने नागमती नदीमा निर्माण हुनेछ। यो धाप ड्यामबाट पानी बगेर आउने तल्लो तटीय क्षेत्रमा पर्छ।
तर यसको निर्माण लागत धाप ड्यामको तुलनामा कैयौं गुणा बढी हुनेछ — २५ अर्ब रूपैयाँ। यसको ठूलो हिस्सा नेपाललाई ऋणका रूपमा दिन एडिबीका अधिकारीहरू सकारात्मक रहेको पण्डितको भनाइ छ।
फाइदा के के?
शिवपुरी क्षेत्रको पानी पिउन घना बस्ती सोझिने क्रम बढेपछि बागमती सहितका उपत्यकाका नदी सुख्खा याममा सुक्ने गरेका छन् जसका कारण नदीमा वातावरणीय बहाव लगभग शून्यमा झर्ने गरेको छ। तर धापदेखि केही दक्षिणतिर नागमती बाँध बनेपछि बागमतीमा त्यो बहाव कायम हुने विश्वास अधिकारीहरूको छ। तस्बिरः सुरेन्द्र फुयाल
धापमा दुईतिर बाँध बानेर बनाइएको सरोवर मकवानपुरको कुलेखानीको इन्द्र सरोवर जस्तै वर्षाको पानी संकलन गरेर बनाइएको जलाशय हो। यहाँबाट बागमतीको बहाव बढाउन आवश्यक परेका बेला प्रति सेकेन्ड ४०० लिटरका दरले पानी छाड्ने गरिएको छ जुन सुन्दरीजलको पिउने पानी संकलन पोखरी हुँदै तल रहेको विद्युत गृहमा पुग्ने गरेको छ।
बिजुली निकालिसकेपछि त्यो पानी बागमती नदीमा झार्ने व्यवस्था गरिएको छ जसले गर्दा बागमतीलाई आवश्यक वातावरणीय बहाव कायम गर्न धेरथोर सहयोग पुग्न थालेको छ।
तर वर्षैभरि यो अझै सम्भव भएको छैन। हालै मनाइएको महाशिवरात्री जस्ता सुख्खा यामका १४ वटा चाडवाडका बेला मात्र त्यति पानी बागमतीमा पठाइन्छ।
नागमती सरोवर निर्माण पूरा भएपछि त्यसमा ८८ लाख घन मिटर पानी जम्मा हुनेछ। त्यो सरोवरको पानी बागमतीमा सुख्खा यामका ८ महिना हरेक दिन करिब ६०० लिटर प्रति सेकेन्ड वा त्योभन्दा बढी मात्रामा पानी नदीमा छोड्न सकिने अधिकारीहरूको विश्वास छ।
पण्डित भन्छन्, 'नागमती ड्यामको सरोवर बनेपछि काठमाडौंवासीलाई धेरै फाइदा पुग्छ।'
पहिलो, नागमती सरोवरबाट छोडिने पानीले बागमतीमा वातावरणीय बहाव बढाउन मद्दत गर्छ। वातावरणीय बहाव भनेको नदीमा जलचरहरू जीवित रहन सक्ने र त्यसमा आश्रित जीवन प्रणाली चल्न सक्ने गरी नदीमा पानी बहने प्राकृतिक अवस्था हो।
तर बागमती र अन्य नदीको पानी पिउन घना बस्तीतिर लगिएकाले वातावरणीय बहाव कायम हुन सकेको छैन।
दोस्रो, नागमतीको सरोवर मेलम्चीको भरपर्दो विकल्प बन्न सक्छ।
पण्डित भन्छन्, 'यदि कुनै प्राकृतिक विपतका कारण मेलम्चीको पानी बन्द हुने अवस्था फेरि दोहोरियो भने पनि नागमती सरोवरको पानी उपत्यका झार्न सकिन्छ। त्यो पानी काठमाडौंवासीका लागि ५० दिनसम्म पर्याप्त हुन्छ।'
तेस्रो, नागमती सरोबरको पानीबाट झन्डै २ मेगावाट बिजुली पनि निकाल्ने योजना छ। त्यसका लागि हाल मेलम्चीको पानी भित्रिने स्थानमा पावर–हाउस बनाउने प्रस्ताव छ।
चौथो, नागमती सरोवर बनेपछि जलाधार संरक्षणका साथै शिवपुरी निकुञ्जको जैविक विविधता संरक्षणमा सहयोग पुग्ने अर्थात् त्यहाँका वन्यजन्तु, जलचर, वन–वनस्पति तथा निकुञ्जभित्रका मूलखर्क र ओख्रेनीवासीलाई पनि फाइदा पुग्नेमा अधिकारीहरू ढुक्क छन्।
पाँचौं, नागमती सरोवर बनेपछि निकुञ्जको पर्यटनमा अझै सहयोग पुग्नेछ।
शिवपुरी निकुञ्जका वार्डेन दिलबहादुर पुर्जा पुनका अनुसार धाप ड्याम बनेपछिका वर्षहरूमा निकुञ्जभित्र बर्सेनि झन्डै ४ लाख पर्यटक भित्रिन थालिसकेका छन्।
नागमती बनेपछि त्यो अझै बढ्ने उनको आकलन छ।
'साथै, धाप र नागमती ड्याम बनेपछि निकुञ्जभित्रबाट भूमिगत जलभण्डार भर्न ठूलो टेवा पुग्नेछ र बागमती नदीमा अझै धेरै पानी बगाएर नदी सफाइमा सहयोग हुनेछ,' पुन भन्छन्।
तर नागमती ड्याम निर्माणको क्रममा केही वन–जंगलमा क्षति पुग्न जानेमा उनी चिन्तित छन्।
स्थानीयवासी के भन्छन्?
सुन्दरीजलमा बागमती पारि बनाइको मेलम्चीको पानी प्रशोधन केन्द्र। नागमती बाँधबाट झारिने पानीबाट करिब २ मेगावाट बिजुली निकाल्न यसै क्षेत्रमा पावर हाउस बनाउने प्रस्ताव गरिएको छ। तस्बिर: सुरेन्द्र फुयाल
सुन्दरीजलमाथिको मूलखर्क र ओख्रेनीका धेरै स्थानीयवासी धाप ड्यामपछि अब नागमती ड्याम पनि बन्न लागेकामा आफ्नो गाउँमा पर्यटकीय गतिविधि अझै बढ्नेमा उत्साहित छन्।
मूलखर्कका नारायण श्रेष्ठ शिवपुरी निकुञ्ज मध्यवर्ती क्षेत्रको स्थानीय समितिमा आबद्ध छन्।
उनी भन्छन्, 'नागमती ड्याम बन्यो भने यहाँ पर्यटन गतिविधि बढ्दै रोजगारीका अवसर सिर्जना हुने ठानेर मूलखर्कवासी खुसी छन्। त्यस्तो अवस्थामा यहाँको जग्गाको भाउ पनि बढ्छ र हामीलाई फाइदा हुन्छ भन्ने हाम्रो आशा छ। यो आयोजनाबाट बिजुली निस्किने र पानीको लागि मेलम्चीको विकल्प दिने भनेर हामी खुसी छौं।'
'अझ नागमती आयोजनाले बागमतीलाई थप सफा बनाउन थप सहयोग पुग्ने कुरा त झनै राम्रो हो,' उनले थपे।
तर ठूलो ड्याम बनेपछि भूकम्पजस्ता विपदका बेला बाँध फुट्यो भने मूलखर्कदेखि तल सुन्दरीजल क्षेत्रका, खासगरी नदी किनारमा बसोबास गरिरहेका स्थानीयवासीको के होला भनेर मानिसहरू सशंकित तथा चिन्तित छन्।
सुन्दरीजलको उकालोमा घर भएका स्थानीय विश्वराज श्रेष्ठको भनाइमा नागमती ड्याम बन्ने कुराले धेरै स्थानीयवासी खुसी भए पनि केही चिन्तित छन्।
'त्यति ठूलो बाँध बनेर सानोतिनो फेवाताल जस्तै ताल बन्नु एकदमै राम्रो कुरा हो। तर कतै ठेकेदारको कमजोरीका कारण नागमती ड्याम कमजोर भएर कुनै ठूलो भूकम्प जाँदा भत्किने अवस्था आयो भने के गर्ने? हाम्रा खोला छेउको बस्ती के होला?'
शिवपुरी मध्यवर्ती क्षेत्रको स्थानीय समितिका रहेका श्रेष्ठको जोड छ, 'नागमतीमा ड्याम बन्नुपर्छ तर त्यसको गुणस्तर राम्रो हुनुपर्यो। सही हुनुपर्यो। बागमतीको तल्लो तटमा रहेका सुन्दरीजलदेखि गोकर्ण र जोरपाटीदेखि चोभारसम्मका बस्ती सुरक्षित हुने सुनिश्चित हुनुपर्यो।'
तर सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितका अनुसार सबै स्थानीयवासीका चिन्ता र चासोलाई सम्बोधन गर्ने गरी काम अघि बढाउन एडिबीका अधिकारीहरू तयार छन्।
त्यसैले माथि बन्ने ड्यामलाई ९ म्याग्निच्युड वा त्योभन्दा ठूलो भूकम्पीय जोखिम समेत थेग्न सक्ने गरी विस्तृत खाका तयार हुँदैछ। त्यसका साथै आपतकालीन अवस्था आइपरेमा बाँधको पानी ३६ घन्टाभित्र खाली हुने गरी सुरक्षित संरचनाहरू बनाउने गरी खाका तयार पार्ने काम अघि बढिरहेको छ।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal