ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै आयोगको एक अध्यक्ष र चार सदस्य पदका लागि आवेदन मागेको हो।
चार सदस्यमध्ये एक पद महिलाका लागि तोकिएको छ।
विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ अनुसार यो प्रक्रिया अघि बढाइएको हो।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा निवेदन बुझाउनुपर्नेछ।
यसअघि अध्यादेशअनुसार साविकका पदाधिकारी पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो।
नेतृत्व चयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन्।
मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित समितिमा सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य छन्।
मन्त्री श्रेष्ठले नेपालको विद्युत क्षेत्र नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।
आयोगको भूमिका महसुल निर्धारण, उपभोक्ता संरक्षण र लगानी प्रवर्द्धनसँग जोडिएको उल्लेख गर्दै उनले ऊर्जा बजारको संरचना निर्माण गर्न नेतृत्व आवश्यक रहेको बताए।
उनले सरकार आयोगको भूमिका र कार्यादेशप्रति सचेत रहेको बताए।