वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैयामा नयाँ तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याइएको छ।
रेल्वे रोडसँगै जोडिएका ३२ कठ्ठा सार्वजनिक जग्गामा वीरगञ्ज महानगरपालिकाले छपकैया तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याइएको हो।
३२ कठ्ठामध्ये केही जग्गा रेल्वे रोडमा परेको र केही अझै अतिक्रमणमा रहेका कारण २६ कठ्ठा जग्गा उपयोग गर्न सकिने खालको रहेको महानगरपालिकाले जनाएको छ।
७० लाख रुपैयाँको लागतमा सटरसहित व्यवस्थित थोक बजार निर्माण गरेर सञ्चालनमा ल्याइएको महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए।
थोक बजारमा थोक तरकारी पसलका लागि १४ युनिटमा २८ वटा सटर निर्माण सम्पन्न भइसकेका छन्।
शौचालय, दुई वटा कोल्ड स्टोर, सहितका संरचना निर्माण गरिसकेको महानगरपालिकाले जनाएको छ।
नयाँ बजारमा खानेपानी, विद्युत र व्यवस्थित ढलको सुविधा पनि छ।
प्रमुख प्रशासकीय अधिकृत अरविन्द लालका अनुसार थोक बजारमा थप ७० लाख रुपैयाँ लगानी गर्ने योजना महागरपालिकाको छ। थप सटरहरू बनाउन, पर्खालले घेर्ने लगायत भौतिक संरचना विस्तारमा रकम खर्च हुनेछ।
‘थुप्रै काम गर्न बाँकी छ। आधुनिक मापदण्ड अनुसार नै बनेको छ। सानो कोल्ड स्टोर पनि हुन्छ, चारैतिर बिरूवा रोप्ने योजना छ, ट्रक लोड अनलोड गर्ने ठाउँ पनि बनाउँछौं,’ उनले भने, ‘वीरगञ्जमा आधुनिक तरकारी फलफूल बिक्री गर्ने केन्द्र छ भन्न सक्ने अवस्था बनेको छ।’
सहरी पूर्वाधार विकास महाशाखा इन्जिनियर गौरव कुमार झाले माछामासुका लागि छुट्टै सटर तयार गरिने जानकारी दिए।
‘जेनजी आन्दोलनका कारण काममा ढिलाइ भएको हो,’ उनले भने, ‘प्रदेश र केन्द्रले बजेट दिएको छैन। पालिकाको बजेटले सबै काम गर्नुपर्नेछ।’
हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघर नजिकैको बिपी उद्यानको जग्गामा थोक तरकारी तथा फलफूल बजार सञ्चालनमा छ। बजार अव्यवस्थित र दुर्गन्धित छ।
आइतबार वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले छपकैया तरकारी तथा फलफूल थोक बजारको उद्घाटन समेत गरेका छन्। नगर प्रमुख राजेशमानले व्यापारीहरूको आग्रह अनुसार बिपी उद्यानबाट बजार सार्नमा ढिलाइ भएको बताए।
‘एक डेढ वर्षअघि नै थोक बजार छपकैयामा आइसक्थ्यो, व्यापारीहरूले कहिले फगुवासम्म बजार नसारिदिनुस् भने, कहिले नयाँ साल, दसैं, छठसम्म त रोकिदिनुस् भनेर आग्रह गरे,’ नगर प्रमुख राजेशमानले भने, ‘अब तरकारी र फलफूलको व्यवस्थित बजार होस् भनेर महानगरले थालनी गरेको छ। व्यापारीलाई कुरेर बसेका छौं आइदिनुस्।’
बिपी उद्यानको जमिनमा हरित पार्क बनाउने प्रक्रिया अघि बढाइसकेको उनको भनाइ छ।
‘बिपी उद्यानमा यति फोहोर छ कि त्यहाँको तरकारी खाएर कोही स्वस्थ हुँदैन, व्यापारीहरूले पनि पैसा तिर्दैनन्,’ उनले भने, ‘त्यो जमिन बिपी उद्यानको नाममा भएकोे जमिन हो, कंक्रिटको काम नगर्न सवोच्च अदालतले आदेश दिएको छ, त्यहाँ हरित पार्क बनाउँछौं।’
वैभव वीरगञ्ज बनाउने जिम्मेवारी सबैको भएको उनले बताए ।
बजार व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिँदा सटरको भाडा महंगो पर्न सक्ने चिन्ता तरकारी तथा फलफूल व्यवसायीहरूले गरेका छन् ।
उनीहरूले महानगरपालिकाले नै थोक बजार सञ्चालन गर्नुपर्ने माग राखेका छन्।
तर नगर प्रमुख राजेशमान सिंहले भने महानगरपालिकाले तोकेको दर रेटमा भन्दा बढी भाडा लिन नपाउने बताए।
तरकारी तथा फलफूल व्यवसायी संघ जिल्ला कार्य समिति पर्साको सल्लाहकार ग्यासु मिया देवानले थोक बजारमा सुरक्षा गार्डको व्यवस्था गर्न, बैंकको शाखा स्थापनाका लागि पहल गरिदिन र थोक फलफूलको लागि व्यवस्थित सटर बनाइदिन आग्रह गरे ।
थोक बजार सञ्चालनमा ल्याउन प्रयोग गरिएको जग्गा तीन दशकदेखि विवादित थियो। तर कानूनी प्रक्रियाबाट सार्वजनिक कायम भइसकेको महानगरपालिकाले जनाएको छ।
ताराचन्द केडिया, जगदीश नारायण साह कानु, इन्दु देवी, तारणी विक्रम शाह, शरद विक्रम शाह, हरिनारायण गुप्तालगायतले जग्गाको स्वामित्वमा दाबी गरेका थिए । वि.स. २०४६ सालको नयाँ नापीमा जग्गा भएको स्थानको ‘महल खाली’ रहेको र कुनै स्वामित्व नदेखिएपछि सार्वजनिक कायम भएको हो।
विभिन्न व्यक्तिले नक्कली कागजात तयार गरी कब्जा गर्ने प्रयास गरेपछि वि.स. २०८० असोज २६ गते महानगरपालिकाको बोर्ड बैठकले जग्गा सार्वजनिक कायम गर्ने निर्णय गर्दै मालपोत कार्यालय पर्सामा निवेदन दिएको थियो।
मालपोत कार्यालयले १६ असोज २०८१ मा दाबीहरू खारेज गर्दै जग्गा सार्वजनिक कायम गर्ने र नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो।