बागमती प्रदेश सरकारले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा रु. ६ अर्ब बराबरको स्रोत व्यवस्थापन गर्ने भएको छ।
जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा सम्पन्न सरोकारवालासँगको छलफल तथा अन्तर्क्रिया बैठकले उक्त निर्णय गरेको हो।
गत भदौ १० गते ल्हेन्दे-भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय, भौतिक, सामाजिक तथा सांस्कृतिक क्षति र त्यसपछिको राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा बैठकमा विस्तृत छलफल भएको थियो।
प्रदेश सरकारले हालसम्म गरेका कामको समीक्षा गर्दै बैठकले तत्काल सञ्चालन गर्नुपर्ने आयोजना तथा कार्यक्रम र दीर्घकालीन समाधानका उपायबारे निर्णय गरेको छ।
बैठकको निर्णयअनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका आयोजना सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्य, स्थानीय तह तथा वडाको सिफारिस र सहभागितामा अघि बढाइनेछन्।
आयोजना छनोट र कार्यान्वयन गर्दा काममा दोहोरोपना हुन नदिने तथा उपलब्ध स्रोतको अधिकतम उपयोग सुनिश्चित गर्ने निर्णय भएको छ।
तत्काल पुनर्निर्माण तथा पुनर्स्थापना गर्नुपर्ने आयोजनाको माग संकलन, विश्लेषण तथा उपलब्ध बजेट सीमाभित्र सम्पन्न गर्न सकिने आयोजना वा कार्यक्रमको सूची तयार गर्ने काम प्रदेश नीति तथा योजना आयोगको समन्वयमा गरिनेछ। छनोट भएका आयोजना तथा कार्यक्रम सम्बन्धित मन्त्रालय र निकायले कार्यान्वयन गर्नेछन्।
बाढी प्रभावित क्षेत्रका समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययन तथा गुरुयोजना तयार गर्ने भएको छ।
यसमा जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरण, जग्गा व्यवस्थापन, प्रभावित नागरिकको सहज जीविकोपार्जन सुनिश्चित गर्ने व्यवस्था तथा पूर्वाधार र सम्पदाको संरक्षणलगायतका विषय समेटिनेछन्। उक्त गुरुयोजनाका आधारमा संघ, प्रदेश र स्थानीय तहले आआफ्नो अधिकार र जिम्मेवारी भित्रका काम अघि बढाउने निर्णय भएको छ।
बैठकले प्रदेश तथा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने पुनर्निर्माण र पुनर्स्थापनाका कामका लागि आवश्यक आर्थिक स्रोत उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ।
विपद् व्यवस्थापन तीनै तहका सरकारको जिम्मेवारीमा रहेको तर यससम्बन्धी सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्र जम्मा भएको सन्दर्भमा उक्त निर्णय गरिएको हो।
बैठकमा प्रदेश सरकारले बाढीपछि गरेको तत्काल उद्धार तथा राहत, अवरुद्ध सडक र पुलको वैकल्पिक व्यवस्थासहित आवागमन सञ्चालन तथा खानेपानी र विद्यालय शिक्षालगायतका सेवा सुचारु गर्न गरेका प्रयास र उपलब्धिको समीक्षा गरिएको थियो।