फ्रान्सका नागरिक मौरिस हर्जोगले ३१ वर्षको उमेरमा अन्नपूर्ण (८०९१ मिटर) आरोहण गरे। यसको करिब ३० वर्षपछि उनका छोरा म्याथिएस जन्मिए।
जब म्याथिएस १३ वर्षका भए, मौरिसले उनलाई नेपाल घुमाउन ल्याए।
काठमाडौं उत्रिएपछि म्याथिएसले बुबाको अनुहारमा छुट्टै सन्तुष्टि देखे। मौरिसका आँखा खुसीले भरिएका थिए। काठमाडौंमा बुबा किन यति धेरै खुसी भएको भन्ने कुरा उनले त्यति बेला पत्तो पाएनन्।
मौरिस र उनका छोरा म्याथिएस कैलाश हिमाल हेरेर फर्किए। त्यसपछि म्याथिएस लामो समयसम्म नेपाल आएनन्।
एकै पटक गत वर्ष आए। दोस्रो पटक नेपाल आउँदा उनले घर फर्किएको महसुस गरे— जहाँ उनको स्वागत भइरहेको थियो।
'पोहोर म यहाँ फर्किँदा घर फर्किएजस्तो लाग्यो। कहिलेकाहीँ हामी कुनै ठाउँमा पुग्दा सहज अनुभूति हुन्छ, स्वागत पाइरहेको घरजस्तो। यहाँ आउँदा मलाई त्यही भावना आयो,' उनले भने।'
उनका बुबा मौरिस नेपाललाई प्रेम गर्थे। उनले विश्वमै पहिलो पटक ८ हजार मिटरभन्दा अग्लो हिमाल चढेर कीर्तिमान राखेका थिए। सन् १९५० जुन ३ मा अन्नपूर्ण (८०९१ मिटर) हिमाल चढेर मौरिस र उनका साथी लुई लचेनले विश्वमा सनसनी मच्चाएका थिए।
अन्नपूर्ण चढ्न नेपाल आउँदा मौरिसको भिसा नम्बर ७ थियो। पर्वतारोहणका लागि नेपालले भर्खरै ढोका खोलेको थियो। त्यति बेला विश्वमा हिमाल चढ्ने कुरा सैन्य अभियानजस्तै भएको म्याथिएस बताउँछन्। सबै देशहरू ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढ्न प्रतिस्पर्धा गरिरहेका थिए।
दोस्रो विश्वयुद्धपछिको अवस्थाबाट गुज्रिरहेका देशले गौरव गर्ने विषय खोज्दा हिमाल आरोहणको होड चलेको म्याथिएस बताउँछन्।
'त्यो समयमा देशले केही गौरव खोजिरहेको थियो,' उनले भने, 'त्यसैले त्यो विजय निकै ठूलो कुरा थियो। त्यति बेला बुबा स्टार बन्नुभयो।'

अहिले भने मानिसहरू पुराना गौरवमा केन्द्रित हुन छाडेको उनले बताए। फ्रेन्च युवाहरूले आफ्ना इतिहासप्रति गर्व गर्नुपर्ने बेला आएको भन्दै उनले चिन्ता पनि व्यक्त गरे।
'मानिसहरू पुराना गौरवभन्दा पनि विवादमा केन्द्रित भएका छन्,' उनले भने।
अन्नपूर्ण आरोहणपछि पनि मौरिस बारम्बार नेपाल आइरहे। तर हिमाल आरोहणमा पाएको सफलताले मात्र उनलाई नेपालले तानेको थिएन। नेपाली मन र संस्कृति उनलाई मनपरेको थियो। नेपालीको सहयोगी भावना, दुःखलाई पनि हाँसेर जित्ने व्यवहार उनको मनमा गढेको थियो।
'बुबा यहाँका मानिसहरू असाध्यै मन पराउनु हुन्थ्यो। युरोपका मानिसहरू धेरैजसो व्यापार र अन्य कुरामा व्यस्त हुन्छन्। तर यहाँका मानिससँग यस्तो चिज छ, जुन युरोपका मानिसहरूसँग छैन,' उनले भने, 'त्यो हो नेपालीहरूको मन!'
म्याथिएस अहिले आध्यात्मिक अभियानमा छन्। उनले संगीत र अध्यात्म जोडेका छन्।
अन्नपूर्ण शिखर चढेपछि मौरिसलाई पनि गहिरो आध्यात्मिक अनुभव भएको थियो। उनले त्यो क्षणलाई एकत्व, सर्वत्र प्रेम वा ईश्वर भने। जे नाम दिए पनि त्यो एक आध्यात्मिक अनुभूति भएको म्याथिएसले बताए।
त्यति बेला युरोपमा आध्यात्मिक कुरा गर्नु संवेदनशील भए पनि मौरिसले आफ्नो किताबमा यसबारे उल्लेख गरेका छन्।
अन्नपूर्ण चढेर फर्किएपछि मौरिसले 'अन्नपूर्ण प्रिमियर ८०००' किताब लेखेका थिए।
त्यसमा लेखिएको छ — जीवनका अरू अन्नपूर्णहरू चढ्न बाँकी नै छन्!
बुबाका यी वाक्य म्याथिएस दोहोर्याइ रहन्छन्। यही वाक्यले उनको जीवनलाई आध्यात्मिक बाटोतिर लगेको हो। हिमालको उचाइमा पाइला टेक्नु मात्र आरोहण मान्दैनन् उनी। उनी मनभित्रको हिमाल चढ्न चाहन्छन्, जुन सगरमाथाभन्दा अग्लो छ।
'अहिले म फरक फरक हिमाल चढ्दैछु— मनभित्रका हिमालहरू। हरेक व्यक्तिले आफ्नै जीवनको अन्नपूर्ण चढ्नुपर्ने हुन्छ। यो उचाइको कुरा होइन। सगरमाथाभन्दा पनि ठूलो चुनौती भनेको हाम्रो भित्री संसार हो,' छातीमा हात राखेर उनले भने।
यसपालि म्याथिएस सांगीतिक टोली लिएर आएका थिए। उनले अन्नपूर्ण आधार शिविरभन्दा केही तल, अन्नपूर्ण पग्लिएर बनेको पञ्चकुण्ड ताल (४०५० मिटर) मा बसेर प्रार्थना गरे।
म्याथिएस खुसी र आनन्दका लागि आध्यात्मिक बाटोमा हिँडेका हुन्। अभिभावकले सन्तानका लागि धेरै योजना बनाए पनि आफ्नो बाटो आफै पत्ता लगाउनुपर्ने उनी बताउँछन्। मौरिसले भने कुनै पनि काम गर्न उनलाई दबाब दिएनन्।


'अन्ततः आफ्नो बाटो आफै बनाउनुपर्छ। त्यस्तो बाटो जसले बच्चाजस्तै महसुस गराओस्—जहाँ खुसी र स्वतन्त्रता मिलोस्। त्यो नै साँचो बाटो हो,' उनले भने, 'समाजले भनेको होइन, आफूले चाहेको कुरा गर्नुपर्छ। यो सजिलो हुँदैन, साहस चाहिन्छ।'
म्याथिएस जीवनलाई गम्भीर रूपमा लिन मन पराउँदैनन्। खुसी भएर रमाइलोसँग जीवन बिताउन मन पराउँछन्। यो कुरा युरोप र अमेरिकामा सम्भव नभएको उनी बताउँछन्।
'नेपालका मानिसको हाँसो, आँखाको चमक र प्रेम मलाई अद्भूत लाग्छ। युरोप र अमेरिकामा सबै बन्द छन्, गम्भीर छन्,' उनले भने।
पर्वतारोहणले सिकाउने पाठ पनि उनले आफ्नै तरिकाले बुझेका छन्। हिमाल आरोहणलाई उनी विजयका रूपमा लिँदैनन्। हिमाल जित्ने कुरा मान्दैनन्। पर्वतारोहणले प्रकृतिको सम्मान गर्न सिकाउने उनी बताउँछन्।
'हामीले आफूलाई धेरै ठूलो ठाने पनि हामी थोरै समयको पाहुना मात्र हौं,' उनले भने।
म्याथिएस पञ्चकुण्ड तालमा नपुग्दै हिउँ पर्न थालिसकेको थियो। उनी प्लास्टिकको रेनकोट लगाएर ताल पुगेका थिए। हिउँ, हिमाल र हिमताल हेरेर घोरिए। हिमालमा मौनताको आवाज सुन्न खोजे।
उनका अनुसार हिमालमा हावा चलिरहेको बेला, हिउँ परिरहेको बेला त्यो मौनताको आवाज आउँछ। यसलाई उनको भाषामा 'नादा' (शून्य) भनिन्छ।
'पर्वतारोही होस् कि सामान्य मानिस, त्यो अनुभव साझा हुन्छ। फरक भनेको चेतनाको स्तर मात्र हो,' म्याथिएसले भने।
यसपालि म्याथिएससँगै उनका छोरा इथन पनि पदयात्रामा थिए। पञ्चकुण्ड ताल पुगेर उनले हजुरबुबा मौरिसको आरोहण सम्झिए।
उनको सम्झनामा मौरिस विनम्र र हास्यबोध भएका थिए। नेपाली संस्कृति र परम्परासँग जोडिन खोजिरहन्थे। उनले अन्नपूर्ण चढ्नु फ्रान्सको विजय नभएर मानवताको जित भएको उनको ठम्याइ छ।
'त्यो बेलाको समयमा, त्यस्तो खराब मौसममा पनि उहाँको आरोहण सफल भयो जुन साँच्चै चमत्कार हो,' इथनले भने, 'यो फ्रान्सको विजय होइन, मानवताको विजय हो।'
म्याथिएस अन्नपूर्ण आउँदा आफूलाई भरिपूर्ण पाउँछन्। अन्नपूर्णबाट बुबाले आध्यात्मिक बाटोको ढोका खोलिदिएको बताउने उनी हिमाल चढ्नभन्दा चेतनाको शिखर चढ्न मुस्किल हुने बताउँछन्।
हिमाली क्षेत्रमा पदयात्रा गर्दा होस् वा आरोहीहरूसँग कुरा गर्दा, उनले हिमालको वातावरण र स्थानीय संस्कृतिमा ह्रास आइरहेको महसुस गरेका छन्।
नेपालमा मात्र होइन, फ्रान्सको शामोनीमा पनि पर्यटकीय अराजकताका कारण प्रकृति मासिएको उनको भनाइ छ। अर्थतन्त्रका लागि पर्यटन आवश्यक भए पनि 'सचेत पर्यटन' हुनुपर्नेमा उनी जोड दिन्छन्।
'अहिलेको नयाँ पर्यटन भनेको सचेत पर्यटन हो—प्रकृतिसँग नजिक, परिवारसँग जोडिएको र आत्मीय साथको,' म्याथिएसले भने, 'अब हामी बिस्तारै अर्थपूर्ण जीवनमा फर्किनुपर्छ—तेज गतिमा होइन।'

अन्नपूर्ण नर्थ अब 'मौरिस हर्जोग पदमार्ग'
अन्नपूर्ण हिमाल आरोहण गर्न जानेहरू अहिले पनि म्याग्दीतर्फ रहेको अन्नपूर्ण नर्थ पदमार्ग प्रयोग गर्छन्। मौरिस हर्जोग मुस्ताङको टुकुचेबाट म्याग्दीको बस्केटमेला नजिकै निस्किएर अन्नपूर्ण नर्थ आधार शिविर हुँदै हिमाल चुचुरा पुगेका थिए।
अहिले भने म्याग्दीको नारच्याङ गाउँबाट हुमखोला, सन्धीखर्क, गुफाफाँट, बस्केटमेला, पञ्चकुण्ड ताल हुँदै अन्नपूर्ण आधार शिविर पुग्छन्।
हिमाल आरोहण गर्न जाने यही रूटलाई अन्नपूर्ण गाउँपालिका, म्याग्दीले 'मौरिस हर्जोग पदमार्ग' नाम दिएको छ।
गाउँपालिकाको पहलमा आधार शिविरमा अन्नपूर्णका प्रथम आरोही मौरिस, लुई लचेन र पहिलो नेपाली आरोही सोनाम वाङचुक शेर्पाको शालिक पनि राखिएको छ।
यी शालिक यही जुन ३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम भए पनि खराब मौसमका कारण उनी म्याग्दीको नारच्याङ गाउँ पुगेर फर्किए। मौरिसका छोरा म्याथिएस र उनका टिम पनि आधार शिविर पुगेनन्।
नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिई कोर्टेभाल, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले भने पुगेर शालिक अनावरण गरे।
विश्वमै पहिलो पटक आरोहण गरिएको हिमाल भए पनि अन्नपूर्ण नर्थमा पर्यटन प्रवर्द्धन हुन नसकेको गाउँपालिका अध्यक्ष पुनले गुनासो गरे। म्याग्दीतर्फबाट हिमाल आरोहण भए पनि कास्कीतर्फको अन्नपूर्ण आधार शिविर पदयात्रीमाझ लोकप्रिय छ।
म्याग्दीतर्फबाट पनि शिविर पदमार्गमा पर्यटक आकर्षित गर्न ठाउँ ठाउँमा चिया पसल र बास बस्न मिल्ने साना लज खोल्न थालिएका छन्। पदयात्रीको संख्या बढ्दै जाँदा होटल संख्या पनि बढाउनुपर्ने दबाबमा गाउँपालिका छ।
पर्यटन बोर्ड गण्डकीका अध्यक्ष लामिछानेले अन्नपूर्ण नर्थ पदमार्ग सुन्दर भए पनि प्रवर्द्धन नपुगेको बताए।
'हामी यो पदमार्गको प्रवर्द्धनमा जुटेका छौं,' उनले भने, 'हिमाल आरोहणको इतिहास हेर्न पनि अन्नपूर्ण नर्थ जानुपर्ने रहेछ।'
टान गण्डकीका अध्यक्ष आचार्यले अन्नपूर्ण नर्थ पदमार्गमा क्याम्पिङ पर्यटन फस्टाएको बताए। खर्चिलो भए पनि धेरै नेपालीले क्याम्पिङ पदयात्रामा रोजगारी पाउने उनले बताए।
'यहाँ क्याम्पिङ आउने पर्यटक बढेका छन्,' उनले भने, 'हामीले यो पदमार्गको प्रवर्द्धन गर्न मौरिस हर्जोग पदमार्ग भनेर नक्सा प्रकाशन गरेका छौं।'
यी पनि पढ्नुस्-
फ्रान्सेली मौरिस हर्जोगले नेपालमा बिताएको जिन्दगीकै कठिन रात
जसले अन्नपूर्णबाट हर्जोगलाई बोकेर झारे, तेन्जिङ नोर्गेलाई सगरमाथा पठाए!