मानव बस्ती र घन्चमन्चभन्दा टाढा, प्रकृतिसँग रमाउन चाहनेहरूका लागि जीवन बदल्ने अनुभव बन्न सक्छ, क्याम्पिङ ट्रेक।
जहाँ मोबाइलले टावर टिप्दैन, इन्टरनेट पुगेको छैन, समयको चाप पनि महसुस हुँदैन। आफूभित्र हराउन र प्राकृतिक जीवनमा फर्किन क्याम्पिङ ट्रेक उत्तम विकल्प बन्न सक्छ।
पदयात्राबाट लोप हुन खोजिरहेको क्याम्पिङ ट्रेक फेरि ब्युँताउन आवाज उठ्न थालेको छ। अन्नपूर्ण हिमाल आरोहण गर्न हिँडिने बाटोमा गत साता एक टोलीले क्याम्पिङ ट्रेक गर्यो। विश्वमै पहिलो पटक आरोहण गरिएको ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहणको ७५ औं वार्षिकोत्सव नेपाल पर्यटन बोर्ड गण्डकीको आयोजनामा अन्नपूर्ण नर्थ बेस क्याम्पसम्म क्याम्पिङ ट्रेक गएर मनाइएको थियो।
पदयात्रामा सरकारी अधिकारी र पर्यटन व्यवसायी र १४ जना फ्रान्सेलीसहित कुल ६० जनाको टोली थियो। टोलीलाई बस्न, खान लगायत बन्दोबस्त मिलाउन गाइड, कुक, वेटर र पोर्टर गरी ४० जना सहयोगी थिए। व्यापक वर्षा र हिमपातका बाबजुद टोलीले क्याम्पिङ ट्रेकको मजा उठायो।
अन्नपूर्ण प्रथम चढेर इतिहास रचेका फ्रेन्च पर्वतारोही मौरिस हर्जोग र लुई लाचेनले नेपालमा पर्वतारोहण पर्यटनको ढोका खोलेका थिए। उनीहरू हिँडेकै बाटो प्रवर्द्धन गर्न र पर्वतारोहणको इतिहास पुनर्जागृत गर्न आधार शिविरमै कार्यक्रम गरिएको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताए।
'पर्वतारोहणको इतिहास पुनर्जागृत गराएर हामी यहाँको पर्यटन प्रवर्द्धन गर्न खोजेका हौं,' पदयात्राबाट फर्किँदै गर्दा उनले भने, 'क्याम्पिङ गरेर बेस क्याम्प आउनु र यति भव्य कार्यक्रम त यसअघि भएको थिएन। सायद विश्वमै यति भव्य क्याम्पिङ ट्रेक कहीँ नहोला!'


क्याम्पिङ ट्रेकमा भरियाहरू डोको र ठूला ठूला झोलामा बन्दोबस्तीका सामग्री बोकेर उकालो लाग्छन्। बास बस्ने ठाउँमा कसैले टेन्ट गाड्छन्। कुकले खाना बनाउँछन्। कसैले तरकारी काट्छन् त कसैले भाँडा माझ्छन्। पर्यटकका लागि बसेर खाने ठाउँ पनि बनाउँछन्।
ग्यास स्टोभमा तयार गरिएको तातोतातो खाना पर्यटकलाई खुवाउँछन्। उनीहरूले बिहान चियासँगै विभिन्न प्रकारका नास्ता, दिउँसो खाना र साँझको खाना पनि फरक फरक बनाउँछन्। सागसब्जी, अण्डा र विभिन्न परिकार बनाउन प्रयोग गरिने खाद्यपदार्थ, तरकारी, मसला पनि उनीहरूले बोकेरै लगेका हुन्छन्र
यसरी क्याम्पिङ ट्रेक जान सजिलो छैन। जति दिनका लागि क्याम्पिङ जान लागेको हो, त्यत्तिकै दिन पुग्ने खाना, ग्यास, भाँडाकुडा लगायत सामान बोकेर लैजानुपर्छ। बास बस्न टेन्ट, स्लिपिङ ब्याग, प्राथमिक उपचारका औषधि पनि लैजानुपर्छ। चिया र कफी छुटाउने कुरै भएन।
मौसम सधैं एकनासको हुँदैन। हिमाली क्षेत्रमा पदयात्रा गर्दा कहिले हिउँ त कहिले असिना पानीले भिजाउँछ। बेजोड हावाहुरी त हिमालमा नियमित चल्ने भइहाल्यो।
सुख्खा ठाउँ छ भने, साँझपख काम सकिएपछि, स्लिपिङ ब्यागभित्र छिर्नुअघि उनीहरू आगो तापेर गीत गाउँछन्। कोही कम्मर मर्काउँछन्। पर्यटहरू पनि जानी नजानी गीत गाउन र कम्मर मर्काउन थाल्छन्।
अन्नपूर्ण नर्थ पदयात्रामा जान म्याग्दीको नारच्याङ गाउँबाट हुमखोलासम्म जिपमा जान सकिन्छ। त्यसपछि सुरू हुन्छ पदयात्रा। निलगिरि हिमाल र अन्नपूर्ण हिमाल पग्लिएर बगेको हुमखोला किनारै किनार अजंगको पहाड हेर्दै उकालो लाग्नुपर्छ।


बाटो ठाडो उकालो पनि छैन, भिरालो पनि छैन। बाटोमा हुमखोला नै झरना बनेर झरेको फुतफुते झरनामा पदयात्रीको आँखा अडिन्छ। झरनाले पोखरी बनाएको छ। नीलो, स्वच्छ र कञ्चन पानीको त्यो बहाव हेरेर मानिसहरू लामो समय अडिन सक्छन्।
किनारै किनार अघि बढ्दा हुमखोला र म्रिस्ती खोलाको दोभान आउँछ। हुमखोला निलगिरि हिमाल पग्लिएर बनेको हो भने म्रिस्ती खोला अन्नपूर्ण हिमाल पग्लिएर बनेको पञ्चकुण्ड तालबाट झरेको हो। यी दुई खोलाको दोभानमा भेट भएपछि म्रिस्ती खोला हुमखोलामा विलीन हुन्छ।
अन्नपूर्ण नर्थ पदयात्रामा जति माथि गयो, उति अजंगका पहाडहरू देखिन्छन्। ठूला ठूला ढुंगा बाटोभरि छरिएका छन्। ससाना झरना खोलामा मिसिएका छन्। मन छुने चिसो पानी यति सफा छ कि पानीभित्रका रंगीबिरंगी ढुंगाको रङ पनि प्रस्ट देख्न सकिन्छ।
तिलिचो पिक र अन्नपूर्ण प्रथम हिमाल पग्लिएर बनेको पञ्चकुण्ड तालमा हिउँका ढिक्का देखिन्छन्। निलो ताल गहिरो देखिन्छ। तालभन्दा माथि सेता हिमाल तालमा पौडिरहेको देख्न सकिन्छ।
भौगोलिक रूपमा अदभूत दृश्य देख्न पाइने अन्नपूर्ण नर्थ पदयात्रामा पर्याप्त होटल छैनन्। भर्खर केही खुले पनि पुग्दो छैन। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य यो पदमार्गलाई क्याम्पिङ ट्रेककै गन्तव्य बनाउन सकिने बताउँछन्।
'क्याम्पिङ ट्रेकमा आउने पर्यटक धेरै खर्चालु हुन्छन्। गाइड, पोर्टर, कुक लगायत गरी धेरै जनाले रोजगारी पनि पाउँछन्,' उनले भने, 'अन्नपूर्ण नर्थलाई क्याम्पिङ ट्रेकको हब बनाउन सकिन्छ।'
जति बेला लेकमा होटलहरू खुलेका थिएनन्, पर्वतारोहणमा जाने हुन् कि पदयात्रामा जाने पर्यटक, सुरूमा क्याम्पिङ ट्रेक नै गर्थे। भेडीगोठ भएका ठाउँमा गोठमै बसेर पनि पर्यटकले रात काटेको आचार्य सम्झिन्छन्।
'सन् २००० तिरबाट मात्र लेक होटलहरू खुल्न थाले,' उनले भने, 'होटलहरूमा बास बस्न थालेपछि धेरै खर्च गरेर क्याम्पिङ आउने पर्यटक घटेका छन्।'
अहिले स्थापित पदमार्गहरू होटलले भरिएका छन्। केही पदमार्गमा बढेका होटलले पदयात्राको नभई बजारमै हिँडेको अनुभूति दिन थालेको उनी बताउँछन्। क्याम्पिङ ट्रेक जोगाउन सके प्रकृतिमा फर्किने उपाय पनि जोगिने उनी बताउँछन्।

सम्पूर्ण बन्दोबस्तीका सामग्री लिएर जानुपर्ने भएकाले क्याम्पिङ ट्रेक महँगो पर्छ। तर यसको आनन्द बेग्लै हुन्छ!
'२० जनाको समूह छ भने एक दिनमा १५० डलर (करिब २० हजार रूपैयाँ) जति खर्च हुन्छ। नेपालीले पनि क्याम्पिङ ट्रेक बुक गर्न सक्छन्,' उनले भने, 'यस प्याकेजमा बास बस्न टेन्ट, स्लिपिङ ब्यागदेखि बिहानको नास्ता, खाना, साँझको खाना, चिया, कफी लगायत सबै बन्दोबस्तीका सामग्री व्यवस्था गरिएको हुन्छ।'
उनले क्याम्पिङ ट्रेकलाई ब्रान्डिङ गर्न जरूरी रहेको बताए।
नेपालमा पदयात्रा खुलाएका पहिलो व्यक्ति बेलायती सेनाका कर्णेल जिम्मी रोबर्ट हुन्। पर्वतारोहणका शौखिन रोबर्टले सन् १९६५ मा पहिलो पटक माउन्टेन ट्राभल नामक ट्रेकिङ कम्पनी खोले। उनैले नेपालका पदमार्ग खोजी गर्ने र पदयात्रामा पर्यटक पठाउन थालेका थिए।
त्यति बेलादेखि नै मानव बस्तीभन्दा टाढा, हिमालका छेउछाउ पदयात्रामा जाने पर्यटक क्याम्पिङ जान्थे। पदमार्गमा पर्यटक संख्या बढ्न थालेसँगै होटलहरू खुल्न थालेको टान अध्यक्ष आचार्य बताउँछन्।
'होटलहरू खुलेपछि पर्यटकको खर्च घट्यो। रोजगारी पनि घट्यो। त्यसैले क्याम्पिङ ट्रेक ब्रान्डिङ गर्न सके पर्यटन प्रवर्द्धन गर्न सकिन्छ।









