बन्द गर अब सडकमा नारा लगाउन
पर्चा, पम्पलेट अनि फेसबुकका भित्ता रंगाउन।
बन्द गर ममाथिका तिम्रा दयाका शब्दहरू
ती चोक र चौतारामा हुने सहानुभूतिजन्य रोदनहरू।
बन्द गर तिम्रा क्षणिक चिच्याहाट र आक्रोशहरू
मेरो समर्थनका लागि भनी बुनिएका सत्तारूपी जालहरू।
बन्द गर सरकार तेरो झूटा आश्वासन र निर्देशनहरू
एनजिओ/आइएनजिओका सभा, सम्मेलन र गोष्ठीहरू।
बन्द गर प्रहरी तेरो अनुसन्धान र प्रतिवेदनहरू
नागरिक समाजको विरोध,र्यालि र जुलुसहरू।
तिम्रा रोदन,आक्रोश,विरोध,जुलुस र निर्देशनहरूले
मलाई निरीह, कमजोर र मेरो पितालाई पागल बनाएर छाड्यो ।
बिन्ती छ नेपालीजन मलाई तिम्रा मानसपटलबाट निकालिदेउ
मेरा परिवार र आफन्तका रोदनलाई बिर्सिदेउ ।
छैन अब मलाई न्यायको कुनै आशा
बिन्ती मेरो सारा अस्तित्वलाई नै भुलिदेउ।