मेरै पसिनाको बलले
देख्दै छु उभिएका छन्
सहरमा एक/दुई आलिसान महल
म आफैले ठड्याएका ती महलले
मैमाथि बर्साउँछन्
तुच्छ नजरहरू
सहरको एक कारखाना
बजार्छ मैमाथि बुटहरू
मेरै रगत चुसेका
जुकाहरू मोटाएका छन्
दिन दुगुना रात चौगुना।
रिसले टुप्पी नाघ्दै छ
भो अब अति भयो
तागत छ मेरो पनि
भत्काउने तिम्रा महल
बन्द गर्ने तिम्रा कारखाना
र उद्यमहरू
किनकि-
म हुँ एक मजदुर
हामी हौँ मजदुरहरू
अर्थात्
श्रमका राजा, श्रमराज।