मेरो प्रिय यार!
एक पटक आफूलाई हेर त
यो हतारोमा तिम्रो त्यो पाइलाहरूले
कति फट्को एकै पटक मारे
कति गह्रुंगो फड्कोहरू एकै चोटि नाघे
कस्तो हतार हो तिमीलाई?
दौडने प्रतियोगितामा स्वाँ-स्वाँ हुने गरी
दगुरेर प्रथम भएपछि
पुरस्कार लिनुभन्दा अगाडि नै
मरी पो हाल्छु कि भनेर
बिस्तारै श्वास फेर्ने बानीको तिमी
आज किन यति हतार?
थाहा छ!
हतारमा छुटेकाहरू
फुर्सदमा फर्कन चाहेर पनि आउन सक्दैनन्
साथै राख्न मन भएकाहरू
हातैबाट छुटिसकेपछि समात्न सकिन्न
एक पटक विवाह भइसकेकी स्त्री
पुरानै प्रेमीसँग फर्केर आउन सक्दिन
एक पटक दुखाइदिएको मनलाई
जति मलहम पट्टी लगाए पनि
ठिक पार्न सकिन्न
निन्द्रामा मस्त मान्छेलाई ब्युँताइ दिएपछि
ऊ फेरि निदाउन सक्दैन
सातै जुनी सँगै काट्ने वचन दिएकाहरू
एकै जुनीमा छोडेर गइसकेपछि
सात जुनी साथ हुँदैनन्
आँखामा राखेर सपना देखाउनेहरूको
आँखाबाट आँसु बनेर बगेपछि
फेरि त्यही आँखामा बस्न सकिन्न
तिमीलाई चिनेका आँखाहरूबाट
जुन दिन अनजान हुने छौ
त्यसपछि कहिल्यै चिनजान हुँदैन
मलामी भएर गएकाहरू
म छुटेपछि फेरि मलामी भएर फर्कन सक्दैनन्
यो हतारको यात्रालाई यतै कतै बिसाउन मिल्दैन?
मिल्छ भने बिसाऊ न एक पटक
तर याद गर्नु
बिसाउँदा पैतालाहरूले धुलो नटेक्नु
पैतालाले टेकेका धुलोहरू फेरि पैताला बन्न सक्दैन।