कर्मचारी अफिस पुगेपछि दश बज्ने यस देशमा
नौ बजे नै नौ बज्न थालेपछि
नेपाली परिवार
सखारै ब्युँझिन्छ
बाबु मर्निङवाकमा जान्छ
आमा जुम्बा डान्स सिक्दैछिन्
योग प्राक्टिस गराउने गुरु बिहानै आउँछन्
जिमखाना बिहानै खुल्छ।
चिया पहिलेभन्दा चाडै उम्लिन्छ
सबैसँगै बसेर चिया खान्छन्
र, खाँदै फसी/इस्कुसका मुन्टा केलाउँछन्
छोरो अचार बनाउन सिक्दै छ
छोरी पानीको रठ्ठापठ्ठा मिलाउँछे
बाबु उध्रेको काखी खिप्दै छ
आमा पूजा कोठामा मन्त्र पढ्दैछिन्।
अचेल नौ बजे अफिस लाग्छ
अचेल नौ बजे नै नौ बज्छ
नौ बज्दा/नबज्दै पुग्ने गरी
छोराछोरी घुइँकिन्छन्
सडकमा बिहानै चहलपहल हुन्छ
पसल नखोलेर हुन्छ?
अचेल नौ बज्दा/नबज्दै बजार खुल्छ
घरको काम सबै मिलेर नगर्ने हो भने
कसरी भ्याइन्छ?
अचेल नेपाली क्यालेन्डरमा
हप्तामा लगालग दुइटा घर रातो छ
एउटा नाथे रातो
घरको सरसफाइमै सकिन्थ्यो
अर्को रातो पनि थपिएपछि
नेपाली समाज
हाइकिङको नयाँ रुट हेर्दैछ
पुग्न बाँकी आस्था केन्द्रको लिस्ट बनाउँदै छ
नभेटेका आफन्तहरू सम्झिँदै छ
नटेकेका पार्क खोज्दै छ
कौसीखेतीको योजना बनाउँदै छ
केही उपहारसहित
वृद्धाश्रमतर्फ जानेबारे सोच्दै छ।
सहरमा नयाँ कुन सिनेमा आयो?
ग्यालरीमा कसको प्रदर्शनी छ?
संसदमा के–के हुँदैछ?
कसको कुन किताब सार्वजनिक भयो?
डबलीमा कुन नाटक मञ्चन हुँदैछ?
नौ बजे नै नौ बज्न थालेपछि
नेपाली समाज फुर्तिलो र रुचिसम्पन्न भएको छ
नौ बजे नै नौ बज्न थालेपछि
नेपाली समाज चनाखो र उत्तरदायी भएको छ।