फूल, आज तिमीसँग मलाई एकाएक रिस उठेको छ। तिम्रो पारख गरेर कहिल्यै थाकिनँ। सधैँको तिम्रो प्रसन्नता, उज्यालोपन, शालीनता र संयमको तारिफ गरिरहेँ। आज मेरो मनको अवस्था तिमीले पटक्कै बुझेनौ।
म पिरमा रहँदा, हतारिँदा, आत्तिँदा, औडिँदा तिमी भने सधैँ एकै रूपमा हँसिलो खुसीलो? मेरो अवस्थामा कति पनि हार्दिक नभएर मलाई किन गिज्याइरहेको?
अवस्थाअनुसार व्यवहार गरेको भए कति खुसी हुन्थेँ। मेरा औडाहा, संवेग, संवेदना नबुझी सधैँ एकतमास प्रसन्न रहनु मलाई, मेरो वृत्तिलाई, मेरो कर्मलाई र मेरो नियतिलाई हिकाएझैँ लागेको छ। सधैँ खुसी देखिनु तिम्रो लाइपाते प्रवृत्ति! जीवनमा सबैथोक चाहिन्छ, सबैथोकको अनुभूति र स्वाद चाहिन्छ, प्रतिक्रिया र संघर्ष चाहिन्छ। तिमी भने सधैँ उस्तै। जतिखेर पनि फिस्स हाँसेर मलाई गिज्याए जस्तो!
फूल, तिमी धेरै मात्तियौ, पुलपुलियौ। तिमीलाई सबैले आँखामा राखे, शिरमा सजाए। अरू राम्रो देखिन पनि तिम्रै सहारा लिए। सुन्दरीले अझ सुन्दरी बन्न तिम्रै साथ लिए, गजरा बनेर सुन्दर नारीलाई अझ सुन्दर बनायौँ। शिरमा सजियौ, गलामा सजियौ, कपडामा सजियौ। साइतलाई शुभ बनाउन तिमी नै अगि देखियौँ। सुन्दरताले सबैलाई लोभ्यायौ। तिम्रो रातो, सेतो, पहेँलो, गुलाबी रङहरूबाट हामी लोभियौँ। झन् पुलपुलायौँ। गमलामा सुमसुम्यायौँ, बाग बगैँचामा मलजल गरेर हुर्कायौँ। मन्दिर, पूजा र आस्थाका भगवानमा चढायौँ। तिम्रो भाउ किन नबढोस्?
सबै प्राणी प्रतिस्पर्धामा छन्। प्राणी हुनु प्रतिस्पर्धा गर्नु हो। जन्मनुको अर्थ प्रतिस्पर्धा स्विकार्नु हो। प्रतिस्पर्धाले प्राप्ति र प्रगतिलाई प्रोत्साहन गर्छ। प्रतिस्पर्धा जीवनको अस्मिबोध हो, अस्मि विस्तारको यात्रामा सबै प्राणी प्रतिस्पर्धा गर्छन्। मानिस त अरू धेरै कुरामा जस्तै प्रतिस्पर्धामा पनि श्रेष्ठ छ। जन्मेदेखि, चेतना विस्तार भएदेखि प्रतिस्पर्धा र अस्तित्व विस्तार गर्नु उसको एक मात्र अभिष्ठ। यो जीवन रहेसम्म टुङ्गिँदैन। ढोका छेउ तुलसी मठ नजिक रहेको फूल तिमी भने न प्रतिस्पर्धा, न प्रतिक्रियामा। सधैँ स्वागत, सधैँ शिष्टाचार। जतिखेर पनि, मेरो दुख पीडामा पनि उन्मुक्त हाँसो र खुसीले मलाई हिकाएको जस्तो लागिरहेछ। म तिमीसँग प्रतिस्पर्धा गर्ने सोचमा छु।
प्रतिस्पर्धा को सँग गर्ने? किन गर्ने? यसको जवाफ पनि मसँग छैन। मानिस सबैसँग प्रतिस्पर्धा गर्छ। ज्यान भएकाहरूसँग प्रतिस्पर्धा गर्छ। भन्न जे भने पनि जहीँतहीँ प्रतिस्पर्धा गर्छ, स्वत्व विस्तार गर्छ। अस्तित्वको भोकमा सधैँ प्रतिस्पर्धा गर्छ। आफ्नासँग, अरूहरूसँग प्रतिस्पर्धा गर्छ। माया पाउनेहरू प्रेमीबाट पराजित छन्। मन शान्त पार्न मायाको भाकामा मानिस प्रतिस्पर्धा गर्छ। दया गरेर दुखीको मन जित्न प्रतिस्पर्धा गर्छ। ठुलासँग नजानिँदो गरी सम्मानको भाकामा प्रतिस्पर्धा गर्छ, बलिष्ठ शक्तिवानसँग अनुनय गरे पनि प्रतिस्पर्धा गर्छ। कोही देखिएर कोही नदेखिईकन प्रतिस्पर्धा गर्छन्। अनि मलाई फूलसँग प्रतिस्पर्धा गर्ने मनसुवा किन नजागोस्?
तिमीले पनि मसँग मौन भाषामा प्रतिस्पर्धा गरेका छौ भन्ने लागिरहेको छ। नबोली बोलेको बोली, अधरबाट बर्साएको वाण, सुन्दरताको खिज्याइ कति पीडादायक छ भन्ने मलाई थाहा छ। मलाई खिज्याउने फूलसँग किन प्रतिस्पर्धा नगर्ने?
मन मात्तिएपछि कसलाई माया गर्ने, कोसँग देखासिकी गर्ने, कसलाई आदर गर्ने भन्ने नै हुँदैन। प्रतिरोध र अस्वीकृति नगर्नेलाई जे भने पनि भो। त्यसैले मेरो मन स्निग्ध, शान्त र सुन्दर फूलसँग प्रतिस्पर्धा गर्छ। थाहा छ फूल, तिमी जति फक्रिए पनि, जति उजेलिए पनि त्यसको परिधि मेरो नजरसम्म हो, नजरको सीमा तिमी काट्न सक्दैनौ। तिमीले छाडेको सुगन्ध पनि दूरी पार गर्दै जाँदा त्यत्तिकै विलीन हुन्छ। तिम्रो उज्यालो सानो वृत्तिमा रहन्छ। तिम्रो सुन्दरता, वासना, मोहकता देख्ने, सुँघ्नेका लागि हो।
मजस्तो मानिस मार्गमा फैलिन्छ, कार्यमा फैलिन्छ, परिश्रममा फैलिन्छ। तिमीजस्तालाई फुल्ने, ढकमकिने बनाउने मानिस हो। मानिस तिमीजस्तो स्थिर होइन। मानिसको फैलावटको स्वाद सबैले लिन्छन्, प्राणी–प्रजाति सबैले। तिम्रो यात्रा, कीर्ति, सुगन्ध हामी मानिसले लिने हो। मजस्ता मानिसले पारख नगरे तिम्रो सुगन्ध सुवासको के मतलब? तिमी सुन्दर हुनुको के अर्थ?
म त कर्म र समर्पणको लागि जन्मेँ। सधैँ हाँसेर, मजाक उडाएर जीवन चल्छ? तिमीले यो कहिल्यै बुझ्यौ र? मेरो दुखमा पनि संवेदना नहुने, मेरो रुवाइमा समभूति नरहने? तिमीसँग मनमुटु नै नभएको हो? तिमीसँग हाँसो बाहेक भाषा छैन। सुन्दरता बाहेक रूप छैन। कर्म होइन, समर्पण तिम्रो नाम हो। सधैँ समर्पित, जसलाई पनि समर्पित, जहिले पनि एकै भाकामा समर्पित।
हो, फूल उदात्त, स्निग्ध, स्वच्छ बन भनेर मेरो स्वभावलाई नै चुनौती दिइरहेछ। फूल आफैभित्र मात्र प्रतिस्पर्धा गर्छ। आफ्ना दुख आफैभित्र लुकाएर मसँग देखासिकी गरिरहेछ। गुनासाहरू आफैभित्र छिपाएर खुसी साझा गरिरहेछ। ढोका छेउको गमलामा ढकमक्क भएर, नालीमा दुर्गन्ध छोपेर, कौसीको पटमा साँघुरिएर जहाँ पनि उसले मलाई देखासिकी नै गरेको छ। जहाँ पनि संघर्ष पीडा छिपाएर, साहस देखाएर उज्यालो हुनु, फक्रक्क फक्रिनु उसले मसँग खोजको जोरी हो वा उसप्रति चोखे जगाउने रणनीति? लत्रेर पनि फक्रिन्छ, झरीमा पनि हाँस्छ, घाममा जूनजस्तै शीतल र रातमा ताराजस्तै टहटहमा लोभ्याउँछ। मायाको आँखा खोल्दा उसको विराट मायावी रूप, म उससँग झोक्किएर हुन्छ? अनि उससँग मैले के सेखी गर्नु?
मलाई थाहा छ, फूलले मेरो स्वभावलाई, रूपलाई, कर्मलाई, वृत्तिलाई एकसाथ मौन सेखी झार्दै छ। मानिसहरू भित्र र बाहिर उस्तै कहाँ छन् र? न भन्ने र गर्ने नै उही हुन्छ। मन खुम्च्याएर शुभकामनाको नाटक गरेकोमा खिज्याइरहेछ। मायाको नाटकमा प्रतिफलको खेती गरेकोमा खिज्याइरहेछ। कामभन्दा कथा हाल्ने बानीलाई खिज्याइ रहेछ। नथाक्ने आत्मप्रशंसालाई खिसी गरिरहेछ। पीडामा पितरिएर मन धुने बानीलाई मौन हिकाइरहेछ। आफ्ना पीडा अरूलाई बताएर सहानुभूतिको व्यापार गरेकोमा खिज्याइरहेछ।
आफ्नो दुख अरूलाई बताएर मजस्ता मानिसले के पो गरेको होलान्? प्रतिस्पर्धा गर्ने खुसी होलान्, माया गर्ने दुखी होलान्। यत्ति पनि थाहा नपाएर किन पितरिएको होला? सबैसँग हाँसेरै बसेको भए न रिस गर्नेले खुसी हुन न माया गर्नेले पिर मान्न पर्ने थियो। आफ्नो दुख आफैसँग राखेर अरूलाई चोखे लगाउन सक्नु पो सफलता। फूलले नभनीकन यही भनेर आफूलाई अब्बल बनाएको छ। मैले उससँग के प्रतिस्पर्धा गर्नु?
फूल हुनु जटिलता स्विकार्नु र सधैँ प्रसन्न हुनु हो। प्राप्ति स्विकार्नु, पीडा स्विकार्नु हो। प्राप्ति र पीडा दुवैलाई स्विकार्नु तिम्रो गुण। त्यसैसँग मेरो प्रतिस्पर्धा छ। म तिमीभन्दा खुसी, शालीन र स्निग्ध हुन किन सक्तिनँ? म पनि तिमीजस्तै प्रकृतिको सिर्जना भएर पनि तिमीजस्तो बन्न सकिनँ। प्रकृति र पुरुषको सीमा भएर यसो भएको?
फूलको सापेक्षमा आफूलाई दाँज्नु नै व्यर्थ। फूलको दुख र मेरो खुसीको के तुलना? नपाए पनि उसले सबै कुरा पाए सरी ठानेको छ, पाएर पनि म नपाउनुको तस्बिर चाउरिएको छु। फूल आफैप्रति इमानदार छ, म आत्म स्वीकृति पर गएर आत्मसन्तुष्टि गर्छु। म अउदाङ्गिन्छु, ऊ उदात्तिन्छ। केको प्रतिस्पर्धा? प्रतिस्पर्धा त उस्तैसँग उस्तै उस्तैले गर्ने हो। मैले मजस्तै सँग। ऊ आकाशको विशालतालाई चुनौती दिन्छ, उषाको चहक, जूनको शीतल र ताराको टहकलाई चुनौती दिन्छ। सागरको सौम्य र सगरको गोधुलीलाई चुनौती दिन्छ। अनि मैले केको देखासिकी गर्नु?
सुरक्षा? सुरक्षाको त झनै प्रतिस्पर्धा हुँदैन। ऊ खुला आकाशमुनि सुरक्षित हाँसो फैलाइरहेको छ। फोहर नालामाथि हाँसेर सुरक्षित छ। आली, डिल कान्लामा सुरक्षित छ। भिर र भित्तामा सुरक्षित छ। पाखा–पहरामा अनि डाँडा र काँडामा सुरक्षित छ। पानी र बालुमा सुरक्षित छ। आँधीले लत्त्याउँदा, हुरीले पछार्दा पनि हाँसेर सुरक्षित छ। हिउँको कठ्याङ्ग्रिँदो र मरुभूमिको उखरमाउला तापमा पनि उही रङरूप र भाव–स्वभावमा सुरक्षित छ।
म चौकोस चार किल्लाभित्र सुरक्षा घेराभित्र असुरक्षित छु। सुरक्षा त भावना पो रहेछ, भौतिकमा सुरक्षित हुन खोज्नु त आफैप्रतिको, आफ्नै प्रतिको अविश्वास रहेछ। त्यसैले म तिमीसँग ईर्ष्या गर्दो रहेछु। फूल तिमीले धेरै सिकायौ, के देखासिकी गर्नु?
सौन्दर्यले सुरक्षा दिँदो हो त सुन्दरी यौवनहरू यौवन जोगाउन आफैप्रति असुरक्षित हुने थिएनन्। सुन्दर नारीहरू आफ्नैबाट असुरक्षित छन्। अस्तित्व विस्तारका लागि सौन्दर्य पहिरिएर अस्तित्वकै असुरक्षामा छन्। तिमी जति सुन्दर कोही छैन र पनि असुरक्षा छैनौ। मानिस सामर्थ्यमा, साहसमा, रूपमा, समृद्धिमा जहिले पनि जसबाट पनि असुरक्षित छ। अनि तिमीसँग के प्रतिस्पर्धा?
धन भएर होइन, मन भएर प्रतिस्पर्धा जितिन्छ। मान भएर होइन, सरलतामा जितिन्छ। रूपको अहङ्कारमा होइन, शालीनतामा जितिन्छ। उक्लेर होइन, आधार नै जितको उचाइ हो। उमेरको उन्माद, वासनाको विकृतिले कसले पो स्थायी जितेको छ? अस्तित्व र उचाइ त अरूले दिने हो, आफू बन्ने होइन। क्षणिकता उन्माद हो, गडगडाहट खहरे हो, विजय होइन। फूलले त्यही भन्यो। फिसिक्क हाँसेर बस, संसार खोचिन सक्छौ, प्रतिस्पर्धाको औडाहामा जति दौड प्राप्तिले पनि पराजित गराउँछ। फूलले यही भन्यो।
म तिमीलाई नियालिरहेका छु। तिम्रो जीवनक्रम पनि प्रकृतिको छ। तिमी कोपिला हुँदा आफ्नै आवरणमा बेरिएको थियौ। याने कि परिपक्व नभएसम्म आफ्नो रक्षा कवचको आवरणमा लुकेकी थियौ। त्यतिखेर संवेदना, बिलौना छिपाएको थियौ, भावना संवेगहरू नभएर त होइन होला। कोपिला फक्रक्क भएर आफ्नो सुन्दर रूप देखाएर एकाएक मगमगायौ। अब तिम्रो रक्षा आफ्नै मोहकता, रूप, सौन्दर्य र सुगन्धले गर्यो। रङ, रूप र सौन्दर्य रक्षाकवच मात्र होइन, तिम्रो निजत्व र नैसर्गिकता हो, जीवनशैली हो। मप्रति, मानव सत्ताप्रति गरेको व्यङ्ग्य हो। तर तिमीलाई थाहा होला तिम्रो फक्रिएको यौवन, अन्तरदेखिको उदात्तता, त्यसले भरेको रस र फैलाएको सुवास म जस्ता मानिस मात्र होइन, अरू प्राणी पनि तिमीलाई आफ्नो बनाउने क्रममा व्यग्रता राख्दछन्।
तिमीमा जुन सौन्दर्य र सुवास छ त्यो नै तिम्रो शत्रु पनि हो। तिम्रोपन प्रतिको पारख तिम्रै विरुद्धको शत्रुता हो। प्रकृतिले दिएको सौन्दर्यप्रति प्राणीहरू तिम्रा पीडक हुन्। सुन्दरता तिम्रो शत्रु हो, सौर्य कसरी बनाइ राख्छौ? सबैसँग मौन प्रतिस्पर्धा गर। सभ्यता सधैँ मौन प्रतिस्पर्धाको माग गर्छ। अरू विकल्प के छ र?
फूल तिमीलाई थाहा होला कवि कलाकारले औधी मन पराएको प्रकृतिको कुनै चीज छ भने तिमी हो। कवि–कलाकारहरू सौन्दर्यसँग सौदा गर्छन्। तिम्रा सौन्दर्य लिएर मनका भावनाहरू मज्जाले उराल्छन्। तिम्रो सुन्दरतासँग पौडिन्छन्। तिमी उपमा बन्छौ, भाषा, बिम्ब, प्रतीक सबै बन्छौ। वर्षा, हुरी, शीत र बतासले तिमीलाई लछार्दा, पछार्दा, थिच्दा मायावी शब्दहरू दिन नथाक्ने कविहरू तिमीसँग सौन्दर्यको लेनदेन गर्छन्। उनीहरू स्वार्थी छन्, तिमी जस्तो उदात्त उदाहरण उनीहरू न कहिले बन्न सके न फेरि बन्लान्।
त्यसैले फूल तिमी महान् छौ। सबैको भाषा, भाव, चोखे र ईर्ष्या बनेकोमा तिमीलाई म तिम्रै प्रतिस्पर्धीको बधाई। प्रकृतिले सिर्जना त अरू चौध/पन्ध्र करोड प्रजातिलाई गर्यो, ती सबैमा तिमी राजा। त्यसैले स्वयम् प्रकृति पनि तिमीसँग ईर्ष्या गर्छ। कविले किन नगरोस्?
भो अब म तिमीसँग प्रतिस्पर्धा गर्दिनँ। गमलामा सजाउँदा पनि तिमी नै सुन्दर, पिँढी, पार्क पाखा जहाँ जता पनि तिमी नै सुन्दर। विविधताबिच छुट्टै अस्तित्व, फरक चेहरा, भिन्न अनौठोपन। घरभित्र बस्न नपाएर के भयो। परागका लागि होस वा पेट भर्न वा मन चर्न चरा, चमेरा, पुतलीहरू तिम्रै कोष्ठिका चुम्न झुम्मिन्छन्। पार्क र सडक किनाराको तिम्रो उपस्थितिले कतिको यात्रा मिठो भएको छ। उषा किरणका ध्वारध्वारे धर्सा तिमी तिरै हानिएर झर्छन् मायाका वाण बनेर। उपहारमा तिमी, आवरणमा तिमी, पहिरन र शिरमा तिमी। केही सुरु गर्न परे पनि तिमी, बिदाइमा पनि तिमी। फूल तिमी भएर सृष्टि सकारात्मक भएको छ, दृश्य मोहक छन्।
सिर्जनाको ऊर्जा, मायाको खानी, पीडाकी प्रतीक, साहसको शक्ति र सरलताको शालीन स्वरूप। के मात्र उपमा दिने? क्रूर शासकका सेनाले पनि तिमीमाथि बुट बजार्दैन। तानासाहहरू पनि तिम्रो सुन्दरताले पराजित भए। सम्राट्को शयन कक्षादेखि भोजन गृहसम्म तिम्रो पहुँच छ। मन–मन्दिरमा तिमी। गीत, लय, अभिनय, श्लोक–शब्द सबै फूलमय छन् नजाने कति फूलको महिमा भन्न बाँकी छ, जुन कहिल्यै नसकिएला पनि। यस्तो अद्भुत शक्तिसँग के प्रतिस्पर्धा गरूँ? के उपमा दिऊँ?
फूल तिमी कहाँ पुगेनौ र? जवानीको ताजगी पनि तिमी, बालपनको मित्रता पनि तिमी। प्रेमीको प्रेम, पुजारीको प्रार्थना, वीरताको साहस, विस्तृतिको उदाहरण सबैमा तिमी पुग्यौ। आशाको आस्था, निराशाको निर्मूल, रङ, रूप, सबै तिमी। चुँडिँदा शिरमा पुग्यौ, एक्लिँदा पहरामा, मिलाउँदा चौर चोक र सडक किनारा, फालिँदा पाखा पखेरामा, जहाँ भयौ आफ्नै अर्थ र सानमा छौ, अमूल्यको मूल्यमा। जाई, जेली, सयपत्री, गुलाफ, कमल, गुराँस, मखमली, सूर्यमुखी, सुनाखरी, गुनकेसरी, गुलबहार, तोप, जीवे, तुवा, पारिजात, पुतली, चाँप, गोदावरी टुलिप, खसखस, सर्वदा, चमेली आदि नाममा तिमीलाई विभाजन गरे पनि तिम्रो प्रकृति फुल्नु, सुवास दिनु निश्चल उदात्त हुन हो।
तिमी सधैँ अरूको खातिर फुल्यौ, फक्रियौ। सहिदको उत्सर्ग तिम्रो जीवन, अरूका लागि चुपचाप सहिद बन्यौ हो, तिमीसँग देखासिकी कसैले गर्न सक्दैन, तिम्रो शालीनताको एउटा उभारले हामी त्यसै नतमस्तक छौ। सुन्दरताको स्वरूपले दृश्य खिच्छ, शिर झुकाउँछ। तिमीमा एकसाथ जूनको शीतल, उषाको आभा, सागरकोको सौम्य र आकाशको विशालता छ। तिम्रो आभा, शीतल, स्पर्श सबै मेरा घमन्ड निस्तेज पार्ने कोमल अस्त्र हुन्। अँध्यारो हटाउने, क्रोध छुटाउने, निष्ठुरता निभाउने र माया जगाउने ऊर्जा हुन्। अब फूलसँग कसैले प्रतिस्पर्धा नगरे भो।
मानिसलाई सभ्यताको स्वभाव फूलैले सिकाएको हो। लाज सिकाउने, उत्साह देखाउने, शालीनता बताउने फूलसँग भूभरको वैशिष्ट्यमा अजङ उभिएको सगरमाथा पनि झुक्छ। फूल प्रकृतिको अनन्त दीप हो। दीपले दीपज्योति दिन फूलैसँग सिकेको हो। इन्द्रेणी फूलकै रङरूप चोर्दै छ, सगर पाक्दा, उषा उदाउँदा फूलकै रूप चोरिएको छ। सागरको छाल र छहराको छचल्काइमा उषाकिरण फूलकै कञ्चन चोर्छ। शीतबिन्दुले फूलकै स्वच्छता लिएको छ। हेरेर पुगेन, कलाकारहरू फूललाई क्यानभासमा कपि गर्छन्।
महाकवि देवकोटाले मानिसको मुस्कान, नारीको लावण्यमा फूलकै सुन्दरतामा देखेथे। महाकवि कालिदासले भनेथे– यशस्वी कर्म र आफैसँग प्रतिस्पर्धा फूलसँग मात्र छ। जोहन किट्स आँसु नबढाऊ, आँसु नपार, फूल अर्को वर्ष फुल्छ अब नरोऊ, सधैँ नरोऊ जावन कोपिलाहरू सेतो कोरमा सुत्छन् भन्दै फूलको धैर्यको सम्मान गर्छन्। लामो जीवन कारागार यातनामा बिताएका राजनेता नेल्सन मण्डेला फूललाई सद्भाव, विनम्रता र विरासतको प्रतीक मान्छन्। फूलैले उनलाई राजनेता बन्न सिकाएछ। फूलको क्षमाभाव उनले अनुकरण गरेर उनले कसैलाई शत्रु देखेनछन्।
फूल महानता, विनम्रता, सुन्दरता र उदात्त–उज्यालोको अनुहार हो जो केही लुकाउँदैन, सब थोक स्विकार्छ र आफूजस्तै बन्न अरू प्रजातिलाई विनय गर्छ। निश्चलतामा उजेलिन सिकाउँछ। भय, त्रास र सन्देह सङ्कोच त्यागेर स्वच्छ बन्न सिकाउँछ। आफैभित्रको उज्यालो आफै खोज्न शिष्टताले अनुनय गर्छ।
हो फूल तिम्रो मौन फक्राइले, साइलेन्ट ब्लूमले म अल्छीलाई धेरै घोचेको छ। त्यो कोमल घोचाई कवितात्मक प्रतिशोध जस्तै घतालु छ। तिम्रो रूप, व्यवहार र अनवरत निश्चलता मेरा लागि प्रतिशोधको सौन्दर्य शास्त्र हो। त्यसैले तिम्रो मन्द मुस्कान र अन्तहीन निश्चलताले मलाई निक्खर उतारोस्। मनमजेरीबाट सिर्जना र सकारात्मकताको आँधीलाई अधरबाट बर्साओस्। तिमीजस्तै स्वयम् सुन्दरताको रणनीतिका लागि म तिम्रो शरणमा छु। फूल तिमीसँग प्रतिस्पर्धा होइन, प्रेम गर्छु।