प्रिय प्रिन्सिपलज्यू,
यो पत्र प्राप्त गर्दाका बखत आराम हुनुहुन्छ भन्ने आशा एवं कामना गर्दछौं।
जापानको दुई वर्षको अविष्मरणीय बसाइँ सकेर नेपाल फर्कँदैछौं। सम्झनाका अनगिन्ती कोसेली बोकेर जाँदैछौं। यादहरूका चाङ छन्। किताब र कथामा पढेका सुनेका कुराहरू आफ्नै आँखाले देख्दाका क्षणहरू साथै लाँदैछौं। तपाईंहरूको मायाका लागि मनभरी आभारी भएर जाँदैछौं।
क्युशु विश्वविद्यालयमा पढ्न आएको तर एकैपटक दुई वटा विश्वविद्यालय पढिएछ। गत वर्षको अप्रिलमा हाम्री छोरी आरभी भर्ना भएदेखि तपाईंको नर्सरी स्कूल हाम्रो लागि अध्ययन थलो मात्र नभएर जीवनको अभिन्न हिस्सा रह्यो।
केवल बिहान छोड्ने र बेलुका ल्याउने दिनचर्या होइन हरेक दिन कौतुहलता र सिकाइमय बन्यो। अनायासै तर गहिरा सिकाइले आरभीको दिन जति रोमाञ्चक भए हाम्रा लागि उति नै उत्सुकतापूर्ण भयो। कहिलेकाहीँ सञ्चो नभएर स्कुल जान नपाउँदा पनि उनको मनभरी स्कुल हुन्थ्यो। हामीलाई भने कुनै नयाँ कुरा सिक्न छुट्यो कि भन्ने लाग्थ्यो। सिकाइको यो यात्रामा पूर्णविराम लागेको होइन। गोरेटो फराकिलो महसुस भएको छ।तपाईंले दिएका सिकाइका हरेक थुङ्गालाई सम्हाल्नु छ। मालामा उन्ने कोसिस गर्नुपर्नेछ।
आरभीको स्वास्थ्यमा समस्या थियो। नयाँ वातावरणमा काम गर्न समय लाग्ने ठानेर नेपालबाट आउँदा हामीले पर्याप्त औषधि ल्याएका थियौं।त्यसैगरी नयाँ भाषा, संस्कृति र खानपानमा अन्तरघुलन हुन गाह्रो पर्ला भन्ने डर थियो। हामी बुझ्दछौं यी कुराहरूमा पूर्णरूपमा अनुकूलन हुन पक्कै पनि समय लाग्दछ। तर उनको स्वास्थ्यमा अविश्वसनीय रूपमा सुधार आयो। उनले नयाँ खाना खान प्रयास गरिन्। जापानी भाषामा दोहोरो सञ्चार गर्न सक्ने भइन्। केही साथी पनि बनाइन्। यति छोटो समयमा यी परिवर्तन सम्भव थिएन होला। तपाईंहरूले दर्शाउनुभएको माया र हेरचाहले उनको यो यात्रा सहज मात्र भएन रमाइलो पनि भयो।
हरेक दिन स्कुलबाट नयाँ कुरा सिकेर आउँथिन्। स्कुलमा बनाएका चित्रहरू देखाउँथिन्। रङ हामीभित्र भरिन्थ्यो। पौडी खेल्न गुरूले सिकाएका चालहरू उनले देखाउँदा-दोहोर्याउँदा खुसीका लहरमा हामी पौडिन्थ्यौं। गीत गाउँदै हातका औंलाहरू चलाउँथिन्। औंलासँगै अनौठो चमक हुन्थ्यो। त्यही औंलाको चालमा उनले बनाइरहेको भविष्यको संकेत जस्तो लाग्थ्यो।
तपाईंहरूले प्रत्येक महिनाको २५ तारिखमा चित्रसहितका कथाका किताबहरू पठाउनुहुन्थ्यो। छोरीसँगै अनुवाद गर्दै कथा पढ्ने त्यो रीत कहिल्यै नसकिए हुन्थ्यो झैं लाग्छ। भालुले एक वृद्ध आमालाई सहयोग गर्ने कथा मनमा गढीरह्यो। डरलाग्दा सबै चिज हानिकारक हुँदैनन्। सहृदयता अनपेक्षित स्वरूपमा देखा पर्न सक्छन्। यी र यस्तै कथा आरभीलाई संसार बुझाउने झ्याल बन्न सक्छ। खतरा सँगै संसारमा सहयोगी हात पनि उत्तिकै छन्।
अप्रिल २२ को किताक्युशुको प्राकृतिक संग्रहालय भ्रमणको रमाइलो सम्झन्छिन्। डाइनोसरको कथा र चित्र निकै चाख मान्छिन्। अहिले डाइनोसर छैन भन्ने मात्र उनीलाई थाहा छ। कुनै समयको धर्तीको सबैभन्दा ठूलो र शक्तिशाली जीव पनि अनुकूलन हुन नसक्दा लोप हुँदोरहेछ भन्ने उनले पछि बुझ्नेछिन्।
उक्त भ्रमणमा साथीसँगै खाँदाको क्षण सुनाउँछिन्। हामीले उनलाई मनपर्ने खाना पठाएका थियौं। उनलाई रोजेको खाने सुविधा छ। यहाँलाई आश्चर्य लाग्ला अझै पनि हाम्रो देशमा पाँचमध्ये एकजना बालबालिकाले पेटभरी खान पाउँदैनन्। आफूलाई भाग्यमानी ठान्ने होइन बरू यसको कारण खोज्न हामी उनलाई प्रेरित गर्नेछौं। यति मात्र होइन नेपाली र जापानी करदाताको योगदानबाट आफूलाई यो सुविधा मिलेको बुझून् भन्ने पनि चाहन्छौं।
गत वर्ष सेप्टेम्बर २७ मा आयोजित खेलकुदको एक दृश्यले हामीलाई उद्देलित बनायो। शारीरिक कठिनाइ भएका बालकलाई दौड पूरा गर्न शिक्षकले मद्दत गर्दाका क्षण हामीले भिडिओ कैद गरेका थियौं। यसबाट तपाईंको स्कुलको मूल्य महसुस गर्यौं। खेल भावना केवल जित होइन यो त सद्भावयुक्त सहकार्य र साझा सफलता पनि रहेछ। त्यो चित्र हामी आफैं सम्झिनेछौं अनि आरभीलाई पनि देखाउनेछौं। प्रतिष्पर्धाभित्र पनि मानवीयता हुन्छ भन्ने पाठ बुझून् भन्ने चाहन्छौं।
डिसेम्बर १२ को साँस्कृतिक कार्यक्रम झनै यादगर रह्यो। निर्धारित समयमा कार्यक्रमस्थल पुग्ने बस ढिला हुँदा चालकले भाडा लिन मान्नुभएन। ढिलाइ अपवाद थियो। बरू चालकको भावनामा तपाईंको समाजको संवेदनशीलता अनुभूति गर्यौं। यद्यपि समय तालिका अगाडि पुग्यौं। कार्यक्रम समयमै सुरू भयो। न कुनै भाषण। न विशिष्ट अतिथि। न त छुट्टै कुर्सी। केही निकायका प्रतिनिधि त हुनुहुन्थ्यो। तर सहभागीसँगै कुर्सीका एउटै लहरमा। कार्यक्रमको भोलिपल्ट स्कुलमा तपाईं र अन्य सबै शिक्षक आफैले अभिभावकलाई व्यक्तिगत रूपमा धन्यवाद दिनुभएको दृश्य हामीले गहिरो स्पर्श गर्यौं। समय, कृतज्ञता र अनुशासनको महत्वका यी मूल्य हामी आरभीलाई पनि भन्नेछौं।
स्कुलका हरेक क्रियाकलाप सिकाइको नयाँ इँटा भयो। सखरखण्ड खन्ने कार्यक्रम वा प्रहरी चौकी भ्रमण होस्। अथवा विपद् व्यवस्थापन केन्द्र वा जात्रामा सहभागिता होस्। यी घुमघाम मात्रै थिएनन्। जीवनका गहिरा शिक्षा थिए। प्रकृतिसँग जोडिन सिकाउनुभयो। परम्परा र सामाजिक मूल्य बोध गराउन खोज्नुभयो। अनुशासन, नियम अनि संरचनाबारे बुझाउन खोज्नुभयो। यी शिक्षाले उनलाई सधैं पछ्याइरहोस् भन्ने चाहन्छौं।
‘हरियो भनेको जानु र रातोमा रोकिनु’ भन्ने नियम मात्र होइन यसले हामीलाई गहिरो अर्थ दिन थालेको छ। नियम बुझ्नु र पालना गर्नु केवल सुरक्षाको विषय होइन। यो त जीवनको मार्गचित्रको आधार रहेछ। अनुशासन बानी बन्छ। बानी जीवनशैली र जीवनशैली अन्तत: लक्ष्यतर्फको बाटो बन्दोरहेछ। अधिकार र कर्तव्यप्रति सचेत नागरिक बन्नका लागि आरभीजस्तै नयाँ पुस्तालाई यी कुरा झनै बोध हुनुपर्छ भन्ने ठान्दछौं।
आरभीलाई तपाईंले अनुशासन मात्र होइन स्वतन्त्रता पनि बुझाउनुभयो। अगस्ट १ मा साथीहरू र शिक्षकसँग टाढा गएर रात बिताइन्। परिवार बाहिर बस्ने उनको यो पहिलो अनुभव थियो। यो नौलो अनुभव कस्तो होला भन्ने हामीलाई कौतुहलता र चिन्ता दुबै थियो। भोलिपल्ट खुसी र उत्साहले भरिएको मुहार लिएर फर्किइन्। उनले आगोको वरिपरि रमाइलो गरिन्। पानीसँग खेलिन्। साथीहरूमाझ रातको रमाइलो देखिन्। गुरुहरूको माया र हेरचाह अझ नजिकबाट महसुस गरिन्। उनको दुई दिनको अनुभूति सुन्दा हामी निशब्द भयौं। उनीभित्र केही ठूलो परिवर्तन भएको स्पष्ट महसुस गर्यौं।
उनले प्रष्ट रूपमा जान्नँ त भनिनन्। तर घरबाट निस्कनु अघि उनको मनको वेचैनी भने देखिन्थ्यो। राति सुत्ने बेला घरको याद आउँदा साथीको मायालु स्पर्शले ढाडस दिएको कुरा पछि सुनाइन्। शिक्षकको उपस्थितिले ढुक्क भएको बताइन्।
उनको सर्टिफिकेटमा तपाईंले सुन्दर रूपमा लेख्नुभएजस्तै आफ्नो विकासका लागि कहिलेकाहीँ हामी ‘कम्फर्ट जोन’ बाट बाहिर निस्कनै पर्छ। यसरी निस्कँदा डर त लाग्छ नै। सँगसँगै यो नयाँ खोज‚ साहस र आनन्दको यात्रा पनि हो। जीवनको रीत नै यही हो भनी ‘सर्टिफिकेट’ मा लेखिएका ती शब्दहरू सुनाइरहनेछौं।
हामीले गहिरो रूपमा महसुस गरेको जापानी समाजको अनुपम विशेषता हो- दयालुपना र गोपनीयताको सन्तुलन। जापानीहरू अत्यन्तै सहयोगी हुनुहुन्छ। कसैले सहायता माग्दा सद्भावसाथ तुरून्तै सहयोग गर्नुहुन्छ। तर जब सहायता आवश्यक हुँदैन व्यक्तिगत ‘स्पेस’को सम्मान गर्दै चुपचाप पन्छिदिनुहुन्छ। यो असाधारण समवेदनाको रूप हो। हामीलाई अत्यन्तै मन पर्यो।
आरभीलाई ज्येष्ठ नागरिकसँगको अन्तर्क्रिया विशेष मन पर्थ्यो। बाटोमा वा पसलमा प्राय: भेटिने ज्येष्ठ नागरिकलाई देख्दा उनको अनुहार उज्यालो हुन्थ्यो। मन छुने यस्ता साना तर गहिरा क्षणहरू आरभीलाई भन्न लायक छन्। हामी पक्कै भन्ने छौं। यो सम्झनालाई सँगै लिएर दयालु र गोपनीयता एकसाथ कसरी बाँच्न सकिन्छ भनी बुझून् भन्ने चाहन्छौं। यसको अर्थ आरभीले आफू जन्मेको समाजकाप्रति हीनताबोध गर्नुपर्छ भन्ने होइन। सहृदयता र परोपकारिताको आफ्नो परम्परामा गौरव गर्नुपर्दछ। तर पृथ्वीको अर्को कुनामा बाँचेका मानिसकाबारे भने बुझ्नुपर्दछ। तिनका समाजको ढाँचा र तरिकाबारे थाहा पाउनु पर्दछ। जीवनलाई सहज बनाउन भएका खोज र अभ्यासबारे जान्ने अनि उपयुक्त लागेमा अपनाउनु पनि पर्छ भन्ने हामी ठान्दछौं।
आरभी स्कुलबाट फर्किँदा खाजा खान कहिलेकाहीँ कोन्बिनी (किराना पसल) जान इच्छा गर्थिन्। मिठो छरितो खानेकुरा सँगै त्यहाँका स्टाफको आत्मीयताले पनि लोभ्याएको होला। किशोरवयका नेपाली पनि हुन्थे र उनलाई देख्नेबित्तिकै स्नेहभाव छछल्क्याउँथे। सायद सानी नानीमा आफ्नो माटो सम्झिए होलान्।
अनिदो र थकित ज्यान, पढाइ र परीक्षाको ‘प्रेसर’ अनि ऋणको भारी एकछिन बिसाउन पाएर हो कि पुलकित पनि हुन्थे। केक र कफीमा छाक टार्दा आमाले पस्किएको भात याद आउँदो हो! आमा सम्झिँदा-सम्झिँदै केक अड्किएर हिक्क हुँदा बाबाको हातका ठेला देख्दा हुन्। अनि कफी सिनित्त पारेर गलेको ज्यानलाई फेरि काममा लैजाँदा हुन्! यी र यस्तै गरी जापानमा ३ लाख बढी नेपाली भइसके। मानिसको स्वभाव घुमन्ते हो। तर यसको प्रवृत्ति र कारण भने जान्नुपर्दछ भन्ने लाग्दछ।
आरभीले यी सबै शिक्षा राम्रोसँग बुझ्न सक्दिनन्। यो हामी जान्दछौं। तर तपाईंहरूको माया र शिक्षाले उनलाई जीवनभरी प्रभाव पार्नेछ। यो अवधिमा उनी ९ इञ्च बढेकी छिन्। ज्ञानको आयतन त कति बढ्यो तर हरेक पल नयाँ सिकाइ, आश्चर्य र प्रेमले भरिएको थियो। भविष्यको यात्रा उनको रोजाइ हो। यी सबै सिकाइ र बुझाइको नाममा उनको पाइला झन् बोझिलो बनोस् भन्ने पनि होइन। पँखेटा लागेपछि चराहरू उड्न स्वतन्त्र हुन्छन् भन्ने हामी बुझ्दछौं। तर यहाँबाट प्राप्त मूल्यहरू सम्झाइरहने हाम्रो प्रयास भने रहनेछ।
हामी सपरिवार नागासाकी पनि पुग्यौं। जहाँ आरभीले जापानको पुनर्निर्माणको अद्भूत कथा देखिन्। खरानीबाट फेरि जीवन बसेको देखिन्। यो असम्भव जस्तो कुरालाई सम्भव बनाउने कथाले आरभीलाई सधैं प्रेरणा दिनेछ।
जापानी भाषा र संस्कृतिसँग अपरिचित आरभीसँग काम गर्नु यहाँका लागि पक्कै पनि निकै चुनौतीपूर्ण रह्यो। स्वास्थ्य जटिलता, फरक वातावरण र सञ्चारको कठिनाइलाई उनको कक्षा शिक्षकले अद्भूत रूपले सम्हाल्नुभयो।
तपाईंहरूको समर्पण, धैर्यता र समझदारीका लागि हामी अत्यन्त आभारी छौं। यस्ता चुनौतीका कारण हामीले केही सुविधा पनि पायौं होला र त्यसको समायोजनका लागि थप असहज भयो होला। यसका लागि हामी क्षमाप्रार्थी छौं।
अब हाम्रो हाकोजाकी नर्सरी स्कुलको यात्रा सकिएको छ। यहाँका सम्झना र शिक्षाहरू सधैं मनमा रहनेछन्।आरभीको दैनिकीको बारेमा लेखिएको डायरी हाम्रो सम्पत्ति बन्नेछ।
खाना खाएको, साथीसँग रमाएको, नयाँ कुरा सिकेको अनि उनको दिन रोमाञ्चक भएको भनेर कक्षा शिक्षकले कति मायाले लेख्नुभएको छ! डायरीका ती पानाहरू फगत अभिलेखमात्र होइनन्। बरू लेखिएका शब्दहरूलाई छुन अनि छाम्न भन्नेछौं। ताकि उनले हरेक अक्षरमा शिक्षकको माया, धैर्यता, अथक प्रयत्न महसुस गर्न सकून्। दुखमा होस् वा खुसी हुँदा हामी सधैं उनलाई ती शब्दहरू सम्झन भन्नेछौं। दुखी हुँदा ऊर्जा मिल्नेछ।खुसीमा आफ्नो सीमा बुझिन्छ। जीवन हाड मासुको योग मात्र होइन। बरू तिनै शब्दजस्तै अनगिन्ती भावना र अनुभवले हाम्रो स्वभाव र आकार बन्दोरहेछ।
दूरी टाढा भए पनि हाम्रो मन र भावना सधैं तपाईंहरूसँगै रहनेछन्। यहाँले गत मार्च १३ मा दीक्षान्त समारोहमा भन्नु भएका शब्दहरू सधैं सम्झिरहनेछौं। आरभीलाई पनि सुनाइरहनेछौं, 'आत्मविश्वासका साथ अगाडि बढ।'
हामी हाम्रो अन्तरमनबाट धेरै धन्यवाद दिन चाहन्छौं। सबै कुराहरूका लागि।
आरभीका आमा र बुबा