काठमाडौं। लामो माघे झरीपछि त्यही दिन बिहानदेखि आकाश खुलेको थियो। मृदुला खाना खाएर घरको छतमा घाम ताप्न गइन्। मोबाइलको स्क्रिन 'स्क्रोल' गर्दै बसिन्। केही दिनअघि सत्रौं वैवाहिक दिवस थियो। त्यही छेको पति महेशले फेसबुकमा उनीहरूका युगल तस्बिरहरू हालेको रहेछ। ती दाम्पत्य जीवनका सुरूआती वर्षहरूका थिए। तस्बिरहरू हेर्दै गइन्। अतीतका प्रेमिल दिनहरूमा पुगिन्। सम्झिँदै गइन्।
कलेजको सहपाठी महेशसँग प्रेम, उसैसँग विवाह। मनमा खुसीका सयपत्रीहरू फुलेका थिए। लाग्थ्यो, सम्बन्धको अर्को कुनै आत्मीय रङ हुँदैन। पोखराको हनिमुन। त्यहाँ पुगेको दोस्रो दिन उनीहरू सिकलेस गएर बसेका थिए। जाडोको मौसम थियो। कन्चन हिउँको शृङ्गारमा सिकलेसको सौन्दर्य निकै खुलेको थियो। अन्नपूर्ण, माछापुच्छ्रे र मर्दी हिमाल आँखै अघि जगमगाउँथे। सूर्योदय र सूर्यास्तमा त ती झन् अद्भुत लाग्थे। उनीहरूले त्यहाँ दाम्पत्यका कयौं रूमानी सपनाहरू बुनेका थिए। भविष्यका अनुपम चित्रहरू कोरेका थिए। एउटा भावुक पलमा महेशले भनेको थियो- 'तिमीलाई पाउनु अघि जीवन यति सुन्दर कहिल्यै लागेको थिएन मृदुला!'
मृदुलाका आँखा खुसीका आँसुले भरिएका थिए। आफैलाई भुलेर उनी महेशमै समाहित भएकी थिइन्। ती मखमली यादहरूले बहकिँदै थिइन्, सहयोगी बहिनी निर्मलाले आएर भनिन्- 'दिदी! औषधि खाने बेला भयो।'
सम्झनाका सुखद लहरहरू त्यही टुटे। औषधि खाइन्। हातका पन्जाहरू उल्टाई पल्टाई हेरिन्। सलक्क परेका औँलाहरू बाङ्गिएर ओदान जस्ता भइसकेको थिए। दुबै कुमहरू पनि लच्किँदै गइरहेका थिए। आफ्नै हबिगत देखेर आफै खिन्न भइन्। तीन वर्ष अगाडि अस्पतालबाट डिस्चार्ज हुँदा डाक्टरले भनेका कुराहरू सम्झिइन्:
'म्याडम! तपाईंलाई कडा खालको बाथ रोग लागेको रहेछ। हुन त यो रोग निर्मूल त हुन्न। तर, समयमा उपचार गरेको भए, यति असर पर्दैनथ्यो। अब आशा गरौं, यसले शरीरलाई अरू बिरूप पार्ने छैन।'
डाक्टरका कुरा दोधारे थिए। शरीर अझै कुरूप हुन सक्ने सम्भावनालाई नकारेका थिएनन्। आजीवन रोगी भएर बाँच्नुपर्ने कुरा स्पष्ट भनेका थिए। त्यो सुनेर मृदुला आहत भएकी थिइन्। आँखाहरू जलमग्न भएका थिए। महेश पनि साथमा थियो। ऊ पनि किंकर्तव्यविमूढ भएको थियो। घर फर्किँदै गर्दा महेशले मनोबल बढाउने प्रयास गर्दै भनेको थियो-
'चिन्ता नगर मृदुला! यहाँका डाक्टरहरूले भन्दैमा हुन्छ र? हामी दिल्ली जाउँला, अहिले क्यान्सरको त उपचार हुन्छ, जाबो बाथ, किन निको नहुनु!'
उनी बोल्न सकेकी थिइनन्। केबल वेदनापूर्ण हाँसो हाँसेकी थिइन्। मन अतितमा पुगिसकेको थियो। उनी सम्झिँदै थिइन्। निकै पहिलेदेखि रोगका लक्षणहरू त देखा परिसकेका थिए। तर उनले कहिले चिसो लागेको सोचिन्। कहिले 'पेन किलर' खाएर हिँडिन्। लोग्ने, छोरा, घर भनेर मरिहत्ते गर्दै गइन्। डाक्टर कुरा सुनेपछि भने ग्लानिले फतक्क गलेकी थिइन्। सोच्दै थिइन्- 'अलिकति त म आफ्नो लागि पनि बाँच्नु पर्थ्यो नि!'
तर, अब त्यो समय फर्केर किन आउथ्यो र! गाडी गुड्दै गइरहेको थियो। उनी झ्यालबाट हेर्दै थिइन्।आँसु बगिरहेका थिए। उनी चुपचाप पुछ्दै थिइन्। व्यथित भएर उनीहरू घर पुगेका थिए। महेश तत्कालको व्यवस्थापन मिलाएर आफ्नो कामतिर लागेको थियो।
आफ्ना ती नमीठा सम्झनाहरूमा रूमल्लिँदा रूमल्लिँदै घाम डुब्न लागिसकेको थियो। चिसो सिरेटो चल्न थालेको थियो। फेरि ज्यान कठ्याङ्ग्रिँदै गयो। बसेको ठाउँबाट उठिन्। वरिपरि हेरिन्। सडकको पेटीमा एउटा भुत्ला झरेको बुढो कुकुर गुँडुल्किएर बस्थ्यो। त्यो एकोहोरो वेदनामय आवाज निकालेर रूँदै थियो। एक नजर त्यो निरीह कुकुरलाई हेरिन्। मन अमिलो भयो। कोठामा झरिन्। हिटर नजिकै गएर बसिन्।
कोठाको भित्ताभरि सुन्दर फोटाहरू थिए। पालैपालो हेरिन्। भावनामा बतासिँदै गइन्। आफ्ना गुलाबी दिनहरूमा पुगिन्। एकछिन त्यतै हराइन्। लगत्तै दैनिक पसरका पसर ट्याबलेटहरूमा झुन्डिएको आफ्नो लाचार जीवन सम्झिइन्। मर्माहत भएर सोचिन् 'आखिरमा कति गहिरो भ्रम रहेछ जीवन!' आँखाहरू फेरि जलमग्न भए। पुछ्न थालिन्। छोरो मानस नजिकै आएको पनि चाल पाइनन्। आवाज सुनेर झसङ्ग भइन्। ऊ भन्दै थियो
'तपाईंको यो अवस्था छ! बाबालाई वास्तै छैन, मलाई त घरै आउन मन लाग्दैन मामु!'
छोरो बाह्र क्लास पढ्दै थियो। केटाकेटी नै लाग्थ्यो। तर, उसले निकै पाको कुरा गर्यो। उसको असीम मायाको आभासले एकछिन भाव विभोर भइन्। तर, त्यो कलिलो मस्तिष्कमा गहिरिएको निराशा र बाबुप्रतिको नकारात्मक सोच देखेर भने निकै दुःखी भइन्। उनी चाहन्न थिइन्, ऊ आफ्नै बाबुको प्रति दुर्भावना पालेर हुर्कोस्। संयमित भएर उसलाई सम्झाउँदै भनिन्:
'मलाई के भ'को छ र बाबु? जाडो मौसममा हात गोडा अलि कुँजिने त हो! बाबाले उपचार गरेरै त म यतिकी भएँ नि! त्यस्तो कुरा सोच्नु हुँदैन छोरो।'
उनले त्यति भने पछि छोराको अनुहार अलि उज्यालो भयो। केही बेर किशोरवय गफ लडायो। सँगै बसेर खाना खायो। आफ्नो कोठातिर लाग्यो।
उनी पनि ओछ्यानमा पल्टिइन्। निद्रा लागेन। छोरो जन्मे पछिका जीवनका कठिन बाटाहरूमा पुगिन्। मस्ती गल्दै गएका दिनहरू, लोग्नेको स्वाभाविक चाहना र आफ्नो रोगी असमर्थताको विरोधाभास सम्झिइन्। रङ्गहीन भएर बितेका दाम्पत्यका अन्तरङ्ग पलहरू, त्यही कारणले बढ्दै गएको दूरी र लोग्नेको बढ्दो उपेक्षा सम्झिइन्। केही वर्ष पहिलेबाट सुत्ने कोठा छुट्टिएको थियो, त्यति बेला उसले भनेका शब्दहरू पनि सम्झिइन्:
'मृदुला! आखिर रातै बिताउने हो, किन सधैं सकसले सुत्नु? अबदेखि तिमी अर्कै कोठामा सुत।'
जसले जीवनमा प्रेमको पहिलो रेखा कोरेको थियो, जसको सहारामा रोगलाई पनि जितेर बाँचौंला जस्तो लाग्थ्यो। उसैले कोठाबाट निकाल्दै थियो। मुटुमा भक्कानो परेको थियो। तर, केही पनि बोलिनन्। मनमनै आफैलाई सोधिन- 'आखिर शारीरिक आवश्यकता पूरा गर्न सकिन्जेलसम्म मात्रै हो त लोग्नेले माया? निरूत्तरित भइन्। मर्माहत भएर त्यही रात अर्को कोठामा सरिन्। एउटा अत्यासलाग्दो निर्जनतामा धकेलिइन्।
रात चकमन्न भइसकेको थियो। मनमा कुरा खेलि नै रहेका थिए। निर्मलाले आएर सोधिन्:
'आज पनि दाजु आउनु होला जस्तो छैन। ढोका लगाइदिऊँ दिदी?'
मृदुलाले दुःखी मनले मुन्टो हल्लाएर सहमति जनाइन्। त्यो रात पनि महेश घर आएन, त्यसपछि पनि ऊ बाहिरतिरै रमाउँदै जान थाल्यो। त्यो देखेर अचम्म लाग्थ्यो। सोच्थिन् 'यति लामो प्रेमपछि बिहे गरेको लोग्ने पनि कसरी यति मतलबी हुन सक्छ? के दाम्पत्यको आधार शारीरिक सुख मात्रै हो? माया, प्रेम र मानवीय भावना – सबै बेकारका कुराहरू हुन्?' यस्तै प्रश्नहरूमा उल्झिँदै जान्थिन्। न उत्तर फेला पार्थिन् न चित्त बुझाएर नै बस्न सक्थिन्।
दिनहरू निकै सकसले बितिरहेका थिए। एकदिन अचानक ऊ घरमा आयो। मृदुलाले रोग, पीडा र गुनासो सबै बिर्सिइन्। सकि नसकी खाजा तयार गरेर ल्याइन्। लागेको थियो 'उसले आफ्नो गल्ती महसुस गर्नेछ, फेरि उस्तै मायालु दिनहरू फर्किने छन्, फेरि जीवन आत्मीय रङ्गमा सिँगारिने छ'। तर,त्यस्तो भएन। सामान्य औपचारिक कुराकानीपछि उसले दराजबाट रक्सी निकालेर पिउन थाल्यो। मृदुलालाई असैह्य पीडा भयो। अवरूद्ध कण्ठले उसलाई प्रश्न गरिन्:
'ज्यानले सक्दा सक्दै मैले तिम्रो चाहनालाई 'इग्नोर' गरेकी हुँ? तिमीले प्रेम गरेर भित्र्याएकी श्रीमती होइन म? माया न सही, परिवारप्रति तिम्रो दायित्व छैन? कता भौँतारिँदै छौ तिमी? मसँग टाढिएर कोसँग जोडिँदै छौ?
उसले अलिकति पनि गम्भीरता देखाएन।
उल्टै आफ्नै स्वार्थको वकालत गर्दै भन्यो: 'म के गरौं? चौबीसै घण्टा तिमीसँगै दुःखी भएर बसौं? मेरा पनि त रहर होलान्, खुसी हुन मन लाग्ला नि मलाई पनि।'
मृदुला निःशब्द भइन्। तैपनि विस्मित भएर उसकै अगाडि बसिरहिन्। त्यहीबेला उसको फोन आयो। एकछिनमा कुरा टुङ्गियो। फेरि अर्को नम्बर डायल गर्यो। तर, उनलाई फर्केर पनि हेरेन। त्यो देखेर उनले अनुभूति गरिन् 'अब मैले गिड- गिडाइ रहनुको अर्थ छैन!' जुरूक्क उठिन्। छतमा गइन्। निस्पट्ट अँध्यारो थियो। आँखा चिम्लिइन्। दरोसँग रेलिङ्ग समातिन्। त्यही बेला उनलाई खोज्दै छोरो आइपुग्यो। र, दुःखद भावमा सम्झाउँदै भन्यो:
'बाबालाई हाम्रो मतलब छैन ममी! किन नपुग्ने आशा गरेर आफ्नै मन दुखाउनु हुन्छ? अब तपाईं आफ्नो र मेरो लागि जिउनु पर्छ। सकिन्छ मामु! घर भाडा आउँछ। घर छ। म छु। अरू के चाहिन्छ र बाँच्नलाई?'
आफ्नो दाम्पत्य सम्बन्धको बारेमा छोराको बुझाइ र जीवन प्रतिको उसको चेतना देखेर चित खाइन्। तर, उसलाई केही पनि भनिनन्। उसैले सम्झाउँदै कोठामा पुर्यायो। एकछिन बसेर अझै सम्झायो। सिरक ओढाएर ऊ गयो। तर, उनी निदाउन सकिनन्। लोग्नेका तिनै संवेदनाहीन शब्दहरूका पीडामा रन्थनिँदै रात बिताइन्। दिनहरू बित्दै गए। अझै पनि आशाको एउटा मसिनो त्यान्द्रो बाँकी थियो। सोच्थिन्, कुनै न दिन मेरो मायाले कसो तानेर कसो ल्याउला .......तर, ऊ त आएन। बरू अनेकौं महिलाहरू सँगका उसका अमर्यादित सबन्धका कुराहरू आए। मुटुको घाउमा चिमोटिरहे।
दिनहरू जसोजसो घिर्सिँदै थिए। एउटा बिहानी अपूर्व खुसी लिएर आयो। कसैले उनको छोरोले बेलायतमा पूर्ण छात्रवृत्ति कुरा सुनायो। छोरो घरमा थिएन। व्यग्रताका साथ कुरेर बसिन्। साँझ पख ऊ त आयो। तर, खुसीको त्यो कुरा सुनाएन। अचम्म मान्दै उनी आफैले सोधिन् 'आज मैले ज्यादै खुसीको कुरा सुने नि बाबु!'
उसले लामो सुस्केरा हालेर भन्यो- 'आमाको आँसुमा डुबेको खुसी पनि के खुसी ममी! तपाईंलाई वेदनाको भवसागरमा एक्लै छोडेर म कसरी बेलायत जान सक्छु र ?'
छोराको ममतामयी कुरा सुनेर स्तब्ध भइन्। तर, एउटी आमाले सन्तानले पाएको त्यत्रो अवसर आफ्नो कारणले गुमेको हेर्न कहाँ गर्न सक्थिन् र? उनले आफ्नो दिर्घ रोगको पर्बाह गरिनन्। अत्यासलाग्दो आगतको पर्बाह गरिनन्। फकाई फुल्याइ उसलाई बेलायत जान राजी बनाइन्। तयारीको एक महिना आँखा झिम्क्याए जसरी बित्यो। अर्को महिना उसले छोडेर गयो। बिदा हुने बेला गहभरि आँसु पारेर उसले भनेको थियो- 'पीर नगरी बस्नू है ममी ! एक्लै बसेर नरूनू , म पनि हुन्न , फेरि ..... ?'
मृदुलाको वाक्य फुटेन। लाचार नयनले छोरालाई हेरिन्।
ऊ निकै भावविह्वल भयो। उनको गोडा समाएर ढोग्यो। ट्याक्सी चढेर विमानस्थलतिर लाग्यो। उनको मुटुको ओखती, कलेजोको टुक्रा, एक मात्रा सहारा! उसले छोडेर गयो। दिमाग शून्य भयो। एक गिलास पानी पिइन्। जलमग्न आँखाले वरिपरि हेरिन्। सडकमा त्यही बूढो कुकुर हर लतार्दै घिस्रिँदै थियो। उनले अरू केही पनि देखिनन्।
जीवन अत्यन्त कठिन हुँदै गयो। एकातिर रोगले गाल्दै थियो। अर्कोतिर चिन्ताले। तर, माया गर्ने कोही थिएनन्, हौसला दिने कोही थिएनन्। बेवारिस थिइन्। लाचार थिइन्। एक दिन 'एन्जाइटी' ले हुरूक्क होला जस्तो भयो। महेशलाई फोन गरेर एक पटक घर आउन बिलौना गरिन्। त्यस पटक पनि उसले निराश पार्दै भन्यो:
'केही दिनको लागि म बैङ्कक जाँदैछु। फर्केपछि आउला म! तिमीलाई एन्जाइटी भए जस्तो छ, निर्मलालाई लिएर कुनै मानसिक अस्पतालमा जाऊ।'
उनको आशाको अन्तिम त्यान्द्रो पनि छिन्यो। ज्यादै कष्टले दिन बिताउँदै गइन्। यसैबीच महेशले एक जना महिलालाई पनि बैङ्कक घुम्न लिएर गएको कुरा खुल्यो। उनीसँगै लिभ- इनमा रहेको पनि थाहा भयो। त्यसपछि भने उनी सिसा जस्तै झर्याम झुरूम भइन्।
निर्मलालाई मृदुला सम्हाल्न गाह्रो भयो। घरमा भाडामा बस्नेहरू गुहारिन्। केही दिन जसोतसो थामिइन्। तर उनी ठिक भइनन्। अतालिएर महेशलाई फोन गरिन्। उसले फोन उठाएन। त्यसपछि मानसलाई भाइबरबाट भनिन्। उसले तुरून्तै भिडिओ कल गर्यो। आमालाई फकायो, सम्झायो, रोयो। तर, मृदुलाले वास्तै गरिनन्। त्यसपछि उसले निर्मलालाई बिन्ती गर्यो:
'दिदी, जसरी हुन्छ मामुलाई बचाइदेऊ, दराजमा पैसा होला, झिकेर अस्पताल लैजाऊ, मिलेदेखि म बिदा लिएर आउँछु, मिलेन भने सबै कुरा छोडेर फर्किन्छु।'
निर्मलाले त्यही दिन अस्पताल लगिन्। भर्ना गरेर उनको उपचार सुरू भयो। औषधिको प्रभावले उनी चौबिसै घण्टा निदाउँथिन्। निर्मला चुपचाप कुरेर बस्थिन्। यही क्रम चल्दै गयो। एक दिन निर्मला पनि भावुक भइन्। मृदुला निन्द्रामै रहेकी मृदुलाको निधारको पसिना पुछिदिँदै सोचिन् 'जीवनै समर्पण गर्दा पनि लोग्नेको एक रत्ति माया नपाउने कस्तो भाग्य तिम्रो? किन जन्मिन्छ होला प्रेम विवाहमा पनि यस्तो वैरभाव?' निरूत्तरित भइन्। भारी मनले उनलाई कुरेर बसिन्।
करिब एक हप्तापछि निकै सुधार भयो। मृदुला डिस्चार्ज भइन्। तर, पहिला जस्तो फरासिली भइनन्। मौन रहन थालिन्। यसैबीच मानस नेपाल आएर पनि फर्किसकेको थियो। महेशको भने अत्तोपत्तो थिएन्। दिन, महिना,वर्षहरू बिते। मानस अध्ययन पूरा गरेर फर्कियो। त्यससँगै घरमा सापेक्षिक उल्लास छायो। मृदुला पनि राम्रोसँग कुरा गर्न थालिन्।
मृदुलाले एक दिन देवघाट जाने इच्छा गरिन्। केही दिन पछि लिएर गयो। पुगेको दिन तीनै जना नारायणघाटको एउटा होटलमा बसे। अर्को दिन बिहानै देवघाटतिर लागे। मन्दिर क्षेत्रका दर्शनपछि, वाल्मीकि आश्रम, कविलास क्षेत्रको अवलोकन गरेर गण्डकी र त्रिशूली नदीको संगम स्थल पुगेर विश्राम लिए। मानस पूजा सामग्री किन्न गयो। निर्मला र मृदुला नदी किनारमा उसलाई पर्खेर बसे।
अगाडि नारायणी नदी शान्त भएर बग्दै थिइन्। मृदुला सौम्य मुद्रामा त्यसको प्रवाहमा एकोहोरिँदै थिइन्। शायद उनी त्यही नदीको दर्पणमा आफ्नो जीवन, समय र अनुभूतिका चित्रहरू हेर्दै थिइन्। शायद सोच्दै पनि थिइन् - पीर , वेदना र कष्टहरू यही नदी जस्तै जीवनबाट बगेर जाने भए पनि त हुन्थ्यो!
माघको महिना थियो। बाक्लो भिडभाड थियो। हेर्दाहेर्दै निर्मलाले महेश जस्तो मानिस देखिन्। मैलो कपडा, लामो कपाल, मलिनो अनुहार। गहिरिएर हेरिन्। महेश नै हो भन्ने यकिन भएपछि उद्वेलित भावले कराइन्:
'महेश दाइ! कता जान लाग्नु भ'को?'
ऊ बोलेन। निमेष भर उभिएर हेर्यो। फेरि अगाडि बढ्न खोज्यो। निर्मलाले च्याप्प हात समाइन्। तानेर ल्याइन्। मृदुलाले विस्मित नजरले हेरिन्। उसले पनि हेर्यो। मृदुलाको अनुहार रातो हुँदै गयो। ऊ भुइँमा थचक्क बस्यो। घुँडामा मुन्टो लुकायो। निकैबेर पछि कारूणिक भावले भन्दै गयो -'पराई अँगालोको मोहमा परेर सबथोक गुमाएँ। उसले मेरो नगद, जिन्सी सबै हत्याएर हिँडी। नाङ्गेझार भएँ। एकातिर साहुले लखेट्दै छन्, अर्को तिर प्रहरीले। भाग्दै छु। तर, लुक्ने ठाउँ छैन। ग्लानि छ। तर, प्रायश्चित गर्ने ठाउँ छैन। आशा छैन। उज्यालो छैन। केवल अँध्यारो छ। मृत्यु छ! तर, आँसु बगाउने आफन्त छैनन्, पछि लाग्ने मलामी छैनन्।... अब मसँग केही पनि बाँकी छैन मृदुला! '
ऊ बोल्दै गयो, मृदुलाका आँखाबाट गण्डकी र त्रिशूली बग्न थाले। मानसले पछाडिबाट विस्मित भएर हेरिरह्यो। निर्मला सुकसुकाउन थालिन्। तर, नारायणी नदी उसैगरी शान्त भएर आफ्नो विशाल स्वरूपमा बगिरहिन्।
***
समाप्त