सपनाको सहर काठमाडौँ छिरेको चार वर्ष पूरा भइसकेको थियो। त्यो पहिलो दिनको सम्झना अझै ताजा छ– काठमाडौँको त्यो धुलो, अथाह भीड र भविष्यको सम्भावनाहरूको अथाह सागर।
चार वर्षअघि मैले गाउँको त्यो सादा, शान्त जीवनलाई पछाडि छाडेको थिएँ, त्यही बेला म यो सहरको प्रतिस्पर्धात्मक दौडमा होमिएँ। यहाँ आएपछि म आफ्नो काममा यति व्यस्त भएँ कि समयले कसरी गति लियो पत्तै भएन।
यहाँको मेरो जीवन चक्र चाडपर्वले निर्धारण गर्दैनथ्यो। दसैँ, तिहार, नयाँ वर्ष— यी सबै मेरो लागि अफिसको सामान्य दिन जस्तै हुन्थे। जब मेरा सहकर्मीहरू हर्षोल्लासका साथ आफ्नो घर फर्किन्थे, घरको मीठो माटोको गन्ध र मिठो सम्झना लिएर फर्किन्थे, म भने काठमाडौँको त्यो सानो भाडाको कोठामा एक्लो हुन्थेँ।
मेरो दिमागमा सामाजिक दबाबभन्दा पनि कामको दबाब र पैसा कमाउने हतारोले कब्जा जमाएको थियो। ‘आमाबुबाका लागि केही गर्नुपर्छ’ भन्ने सोचले मलाई बाँधेको थियो।
साथीहरू नभए पनि म एक्लै अफिसमा जान्थेँ। कानमा इयरफोन हुन्थ्यो र मन पर्ने गीतहरूले त्यो खालीपनलाई भर्दै काम गर्थेँ। कोठा अफिसबाट नजिकै थियो, जसले गर्दा म आफ्नो अँध्यारो कोठामा भन्दा अफिसको उज्यालो टेबलमा बढी समय बिताउँथेँ।
गाउँघरबाट म्यासेजहरू निरन्तर आइरहन्थे। सँगै हुर्किएका, सँगै पढेका साथीहरूका सन्देशहरूमा एउटै प्रश्न हुन्थ्यो, ‘राम कहिले हो घर आउने? यसपालि देउसी खेल्नुपर्छ है!’ उता, घरबाट आमाबुबाको भिडियो कल आउँथ्यो। ‘सबैका छोराछोरी आए, राम तिमी कहिले हो आउने?’
म हरेक पटक एउटै झूट बोल्थेँ, जसले मलाई केही समयलाई शान्ति दिन्थ्यो। ‘यसपालि अलि धेरै काम छ आमा, अर्को वर्ष पक्का आउँछु।’ साथीहरूलाई पनि त्यही जवाफ जान्थ्यो।
यता अफिसमा सहकर्मीहरूले मेरो यो मौनतालाई प्रश्न गर्थे, ‘राम, किन घर नजाने? तिम्रो उतातिर दसैँ तिहार मनाउँदैनन् कि क्या हो?’
म हाँसेर टार्दिन्थेँ, ‘कहिले मनाउँदैनौ, कहिले अहिले फुर्सद हुन्न।’
यसरी झूटले बनाएको त्यो पर्दामा बाँचेर चार वर्ष बितेको पत्तै भएन। कामको व्यस्तताको झूट, चाडपर्व मनाउन नसकेको झूट र जीवनको वास्तविक भावना लुकाउने झूट।
तर यसपालि केही फरक थियो। कसैले कर नगरी, कसैको आग्रहबिनै म आफैलाई घर जाने धुन चढ्यो। त्यो चार वर्षे थुप्रिएको एक्लोपनको भारीले मलाई कोठामा बस्न दिएन। मनमा एउटा अज्ञात बेचैनी थियो, जुन चाडपर्वको नजिकै झनै तीव्र भयो। तिहार आउनुभन्दा पाँच दिनअगाडि नै मैले काठमाडौँ छाडेँ।
काठमाडौँबाट धनगढी हुँदै बैतडी पुग्न सामान्यतया तीन दिन लाग्थ्यो। तर यसपालि भाग्यले साथ दियो। सायद धेरै मानिसहरू ढिलो यात्रामा निस्किएका होलान्, बाटोभरि जाम थिएन। बाटो पुरै खाली थियो, जसले गर्दा मैले यात्रा छिट्टै पूरा गरेँ।
बसको झ्यालबाट बाहिर हेर्दै म आफ्नो विगतलाई पछाडि छाड्दै थिएँ। मेरो साइडको सिटमा एक किशोरी थिइन्। कानमा इयरफोन हालेकी उनी आफ्ना आफन्तसँग फोनमा कुरा गरिरहेकी थिइन्। उनको कुराकानीमा एक प्रकारको जीवन्तता थियो, जुन मैले पछिल्लो चार वर्षमा महसुस गर्न पाएको थिइनँ।
अनि उनको मुखबाट निस्किएको एउटा वाक्यले मेरो ध्यान खिच्यो, जसले मलाई हँसाउन बाध्य बनायो— मैले हाँसो रोक्न सकिनँ।
उनी हाँस्दै भन्दै थिइन्, ‘म गाउँ आउँदै छु। अरू सबै कुरा गर्नु तर बिहे कहिले हो गर्ने भनेर नसोध्नु है!’
त्यो वाक्यले मेरो मनमा गहिरो छाप छोड्यो। किशोरीको निर्दोष गुनासोले चार वर्षको मेरो सम्पूर्ण अनुभवलाई एकै वाक्यमा समेटिदियो- राम, बिहे गर्न ढिला भएन र? भनेर सोध्ने गाउँलेहरूको आवाज मेरो कानमा गुन्जिँदै थियो। म मुस्कुराएँ। आफ्नो एक्लोपन, आफ्नो व्यस्तताको कथाले उनलाई पनि त्यस्तै प्रश्न सोधिएको रहेछ।
गाउँ पुग्दासम्म पनि मलाई ती किशोरीको कुरा याद आइरहेको थियो। आफ्नो जन्मघरको माटोमा पहिलो पाइला टेक्दा जे आनन्द अनुभव हुन्छ, त्यो सहरको कुनै उपलब्धिले दिन सक्दैन। त्यो दिनको आनन्दमा पनि कसैले ‘बिहे कहिले गर्ने’ भन्छन् भन्ने कुराले मलाई एक किसिमको व्यङ्ग्यात्मक हास्यबोध दिइरहेको थियो।
म घर पुगेँ। गाउँको त्यो चोक, त्यो चौतारी, सबै जस्ताको तस्तै थिए। आफन्तहरू मलाई देख्नासाथ हुर्रिएर आए। हालखबर सोध्ने, अँगालो हाल्ने क्रम चल्यो। यो क्रम त हाम्रो संस्कृति नै हो।
केही बेरको हालखबरपछि सबैभन्दा अप्रत्याशित प्रश्न आयो, जसको लागि म तयार भएर पनि तयार थिएन— त्यो प्रश्न जुन मैले किशोरीको मुखबाट सुनेको थिएँ।
‘राम, अब तँ बिहे गर्ने बेला भइसक्यो। कहिले गर्छस् तँ बिहे?’
यो प्रश्न सुन्दा म एकछिन हाँसेँ। त्यो हाँसोमा विगतका चार वर्षको मेहनत, त्याग र एक्लोपनको मिश्रण थियो। त्यो किशोरीको फोनको आवाज फेरि मेरो दिमागमा गुन्जियो— ‘बिहे कहिले हो गर्ने भनेर नसोध्नु है!’
मेरो हाँसोलाई देखेर आफन्तहरूले सोचे, ‘यसलाई त बिहे गर्ने मन रहेछ।’ तर वास्तविकता अर्कै थियो। मैले जवाफ दिएँ, ‘आउँदै छ हजुरहरू, चिन्ता नगर्नुहोस्।’
त्यो प्रश्न केवल एक सामान्य सोधपुछ थिएन, त्यो त गाउँलेहरूको साझा भावना थियो। उनीहरूले मलाई काम गरेर सहरमा सफल भएको हेर्न चाहेका थिए तर सफलताको परिभाषा उनीहरूको लागि परिवार पूर्ण गर्नु पनि थियो। उनीहरूको प्रश्नको अर्थ थियो- ‘राम, तिमीले सहरमा समय त बितायौ तर आफ्नो जीवनको आधारभूत जिम्मेवारी पूरा गर्न ढिला भएन र?’
गाउँमा बसेर मैले महसुस गरेँ— काठमाडौँमा मैले जुन व्यस्तताको आवरण ओढेको थिएँ, त्यो केवल एक पलायन थियो। समाजले सोधेको प्रश्नहरूलाई टार्नको लागि मैले आफूलाई काममा डुबाएको थिएँ। मैले आफ्ना आमाबाबु र साथीहरूलाई भनेको प्रत्येक ‘अर्को वर्ष आउँछु’ भनेको शब्दले मेरो वास्तविक अवस्थालाई लुकाउँथ्यो।
बिहेको कुरा उठ्दा मलाई निकै अप्ठ्यारो लाग्थ्यो किनकि म आफैलाई त्यसका लागि तयार ठानेको थिइनँ। चार वर्ष लगाएर मैले आर्थिक रूपमा केही स्थिरता त कमाएँ तर भावनात्मक रूपमा मैले त्यो सम्बन्धको लागि ठाउँ नै खाली राखिनँ। सहरको दौडधुपमा, मैले जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्षलाई नजरअन्दाज गरेको रहेछु।
गाउँको त्यो वातावरणले मलाई शान्ति दियो। मैले पहिलो पटक आफ्ना आमाबाबुसँग बसेर बेलुकाको चिया खाएँ, जसको स्वाद मैले चार वर्षमा बिर्सिसकेको थिएँ। मैले आफ्ना पुराना साथीहरूसँग देउसीभन्दा बढी जीवनका भोगाइहरू साटासाट गरेँ।