अस्पतालको आइसियू बेडमा वार कि पार जस्तै थिइन् सारिका।
उनका शून्य आँखाले छत हेर्दै वरिपरि गर्दै थिए। टाउकोमा गहिरो चोट, शरीरमा थकाइ, र मनमा पहाडजस्तो बोझ। गुम्सिएर निसास्सिएका भावनाहरू कसैसँग सेयर गर्ने मौका नै थिएन।
उनी एक हप्ता अघिसम्म विराटनगरको एउटा कलेजमा समाजशास्त्र पढाउँथिन्। उच्च चेहरा भएकी, गोरी र आकर्षक थिइन् सारिका। दिमाग पनि निकै तेज, पढाउने कला पनि अरूभन्दा पृथक भएको अनुभव साटिरहेका थिए, कलेजको अघिल्पट्टीको चौरीमा बसेका उनका समकक्षीहरू। परिवर्तनकी सम्बाहक हुन्। मान्छेलाई मोटिभेशन गर्न सिपालु र कडा छिन्। चिया पसलसम्म उनको प्रशंसा पनि सुनिन्थ्यो।
गौरव नाम गरेका साथीसँग उनको निकट सम्बन्ध थियो। उनका साथी गौरव सामाजिक अभियानी पनि हुन्। उनीजस्तै हक्की र निडर थिए गौरव। गौरवसँग कलेज पढ्दादेखिनै बसेको गाढा प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेको वर्षदिनमात्रै कट्दै थियो। वैवाहिक जीवनमा बाँधिएर दुई बसन्त पनि बिताउन नपाउँदै बिछोडिनु पर्यो। जेन–जी आन्दोलनले गौरवलाई सारिकासँग चुँडेर लग्यो।
काठमाडौंमा जेन–जी आन्दोलनको अभियान चलाउने क्रममा उग्र भीडको बीच आक्रमणमा परे गौरव। भिडका बीचमा बतासिएर आएको बन्दुकको गोली छातीमै लाग्यो। ऐँइया पनि भन्न पाएनन्। उनी ठाउँको ठाउँ त्यहीँ ढले। सारिका बचिन्, तर घाइते भएर। रक्तम्य थियो उनको शरीर। शरीरभरि घाउ र मनमा अनगिन्ती चोट बोकेर अस्पतालको बेडमा अइया... अइया...को मन्द आवाज आइरहेको थियो।
सारिकाको पेटमा आठ महिनाको गर्भ थियो। अस्पतालको बेडमा सारिकालाई स्याहार गरिरहेका थिए डा.आर्यन। युवावस्था पार गरिरहेका, अनुभवी, शान्त स्वभावका, तर आँखामा गहिरो अनुभूति बोकेका उनले सारिकाको घाइते शरीरको उपचारमा बहुत मेहनत गरिरहको आभाष हुन्थ्यो। उपचारमा मात्र होइन, मानसिक पुनर्बहालीमा पनि विशेष ध्यान दिइरहेका थिए।
सारिकाको छेउमा एकोहोरो जस्ती निरीह भएर उभिएकी थिइन् उनकी सासूआमा जानकी देवी।
'हे भगवान! छोरालाई त खोसिहाल्यौ, अब बुहारी र यो जन्मन लागेकी नातिनीलाई त बचाइदेऊ! बरू मलाई चुँडाए हुन्छ, अब मेरो काम छैन।' उनी बर्बराउँदै बोल्थिन्। सक्छौ भने भगवान बाँचेकाहरूको लागि केही कृपा गर!
करिब दुई हप्ताको उपचारपछि सारिका अस्पताल नजिकै डेरा सरिन्।
डा. आर्यनको डेरा पनि सारिकाको डेराभन्दा दुई कोष टाढा मात्र थियो। अलिक दिनपछि सारिका सुत्केरी भइन्। डा. आर्यनकै सहयोगमा उनले छोरीको जन्म दिइन्। दिनहरू बित्दै गए। डाक्टरी सेवा बाहेक सामाजिक न्याय र महिला अधिकारका क्षेत्रमा काम गर्ने आर्यन आफै पनि अनाथ आश्रममा हुर्किएका व्यक्ति थिए । त्यसैले सारिकाको पीडा उनले आत्मीय रूपमा अनुभूति गरेका थिए ।
एकदिन जानकी देवीसँग उनले सोधे, ‘आमा, म सारिकाको जीवनमा साथी बन्न सकूँ भन्ने चाहना राख्छु। तर तपाईंको अनुमतिमा मात्र अघि बढ्न चाहन्छु।’
जानकीको मन हलचल भयो। केही बोलिनन्। प्रतिउत्तर पनि गरिनन्। उनले मनमनै सोचिन्, विचरो गौरव जस्तै लाग्ने। आहा कति माया गर्छ सारिकालाई ....। फेरि उता सम्झिन्छिन् यो कुरा सुन्दा सारिकाको मन अझ बेचैन हुने पो हो कि! कसरी सुनाउँ उनलाई, होस बरू अहिलेलाई नबोल्दै जितिएला।
डा.आर्यन केही दिनपछि महिला सशक्तीकरण दिवसको दिन पारेर सारिकालाई भेट्न गए। जुस, मिठाई, फलफूल र एउटा किताब लिएर। त्यो किताबको कभरमा लेखिएको थियो ‘जेनजी पुस्ता र महिला पुनर्जागरण’। सारिकालाई आर्यनले हातमा थमाइदिए। एकछिन बसे, सन्चो विसन्चो सोधे, औषधि भए नभएको सोधे, समय मिलाएर खान र बच्चा र आफ्नो स्वास्थ्यको ख्याल राख्न भनेर बाहिरिए।
दुई दिनपछि सारिकाले किताब पढ्ने इच्छा राखेर खोलिन्। किताबको पाना बीचमा एउटा चिठी रहेछ..।
प्रिय सारिका,
म तपाईंलाई एक्लै लड्न नपरोस् भन्ने चाहन्छु। जसरी तपाईंले समाज रूपान्तरणको सपना देख्नुभयो, म पनि तपाईंको जीवनमा सहयात्रीको सपना देख्छु। तपाईंको जीवनमा विगतको तिक्तताले होइन, भविष्यको हर्षले परिभाषित गरोस्। म तपाईंको हिजो होइन, आज र भोलि बनेर साथ दिन चाहन्छु।
... उही डा.आर्यन।
सारिकाको मुटु हल्लियो। केही बोल्न सकिनन्। निशब्द भयो, उनको गला अड्कियो। मनमा कुरा खेलिइरहे। एकपछि अर्को छाल बनेर भक्कानियो मुटु।
भोलिपल्ट आर्यन चिया समयमा सारिकाको डेरा छिरेकामात्र थिए। उनले एकैपटक आर्यनमाथि शब्दको वर्षावाँण गरिन्।
'डा. साब! मैले आन्दोलनमा लड्न पाएकोमा आफूलाई भाग्यमानी सम्झेकी छु, मुलुक परिवर्तन गर्ने यो महान यात्रामा जो केही चाहेर पनि सामेल हुन सक्दैन। श्रीमान गुमाएकी छु, तर सहिदको कोटा चुक्ता गरेकोमा म गौरवलाई स्याबासी दिन्छु। सहिद हुनु पनि अजम्बरी हुनु नै हो।
तपाईंको सेवालाई मैले एउटा डाक्टरको पेसा र कर्तव्य मात्रै ठानेकी हुँ। मैले मायाको भिख मागेकी होइन। मेरो सिउँदो रित्तिएको हो, त्यो भरिनै पर्दैन। म आजिवन गौरवकी हुँ। म सहिद गौरवकी धर्मपत्नीको परिचय मेटाउन चाहन्नँ।
डा. आर्यनले भने, ‘ठीकै छ, मैले जबरजस्ती गर्न चाहेको पनि होइन। तर तपाईं समाजशास्त्रको विद्यार्थी भएकाले समाज बुझ्नुभयो अब, बदल्ने दायित्व पनि तपाईकै काँधमा छ। म निरीह विधवा नारी भएर होइन, तपाईंलाई परिवर्तनको संवाहक साहसी नारी भएर बाँचेको हेर्न चाहन्छु। तपाईंको जो विचार। म अहिले गएँ।’
सासू जानकीले पनि दुबैतर्फका कुरा सुनिन्। समय बित्दै गयो। केही समय मौन भइन्। समयसँगै उनको मौनताको घडी समाप्त भएको उनले देखिन् कि उनकी नातिनी (सारिकाको छोरी) आर्यनकै भरथेगमा हुर्किरहेकी छन्। अलि ठूली भएपछि दिनभरि आर्यनकै पछाडि लाग्ने गर्थिन्। तर उनले आर्यनलाई अंकल कहिलै भनिनन्। ‘आर्यन बाबा’ भनेर बोलाउन थालिसकेकी थिइन्।
एक साँझ ठूलो आँधीसहित पानी आयो। बिजुली चम्किएको बेला सारिका झ्याल बन्द गर्न उठेकी थिइन्। बाहिर बाटोमा आर्यन भिजिरहेको देखिन्। सारिकाको हृदयको कुण्ठा फुट्यो। ‘आर्यन, किन भिज्नुभएको ज्वरो आउँछ। झरी बतासमा बाहिर बसेर यस्तो गर्नुहुन्न। माया गर्नु भनेको सास्ती त हैन नि! खुरूक्क भित्र आउनू।'
आर्यनको चाहना पूरा गर्न नै आँधी आएजस्तै भयो। उनी केही नबोली सारिकाको तर्फ लागे। सारिकाले भिजेको लुगा फेर्न भनिन्। र तातो पानी, सुप बनएर खुवाइन्। एकैछिन मौनता छायो, बोलेनन् दुवै। तर आँखाका तरेलीहरू दुवैले एक अर्कालाई पहिल्याइरहेका थिए। सारिकाले मुख खोलिन् ‘मलाई पनि त्यो सास्तीमा तपाईंको साथ चाहिएको थियो। अब टाढा हुन सकिनँ।’
आर्यन मुस्कुराए।
त्यही साँझ, जानकी देवीले आर्यनको हातमा फूलमाला र सिन्दुरको डब्बा थमाउँदै भनिन्, ‘म समाजको नियमभन्दा तपाईंको माया ठूलो मान्छु। मेरो बुहारीको जीवन फेरिन तपाईंको हात र साथ दुवैको भूमिका छ, अब जीवनभर साथ दिनुहोस् बाबु।’
आर्यनले सारिकाको सिउँदो रंगाए। सारिकाको सिउँदोले दोस्रो पटक रंगीनशान्ति पाएको छ। त्यो सिउँदो अब समाजको मजाक होइन, समानताको प्रतीक बन्यो। अन्यायमा ठगिएको सारिकाको जीवनले न्याय पाएको महसुस भयो।
सारिका र आर्यनले मिलेर एउटा ‘सशक्त नारी केन्द्र’ स्थापना गरे, जसले जेन–जी आन्दोलनको भावनालाई विस्तार गर्यो। जहाँ विधवा, पीडित, अपांगता भएका र शोषित महिलाहरूले नयाँ जीवन पाउँछन्। त्यो सिउँदो, जसलाई समाजले विधवाको ‘शोक’ मानेको थियो, आज स्वाभिमानको ‘शान’ बनेको छ।