राहिँली,
तिमीले निकै घुर्की लाउने तिम्रो सहरमा
गाँसैपिच्छे अहम् सुर्की लाउने तिम्रो सहरमा
निद्रामा पनि पोलिरहन्छ
ब्युँझिँदा पनि पोलिरहन्छ
दिल खोलेर केही बोल्न पाइँदैन
मनका कुरा कतै खोल्न पाइँदैन
तिमी दिउँसै रात पार्न खोज्छ्यौ
सिरिखुरी सारा हात पार्न खोज्छ्यौ।
यता माहिलाले
तिम्रो सहर
पङ्ख फिँजाउनै नपाइने पिँजडाको टोक्रोजस्तो भन्छ
उता काहिँलाले
तिम्रो सहर
चुसेर बाटैमा फ्याँकेको उखुको छोक्रोजस्तो भन्छ
राहिँली के थाहा तिमीलाई?
लाँकुरीका फलेकको खटियामा
बुकीको न्यानो तकियामा
घुरघुर घुर्दै सुत्दाको आमोद
तिम्रो सहरमा पाइँदैन राहिँली
जलप लगाई टिलिक्क टल्केको तिम्रो सहर
फर्केर फेरि आइँदैन राहिँली
तिम्रो सहर भैगो अब चाहिँदैन राहिँली
तिमीसँग कुनै नाता लाइँदैन राहिँली।
माउचरीले बचेरा-बचेरीहरूलाई
सधैँ ‘न' मात्र भन्नुपर्ने
कुर्कुच्चाले टेकेर ड्याम-ड्याम नहिँड अरे
ठुला स्वरमा कर्याङकुरुङ नगर अरे
यता भित्तामा ठ्वाक्क-ठ्वाक्क नठोक अरे
त्यति बेस्सरी ख्वाक्क-ख्वाक्क नखोक अरे
सुन न राहिँली,
मालचरीले तिम्रा सखुवा बोटहरूमा गुँड नसार्थे भने
हाँगाबिँगा सुकेर के हाल हुन्थ्यो होला?
तिम्रो चित्त दुखेर बेहाल हुन्थ्यो होला।
तिमी सुस्तरी बोले सुनिनँ भन्छ्यौ
ठुला स्वर गरे, किन भन्छ्यौ
न ह्वाँ-ह्वाँ डाँको छोडेर रुन पाइन्छ
न दिल खोलेर खुसी हुन पाइन्छ
यता साइकल राखे ‘उता लइहाल’ भन्छ्यौ
‘आजै यो कोठा छोडेर गइहाल’ भन्छ्यौ
मोल तिरेर पनि आफैलाई बन्दी बनाउनु पर्ने
तिमीलाई देख्यो कि सधैँ कपाल कनाउनु पर्ने
यसरी त जोबन कति चल्छ र राहिँली?
तिम्रै मात्र फिलिङ्गो सधैँ कहाँ बल्छ र राहिँली?
इन्ची नापेर सिलाएको त्यो
आरुढाको पेन्सिल मिनीस्कर्ट जस्तो
तिम्रो कङ्क्रिटै-कङ्क्रिटको अन्त:पुरमा
कदम फुकाएर कतै टेक्न पनि पाइँदैन राहिँली
तिम्रा दैनन्दिनका खबर कागजहरूमा
मन फुकाएर केही लेख्न पनि पाइँदैन राहिँली
साँवलो नीरवता पोतिएको जस्तो
मानवता ध्वार्रै च्यातिएको जस्तो
तिम्रो सहरमा
फर्केर अब आइँदैन राहिँली
भैगो तिम्रो सहर चाहिँदैन राहिँली।
टाउकाले टेकेर पनि देखाउनै पर्ने
सिरानमा जसै तस्बिर देखाउनै पर्ने
तिमी सधैँ धुरीमै बसिरहनुपर्ने रे
अरू भर्याङबाट तलै खसिरहनुपर्ने रे
छिमेकीले छानो छाउँदा तिमीलाई पोलिरहने
पाहुना आउँदा पनि तिमी प्याच्चै बोलिरहने
बगली नभएको पतलुनजस्तै
ठिङ्ग उभिएको तिम्रो हवेलीमा
आफ्नै तालमा मस्त नाच्न पाइँदैन राहिँली
आफ्नै तालमा बाँच्न पनि पाइँदैन राहिँली।
राहिँली,
मलाई त माल्दाइको आरनमा
पाइन हालेर आँसी अर्चापेको मन पर्छ
तिर्तिरधारीको उधिन्ढुङ्गोमा उधाउँदै
पाँजा पार्दै घाँसका मुठा खापेको मन पर्छ
‘बा’ ले बनाएको त्यही खुर्पेटो मन पर्छ
मझेरीको आफ्नै अगेटो मन पर्छ
अहँ! म त
तिम्रो सहरमा लिसोझैँ टाँसिएर बस्दिनँ राहिँली
तिम्रो स्वार्थको मालामा गाँसिएर बस्दिनँ राहिँली।
राहिँली
तिमीहरूले त्यो पोटिलो सहर
धोद्रोले खाएझैँ भित्रभित्रै रित्तो बनाइसक्यौ
फोगटाहरू सबै ताछेर भित्तो बनाइसक्यौ
तिम्रो सहरमा दिनदहाडै
डोकोमा तोरेर चल्लाहरू कसरी हुर्काउनु राहिँली
खोक्रो तमासको धमासले कति घुर्क्याउनु राहिँली?
तिम्रो सहरमा आइन्दा बस्दिनँ राहिँली
तिम्रो सिकुवामा बिर्सेर पनि पस्दिनँ राहिँली
म त अब
मुसे खर र छ्वालीले चुहिएको पाली सजाउन चाहन्छु
हुद्दा लाउँदै झामरे गाउँदै आफ्नै खैँजडी बजाउन चाहन्छु।