उमेरले
ऊ अहिले कलिलो जवानबाट
जवानको मध्य विन्दुमा फड्किरहेको छ
यसमा कुनै सन्देह छैन
फुङ्ग परेको शरीर, चुस्स परेको दारी
ठाडा परेका कनसिरीहरू लिएर
भुमरीमा परेका भविष्यहरूलाई नियालिरहेको छ।
हो, ऊ जवान हो
भौँतारिरहेका उसको आवाजले
जिम्मेवारीसँग भाग्य बनाउने अभिलाषा बोकेको छ
बलिया खम्बा बनाउन लालायित ऊ
विडम्बना
दरिलो टेक्ने लौरी समेत भेट्न सकेको छैन।
हो, ऊ जवान हो
जवान, समय, सपनासँग पैठे जोरी खेल्न
हर बखत तयार ऊ
योग्यताको फोटोकपी पेपर बोकेर सहरमा
पैताला पट् पट् फुटाइरहेछ
तर यो सहरले उसको परिचय खोजिरहेछ
परिचयले उन्नत भविष्य चियाइरहेछ।
हो, ऊ जवान हो
निराशा बिचको आशा खोज्दै हिँड्ने जवान
कर्मठ शिर बोकेर हिँडेको थियो
अहिले उसका बाटोहरूमा बेस्मारी तुवाँलो कुँदिरहेछ
खोइ कहिले मडारिएको बादल फाटेर
खुला आकाशमा दौडिन सक्छ!
हो, ऊ जवान हो
कहिले अविचलित जवान
अहिले पल पल जीवनको साधक जाँचिरहेको छ
तर के गर्नु, कुनै त्यान्द्रो नि भेट्न मुस्किल भएको छ
ऊ अचेल बेस्मारी बिरामी भएको छ
उसको भविष्यको अल्पविराम परेको छ।
हो, ऊ जवान हो
साम्यवाद र समाजवाद
सहितको उन्नत लोकतन्त्र उसलाई औधी मन परेर
आशाको खेतीमा बुज्रुकहरूले परिवर्तनको बिगुल फुकेपछि
बलियो पाखुरीले साथ दिएको त्यही जवान
आफ्नो पसिनाको मूल्य खोज्न पछि पछि हिँडेको वर्षौँ भएछ
तर भेटेको छैन झिल्को समेत अझै पनि।
जीवनको कौतुहलता
उकाली ओराली, उर्वर हरियालीहरू
अब सुख्खा मरुभूमिहरू बनेर बसेका छन्
सुरुवाती साँघुरा खोँचहरू
कहिले फराकिला फाँटहरू बन्न सकेनन्।
अहिले उसका पहिलेका आशाहरू
सबै राजनीतिक बन्दी जस्तै बन्दै गएका छन्
अब लागेछ उसलाई
कहिले लिस्नु र कहिले भर्याङ कतिसम्म रहनु
थाहा पाइसकेको छ ऊ अचेल
यहाँ अनेक व्यापार बेला बेला भइरहन्छ,
निःसन्देह उसलाई नाफाको व्यापार थाहा छैन।
अब ऊ फोस्रा आश्वासन छोडेर
आफ्नो परिचय बिर्सेर
जवानको अन्तिम तागत बोकेर
धुमिल गन्तव्यबाट ती तिर्खालाई बिट मार्न
आधुनिक डिजिटल बत्तीस पन्ने खैरो रङको
पासपोर्ट बोकेर
निलो आकाश भित्रको बादलमा छिरेको छ।
हो, ऊ जवान हो
जुझारु दुनियाँ बदल्ने आशाको दियो मोडेर
उसको मजबुत शरीर शिथिल छ
थलिएको जिम्मेवारीबाट बा-आमाको लागि
पेनकिलर बन्ने सपना कल्पनामा राखेर
सङ्घर्ष दिनहरू सुरु गरेको छ।
जवानको
जिन्दगीको रस नसकिँदासम्म
राजनीतिक कैदीहरूले
परिवर्तनको बिगुलका पिछलग्गु बनाएपछि
र बिना रस गुदी थमाएपछि
बिचराको भाग्यलाई दोष दिन लगाउने आफन्तहरू
अस्तित्वगत रूपमा बिमार भएका छन्
र अन्तमा उसका उकुसमुकुस, छटपटी पनि सकिएका छन्।
अब उसलाई उसकै युगले चिन्दैन
उसको उसको भविष्यले गन्दैन
कठै! उसलाई उसकै देशले चिन्दैन
हो, ऊ जवान हो
अबको यात्रामा उसलाई वर्तमान जिउनु छ
भविष्य भेट्नु छ
जहाँ उसको लक्ष्य, उसलाई नै कुरिरहेको छ।
ऊ भन्दै छ,
अझै संघर्ष म र मेरा परिवारका लागि मात्र हो
तर पाउने त्यति सजिलो छैन
खै! कसरी पूरा गर्ला चिन्ता छ उसको
सुन्दर भविष्यको सपना
दुई छाक पुग्ने चुलोको दियो
र घरको फराकिलो आँगनको मियो बनेर।