इतिहासका पानाहरूमा जीवित छन् ती
संकल्पहरू जुन एउटा नारीले
आफ्नो संघार तर्न जीवन लिलामी गराएर
अस्तित्वको बलिदान दिएर
आँसुको सागर खडा गरेर
ज्वालामुखी र अग्नि कुण्डहरूमा
हवन गरिनु पर्थ्यो
जहाँ,
मातृत्वलाई तिलाञ्जलि दिएर
अस्मितालाई जोखिममा राखेर
प्राणलाई निर्ममताको धारमा राखेर
मृत्युलाई अँजुलीमा बोकेर
ममतालाई टुक्रिएको मुटुमा राखेर
चेतनालाई निराशाको कल्पवृक्षमा राखेर
पैतालालाई पितृसत्ताको धारमा राखेर
अपमानलाई दैनिक निल्ने सासको घुट्कोमा राखेर
इच्छा पत्रलाई पसिना र रगतको मसीद्वारा
धर्तीको पाटीमा हरदम कोरेर
मात्र संघार नाघ्ने जमर्को गर्नु पर्दथ्यो
सूक्ष्म अधिकारको लागि
खुसीको लागि
पूरा आँखाले संसार चियाउनको लागि
सन्तानलाई पेटभरि ममता पोख्नको लागि
पेटको अग्नि निभाउनको लागि
प्रेम प्राप्त गर्नको लागि
ममताको आँगन चियाउनको लागि
पराया भूमिमा बाँच्न एवं
अस्तित्व जोगाउनको लागि
र ती निर्मम इतिहासहरू
खोस्रा कागजमा कैद हुँदै गर्दा धर्तीमा बिलाए
हाम्रा महान् संघर्षशील नारी पुस्ताहरू
जसले एकै मुठी सास पनि नआत्तिएर फेर्न पाएनन्
स्त्रीको आकृतिमा प्रकट भएर धर्ती चियाएदेखि
आराम पाउन पनि धर्तीमै विलीन हुन पर्यो
नमन छ ती महान् अघोषित योद्धा जसको युद्ध स्वयंको
संघारभित्र स्वयमको सास फेर्न नै जीवनभर
पराया कोखको भए बापत नै सन्तानका खातिर
जिजीविषा राख्नको निमित्त समातेको थाल
सुत्ने ओछ्यान, भरोसाको दलान
भक्ति गरेर आफ्नो मान्न लगाइएको पराया ईश्वर
आफैँले टेकेको धर्ती पनि आफ्नो होइन कि हो मै
जीवनको इहलीला सकाउनु पर्यो।
वास्तविक युद्ध त क्रूरताले
भरिएका पराया परेछन् भने
संघारभित्र नै हुने रहेछ!
इतिहासको पानादेखि वर्तमानको युगसम्म
नारीको परीक्षा लिइने संघर्ष मैदान
अपमानको वर्षा गराएर ज्ञान ओझेलमा पार्न
रचिएका सबै चक्रव्यूहहरू समाप्त पार्न
संघारमा अल्झेर घाइते नबनुन् नव युगका नारीहरू,
जसको मुस्कानबाट हिंस्रक मानव, जीव एवं
स्व-अस्तित्वका क्रूर पात्रहरूको अदृश्य कुटिल खेल
समाप्त होस् र धर्तीमा नव सूर्योदयको
किरणमार्फत नव युवतिलाई फूल ओछ्याएको
संघारभित्र निर्ममताको क्रीडा नहोस् भनेर
आफ्नो भूगोलको सीमा बाहिर भाग्नु नपरोस्
सच्चा कर्मजीवीहरूको सर्वत्र कदर होस्।