इमिलीले जब जैक्सनलाई देखिन् तब उनमा एक अद्भुत शान्ति मिलेझैँ अनुभव गर्दै थिइन्। कार्यकक्षमा बस्ने बेला इमिलीले जैक्सनकै छेउ ठाउँ पाएकी थिइन्। उनी लगभग २८ वर्ष पुग्न लागिसक्दा पनि कसैप्रति त्यत्ति आकर्षण उनले कहिल्यै अनुभव गरेकी थिइनन्।
उनले अध्ययनका क्रममा अनुभव साझेदारीका निम्ति साथीहरू र धेरै सेक्स पार्टनरहरू पनि पाइन् तर यसरी कुनै सुपरनेचुरल आकर्षण भइदिने व्यक्ति फेला पारिनन्। धेरै समयको पर्खाइपछि केही कुरा प्राप्त गरेजस्तो वा आफूमा कुनै भोक अकस्मात् जागृत भएजस्तो। शोध प्रस्तुतिका निम्ति आएकी उनको ध्यान आफ्नो शोधलाई कसरी विशिष्टता प्रदान गर्ने, कसरी सबैका सामु प्रभावजनीन बनाउने भन्दा पनि धेरै जैक्सनलाई ध्यान दिनेतर्फ बिताइन्।
जैक्सनले आफूतिर फर्किँदा उनलाई नै हेरेजस्तो महसुस गर्दै थिइन्। खासमा जैक्सनको ध्यान उनीतर्फ केन्द्रित भइसकेको थिएन। यस कारण कि जैक्सनले इमिलीबारे जानकारी पाइसकेको थिएन।
इमिलीले पहिलो पटक देखेकी हुन्– लन्डनको एक वैज्ञानिक समारोहमा, हेनरी जैक्सनलाई। ऊ वैज्ञानिक पार्टेब चाबेजको पछि लागेर त्यहाँ आइपुगेको थियो। पार्टेब चाबेज एक संसार प्रसिद्ध विशिष्ट वैज्ञानिक हुन्। पार्टेब चाबेज– यो समयका विज्ञानबारे चासो राख्ने हर कोहीले सजिलै सुन्ने नाम थियो र सबैले उनका खोजबारे जानकारी लिन चाहन्थे र चाबेजका मुख्य भाषण र वक्तव्यहरूलाई महत्त्वका साथ लिने गर्दथे।
पार्टेबलाई प्रत्यक्ष सुन्नुको लोभ धेरैलाई हुने गर्थ्यो। त्यो मात्र पनि भएन। चाबेजका युट्युब रिलिज भएका भिडियोहरू र गुगलमा उनीबारे अपलोड भएका जानकारीहरू पनि धेरैले चासोका साथ हेर्ने गर्दथे।
यो एकाएक बढेको आकर्षणलाई इमिली आफैँ अचम्म सम्झिरहेकी थिई। यो प्रेमको कुन प्रकार हो? ऊ छुट्टाउन सकिरहेकी थिइन।
इमिलीलाई जैक्सनको नजिक हुन मन लागिरहेको थ्यो। उनीभित्र ऊसँग केही गफ गर्ने चाहनाको स्वरूप बढ्दै गइरहेको थ्यो। जैक्सनको अनुहार प्रारूप यस्तो थियो कि मिस्टर हेन्डसम भन्नेहरू जो हुन्छन् उनीहरूभन्दा सुन्दर र प्रायः युवतीले चाहना राख्ने कुनै स्वप्निल राजकुमारझैँ।
उसको उचाइ– ठिक हुनुपर्ने जत्ति (यो हुनुपर्ने जत्तिलाई निर्धारण गर्ने मानक भने इमिलीको सोच हुनुपर्छ)। जैक्सन हाँस्दा उसको गालामा बस्ने डिम्पलमा इमिली रहस्यको गहिराइ खोज्दथी र त्यही गहिराइमा आफूलाई पाउन सुरु गर्दथी। ज्याक्सन निहुरिँदा उसको सभ्यपनाको अथाह बोध गर्न पुग्दथी।
इमिली किन पो हो जैक्सनको आँखामा प्रेमको अथाह सागर उर्लिएको अनुभव गर्न पुग्दछे। ज्याक्सनको ह्याट लगाएको टाउकोमा इमिली बौद्धिकता र व्यवहारिकताका साथै यो समयको कुनै रहस्य भरिएको सम्झिन पुग्छे। ज्याक्सनप्रतिको आकर्षणमा इमिली यत्ति लट्ठिन पुगी कि बत्तीको अगाडि पुतली लट्ठिएझैँ।
छोटो समयको बिताइमै यो ढङ्गको आकर्षण अचम्मलाग्दो थियो। किन उसैको छेउ बसूँ जस्तो भइरहेछ। किन उसैको धड्कनको आवाज सुन्ने इच्छा बढिरहेको छ? किन सामान्य समय पनि असामान्यजस्तो लागिरहेछ। किन आफूमा छुट्टै कम्पनको सिर्जना भइरहेछ? किन जीवनको यो क्षण सुखद–सुखद हुँदै छ? थप आनन्दमय (छटपटीयुक्त) भइरहेछ?
कार्यक्रम अवधिमा बिचतिर सामान्य ब्रेक हुन्छ। त्यसै बेला जैक्सनको नजिक भएर परिचय लिने सुअवसर प्राप्त हुन्छ, इमिलीलाई।
‘हेलो जैक्सन, मि इमिली ब्राउन फ्रम एमेरिका।’
‘हाई, मि हेनेरी जैक्सन, माई होम प्लेस इज लन्डन।’
सामान्य भेटघाट र चिनजानको यो शृङ्खला पनि इमिलीको निम्ति विशिष्ट र दुर्लभझैँ अनुभूत गर्न पुग्दछे। जैक्सनको हँसिलो मुहारबाट आइरहेको चमक ऊ प्रकाशका किरणभन्दा शक्तिशाली अनुभव गर्न पुग्दछे। उसका आँखाहरूमा रहेको संवेदना सागरको गहिराइझैँ सम्झिन पुग्दछे। उसका ओठहरूबाट फुस्किने मुस्कान मुस्किलले भेटिने मणिका टुक्राहरूझैँ लाग्दछ।
इमली ब्राउन पिएचडी थेसिसको अन्तिम प्रस्तुतिका निम्ति उक्त लन्डनको ब्रुनल युनिभर्सिटीमा भइरहेको अन्तर्राष्ट्रिय वैज्ञानिक भेलामा पुगेकी थिइन्। उनको ओरिजिन क्यानडा हो तर अहिले अमेरिकाको न्यूयोर्क बस्छिन्। अध्ययनकै सिलसिलामा पिएचडी शोधको तयारीमा तिनी त्यहाँ पुगिन्। शोधको फाइनल भइसकेपछि उनको आन्तरिक सुपरिवेक्षक प्रोफेसर डाक्टर रोबर्टो लोरेन्सले उनलाई लन्डन पठाएका थिए। डाक्टर रोबर्टो लोरेन्स पनि जीव विज्ञानका प्रखर प्रशिक्षक थिए।
रोबर्टो लोरेन्स पनि आफैँमा सुप्रसिद्ध वैज्ञानिक हुन्, आनुवंशिक विज्ञानमा उनको कामको उच्च प्रशंसा गरिएको छ। क्लोनिङका सम्बन्धमा भएका उनका महत्त्वपूर्ण सोधहरू चर्चायुक्त छन्। एउटा जीवको कोषको डुप्लिकेसनबाट उस्तै गुण भएका अरू जीव उत्पन्न गर्न सकिने। त्यस सम्बन्धी जैविक विमर्शहरू उनका शोधपत्रहरूका मुख्य धारणाहरू हुन्। पछिल्लो समयका जीव शास्त्री र यसलाई अध्ययनको विषय बनाएकाहरू उनलाई ख्याल गरेर अध्ययन गर्ने गर्दछन्।
अब इमिलीको पेपर प्रेजेन्टेसनको समय भएको थियो। उनलाई पेपरको भन्दा चिन्ता हेनरी जैक्सनको थियो। उनको आकर्षण आफूतर्फ पैदा गर्नु थियो। इमिली जब मञ्च उक्लिइन्, तालीको गडगडाहटले उनलाई स्वागत भयो। आफ्नो आनुवंशिक पदार्थसम्बन्धीको सोध, पावर प्वाइन्टमा बनेको फाइललाई प्रोजेक्टर बोर्डमा प्रस्तुत गरिन्।
जीवनको आनुवंशिक रहस्य,ती रहस्यहरूमाथि यसभन्दा अघि भएका सम्पूर्ण अध्ययन प्रतिवेदन र पछिल्लो समय भएका नयाँ काम र आफ्नो पेपरको भित्री पक्ष। उक्त शोध समयानुकूल र भविष्यको अन्य शोधहरूका निम्ति मार्ग निर्देशक समेत बन्न सक्ने उपस्थित प्रशिक्षार्थी र प्रशिक्षकहरूले प्रतिक्रिया दिए। आएका केही प्रश्नहरूका उनले सहज जवाफ फर्काइन्। उनको शोधमा गम्भीर समीक्षा भयो र उनी सबल देखिइन्। पिएचडी थेसिसमा उनी उत्तीर्ण ठहरिने भइन्।
उनलाई पेपरको अब चिन्ता रहेन, उनमा अब पछिल्लो समय लन्डन प्रवेश पछिको उनको आविष्कार जैक्सनको चिन्ता रह्यो। जैक्सन किन–किन उनलाई आफ्नो प्राप्तिझैँ अनुभूति हुँदै थियो। जैक्सन कसरी उनको मनको ढोकाबाट प्रवेश गर्यो र मनमा राज गरेर बस्न सुरु गर्यो यो उनी आफैँलाई आश्चर्यजनक छ। अब उनलाई आफ्नो शोधको आनुवंशिक रहस्य छाडेर यो रहस्यमाथि पो अनुसन्धान सुरु गर्नु पर्ने जस्तो भइसकेको छ।
जब इमिलीको प्रस्तुति सकियो। अब यो युगका चर्चित र प्रखर वैज्ञानिक पार्टेब चाबेजको एक अनुसन्धानमूलक प्रस्तुतिका निम्ति समय तालिका विभाजन भएको थियो। चाबेज मञ्च उक्लिए। अब हलमा हल्ला र ध्वनिको मात्रा शून्य भयो। पार्टेबले बिस्तारै माइक समाए। आफ्नो ल्यापटपमा तयार गरिएको एक परिपत्रको वाचनलाई जोडे। उनको स्वर मसिनो र प्रभावी लाग्दथ्यो, सुस्तरी लहराउँदै बग्ने हावाको सुमधुर गतिझैँ हलमा गुन्जिरहेको उनको ध्वनिले मन्दिरमा बज्ने प्रार्थना ध्वनिझैँ महसुस गराइरहेको थियो। इमिली पनि यी कुराहरूलाई निकै चनाखो साथ हेर्ने र बुझ्ने गर्दै थिई।
‘यो समय सङ्कटको समय हो। सङ्कटहरूसँग चुनौती र साथमा सम्भावनाहरू पनि रहने गर्दछन्। सङ्कट यस अर्थमा कि मानिस बिस्तारै जड हुँदै गइरहेछ। उसको नशामा रगत बग्छ या पानी छुट्टाउन मुस्किल छ। उसको मस्तिष्कमा सिर्जना उम्रिन्छ कि विस्फोटका सूत्रहरू? मानिसमा हुनै पर्ने मानवीय संवेदनाहरू दुःख, पीडा, खुसी, क्षमा, माया, प्रेम, दया, करुणा आदिको स्वरूप मान्छेमा क्रमशः किन र कसरी लोप हुँदै गइरहेछ? मानव एकाएक आत्मामा पत्थर रहेझैँ संवेदनाहीन हुँदै जानुको अन्तर्य के हो? अबको समयमा वैकल्पिक मानवहरूको व्यवस्था हुनुपर्दछ। जसमा भर्खरै संरचित फिलिङ्ग्सकाे सफ्टवेयरलाई इन्स्टल गर्न सकियोस्। यो फिलिङ्ग्सको सफ्टवेयर निर्माणका लागि मैले मेरो जीवनका ऊर्जाशील बिस वर्ष लगानी गरेको छु। जब मैले फिलिङ्ग्स इन्स्टल गर्ने काम हेनरी जैक्सनमा गर्न सकेँ, म संसारको सबैभन्दा खुसी र सुखी मानिस भएको अनुभूति गर्दै छु। मैले आफ्नो जीवनको गतिमयतालाई एक अर्थसम्म पक्रिन सकेँ भन्ने अनुभव भएको छ। यतिखेर म हेनरी जैक्सनलाई सबैका अगाडि उठेर आफ्नो परिचय प्रदान गरिदिन अनुरोध गर्दछु।’
जैक्सन रोबोट नै थिए तर चाबेजले यसरी बनाएका थिए कि उनीमा मान्छेको धेरै गुणहरू विकसित थिए। जैक्सन सामान्य मान्छेझैँ धेरैभन्दा धेरै कार्यसम्पादन गर्न सक्थे। बोल्ने, हिँड्ने, खेल्ने, काम गर्ने लगायत सम्पूर्ण बेला यिनी मान्छेझैँ दुरुस्त देखिन्थे। बाहिरबाट हेर्दा फरक यत्ति थियो, यिनलाई खानु पर्दैनथ्यो– चार्ज लिनुपर्थ्यो, विश्राम गर्ने र सुत्ने गर्नु पर्दैनथ्यो तर ओभरहिटिङको बेला थोरै रोकिनु पर्थ्यो।
कुरा रह्यो यो रोबोट र विश्वका सारा रोबोटबिच के भिन्नता थियो र चाबेज किन बिस्तारै विश्व चर्चित हुँदै थिए भन्ने। फरक यो थियो कि विश्वका सारा अन्य रोबोटमा संवेदना ( फिलिङ्ग्स ) को तह शून्य थियो तर चाबेजले यो क्रमलाई भङ्ग गरिदिए र अनुभवसमेत गर्न सक्ने जैक्सनको निर्माण गरिदिए। चाबेज र जैक्सन त्यही अर्थमा विशिष्ट थिए।
जब पार्टेबको यो अभिव्यक्ति आयो तब इमिली छाँगोबाट खसेझैँ भइन्। जो उनको पहिलो प्रेम थियो, एकोहोरो प्रेम थियो। ऊ प्राकृतिक मानिस थिएन– यन्त्रमानव थियो। उनी गजबले झुक्किन पुगिन्। यस्तो नमिठो झुक्काइ हर कोहीको जीवनमा सायदै हुन पुग्छ। यो झुक्काइ मिठो भन्ने कि नमिठो सम्झिने उनमा अनौठो द्विविधा पैदा हुन पुग्यो।
अर्को अचम्मको कुरा, उनमा पैदा भएको आकर्षण एकाएक विकर्षणको रूपमा बदलियो। बल्ल उनलाई थाहा भयो हेनरी जैक्सन रोबोट थियो। वास्तवमा इमिलीको आकर्षण मानिस प्रति थियो। उनको प्रेम जैक्सनको मानव संरचनाप्रति थियो। मानवेत्तर थिएन। उनी सम्झिँदै थिइन्– एक सामान्यभन्दा सामान्य महिलामा पनि आमा बन्ने ठुलो सपना हुने गर्दछ। यो जैक्सनबाट प्राप्त हुनु सम्भव थिएन।
एक मनले सोचिन्– बच्चा त अर्काको लिएर पनि त हुर्काउन सकिन्छ। यसरी सम्झाउन खोज्दा पनि उनको मन मानिरहेको थिएन। हेनरीमा संवेदना त थियो तर शरीर थिएन। शरीर त थियो तर यन्त्र जडित। उसमा आकर्षणको समग्र स्वरूप थियो तर जैविकता थिएन। उसमा बाहिरी संसार थियो तर भित्री थिएन। संवेदनाका स्वरूपहरू दुःख, पीडा, खुसी,क्षमा, माया,प्रेम,दया,घृणा, करुणा त थिए तर जड अवस्थामा थिए। जड अवस्थामा भएका यी संवेदनाहरूलाई उनी नभएझैँ मान्दै थिइन्।
इमिली यही निष्कर्षमा पुगिन् कि, मानवबाट लोप हुँदै गइरहेको मानवीय संवेदना पुनः मानवीय स्वरूपमै जागृतिको चरणमा पुग्यो भने मात्र ठिक हुन्छ नत्र यन्त्रबाट यो जति नै अपेक्षा गरे पनि त्यो उत्पादक हुने छैन। त्यो कृत्रिम र जड प्रायः नै रहनेछ।
उनले यो पनि सम्झिन् कि, मानव प्रेम सर्वोच्च र सर्वग्राह्य छ। त्यसैले मानवबाट हराएका यी सबै संवेदनाका तहहरू मानवमा नै पुनः जागृतिको अवस्थामा पुर्याउनु पर्दछ।
लन्डनको कार्यकक्ष प्रवेश गरेपछि उनमा पैदा भएको दुई किसिमको अनुभव बोध उनका निम्ति निकै प्रितिकर रह्यो। उनमा पैदा भएको खुसी र दुखको यो सम्मिलन उनी सधैँ मोहक सम्झिन्छिन्। उनी खुसी भइन् पार्टेब चाबेजको आविष्कारसँग, जसले उनलाई लोभ्यायो र सम्मोहित तुल्यायो। उनी धेरै दुखी पनि भइन् किनकि हेनरी जैक्सन रोबोट थियो, मानिस थिएन।