हाम्रो देशको राजधानीको नाम पनि के-के हो के-के! काठमाडौँ, भीडमाडौँ, धुलोमाडौँ, हिलोमाडौँ, इट्टाको थुप्रो, सपनाको सहर, गिद्धै गिद्धको सहर, आदि इत्यादि। जसुकै होस् सबैको आफ्नै कहानी छ, अनि विशेषता पनि। नाम जति धेरै छ, राजधानी पुग्नु पर्ने काम पनि त्यति नै मात्रामा परिरहेको हुन्छ।
काठमाडौँको बसाइलाई बिट मारेको पनि लगभग नौ वर्षभन्दा धेरै भएछ। आजकल काठमाडौँ जाने खासै चाख लाग्दैन। उफ्! यहाँको कोलाहल, प्रदूषण अनि धेरै थोरै उनका याद या भनौँ हाम्रा मिसिएका याद। सायद त्यसैले त होला, काठमाडौँको सडकमा आज पनि हिँड्दै गर्दा आँखा रसायो भने यी मध्ये मुख्य कुन कारणले हो हेक्का राख्न सक्दिनँ।
काठमाडौँको सडकको भिडमा एक्लै हिँड्नुको मज्जा नि बेग्लै छ र त यहाँ आएको बेला हिँडिरहन्छु। आजको बाटो थियो, न्युरोडको। यहाँको हरेक दृश्यलाई, ध्वनिलाई चिर्दै अघि हिँडिरहेको थिएँ। अचानक एउटा दृश्य आँखामा अडियो। चिने चिने जस्तो मान्छे, प्रिय मान्छे तर सायद आफ्नो हुन नसकेको मान्छे।
मन ढक्क फुल्यो अनि आफैले आफैँलाई प्रश्न गरेँ- हैन! उ नै त होइन?
अलि नजिक गएँ। सायद आफ्नो नजिकका मान्छेहरूलाई चिन्न त्यति धेरै नियाल्नु पर्ने आवश्यकता नपर्ने रहेछ। बोलाइहालेँ, ‘हल्लो! आशा, आशा।’
टक्क अडिन् उनी। हेरिन् म भएतिर र टोलाउन लागिन् कुनै सपना जस्तै। म पनि त्यस्तै अवस्थामा थिएँ सायद। ठुलै आँट गरेपछि मात्रै ‘आशा’ भन्ने शब्द निस्किएको थियो मबाट।
आँखा जुधे, हरायौँ कुनै कल्पनाको दुनियाँमा त्यही सडकको छेउमा। आँखा आँखैको स्पर्श अनि कल्पना भित्रको मीठो अँगालो। आखिर हाम्रो नाता सम्बन्ध थियो, पूर्व प्रेमी, पूर्व प्रेमिका।
केही सहज, केही असहज, थोरै मुस्कान, थोरै आँसु सहितको नौ वर्षपछि भेटले थाहा छैन त्यो बिचको नौ वर्ष कता गुमनाम गराइदियो। बस् सबै कुरा बिर्सिएर यो टोलाइको संसारमा हराउँदै थियौँ। नौ वर्ष अगाडि जस्तो थिइन् आशा, त्यस्तै लाग्यो आज पनि उनी। पुरानै मेरै आशा जस्ती। बस् उनको रङ्गिएको सिउँदोलाई नजरअन्दाज गरिदिएँ।
मौनता भंग गर्दै प्रश्न गरेँ, ‘आज यहाँ कताबाट, कसरी, यति धेरै समयपछि?’
उनले भनिन्, ‘सानो काम थियो। काठमाडौँ आएको बेला सकौँ भनेर। अनि हजुर?’
‘म पनि सानो कामको लागि आएको। यति ठुलो भेट गराइदियो। सायद केही कुराले तानेर पो हो कि,’ मेरो जवाफ थियो, ‘यतै सडकमै भन्दा यसो चिया खाऊँ न है।’
उनको हस् सँगै चियाको लागि पुग्यौँ हाम्रै नौ वर्ष अगाडिको चिया पसलमा। अनि बस्यौँ आमनेसामने भएर एउटा टेबलमा। धन्न पसले दाइले चिनेनन्। उफ्! यो काठमाडौँ जति नै विकास भए पनि नयाँ ठाउँ खोज्न कति मुस्किल है।
पात्र उही थियौँ, चिया पसल उहीँ थियो, टेबल उही थियो तर समय फरक थियो, परिस्थिति फरक थियो अनि सम्बन्ध फरक थियो। त्यसैले त होला, कहिले बोलेर नै नसिकिने हामी आज मौनतामा हराएका छौँ।
सोधेँ, ‘आराम छौ? के गर्दै छौ आजकल? बसाइ कता छ?’
‘ठिकै छु। के गर्नु र खोइ, घर तिरकै एउटा स्कुलमा पढाउँछु।’
‘ए भनेपछि हेटौँडामै छौ?’
‘हेटौँडा त माइती होला नि। घरमा छु घरमा,’ निकै सानो स्वरमा भनिन्, ‘विराटनगर, अनि हजुरको सुनाउनु के छ खबर?’
‘देखिहाल्यौ नि, ठिकै छ। सुर्खेत तिरको एउटा क्याम्पसमा अध्यापन गराउँछु, अनि अलिअलि लेख्ने काम। यसो काम यता परिराख्छ र काठमाडौँ आएको’ बताएँ।
फेरि मौनता र टोलाई हाम्रो। सायद हरायौँ कि हाम्रै विगतमा। मौनतालाई तोड्दै भने केही खाऊँ। झल्याँस्स हुँदै भनिन्, ‘हट लेमन।’
‘हट लेमन छोडेको छैनौ?’
‘नाइँ, यही विशेष लाग्छ।’
‘म पनि हट लेमन नै,’ इसारा गरेँ साहुजी तिर। सायद हामी दुवैले बिर्सिएका छैनौँ।
‘बिहे गर्नु भयो?’
‘नाइँ।’
‘अरू कोही?’
फेरि मेरो नाइँको सङ्केत।
‘अनि किन?’
‘सायद कसैले बाचा बिर्सियो अनि आजकल यी सबै बाध्यता जस्तै लाग्छ। तिमीलाई नि थाहा छ त म बाध्यतामा रमाउने मान्छे होइन। त्यसैले पूर्णविरामहरू आजकल निकै प्यारा लाग्छ।’
‘मलाई माफ गर्नुस् है,’ मलिन स्वरमा भनिन्।
मैले भनेँ, ‘किन माफी नै माग्नु पर्छ र! त्यो बेलामा हाम्रो विकल्पहरू, हाम्रो आँटहरू नै कमजोर भएर होला कि। जे छ समयसँगै त हिँड्नु पर्यो नि होइन र? बस् अब यस्ता कुरा नगरौँ। बस् हरेक गोरेटोले सम्झाउँछन्। समयले याद दिलाउँछन्। बस हिँड्नु नै त छ, जीवनका गोरेटोहरू।’
हट लेमनको मौनतासँगै हजारौँ गफ गरिएछ। विगतका समुद्रहरूमा डुबुल्की मारिएछ। सँगै खाएका बाचा कसम, जो पूरा हुन सकेनन् तिनको उचाइ चाहिँ फेरि पनि नाप्न सकेनौँ।
अचानक उनको मोबाइलमा घण्टी बज्यो। सायद कोही पर्खिरहेछ उनलाई। लाग्थ्यो समय यही रोकियोस्। ऊ मेरो आँखा अगाडि यसरी नै भइरहोस्। तर किन रोकिन्छ र समय हाम्रा लागि मात्रै! रोकिने भए पहिला नै रोकिन्थ्यो होला नि। पहिला पनि छुट्टिने सङ्केतमै टाढिएका थियौँ, फेरि जाने भन्ने इसारासँगै उठ्यौँ।
फेरि बिछोडको बाटोमा लम्कियौँ, अर्को भेट अनिश्चित बनाएर। न त मैले उनको खुसी सोधेँ, न त उनले मेरो नै। फर्किँदै गर्दा आफैलाई फेरि सोधेँ- तेरो प्रेमिका को?
बस्, आँखा अगाडि टाढा भइसकेकी उसैको तस्बिर घुमिरह्यो। नाम जोडिएका, सम्बन्ध जोडिएका उनी मात्रै होइनन्। ती मध्ये पनि आशा, खोइ किन सबैभन्दा खास भइन्। थाहा छ छुट्टिएका दुई खोली हामी, अब फेरि सँगै बग्न सक्दैनौँ। उनको डुङ्गा फरक छ, मेरो फरक छ। तर आज पनि त उनको नाम सुन्दा मुटु गाँठो पर्छ। उनको सफलतामा रमाउन मन लाग्छ। अझै पनि भेटौँ भेटौँ लाग्छ।
कहिलेकाहीँ धेरै थोरै सम्झिएर टोलाएकै हुन्छु। उनको आँखामा पनि मेरो लागि त्यस्तै भाव झल्किएको प्रस्टै थियो। अब कसरी भनौँ होला के माया पनि पुरानो हुन्छ? प्रेमी/प्रेमिका पनि पूर्व हुन्छन् भनेर, जब कि जति नै विगत किन नहोस्, नाम सुन्दा नै आफ्नोपन जोडिन्छ।