बेलुकाको खाना खाइसकेपछि आमाले भन्नुभयो, ‘सुन्नुहोस् त, आइतबार कल्पनाकी नन्दको ब्याचलर पार्टी छ। १५ गते बिहे हो। मलाई दुइटैमा जानु छ। अलिक राम्रा साडी चाहिया छ। पुराना लाएर जान पनि भएन। साडी अनुसारका जुत्ता र लिपस्टिक पनि चाहियो। अहिले नै भनेकी छु। पैसा चाहिन्छ नि मलाई।’
बाले दुइटा बुढी औँला आपसमा रगड्दै भन्नुभयो, ‘कति चाहिन्छ हो तिमीलाई लुगा! हप्तामा एउटा किनेकै छौ। एउटा लुगा दुई चार चोटि लाए हुन्न भन्या। आफूलाई पैसाको कति गाह्रो छ!’
बाको अनुहार पनि खुसी थिएन।
‘हेर न बुद्धि! यत्रो जागिरे लोग्नेकी स्वास्नी भएर एउटै लुगा पटक पटक लाउने? हाम्रो चाहिँ इज्जत हुँदैन। लोग्ने मान्छेलाई पो अफिस जाँदा पनि त्यही लुगा, पार्टीमा पनि त्यही लुगा जुत्ता चल्छ। हामीलाई त हुन्न बाबै। सबैले आँखा लुगा, जुत्ता, चस्मा, गहनामा पुर्याउँछन्।’
आमा अझै के के भन्दै हुनुहुन्थ्यो, बाको मोबाइलमा म्यासेज आयो। सञ्चयकोषको ब्याज बुझाउने बेला भएको रहेछ। यो देखेपछि बाको अनुहार अझ निन्याउरो भयो। बाले आमासँग पानी माग्नुभयो।
आमाले ‘जग त्यहीँ त छ, सारेर खानु न’ भन्दै मोबाइल चलाउन थाल्नुभयो। बाको कुनै प्रतिक्रिया देखिएन।
‘हामी पनि घुम्न जाने भनेको! मौका मिलेको थिएन। हनिमुन पनि गइएन। हामीलाई पनि पचास हजार जति चाहिएको छ बुबा,’ जेठा छोराले मुख खोल्यो।
उसको यही वैशाखमा बिहे भएको थियो। बिहेमा गहना किन्न र भोज खुवाउन सञ्चयकोषबाट लिएको ऋणको ब्याज तिर्न भरखरै मात्र बाको मोबाइलमा घण्टी बजेको थियो।
बा सोच्दै हुनुहुन्थ्यो, बुहारीले छोराको हात तान्दै कानमै मुख पुर्याएर छोरासँग भनिन्, ‘कहाँ पचास हजार मात्र भनेको, एक लाख भन्नुपर्दैन! मिल्यो भने समुद्र हेर्नुपर्छ यसपालि!’
बाको बोली फुटेन। बाले रिमोट लिनुभयो र टिभीमा समाचार हेर्न लाग्नुभयो। समाचारमा प्रसारण भइरहेको थियो, ‘यस वर्ष राष्ट्रसेवकको तलब चाहेर पनि बढाउन सकिएन। महँगी भत्ता केही बढाइएको छ।’
बाले एक पटक फेरि भृकुटी खुम्च्याउनुभयो। अझै पनि बाको क्रिया प्रतिक्रिया देखिएन।
एकछिन कोठा सुनसान भयो। टिभीमा समाचार आइरह्यो। घरबाहिर गाईबाख्रा कराउँदै थिए। बाका मनमा कुरा खेलिरहेका थिए, धन्न यी पशुले चाहिँ कुनै माग गर्दैनन्। यी गाईबस्तुले पनि घरका मानिसले झैँ माग राख्दा हुन् त म के हुन्थेँ होला। मानिस हुनुभन्दा त पशु हुनु वेश छ। के गर्नु मानिस भइहालियो।
बा एकोहोरिइरहनु भएको थियो। सन्नाटालाई तोड्दै कान्छी छोरीले भनी, ‘बा! टार्न पाइँदैन नि! तलब बढोस् नबढोस् मलाई मतलब छैन। यसपालि त मलाई आइफोन चाहिन्छ। सबैका हात हातमा छन्। आफू भने कुन्नि कसको सन्तान भनेजस्तो। सबैले तिम्रो बाबु त जागिर छन् भन्छन्। आफूलाई भने सधैँ लाज। कति चोटि भनिसकेँ! कहिल्यै सुन्ने होइन!’
‘अनि तिम्रो मोबाइल छ त छोरी। बिग्रियो र?’
‘बिग्रिँदा मात्रै अर्को किन्छन्? हाम्रो पुस्ता तपाईँको जस्तो हो र? हाम्रो त जेन-जी पुस्ता हो, जमानासँग रमाउने?’ छोरीले निकै ठुलो झटारो हानी। बाले सुनिरहे।
बा सोच्न थाले, ‘के भएका होलान् सबै! पैसा कसरी कमाइन्छ भन्ने कसैलाई थाहा छैन। खर्च गर्ने योजना सबैका छन्। कमाएर बचाउने सोच न कसैमा छ, न कसैमा बुद्धि छ। यस्तो चालाले कसरी चल्ला घरबार?’
हजुरबाका पालामा टारी खेतभरि धान फल्थ्यो। तीन चार थाङ्ग्रा मकै हुन्थे। दाल, तेल, सागपात, फलफूल आफ्नै बारीमा हुन्थ्यो। नुन चिनी, कपडाबाहेक खासै किन्नुपर्दैनथ्यो। आइतबारे मेलामा जाँदा जिलेबी खान पाइन्थ्यो। पैसाको खासै काम आउँदैनथ्यो। मेलापर्मबाटै काम हुन्थ्यो। फोन, टिभीको त के कुरा, साहु महाजनका घरमा मात्र रेडियो हुन्थ्यो। तै पनि व्यवहार चलेकै थियो, सबै खुसी थिए। अहिले सञ्चार प्रविधिको विकसित युग भएर पनि किन यस्तो अभाव भएको होला। महिनाभरि कमाएको पैसाले घर खर्च चल्दैन। सबैले जागिरे देख्छन्। घरमा बाको आस सबैमा छ। बाले चाहिँ कोहीसँग माग्न नमिल्ने रहेछ। कसले बुझ्ने होला बाको व्यथा?
बा सोच्दै हुनुहुन्थ्यो, कान्छो छोरो कानमा इयरफोन भिरेर हल्लिँदै कोठामा छिर्यो। यति बेर ऊ आफ्नै कोठामा मस्त थियो। कोठामा छिर्नासाथ उसले भन्यो, ‘ड्याड! हजुरको सेलरी आएन? स्यालरी आएपछि ल्यापटप किन्दिन्छु भन्या छ नि! मलाई त जस्तोतस्तो ल्यापले हुन्न, गेमिङ ल्याप चाहिन्छ है। मजाले गेम खेल्नु छ।’
‘अनि पढ्नु चाहिँ पर्दैन छोरा? गेम मात्र खेल्ने?’
छोराले फुर्तीसाथ भन्यो, ‘ल ड्याडलाई थाहै छैन। अब त सबै सब्जेक्टमा इन्टरनल एक्जाम हुन्छ। टिचरले नम्बर हाल्ने। टिचरले नम्बर हालेनन् भने त तिनका टाउकामा जिरो हान्ने हो। पढाइको चिन्ता नलिस्यो। बरु ल्याप चाहिँ ब्रान्डेड ल्याइदिस्यो है। एसेम्बलमा त गेम राम्ररी चल्दैन।’
अरूका मागमा त बा बोल्न सक्नुभएन, यो त कान्छो सन्तान। माग पूरा नगरिदिए केही अनर्थ होला भन्ने डर। बाले टाउको हल्लाउनु भयो। सायद छोराले हुन्छ भन्ने बुझेर होला केही नबोली आफ्नै रङ्गशालातिर फर्कियो।
सबैका माग सुनेपछि बाको मस्तिष्कले बजेटको नीति तथा कार्यक्रम बनाउन थाल्यो। के अब परिवारको आन्तरिक स्रोतले घर चल्ला? चलेन भने बाह्य स्रोतको व्यवस्था कसरी होला? योजना बनाउँदा बनाउँदै मनले भन्यो, ‘बा! हतारमा निर्णय गर्नु ठिक छैन। आजलाई छलफल थाती राखेर भोलिका लागि बैठक सारौँ।’
मनले भनेका कुरा स्विकार्दै बाले सबैतिर आँखा डुलाउँदै भन्नुभयो, ‘मैले सबैका कुरा सुनेँ। सबैका मागप्रति म सकारात्मक नै छु। तर पहिले म बैङ्क ब्यालेन्स, पैसा आउने स्रोत र मागको औचित्य विचार गर्छु अनि भोलि बिहान खाना खाने बेलामा फेरि छलफल गरेर निर्णय गरौँला है। अहिले सुतौँ।’
अरूको अनुहार त ठिकै थियो तर बुहारीको अनुहार चाहिँ ठुस्के झैँ देखियो।
रातभरि बाका मनमा धेरै कुरा खेले। एक मनले भन्यो अलिकति भएको बारी बेचेर यी सबको इच्छा पूरा गरिदिनु पर्यो। फेरि अर्को मनले भन्यो, यो ठिक होइन, नचाहिँदा इच्छा पूरा गरेर बानी बिगार्नु हुँदैन। यी सबलाई दुःख सिकाउनुपर्छ। कोल्टो फेर्दाफेर्दै बाको मनमा एउटा जुक्ति फुर्यो। यो जुक्ति फुरेपछि चाहिँ बा निदाउनुभयो।
आज घरका सबै जना चाँडै उठे। आमाले चिया पकाउन भान्सामा पस्न लाग्दा बुहारी पसिन् र सबैलाई चिया पकाएर दिइन्। सबै हँसिलाखुसिला थिए। घरका काम पनि चाँडो चाँडो भए। सबैका अनुहारमा नयाँ आशा भरपुर देखियो। नभन्दै आठ नबज्दै आज खाना तयार भयो। सदा झैँ अफिस हिँड्ने बेलामा खाना पाकेन भनेर रडाको गर्नु परेन।
खाना खानुअघि बाले सबैलाई बोलाउनु भयो। उहाँले आफ्नो कमाइ, ऋण, धन सबैको फेहरिस्त बताउनुभयो र भन्नुभयो, ‘मैले तिमीहरू सबैका माग सुनेँ। सारै राम्रा माग थिए। यस्ता माग राख्न सक्ने मेरा परिवारका सबै सदस्य धन्य छन्। मलाई माग पूरा गर्ने तीव्र इच्छा भयो तर हाम्रो आर्थिक स्रोतका कारण म माग पूरा गर्न असमर्थ भएँ। यसैले आजका मितिदेखि लागु हुने गरी मैले बा पदबाट राजीनामा दिएको छु। अब म परिवारको साधारण सदस्य मात्र बनेर मेरा पनि माग यसै गरी प्रस्तुत गर्ने प्रण गर्छु।’
बाको निर्णयले परिवारमा ठुलै भुइँचालो गयो।