‘कुखुरी काँ, बासी भात खाँ…,’ पिँढीमा बसेर लय हालेर ज्यान पूरै अगाडि पछाडि हल्लाउँदै दया पाठ पढिरहेको छ। उसका बा आँगनमा खिया लागेर चलाउन साह्रो भएको साइकलको पाउँदा नि र जन्जिरमा तेल हालिरहेका छन्।
‘बा, हामी पनि कुखुरा पालौँ न?,’ पढ्दा पढ्दै दया आफ्नो शरीरमा झ्याप्प ब्रेक लगाउँछ र आँगनमा स्ट्यान्ड लगाएर तेल हालेपछि केही सहज भएको पाउँदा नि हातैले घुमाइरहेका आफ्ना बालाई सोध्छ।
‘पढ्ने बेलामा कहाँ कहाँ ध्यान डुलाउँछ यो! खुरुखुरु पढ्, किन चाहियो कुखुरा तँलाई अहिले?,’ बाले हप्काउँछन्।
ऊ चुपचाप आफ्नो किताबको पाना पल्टाउँछ र फेरि पढ्न थाल्छ। बाको खप्की खाएपछि भने ऊ अघिको भन्दा सानो स्वरमा पढ्न थाल्छ।
साँझमा खाना खाने बेलामा दयाकी आमाले बूढालाई सोध्छिन्, ‘छोरोले कुखुरा पालौँ न, कुखुरा पालौँ न! भनेर रट लगाको लगाई छ। के गर्ने होला?’
‘बिहान मलाई पनि भनेको थ्यो। हैन किन चाहियो रे अहिले त्यसलाई कुखुरा?’
बुढाले कचौरामा बाँकी रहेको दाल भातमा खन्याउँदै भने, ‘त्यही पनि भनेर मात्र हुन्छ? खोर चाहिएन? चल्ला चाहिएन? यसै हुन्छ?’
‘अब तपाईँ आफैँ काठको मिस्त्री हुनुहुन्छ। छोराले रहर गरी त हाल्यो। तैपनि कौनसा ठुलो कुरा रहर गरेको हो र! जाबो एउटा खोर र केही चल्ला त हो नि! त्यसमाथि खोर त तपाईँ आफैँ बनाइहाल्नुहुन्छ नि। तपाईं तयार भए, चल्ला ल्याउने जिम्मा बरु मेरो भयो लु! छोराको खुसीको लागि त्यति गर्दिनु न ल!’
‘ल ल बिचार गरौँला,’ उनी यति भनेर उठे र थाल लिएर जुठेल्नुतिर गए।
त्यसको भोलिपल्टबाटै दयाका बाले साइकलमै अलिअलि गर्दै काठ ल्याउँदै थुपार्न थाले। पहिले-पहिले पनि बाले यसै गरी काठहरू ल्याइरहने र सामानहरू बनाएर बेचिरहने हुँदा दयाले त्यस्तो केही सोचेन। सोच्ने कुरा पनि थिएन।
एक दिन ऊ स्कुलबाट फर्किँदा आँगनमा कुखुराको खोर तयार भएर ठडिएको थियो। उसले त्यति बेलासम्म पनि त्यो उसैको लागि हो, घरकै लागि हो भन्ने भेउ पाइसकेको थिएन। उसलाई केही भनिएकै थिएन। यो सब बुझ्ने उसको उमेर पनि भएको थिएन।
त्यही साँझ, उसकी आमाले भेडी फारमबाट लेयर्स प्रजातिका पाँच वटा स-साना चौध दिने चल्लाहरू लिएर आइन्। मिलबाट ल्याएको धानको डँडाल्नो बिछ्याएपछि खोर तयार भयो।
साँझपख गृहकार्य सकेर बाहिर आँगनमा निस्किँदा उसले नजिकै स-साना चल्लाहरू चिरबिर गर्दै कराइरहेको सुन्यो। तर उसले त्यो आँगनमा हो, या कुनै रूखमा ठम्याउन सकेन।
यो सब उसकी आमाले पिँढीको एउटा खामोमा अडेस लगाएर हेरिरहेकी थिइन्।
दया बिस्तारै आवाज पछ्याउँदै खोरनेर पुग्यो। दुइटा हत्केला जालीमा राखेर खोर भित्र चियायो। भित्र उसले जे देख्यो, त्यो उसलाई विश्वास भएन। अविश्वासमा उसले आफ्नो टाउको जालीबाट पर हटायो। केही सोच्यो र फेरि उसै गरी हत्केलाले आँखाको दुवैपट्टि बार लगाएर खोरभित्र चियायो।
अब उसको खुसीको पारावार रहेन। ऊ बुरुक्क उफ्रियो र ‘आमा... आमा... चल्ला… खोर.. हाम्रो घरमा…’ यस्तै बरबराउँदै ऊ भान्छातिर गयो।
आमा भएनेर पुग्दा उसको श्वास फुलेको थियो। उत्साह र खुसीले उसको आँखा टम्म भरिएका थिए।
घुँडामा खुट्टा राखेर निहुरिँदै उसले अड्की अड्की भन्यो, ‘आमा, त्यो खोर। आँगनमा। चल्ला। हाम्रो हो?’
छोराको आँखाको खुसीको चमकलाई झन् चहकिलो पारिदिँदै उनले भनिन्, ‘हो।’
‘याऽऽऽहु! हाम्रो घरमा पनि कुखुरा छन्। कुखुराको खोर छ,’ ऊ उफ्रिँदै फेरि आँगनतिर गएर फेरि खोरभित्र हेर्यो। देख्यो, अँध्यारोमा चल्लाहरू खोरको कुनामा गुजुल्टिएर बसेका छन्।
उसले सबैलाई आफ्नो साथी हुन आग्रह गर्यो। त्यो साँझ उसले धीत मरुन्जेल चल्लाहरूसँग एकतर्फी बात मार्यो। राती आएर उसका बाले चल्लाहरूलाई चिसो हुन्छ भनेर जुटको बोराले खोर छोपिदिएपछि बल्ल ऊ सुत्न गएको थियो।
समय बित्दै गयो। चल्लाहरू हुर्किँदै गए। पाँच मध्ये दुई चल्ला, खै के भएर हो, मरे। बाँचेका तीन, दिन प्रतिदिन ठुला हुँदै थिए। ती तीन मध्ये एक भाले निस्कियो भने दुई पोथी।
हुर्किएपछि उनीहरू राती मात्र खोरमा बस्थे। नत्र प्रायः घर वरपर, मलखाद वरपर र बगैँचा वरपर खनिखोस्री खान्थे। दानापानी कम दिए पनि पुग्थ्यो। निकै सन्तोषी थिए।
हेर्दाहेर्दै पोथीहरू अण्डा दिने भए। पोथीहरू कहिले कता, कहिले कता गएर अण्डा पार्थे। दया स्कुलबाट आएपछि दैनिकीमा आमा र उसको अण्डा खोज्ने नयाँ काम थपिएको थियो।
भाले भने अलार्म घडी बनेर बिहानै बास्थ्यो। हर बिहान खोरबाट निस्किएर उदाउँदो घामको प्रकाशमा आफ्ना कुँजिएका पखेटाहरू फड्फडाएर दिनलाई स्वागत गर्थ्यो। उसको जुरो राऽतो थियो- असामान्य तर सुन्दर रातो। लोती पनि उस्तै राता थिए। चुच्चो नाम जस्तै चुच्चो र लामो थियो। बास्दाखेरि ऊ आफ्नो चुच्चो यसरी खोल्थ्यो लाग्थ्यो, त्यो उसको चुच्चो नभएर कुनै चिम्टा हो। पुच्छरका हरिया, निला, पहेँला, खैरा भुत्लाहरू उसको चालसँगै बडो तन्मयका साथ हल्लन्थे।
आकारमा उसैका उमेरका पोथीभन्दा लगभग दोब्बरै ठुलो थियो ऊ। त्यसैले उसका बा उसलाई जख्खडको भाले भन्थे। आफू बाहेकको अरू कुनै चरा उसको क्षेत्रभित्र आउँदा मात्रै पनि ऊ तिनलाई गिर्गिरी लखेट्थ्यो। यसरी उसले आफ्नो क्षेत्राधिकार पनि आफैँले तोकेको थियो।
एक बिहानको कुरा हो। भाले आफ्ना पखेटा तन्काएर भर्खर बास्ने तरखरमा थियो। बाटोको घर भएकाले उसले घाँटी तन्काएकै बेला माइला हजुरबाले उसलाई देखेछन्। उनी मासुको सोखिन मान्छेको रूपमा घरटोलमा परिचित थिए। बाघको सम्म मासु चाखेको जिकिर गर्ने उनी कुखुराको मासुको त पारखी नै थिए। यस्तोमा त्यो जख्खडको भाले देख्दा उनको मुख रसाएन भनेर भन्ने आधार निकै कम छन्।
‘कान्छा, भाले त जख्खडकै पालेको रहेछस्! कति दाम पाए बेच्छस् त?,’ उनले तगारोबाट छिर्नासाथै मकै भुट्ने सिन्का बनाइरहेका दयाका बालाई सोधे।
‘ओहो..माइला बा, कताबाट बाटो बिराउनुभयो त नि आज? आउनु न बस्नु,’ दयाका बाले मुढा अगाडि सारिदिँदै भने।
‘कताबाट हुनु नि, यसो चा खान निस्केको थेँ, यो जख्खडको भाले देखेर आफूलाई रोक्नै सकिनँ र आएँ नि,’ मुख चुच्चो पारेर भालेतिर इसारा गर्दै उनले भने।
दयाका बा बिलखबन्दमा परे। केही बोल्नै सकेनन्।
‘पाँच वटा सय दिन्छु, मलाई बेच् ल,’ बाजे आफैँले भालेको मोल गरे।
‘तर माइला बा…!’
‘तर के? त्यहाँ भन्दा बढ्ता त दिन्न है फेरि!’
‘हैन, माइला बा! यो भाले त छोरोले साह्रै रहर गरेर पालेको हुँ। मैले बेचेँ भने त भरे स्कुलबाट आएर वितण्डा मच्चाउँछ त्यसले। साह्रै माया गर्छ यसलाई। त्यसैले मलाई माफ गरिदिनु होला, माइला बा, यो चाहिँ हजुरलाई बेच्न सकिनँ।’
‘जाबो एउटा बच्चोसित डराएर पनि हुन्छ? लु राख्, यो सय अहिले। बाँकी ४ सय भरे फर्किँदा दिन्छु र भाले लिएर जान्छु। कति बजे आउँछ तेरो छोरो?,’ उनले सयको नोट उनीतिर बढाउँदै भने।
साह्रै कर गरेपछि उनले माइला बाको कुरा काट्न सकेनन्। अनिच्छाकै बिचमा उनले हात अगाडि सारेर उक्त सय रुपैयाँ बैना लिए।
उनले पैसा बुझेपछि माइला बाले आफ्ना घुम्रिएका जुँगा गर्वले मुठारे र आफ्नो बाटो लागे।
यता हातमा सय रुपैयाँको नोट लिएर उनी धेरै बेरसम्म माइला बा गएको दिशातिर हेरिरहे।
संयोग नै मान्नुपर्छ, माइला बा र दया स्कुलबाट आउने समय एकै परिदियो।
माइला बाले बाँकी पैसा दिँदै गर्दा दया तगारो भित्र छिरेको थियो। उसले देख्दा उसका बा त्यो जख्खडको भाले आफ्नो कोखिलामा च्यापेर उभिएका थिए। ऊ सिधै आफ्ना बा नेर गयो र भालेलाई आफ्नो काखमा लिन खोज्यो।
‘तेरो भाले त मैले किनिसकेँ। लु ला बाँकी पैसा,’ यति भनेर माइला बाले हातको पैसा दयातिर सारे।
त्यो सुन्नासाथै उसको मन भरङ्ग भयो। मन अमिलो भएर आयो। आँखामा बादल लागे। उसको शरीर तातो भयो। रिस पनि उठ्यो उसलाई। तर त्यो खालको संवेदना उसको लागि बिलकुल नयाँ थियो उसको लागि, त्यसैले सुरुमा त के गर्ने हो मेसो पाएन उसले।
‘मलाई तपाईँको पैसा चाहिँदैन। हामी यो भाले बेच्दैनौँ,’ उसले रुन्चे स्वरमा भन्यो र पैसा भुईँमा हुर्याइदियो।
‘कस्तो सोमत नभएको केटो रहेछ गाँठे यो त! दिएको पैसा फाल्दो पो रहेछ ए! त्यसै लान लागेको हो र?,’ माइला बा पनि रिसले फुले।
दयाका बाआमा ठुलो धर्मसंकटमा फसेका थिए।
‘नाइँ के बाबा, नाइँ के आमा! यो भाले नबेच न! बाजेलाई जान भन्दिनु न,’ उसको भक्कानो फुट्यो। याचना मिसिएको आँखाले पालैपालो आफ्नो बाआमालाई हेर्यो। भालेलाई उसले बाको हातबाट लिएर अघि नै देखि आफ्नो कोखिलामा च्यापिरहेको थियो। त्यसलाई पनि उसले एक कारुणिक नजरले पुलुक्क हेर्यो। भाले पनि उसको स्नेहको बानी परेकाले नचलीकन काखमा आरामसँग बसिरहेको थियो।
भाले नपाएपछि बैनाको पैसा समेत फिर्ता लिएर माइला बा फन्किँदै आफ्नो घरतिर लम्किए।
त्यसको भोलिपल्ट बिहान अचम्मको घटना घट्यो। दयाकी आमा उठ्दा आँगनभरि कुखुराको भुत्लै भुत्ला असरल्ल छरिएका थिए। त्यो देखेर दयाकी आमा निकै अत्तालिइन्। सुरुमा त उनलाई कसैले कुखुरा चोरेर लगेको हो कि भन्ने अंशका लागेको थियो। तर पछि दयाका बाले छरिएका भुत्ला पछ्याउँदै जाँदा मलसाँप्रोले मारेर पल्लो बारीमा छोडेको भेट्टाए। त्यो त्यही जख्खडको भाले हो भन्ने थाहा हुने बित्तिकै थप बिस्मात पर्यो उनीहरूलाई।
दया सधैँ उठ्ने बित्तिकै खोरमा गएर भालेसँग बात मार्थ्यो। अनि खोरको ढोका खोलेर उनीहरू चर्न थालेपछि उनीहरूलाई हेर्दै नास्ता गर्थ्यो। त्यस बिहान, ऊ अलि अबेर सम्म सुतिरहेको थियो। अब उसलाई के भन्ने भन्ने चिन्ताले हुँडलिरहेको थियो उसका बाआमा दुवै जनालाई।
सोचमग्न दयाका बाले एकैछिन सोचेर ‘म कुरा मिलाउँछु, तिमी चुप बस’ भन्ने इसारा गरे। उनले बुझेका थिए, खोरमा भाले नदेखेपछि दयाले पक्कै पनि वरपर खोज्ने छ। ऊ यसै बस्ने वाला छैन। नानाभाँती प्रश्न गर्ने छ। उनीहरूमाथि शंका गर्ने छ। उनी यो कुरामा पनि विश्वस्त थिए कि, प्रश्न सोध्दा सोध्दै थाकेपछि ऊ फेरि आफ्नो वरपर हेर्ने छ। छरिएका भुत्ला देखेपछि उसले पनि पक्कै पछ्याउने छ, छरिएका प्वाँख र भुत्लाहरू र ऊ पनि पुग्ने छ जख्खड भालेको पार्थिव शरीर नेर जहाँ मलसाँप्रोले उसलाई छोडेर गएको छ।
नभन्दै दया उठेर सधैँझैँ खोरमा गएर हेर्यो। खोरमा भाले थिएन। वरपर खोज्यो। कतै देखेन। खोरमा पोथीहरू निकै डराएको अवस्थामा थिए। अरू बेला खोरको ढोका खोल्दा निकै उत्साहित भएर बाहिर निस्किन तँछाडमछाड गर्ने पोथीहरू आज डरले एकै कुनामा गुजुल्टो परेर बसिरहेका थिए।
पहिले त उसले ऊ नउठ्दै आफ्नो बाले भाले बेचेका पो हुन् कि भनेर आफ्ना बातिर शंकाको दृष्टिले हेर्यो। एकैछिनमा छरिएका प्वाँखमा आँखा परेपछि ऊ पछ्याउँदै गयो। पछ्याउँदै ऊ घरबाट निस्केर सडकमा आइपुग्यो। सडक पार गर्यो। सडक पारी कोदो बारीको बिचमा पुगेपछि ऊ टक्क रोकियो। बाटोवारि घरबाट बाआमा निरीह आँखाले उसैलाई टुलुटुलु हेरिरहेका थिए।
भालेको शरीर देखेपछि गहभरि आँसु लिएर एक पटक उसले आफ्ना बाआमालाई हेर्यो। घुँडा टेकेर बस्यो र एकैछिनमा मृत भाले टिपेर आफ्नो छातीमा टाँस्यो। त्यसपछि मृत भालेलाई टिपेर ऊ घर आयो।
खाल्डो खनेर गाड्न ऊ कोदालो लिएर बारीमा गयो। सकी नसकी कोदालो बजारिरहेको दयालाई देखेर उसकी आमाको मन अमिलो भएर आयो। उनी नजिकै गएर उसको हातबाट कोदालो लिइन् र उसलाई सघाइदिइन्। आमाछोरा मिलेर मृत भाले पुरे।
यसरी आमाछोरा मिलेर भालेलाई पुरेर मात्र के भ्याएका थिए, खोरबाट एउटा पोथी कराउन थाली— क्ककाँक…क्काकँक्….क्काकँक्……। मतलब, पोथीले भर्खर अण्डा पारेकी थिई।