‘साथी, सरी! मसँग थिएन यार!’ भनेर उताबाट म्यासेज आएको रहेछ। बिहान क्लासमा हुँदा म्यासेज आएको थाहा पाइनँ। कोठामा पुग्दा भने म्यासेज देखेँ। मैले सीन गर्न मात्र पाएको थिएँ बत्ती गइहाल्यो।
अब लाइन आएपछि रिप्लाई गर्नुपर्ला भनेर खाना खाएँ। तर खाना खाइसकेपछि पनि बत्ती आएन। बत्ती आउला आउला भन्दा भन्दै दिउँसो, साँझ कुर्दै रात पर्यो। सुर्खेत न हो, बत्तीको त अब के कुरा गर्नु? बत्ती नभएपछि वाइफाई चल्ने कुरा पनि भएन। नेट नभएपछि फेसबुक चलाइएन। त्यसैले त्यो दिन म्यासेज रिप्लाई गर्न पाइनँ।
राति सुतेको बेला बत्ती आउन त आएछ फेरि कतिखेर गइहालेछ। भोलिपल्ट बिहानै म कलेज गइहालेँ। बत्ती थिएन। मोबाइलमा चार्ज पनि सकिएको थियो। कलेजबाट फर्केर आउँदा भने बत्ती रहेछ। हत्तपत्त मोबाइल चार्जमा राखेर केही छिनपछि ‘ठिकै छ नि केही छैन, इट्स ओके डियर!’ भनेर रिप्लाई गरेँ।
साथी लेखापाल, आर्थिक वर्षको असार मसान्तको कामको चापले दिउँसो व्यस्त थिए होला। त्यसैले सायद म्यासेज हेर्न पाएका थिएनन् अनि बेलुका तिर म्यासेज हेरेछन् क्यारे। म कोठामा बेलुका आठ बजेको समाचार सुन्दै थिएँ। उताबाट म्यासेन्जरमा सिधै भिडियो कल आयो। कल रिसिभ गरेँ।
‘साथी सरी यार! रिसायौँ क्या यार! किन होला हाम्रो म्यासेज हेर्ने तर रिप्लाई नगर्ने गरेको के?’
यता म सुर्खेतको बत्तीको समस्याको कारण बोल्न पाएको थिइनँ। उता भने ऊ आफूसँग रिसाएको कारण बोलेन कि भन्ने ठानेछ। अनि मैले भनेँ, ‘साथी यार, म रिसाएर नबोलेको होइन के, सुर्खेतको बत्तीको समस्या तिमीलाई थाहा छँदै छ नि। त्यहीँ भएर हो के रिप्लाई ढिला भएको।’
उताबाट ऊ फेरि बोल्न थाल्यो- ‘साथी, साँच्चै यार मसँग थिएन के अस्ति। तिमीलाई पर्दा जाबो यार दुई हजार त्यहीँ पनि सापटी दिन सकिनँ। तलब आएको एक दुई हप्तामै सकिजान्छ यार पैसा पनि। बच्दैन भनौँ कि बचाउन सकेको छैन भनौँ, यस्तै छ जागिरको हालत।’
साथीको भिडियो कलमा देखिएको दृश्य र बोलीको लरबराइले सजिलै आकलन गर्न सकिन्थ्यो; साथीलाई असार मसान्त मात्र होइन, नसा पनि लागेको छ भन्ने। अनि मैले भनेँ, ‘होइन ठिक छ। म बुझ्छु कुरा। सामान्यतया जागिरेसँग पैसा हुन्छ भन्ने मान्यताले पैसा सहयोग मागिन्छ। तर जागिरेको हालत यार गाह्रो हुन्छ। मलाई त्यति बेला किताब किन्नुपर्ने थियो। त्यसैले मागेको थिएँ। पछि अन्तैबाट जोगाड नि भयो। किनिसकेँ, काम भइहाल्यो। जहाँबाट जसरी भए नि काम चलाउने त हो भइहाल्यो नि! तिमीले अप्ठ्यारो नमान के!’
फेरि हाँस्दै भनेँ, ‘सानोतिनो सहयोग जोगाड हामी बेरोजगारले गरिहाल्छौँ। बरु सहयोग गर्न पाएको छैन भन्ने पश्चात्ताप लाग्छ भने हात्तीको नोटमा हुने शून्यमा एक दुई वटा शून्य थपेर हुन जाने रकमको लेभलमा सहयोग गर्ने नि त जागिरवालाले कसो?’
अनि उनले भन्न थाले, ‘जागिर छ भनेर के गर्नु? गोजी रित्तो छ यार! यो जागिर भन्ने चिज खाएको छु भन्नलाई मात्र रहेछ तर चाहिँदा गोजीमा सुको नहुने रहेछ।’
केटो गम्भीर भएजस्तो सुनिन्थ्यो। उनी भन्दै थिए, ‘मान्छेलाई पैसा जति भए पनि नपुग्ने रहेछ। जागिर नहुन्जेल सय दुई सय गोजीमा भए पनि दिनभरलाई पुग्थ्यो। अहिले पैँतिस/चालिस हजार तलब हुने सरकारी जागिर खाएको छु तर नबच्ने रहेछ। जागिर खाएको छ। योसँग पैसा हुन्छ भनेर दिनमा सहयोग माग्नेहरू एक दुई वटा साथी सर्कल, इष्टमित्र जहिले हुन्छन्। कतिलाई सहयोग गर्न पाएको छु त कतिलाई पाएको छैन। तर भएको बेला भने सहयोग गरिन्छ। यस्तै हजार दुई हजार मागेका हुन्छन्। दिएन भने जागिर खाएर ठुलो पल्टियो भन्छन्। दिने हो भने त्यो पैसा फिर्ता होला भन्ने आशा हुँदैन। तिनीहरू मध्ये आफै जानिबुझी फिर्ता गर्ने कमै हुन्छन्। अब फिर्ता माग्ने हो भने हजार पन्ध्र सय रुपैयाँ पनि माग्यो कस्तो चुमर रहेछ भन्छन्। तिनीहरूसँग हजार पन्ध्र सयले भएको सम्बन्ध पनि बिग्रन्छ। नमाग्ने हो भने साथीभाइ इष्टमित्रले हजार दुई हजार सापटी पटक पटक माग्दै जाने र मैले पटक पटक दिँदै जाँदा आफैँ टाट पल्टिने, गोजी रित्तो हुने स्थिति आउने रहेछ।’
मैले फेरि हाँस्दै भनेँ, ‘ए बड्डा, अनि कतै त्यहीँ भएर त होइन नि हामी बेरोजगारले पैसा सापटी माग्दा यसको कमाइ छैन, फिर्ता हुने हो कि नाइँ भन्ने डर लागेर टार्ने गरेको?’
उनले भन्न थाले, ‘यो बत्ती कसम यार त्यस्तो होइन। तिमीसँग त्यो सोचिन्न यार! मैले अरूको कुरा गरेको के। तिमीलाई त पीडा पो सुनाएको हो त।’
अनि मैले भनेँ, ‘ल ल सुनाऊ सुनाऊ।’
साथीले भन्न थाले, ‘जागिर नहुँदा हिजो त्यो समयको संघर्षको पीडा, अभावको पीडा मलाई थाहा छ। म बिर्सन्नँ यार मेरो विगत। तिमी जस्तो संघर्षको मैदानमा होमिएको मान्छेलाई सहयोग गर्न पाउनु मेरो खुसीको विषय हुन्छ। भएको दिन पक्कै गर्नेछु। हिजो मलाई पनि जागिर नहुन्जेल कसैले सय पचास दिँदा पनि ठुलै खुसी लाग्थ्यो। आफूसँग नहुन्जेल बहुत आशावादी भइन्थ्यो। जागिरवालासँगै पैसा होला भनेर सरसापट सहयोग माग्थेँ। कतिले दिन्थे, कतिले छैन भन्थे। छैन भन्नेहरूले सहयोग गरेनन् भन्ने लाग्थ्यो। तर आज यार आफै बुझ्दै छु किन छैन भनेका रहेछन्। कसरी रित्तो भएका हुँदा रहेछन् भनेर।
जागिर भन्ने चिजले समाजमा बाँच्न त सकिन्छ तर स्तरीय जीवन बाँच्न नसकिने रहेछ। इमानदारिताको कमाइले आएको तलबले आफ्नो घर खर्च पानी चलाउनमै ठिक्क हुने रहेछ। जागिर छ अलिकति राम्रो कपडा लगाऊँ, अलिकति राम्रो खाना खाऊँ, रमाइलो गरौँ भन्दा भन्दै सकिन्छ। राम्रो खानपिन लवाइखुवाइ गरेन भने पनि यो समाजले मलाई जागिर खाएको स्विकार्दैन। मलाई त्यहीँ साथी सर्कलले नै कन्जुसको ट्याग दिएर कुरा काट्ने विषय बनाउँछ। हिजो बेरोजगार हुँदा पैसा नभएर पनि सय दुई सय बचाइन्थ्यो। आज जागिर भएर पनि तलब बचाउन सकिएको छैन यार। बिजोग छ।
साथी! मेरो गोजी रित्तो पार्नमा यो समाज र समाजका मान्छेहरूको मनोविज्ञान र व्यवहारले पनि बहुत प्रभाव परेको छ। कुनै भेटघाट भयो भने कुनै चिया पसल, रेस्टुरेन्टमा बस्नु पर्यो भने जागिरवालाले त्यो समूहका सबैले खाएको तिर्नुपर्ने नैतिक परिबन्धनले पनि खर्च हुन्छ। त्यस्तै कुनै आफन्त इष्टमित्रसँग यात्रा गर्नुपर्यो भने जागिर खाएकै कारण उनीहरू समेतको गाडी भाडा तिर्नुपर्ने नैतिक कठघरामा परिन्छ।
कहिलेकाहीँ सहर बजारतिर जाँदा आफन्त, साथीहरू कसैले कुनै चिज, सामान ल्याइदिनु होला पैसा यतै आएर दिउँला भनेर कल गर्छन्। अब नलग्ने हो भने कति न आफ्नै पैसा हालेर ल्याउनुपर्ला जस्तो गर्यो भन्छन्। लग्दिने हो भने त्यो सामानको पैसा दिँदैनन्। पैसा माग्ने हो भने कसरी माग्ने माग्न सकिन्न। आफैँ बुझेर दिने भने बिरलै हुन्छन्। अब यसरी पनि नसोचिएको ठाउँबाट खर्च हुने रहेछ। त्यस्तै सामाजिक कार्य विवाह, बर्थडे पूजाआजा, दुखसुख कार्यक्रममा उपस्थित हुँदा दान दक्षिणा राम्रै दिने, लेखाउने परिबन्ध आइपर्छ। कम दिइयो भने जागिर खाएर पनि यति मात्रै दियो भनेर चियोचर्चा गर्छन्। दक्षिणा दिँदा जागिरवालाले राम्रै दिन्छ भनेर सबैले निहालेर हेर्छन्। आशा पनि गर्छन् विवश पनि परिन्छ यार। म जागिरे छु भन्ने कुराको साबित गर्न खर्चको दायरा बढाउनुपर्ने हुन्छ। त्यस्तै गाडी घोडा लगायत साधन किन्नु पर्ने स्थिति हुन्छ अनि कहाँबाट पैसा बच्छ त अनि!
जागिर खाएसँगै पूरै पारिवारिक दायित्व बढ्छ। बा-आमा, भाइबहिनी सबैको खर्च पानी हेर्नुपर्यो। मध्यम वर्गीय परिवार त्यहीँ पनि घरमा एउटा मात्रै जागिरे भएपछि त घरपरिवार चलाउन पाल्नै ठिकै हुन्छ साथी। जागिर खाएपछि यसरी खाउँला, रमाउँला भनेर सोचिएका कुरा पुरा नहुने रहेछन्। आफ्नै पढाइ लेखाइको दौडधुपले पनि खर्च व्यापक हुने रहेछ। सरुवा, बढुवादेखि तालिम पाउन, हाकिम नेताहरूसँग नजिक हुनु पनि खर्च गर्नुपर्ने स्थिति आउने रहेछ। आफै पनि ऋण सापटी मागेर चल्नुपर्छ यार! कमाउने बाटो एउटै छ मात्र जागिर तलब हो। तर खर्च गर्ने बाटा हजारौँ हजार हुँदा गोजी कहिल्यै भरिँदो रहेनछ मात्र रित्तो हुने रहेछ यार!
तिमी भन्छौँ नि साथी, यो समाज र सामाजिक संरचनाले यहाँ हरेकलाई भ्रष्टाचार गर्न प्रेरित गर्छ। म यो कुरा बहुत सम्झन्छु। मलाई बहुत महसुस भइरहन्छ यार! हेर त मैले जागिर खाएको नि तीन वर्ष भइसक्यो, उता समाजमा भने कुरा गर्न सुरु भइसक्यो- घर घडेरी जोड्यो कि नाइँ, के छ तेरो छोराले भन्दै बा-आमालाई गाउँ समाजका मान्छेहरूले सोध्दा रहेछन्। मलाई पनि सोधिरहन्छन्। बा-आमलाई समेत अप्ठ्यारो पारेपछि र आवश्यकता पनि परेपछि बैंकदेखि ऋण ऋण गरेर पनि घडेरी जोडन लाग्नुपर्छ। बैंकको किस्ता तिर्नै ठिक्कै हुन्छ। अनि के को जागिरेले गोजीमा पैसा हुने हो? त्यसैले जागिरे वालाको गोजी रित्तो हुन्छ यार।
इमानदार व्यक्ति तलबकै लयमा खर्च गर्छ। खराब नियत र आचरण भएको व्यक्ति भ्रष्टाचार गरेर पैसा कमाउने बाटो खोज्छ। त्यसैले त भ्रष्टाचार बढ्छ। हाम्रो समाज यस्तो छ कि भ्रष्ट जागिरेसँग इमानदार जागिरे कर्मचारीको तुलना गरेरै भ्रष्टाचार गर्न प्रेरित गर्छ। कर्मचारीको गोजी रित्तो हुने स्थितिले भ्रष्टाचारको बाटो खोजी हुन्छ। जब सरकारी कर्मचारीको गोजी रित्तिन्छ तब राज्यको ढुकुटी रित्तिन सुरु हुने रहेछ। अभावको छटपटीभन्दा गलत गरेरै पूर्तिको आनन्द लिने बाटोमा लाग्ने रहेछन्।’
कुराकानी यस्तो स्थितिमा पुग्यो कि मैले उनको तलब खर्चको स्पष्टीकरण तथा बयान लगिरहेको छु र उनले मलाई बयान दिइरहेका छन् जस्तो। उनी भन्दै थिए- ‘उता गाउँघर तिर जाने हो भने फलानाको छोराले जागिर खाएर आउँदा दुई बोतल रक्सी, दुई खिल्ली चुरोट, चिया खुवायो। निकै राम्रो रहेछ। राम्रै ठाउँमा जागिर खाएको रहेछ भनेर गाउँघर चोक चौतारी, होटेलमा भेटिने बुढापाका मान्छेहरूले सुनाउँछन्। अनि आफूले जागिर खाएको इज्जत बचाउन पनि तिनीहरूलाई रक्सी, चुरोट, चिया खुवाउनुपर्ने बाध्यता पर्छ। एक हिसाबले त्यो वृद्धहरूलाई गर्नुपर्ने सेवा भाव धर्म पनि हो तर अर्को हिसाबले जागिर खाएको साख बचाउन खर्च गर्नुपर्ने बाध्यता पनि हो।
जागिर सेवा हो। सेवाको कर्मले पारिश्रमिक आउने हो। तर समाजले जागिर कमाइ हो बुझ्छ। जागिरेसँग अपेक्षा राख्नेहरू पनि धेरै हुँदा रहेछन्। त्यस कारण जागिर कमाइभन्दा बढी खर्च बन्दो रहेछ। जसरी कुनै बोतलमा पानी भर्न एउटा मात्र सानो मुख भएको र पोखिने प्वाल ठुला र धेरै भएको बोतल जति नै भरे पनि नभरिएझैँ कमाइ हुने बाटो तलब मात्र अनि खर्च हुने बाटो भने अनेकौँ धेरै भएपछि जागिर खानेको गोजी हुने भनेकै रित्तो रहेछ यार! त्यसैले यो जागिर भन्नलाई छ भन्ने मात्र रहेछ गोजी भने रित्तै हुने रहेछ यार।’
साथी बोल्दै थिए। सुर्खेतको बत्ती न हो गइहाल्यो। बत्ती गएपछि नेट भएन। नेट नहुँदा भिडियो कल काटिहाल्यो। साथी निकै गम्भीर भएर बोलेको हुँदा यसो पहिलेकै मुडमा ल्याउन ठट्टा गरेर ‘गोजी रित्तै भए पनि खल्ती, ई-सेवा, मोबाइल बैंकिङ त रित्तो छैन होला यार’ भनौँला भनेको भन्नै पाइएन। तैट! सुर्खेतको बत्ती!
तर साँच्चिकै कुरा के हो भने जागिर सम्पन्नताको साधन होइन, बस् जीवन निर्वाहको आधार मात्र हो। अझ मध्यम वर्गीय परिवारको लागी त जागिर सपना हो, जीवन हो, सम्मान हो र जीवन गुजाराको साधन हो। जागिर खाएर कोही धनी हुँदैन। जागिरको तलब बचत, प्रयोग वा लगानी सही ठाउँमा भयो भने त्यसबाट प्राप्त लाभले धनी बन्ने हो।
जागिरले गरिब हुन दिँदैन तर यसले धनी पनि बन्न दिँदैन। तर हाम्रो सामान्य सोचाइले जागिरे मान्छेसँग पैसा हुन्छ धनी छ भन्ने मान्यता बोक्दा जागिरे व्यक्ति पनि धनी बन्ने प्रयास गर्छ। ऊ जागिर अनुसारको चोखो तलबले मात्र छोटो समयमा धनी बन्न नसक्ने हुँदा लगानी गर्नतिर नलागेर कमाइ गर्ने अवैध बाटो हेर्छ र भ्रष्टाचार गर्न लाग्छ।
त्यसैले मलाई लाग्छ जागिर छ भन्दैमा त्योसँग पैसा छ भन्ने मान्यताबाट हामीले फराकिलो सोच्नुपर्छ। जागिर हुनेको सधैँ गोजीमा पैसा हुन्छ भन्ने हुँदैन, कहिलेकाहीँ रित्तो पनि हुन सक्छन् भनेर बुझ्न सक्नुपर्छ।