एक दिन मैले मेरो सबैभन्दा मिल्ने साथीलाई भनेँ, ‘तँलाई थाहा छ? म रुखसँग कुरा गर्न सक्छु।’
उसले जोडले हाँस्दै भन्यो, ‘के खाइस्? मलाई पनि दे न अलिकति।’
म पनि कस्तो हुस्सु! उसलाई यो कुरा किन भनेँ होला? सायद उसले पनि यही कुरा मलाई भनेको भए मैले पनि यस्तै प्रतिक्रिया दिन्थे होला।
चिया डेट गएको बेला यही कुरा मैले मेरो गर्लफ्रेन्डलाई सुनाएँ। जब यो कुरा उसले सुनी, पिउँदै गरेको चिया मुखबाट फोहोरा सरि उडाई अनि टिस्यु पेपरले मुख पुछ्दै भनी, ‘आर यु सिरियस?’
म धेरै मान्छेलाई अनौठो लाग्थेँ किनकि म मेरो उमेरका सामान्य मानिसहरूले भन्दा धेरै फरक कुरा गर्थेँ। मेरो कुरा प्रायः गम्भीर रूपमा लिने गर्लफ्रेन्डले नै मेरो कुराको विश्वास नगरेपछि त्यो कुरा कसैलाई नसुनाउने निर्णय लिएँ।
रुखसँग कुरा गर्न सक्नु सामान्य मानिसको लागि असम्भव र कल्पना बाहिरको कुरा थियो। केही मानिसहरू जनावरलाई सम्मोहित गर्न सक्छन् भन्ने सुनेको हो र केही मानिसहरूले चराहरूको आवाज निकालेर उनीहरूलाई बोलाएको भिडियोहरू पनि देखेको हो तर रुखसँग कुरा गर्नु असम्भव।
हाइकिङ मेरो लागि हप्ता भरिको तनाव र व्यग्रता मेटाउने थेरापी थियो। प्रत्येक शनिवार म बिरौटाबाट रानीवन हुँदै विश्व शान्ति स्तुपा हाइकिङ जान्थेँ। म प्रत्येक पटक स्तुपाबाट फर्किँदा सधैँ एउटै रुखमा विश्राम गर्थेँ। त्यो रुख बाटोभन्दा थोरैमाथि थियो। त्यो तेर्सो परेकोले अप्ठ्यारो भए पनि हिँड्न मिल्ने खालको थियो। त्यसमा बस्न पनि मिल्ने ठाउँ थियो।
त्यो रुखमा विश्राम गर्नु मेरो बानी बनिसकेको थियो। एक छुट्टै लगाव थियो त्यो रुखसँग मेरो। अन्तर्मुखी स्वभावको म अरूलाई सुनाउन नसकेका व्यथाहरू उसलाई पोख्ने गर्थेँ। कता कता उसले मेरो कुरा बुझ्छ जस्तो लाग्थ्यो मलाई।
एक दिनको कुरा हो जब मैले नियमित जसो उसलाई मेरो मनको भावहरू पोख्दै थिएँ। अरू दिनहरू विपरीत त्यस दिन कतैबाट आवाज आएजस्तो महसुस भयो। यताउता हेरेँ तर त्यहाँ कोही थिएन। कता कता अलिकति डर झैँ लागेर आयो। मेरो डर मेटाउन रुखले यो आवाज कुनै मानिसको नभएर उसकै भएको जिकिर गर्यो। मलाई पत्ताउन गाह्रो पर्यो। रुख पनि कतै बोल्न सक्छ र आफैसँग प्रश्न गरेँ।
पछिल्लो समयमा म बढी सोच्ने भएको थिएँ। जीवनको भागदौड अनि निरर्थकताले मलाई व्यग्र बनाइरहेको थियो। म बढी चिन्तन गर्न थालेको थिएँ। त्यही बढी चिन्तनको कारण मेरो मानसिक सन्तुलन त बिग्रेन भनेर मनमा कुरा खेलाएँ। तर मेरो मनको कुरा बुझै झैँ गरेर उसले भन्यो- ‘तिमीले सुनिरहेको आवाज तिम्रो दिमागको उपज होइन, यो त मेरो हृदयको आवाज हो।’
फेरि मेरो मनमा प्रश्न खडा भयो, रुख कसरी बोल्न छ र मैले उसको भाषा बुझ्न सम्भव छ? उसले मेरो शङ्का मेटाउन भन्यो, ‘म तिमीसँग कुनै शब्दको भाषामा बोलिरहेको छैन। म त तिमीसँग हृदयको भाषामा कुरा गर्दै छु जुन शब्द भन्दा पर छ। शब्दहरूको त सीमितता हुन्छ। तिनीहरूले हृदयका सबै कुरा व्यक्त गर्न सक्दैनन्। शब्दहरू त मानव निर्मित हुन् ती मानव जस्तै बनावटी हुन्छन्।’
अनि उसले सुनायो इतिहासको कुरा जब मानिस सबै प्राणी र निर्जीव वस्तुहरूसँग सामञ्जस्य राख्दथ्यो। ईश्वरको सर्वश्रेष्ठ रचना भएकाले ऊ प्रकृतिका सबै चिजहरूको संरक्षण गर्दथ्यो। आवश्यक मात्रामा प्रकृतिको उपभोग गर्दथ्यो। उसको हृदय पवित्र हुने भएकाले उसले प्रतिकृतिका हरेक चिजसँग हृदयको भाषाले कुराकानी गर्न सक्थ्यो। तर बिस्तारै उसले लोभ र पापबाट आफूलाई जोगाइराख्न सकेन। उसले प्रकृतिको संरक्षणमा उपयोग गरेको आफ्नो सर्वश्रेष्ठता अब दोहनमा उपयोग गर्न थाल्यो।
ऊ ईश्वरको सर्वश्रेष्ठ रचना भएर पनि ऊ नै ईश्वरदेखि सबैभन्दा टाढा हुन पुग्यो। जुन वरदान ईश्वरबाट उसले यो सर्तमा पाएको थियो कि ऊ जुन दिन लोभी भएर प्रकृतिको दोहन गर्ने छ त्यो दिनदेखि उसले त्यो भाषा बिर्सने छ। त्यही सर्तको कारणले उसले हृदयको भाषाको ज्ञान गुमायो। तर करुणामयी ईश्वर सान्त्वना स्वरूप फेरि यो वरदान दिए कि भविष्यमा कोही मानिसले प्रकृतिलाई गहिरो प्रेम गर्न सकेको खण्डमा फेरि त्यो भाषा केही मात्रामा उसलाई स्मरण हुने छ। र त्यही प्रकृतिप्रतिको गहन प्रेमले गर्दा तिमीलाई हृदयको भाषाको ज्ञान भएको हो।
उसले फेरि सुनायो कि मानिस जति जति ज्ञान, विज्ञान र प्रविधिमा फड्को मार्दै छ उति ऊ मानवताबाट टाढा जाँदै छ। हरेक चिजलाई उसले आफ्नो भोगको साधन देख्दै छ। प्रकृतिका हरेक चिजको दोहन गर्दै छ। उसले आर्थिक र भौतिक उन्नतिको मूल्य पर्यावरणीय असन्तुलनबाट चुकाउँदै छ। पुर्खाको पुरातन ज्ञान र प्रकृतिसँगको सहअस्तिवलाई रुढी देख्दै छ।
केही आफूलाई सभ्य समाजको पहरेदार ठान्नेहरू नै प्रकृतिको दोहनमा लागेका छन्। तर जुन मानिस सभ्य मानिस र समाजको ढोङबाट आफूलाई टाढा राखेको छ र प्राचीनतम तरिकाले बाँचिरहेको छ, उसको नै हृदय निष्कपट छ र उसमा प्रकृतिप्रति अथाह प्रेम छ। ऊ कथित सभ्य समाजको लागि नीच असभ्य होला तर ईश्वरको नजरमा ऊ नै मानव मध्येको श्रेष्ठ मानव हो।
मानिस मात्र यस्तो प्राणी हो जसले स्वधर्म बिर्सेको छ। प्रकृति हरेक चिज नियममा चलेका छन्। उनीहरू आफ्नो स्वधर्मबाट विमुख छैनन्। सूर्यले प्रकाश र ताप दिन, वायुले चल्न, ग्रहहरूले सूर्यको परिक्रमा गर्न र पानीले बग्न कहिल्यै छोडेनन्। यदि मानिसले जस्तै उनीहरूले पनि स्वधर्मको त्याग गरेको भए यो प्राणी जगतको नै अन्त्य भइसकेको हुन्थ्यो।
राती खान खाइसकेपछि बिस्तरामा पल्टिएँ। दिमागमा झलझली रुखसँगको संवाद घुमिरहेको थियो। सर्वश्रेष्ठ प्राणी भनिने मानिस भएकोमा अलिकति ग्लानि भइरहेको थियो। त्यो रुखले मानिसको श्रेष्ठको खोल हटाइदिएर सत्यता उजागर गरिदिएकोमा हृदयको भाषा बुझ्ने र बोल्न सक्ने वरदान मलाई श्राप लाग्दै थियो।
मानिस भएको नाताले कता-कता आफू पनि प्रकृतिको दोहनको जिम्मेवार हुँ भन्ने भावले छोपेको थियो। कता कता प्रकृतिको दोहन रोक्न नसकेकोले आफूलाई असहाय महसुस गरिरहेको थिएँ। हाइकिङ जान शनिवारको पर्खाइमा रहने म केही समयको लागि शनिवार नआए हुन्थ्यो जस्तो लागिरहेको थियो।