गाउँमा वसन्त ऋतु सुरु हुनसाथ व्रतबन्ध गर्नेहरूको एउटा लहर नै छाउन थाल्छ। अनि साना साना केटाकेटीहरूलाई चाड नै आएझैँ हुन्छ त्यो बेला। नयाँ लुगा लगाएर हरेक जसो व्रतबन्ध हुने घरमा बिहानदेखि साँझसम्मै केटाकेटीहरूको बाँस हुने गर्थ्यो।
त्यही साना केटाकेटीहरूको भिडको एक हिस्सा ११ वर्षीय आभा पनि बनिन्।
‘ओहो! कति राम्री नानु कस्की छोरी हौ तिमी?’ कुनै अपरिचितले आभालाई सबैका सामुन्ने सोधेको प्रश्न।
‘आमाबुबाको!’ हजुरबा, हजुरआमाकी प्यारी नातिनी आभाले खुब गर्वको साथ जवाफ दिएकी थिइन्।
त्यो अपरिचित उनको नजिक पुगेर, उनका कोमल गालाहरूलाई आफ्ना कुरूप नजरहरूले सेक्दै बन्धनहीन औँलाहरूले स्पर्श गर्न खोज्छ।
‘यहाँ आऊ न, तिमीसँग गफ गर्न मन लाग्यो। अनि तिमी कहाँ बस्छौ? घर कहाँ हो तिम्रो?’
त्यस अपरिचितको छुवाई सबैका सामुन्ने भएर पनि निकै अलग र असहज थियो। कसैका आँखाले देखी नभ्याएका ती सरल प्रश्न पछिको गलत मन्तव्य थियो उसको।
तर आभाले सजिलै आफूलाई भएको असहजताको महसुस गरेकी थिई। त्यसैले एकछिन पनि अबेर नगरी उसले प्रतिकार गरिहाल्छे। सायद त्यो घटना आभाको जीवनकै पहिलो प्रतिकार थियो जहाँ उनी निकै खरो उत्रिइन्।
त्यस अपरिचितका हातहरू आफ्ना गालाबाट हटाउँदै रुखो जवाफसहित आभाले आफ्ना असन्तुष्टि पोखेकी थिइन्, ‘मेरो घर जहाँ भए नि तपाईंलाई किन भनौँ? अहँ! भन्दिनँ।’
अनि उसको त्यो प्रतिकारलाई सबैले अहंकारको रूप दिन्छन्।
‘हेर त बोलेकी!’ छिमेकी काकीले तुरुन्तै आभालाई दोषी ठहर्याउँदै आफ्ना तर्कहरू थप्दै भन्नुभयो, ‘कस्ती घमण्डी केटी रहिछे! आफूभन्दा ठुलासँग कसरी बोल्ने भनेर तेरा हजुरबा हजुरआमाले सिकाएका छैनन् कि के हो?’
हुन त ठिकै हो। ती बूढाबूढीले मात्रै पनि अब के पो सिकाउन्!
‘तेरा आमाबुवालाई त काम गर्दै, पैसा कमाउँदै फुर्सद छैन। छोराछोरीलाई राम्रो संस्कार दिने, ठुलाबडालाई कसरी इज्जत गर्ने भन्ने सम्म सिकाउन नभ्याउने कस्ता आमाबुवा होलान्?’
व्रतबन्धमा आएकी आभा अब केही नबोली रिसले मुरमुरिँदै आफ्नो घरतिर कुद्छे।
यस्तै यस्तै घटनाहरू पटक-पटक घटिरहन्छ तर आभा आफ्नो रक्षा आफै गरिरहन्छे, पूर्ण रुखो रवाफको साथ। अनि समाजले पनि बिस्तारै आभालाई एउटी घमण्डी केटीको उपमा दिँदै जान्छ। कलिलो उमेरदेखि नै आत्मरक्षाका लागी संघर्ष गरिरहनु पर्दा, उसले रुखो बनेर मात्रै आफूले जित्न सक्छु भन्ने निष्कर्ष निकालिसकेकी थिइन्।
आभा आफ्नी हजुरबा, हजुरआमासँग बस्थी। उनी जन्मिएसँगै उनका आमाबुवाले एक अर्कालाई डिभोर्स दिएका थिए। आभा ६ महिना नपुग्दै उनका बुवाले दोस्रो बिहे गरेका थिए। सुत्केरी व्यथासँगै उनकी आमाले अब आफ्नो श्रीमानसँग बिछोडको वेदना पनि सहनु परेको थियो।
उफ्! त्यी आमाले कुन हिम्मतले कसरी स्विकारिन् होला सबै एकसाथ?
५ वर्षसम्म आभालाई मातृत्वको आभास भयो। त्यसपछि भने उनकी आमा पनि छोरीको सुन्दर भविष्यलाई आफ्नो आँखाभरि बोकेर पैसा कमाउने हुडमा विदेश पलायन भइन्। उनी सानैदेखि हजुरबा, हजुरआमासँगै रमाउन थाली।
कहिलेकाहीँ हजुरमाले बडो मायाले सुमसुम्याउँदै आभालाई सम्झाउनु हुन्थ्यो, ‘हेर् छोरी, तँलाई सबैले रिसाहा, घमण्डी भन्छन्। अलिक ज्ञानी बन् न है। हाम्री प्यारी छोरीलाई सबैले असल अनि ज्ञानी भनेको सुन्न मन छ हामीलाई पनि।’
आभाले त्यस बखत केही नसोची हजुरमालाई अङ्गालेर ‘हवस् आमा, तपाईं जस्तो चाहनु हुन्छ म त्यसतै बन्ने छु’ भन्दै हजुरमालाई ढुक्क हुन लगाई।
तर उनलाई आफू कहिल्यै सुध्रिनु पर्छ भन्ने नै लागेन। मलाई गलत लागेको कुरा मैले भन्न किन हिचकिचाउनु र? फेरि मेरो केही गल्ती नभएपछि बोल्न किन डराउनु? आभाले आफैसँग गर्ने प्रश्नहरू यस्ता हुने गर्थे।
स्कुले पढाइ पूरा गरेर आभा कलेजको यात्रामा लागिसकेकी थिइन्। कलेज घरभन्दा टाढा थियो, आउँदा जाँदा सार्वजनिक बसमा यात्रा गर्नुपर्ने उनको बाध्यता नै थियो।
बसमा यात्रा गर्दा महिलाले अनावश्यक भोग्नुपर्ने पीडाबाट वञ्चित थिइन आभा पनि। तर उनले अरू महिलाको तुलनामा निकै कम हिंसा भोग्नुको प्रमुख कारण भनेकै उनको रुखो प्रतिकार नै थियो।
एक चोटि बसमा यात्रा गर्ने क्रममा बसको बिचको सिटमा बसिरहेको एउटा अर्धबैँसेले छेउमै उभिएकी आभालाई नपत्याउने पाराले पछाडिबाट छुन खोज्यो। आभाले तुरुन्तै उसको हात होसियारीपूर्वक समातेर उसलाई त्यसै बखत सबैका सामुन्ने थप्पड समेत लगाई।
त्यो अर्धबैँसे लाजले रातोपिरो भयो। केही नलागेपछि अन्तिममा त्यो व्यक्तिले सबैका सामुन्ने आभासँग माफी मागेरै कुरा टुंगियो। बसभरिका यात्रु सबै प्रत्यक्षदर्शी थिए। सबैले आआफ्नै ढंगले अड्कल काटे।
एक जमात उनको पक्षमा वकालत गर्दा ‘ठिक गरिन्’ भन्दै थियो। तर अर्कातिर एक हुल चाहिँ, ‘कस्ती केटी रहिछे? गल्तीले छोइयो होला, कहिलेकाहीँ त भइहाल्छ नि। किन त्यसरी आफूभन्दा ठुलाको बेइज्जत गर्नु? एक गल्ती त भगवानले पनि माफ गर्छन्’ भन्दै आआफ्नै तर्कहरू राख्दै थियो।
दिनदिनै आभाको यस्तो व्यवहार देख्नेहरूलाई झन् कठोर लाग्दै गयो- कस्ती केटी रहिछे? सहनशीलता भन्ने त फिटिक्कै नभएको यस्ती केटीले कसरी घर गरी खान्छे? कसले बिहे गर्ला यस्ती घमण्डीसँग?
सबैको नजरमा आभा एक निडर तर निकै रुखो प्रवृत्तिको पात्र बनेकी थिइन्। समाजले पनि उनको नामभन्दा अगाडि उनको विशेषता जोडेर ‘घमण्डी आभा’को संज्ञा दिँदै नामकरण गरिदियो। समाजले कहिल्यै नियाल्न सकेन त्यी घमण्डी आभाका रुखो व्यवहारपछिका मर्महरू।
त्यस्तो ‘घमण्डी’ देखिने आभाहरूको उदय पनि आखिर समाजबाटै त हुने हो। उनले देखाउने व्यवहार पनि उनले भोग्नुपरेका ती चुकभन्दा अमिला यादहरूको परिणाम न थियो। अनि यस्ता कुराको प्रभाव उनको दैनिकीमा पनि दिनदिनै देखिन थाल्यो।
उनका थोरै साथीहरू भए। केटाहरूबिच पनि उनलाई हेर्ने नजर निकै फरक थियो। प्रायः केटाहरूबिच कुरा हुँदा आभालाई फरक धारले चित्रण गरिन्थ्यो- ‘कस्ती निहुँ खोज्छे यार त्यो केटी त। त्योसँग त टाढै बस्नु पर्छ। जे कुरामा पनि आफ्नै तर्कहरू माथि राख्छे। केटीहरू यस्तो बढ्ता भएको त राम्रो हुँदैन।’
अनि यस्तै यस्तै थुप्रै अडकलहरू काटिन्थ्यो, उनले यस विषयमा सबै हेक्का पाएकै हुन्थिन्। यद्यपि आफू भित्रको आफूलाई कसैको अघि पस्किन नपाएकोमा ऊ भित्रभित्रै गुम्सिँदै थिइन्।
यथार्थ बुझ्ने, सत्य खोज्ने प्रयास गर्नेहरूभन्दा पनि हतारमै हुन्छन्, सबै आ-आफ्नो धारणा लेख्न। त्यसैको उपज बनिसकेकी छे आभा, घमण्डी आभा।
उनको जीवन एक हिसाबले निकै सहज थियो। आफ्नो सुख दुःखको चाबी उनले कसैलाई सुम्पिएकी थिइन। उनी दिनदिनै उमेरले पनि परिपक्व हुँदै गएकी थिइन्। उनका रहरहरूले पनि अब छुट्टै संसारको कल्पना गर्न थालेको थियो।
अनि नवराज पराजुलीले आफ्ना कविताहरूमा भनेजस्तै ‘मलाई कसैले देखोस्, नदेखोस्! देख्नु पर्नेले देख्दै छ।’ त्यसरी नै आभाको जीवनका हरेक घटनाहरूमा पनि आशिषको नजर परेकै हुन्थ्यो। कसैले देख्न र बुझ्न नसकेका वा बुझ्नै नचाहेका आभाको जीवनका सजिला देखिने जटिल खुड्किलाहरू आशिष्को नजरले फेला पारेकै हुन्थ्यो।
आशिष र आभाको पहिलो भेट बसमा भएको थियो। जहाँ आभाले आफूमाथि भएको दुर्व्यवहारको विरुद्ध रुखो प्रतिकार गरेकी थिइन्। त्यस घटनाका प्रत्यक्षदर्शी मध्ये एक थिए आशिष पनि। पछि उसैले यो विषयमा दोषीलाई क्षमा याचना गर्न लगाएर टुंगो लगाए।
आशिष उमेरले पनि आभाभन्दा ठुला थिए अनि सोचले पनि परिपक्व।
‘हिंसा, अन्याय सहनुभन्दा त्यसको प्रतिकार गर्नु सधैँ उत्तम हुन्छ, चाहे त्यो प्रतिकार गर्ने शैली अलिक फरक किन नहोस्। त्यसैले तिमी कहीँ पनि गलत छैनौ,’ आशिषका यस्तै हरेक शब्दहरूले आभामा एक ऊर्जा थपिदिएकै हुन्थ्यो।
उनको चाहना कसैलाई दुःख दिने थिएन यद्यपि महिलाले सानातिना कुरा त सहनै पर्छ, कहिल्यै रुखो बन्नु हुँदैन भन्ने सोचले ग्रसित समाजका लागि उनी सधैँ अप्रिय बन्दै गइन्।
आशिष, एक विवेकी युवाको प्रतिनिधित्व गर्ने नैतिक तत्त्वले भरिपूर्ण थिए। कुनै पनि विषयमा गम्भीरतापूर्वक अध्ययन गर्नु उनको विशेषता नै थियो। आभाको विषयमा पनि उनको रुचि उहीँ थियो।
‘हिंसा सहनु भनेको पनि हिंसालाई बढवा दिनु हो, चाहे त्यो हिंसा जति नै साना किन नहोस् हिंस्रकलाई फेरि अर्को हिंसा गर्न पाउने छुट दिए बराबर हो। त्यसैले जसरी सक्छौ त्यसरी नै विरोध गर’ भन्दै आशिष हरपल उसको साथै उभिने गर्थ्यो।
साँच्चै कानुनले महिलालाई निकै अब्बल बनाइदिएको छ।आफूमाथि हुने अन्याय र हिंसाको विरुद्ध लड्नु पर्छ, नत्र अन्याय सहने ‘तिमी’ पनि अपराधी नै हुनेछौ। यस्तै यावत कुराहरू कानुनले चिच्याउँदै भनिरहेको हुन्छ। तर वास्तविक कार्यान्वयन भने शून्य बराबर छ।
‘बिस्तारै बोल।
कम बोल।
नरम बोल।
आफू बचेर हिँडे त भइहाल्छ नि किन अरूलाई दोष लगाउनु?
किन बेइज्जतीको सिकार बन्नु, अलिअलि त सहनै पर्छ नि अनि बल्ल तिमी असल ज्ञानी चरित्रकी धनी हुनेछौ।’
असल नारीको चरित्र चित्रण गर्न, यस्तै मापदण्डहरू बनिँदै गए।
संविधानमा उल्लेखित त्यी महिला हक र अधिकार, केवल संविधानका धारा र उपधारामै सीमित छन्। महिलाहरू अघि बढुन्, राजनीतिक, सामाजिक, आर्थिक हरेक क्षेत्रमा आफ्नो सक्रिय सहभागिता बढाउन तर किन यो सहभागिता फितलो छ? किन सोचे जसरी महिलाहरू अगाडि आउन नसकेका होलान्?
के साँच्चै क्षमताकै अभाव भएर हो?
लैंगिक हिंसा विरुद्धको कानुन बनेको छ तर मानसिकता बन्न सकेको छैन, समाज बन्न सकेको छैन, संस्कृति बन्न सकेको छैन। त्यसो त महिला स्वयम् पनि कतिपय अवस्थामा नैतिकता, आत्मसम्मान र स्वाभिमानको विषयमा सचेत हुनु आवश्यक देखिन्छ।
महिलाहरूको असली अस्तित्व त चङ्गा जस्तै हुन थालेको छ। जसलाई उड्ने अधिकार त दिइन्छ तर घरपरिवार, समाज र देशकै विज्ञहरूले लट्टाई पक्डेर बसिदिन्छन्। जब आफ्नो चेतना र विवेकले अझ माथि उड्न खोज्छन् अनि त्यही बेला तलबाट धागो बेर्न थाल्छन्।
केही त चरा भएरै पनि पिँजडामा कैद छन्। पिँजडामा कैद चराहरूका त्यी पखेटाको के काम?
क्षमता भएर पनि उड्न नसक्नु पिँजडाभित्रको चराको दुर्भाग्य हो। अनि त्यो क्षमतावान् चरालाई पिँजडामा बन्द गरेर राखिदिने हामी अपराधी हौँ। आफ्नो त्याग, समर्पण, स्नेह देखाउने नारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ। नारीले आफ्नो वास्तविक पहिचान कायम गर्न सक्नुपर्दछ। प्रतिकार गर्न सक्नु पर्छ। आफ्नो आत्मरक्षाको जिम्मेवारी आफैले बहन गर्न पनि सक्नु पर्छ।
अबका महिलाहरूले पनि इतिहासका योद्धामा गनिने नाम ‘योगमाया न्यौपाने’ को प्रतिनिधित्व गर्न सक्नु पर्छ।। तत्कालीन समयमा ५ वर्षको उमेरमा विवाह भएकी योगमाया ९ वर्षको उमेरमा विधवा हुन पुगेकी थिइन्। शताब्दी अगाडिको तत्कालीन समाजमा परिवर्तनको पक्षमा आवाज उठाएर घर र माइती दुवै तिरबाट अवहेलना सहनु परेको थियो योगमायाले।
उनको लागि त्यो एक निमेष पनि कति गाह्रो थियो होला? हामी त केवल कल्पना मात्रै गर्न सक्छौ। यस्तो समाजमा पनि आफू माथि नै चुनौती दिँदै १७ वर्षको उमेरमा उनले विधवा बिहे गर्ने आँट गरिन् जुन नेपाली समाजमा अझै पनि स्थापित हुन सकेको छैन।
पछि उनले सती प्रथा, धनी गरिबको नाममा हुने विभेद, जातभातको नाममा हुने साना ठुला विरुद्धको अत्याचार र राणा शासन विरुद्ध विद्रोह गरेकी थिइन्।
के हुन्थ्यो होला यदि समाजले निर्माण गरेको त्यहीँ ‘असल नारीको चरित्र’ भित्र योगमायाले आफूलाई राखेकी भए? अनि आधुनिक समाजमा आभा जस्ता हजारौँले सहनशीलताको नाममा नारीमाथि हुने अन्याय र अत्याचार खुसी खुसी सहिरहेको भए?