असारको त्यो बिहान। चिया पसलको एउटा खाली कुर्सी र संविधानको एउटा अधुरो सपना। जीवनको अमूल्य गहना मित्रता त्यो अनमोल सम्बन्ध हो, जसले जीवनलाई रङ्गिन बनाउँछ र कठिनाइका समयमा साथ दिन्छ। कहिले खुसीका दिनमा हाँसो बाँड्ने साथी, कहिले दुखका घडीमा काँध थाप्ने विश्वासिलो हात हुन्छ मित्रता।
जीवनको यात्रा लामो र कहिलेकाहीँ कठिन भए पनि एउटा साँचो मित्रले त्यो यात्रा सजिलो र सुखद बनाइदिन्छ। कहिले कसैसँग भेट नहुँदा पनि मनले सम्झने, बोल्दा हृदय भर्ने त्यो सम्बन्धलाई नै मित्रता भन्छन्। आजको व्यस्त र डिजिटल युगमा पनि साँचो मित्रता अझै पनि सबैभन्दा ठुलो धन हो, जसले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ।
काठमाडौँ असारको पानीले ढाकिएको थियो। न खुलेको आकाश थियो, न पूरै ढाकिएको—मानौँ देशकै भविष्य जस्तो, अधुरो, अनिश्चित र बिथोलिएको। सडकहरू हिलोले भरिएका थिए र मान्छेहरू छाता समाएर गन्तव्यतिर हतारिन्थे। तर त्यो हतारमा पनि एक किसिमको निराशा मिसिएको थियो। गाडीहरूको आवाज, पानीको छपक्क, सहरको गन्ध सब थकित जस्तो लाग्थ्यो।
तर म? म कतै जान हतारिएको थिइनँ। म त्यही पुरानो चिया पसलमा थिएँ जहाँ कहिल्यै बिल नलाग्ने बहसहरू हुन्थे। त्यो कुनामा बसेर हामी 'देश बनाउने योजना' बनाउँथ्यौँ— हामी जस्ता सपना देख्ने युवाहरू। त्यो काठको मेच जसमा हामीले देशको नयाँ संविधान र नयाँ भविष्य कोर्थ्यौँ, आज एक्लो थियो। ठिक मेरो मन जस्तै।
हातमा चिया थियो तर त्यो चिया तातो थिएन। सपनाजस्तै चिसो भइसकेको थियो। सामुन्ने एउटा खाली कुर्सी हेरिरहेँ जहाँ ऊ कहिल्यै ढिला नगरी आउँथ्यो र त्यही क्षण ऊ आयो। ऊ सम्हालिएर बस्यो र सिधै भन्यो— ‘अब त म पनि विदेश जान्छु, सरोज। थाकेँ म, यहाँ केही छैन।’
त्यो वाक्य केवल एउटा निर्णय थिएन, त्यो हाम्रो समूहको अन्तिम सपना टुक्रिएको क्षण थियो। हामी छ जना थियौँ— कलेजको पहिलो दिनदेखि लोक सेवा तयारीसम्म, संविधान क्लासदेखि चिया पसलसम्म। हामी देशको परिभाषा लेख्थ्यौँ— किताबमा होइन, कलेजको भित्तामा। हामी भन्थ्यौँ— ‘नेपाल छोड्नेहरू गधा हुन्, भाग्नेलाई होइन, बनाउनेलाई साथ देऊ।’
तर आज? आज पाँच जना उडिसकेका छन्। बाँकी ऊ पनि पासपोर्ट लिएर आएको छ।
सपना एउटै थियो, गन्तव्य फरक। पहिलो साथी अस्ट्रेलिया गयो— एक दिन फोटो पठायो, ‘सिड्नी ओपेरा हाउस’ अगाडि मुस्काएको। दोस्रो क्यानडामा हिउँ परेको भिडियो पठाउँछ। तेस्रो बेलायत— भर्खरै लेखेको ‘ड्युटी १२ घण्टा हुन्छ तर पैसा राम्रै छ।’ चौथो फिनल्यान्डमा बच्चा समातेर फोटो खिचेको।
र म? म अझै संविधान पढिरहेछु। अझै सपना बाँचिरहेछु। अझै पनि त्यो चिया पसलको कुना कुर्सीमा बसी लेखिरहेछु— समाजवाद, समानता, न्याय। त्यो दिन जब उसले अन्तिम चोटि भन्यो— ‘सरोज, व्यवहारिक बन यार! यत्रो वर्ष केको लागि?’
मेरो मुखबाट शब्द निस्किएनन्। उसको आँखाभित्र म त्यो मरेको सपना देख्न सक्थेँ जुन कहिल्यै जन्मन पाएको थिएन। अर्को दिन म उसलाई एयरपोर्ट लैजाँदै थिएँ। बाटोभरि मौनता थियो। अन्तिम पटक मैले सोधेँ— ‘पछुताइस् भने फर्किन्छस्?’
उसले गहिरो आँखाले मलाई हेर्यो र भन्यो— ‘फर्कनका लागि पहिले के बन्नुपर्छ। यो देशमा त के बन्ने?’
त्यसपछिको हावा झनै चिसो थियो।
म सिधै चिया पसल फर्केँ। त्यो पसलमा हामीले बहस गरेका थियौँ— ‘फेडरलिजम के हो? अधिकार संरचना कस्तो?’ आज ती कुर्सीहरू खाली छन्। अघिसम्म जहाँ ६ कप अड्किन्थे, आज एक कप मात्र तातिरहेको छ।
पसले दाइले केही नबोली ल्याइदिन्छन्— उनीलाई थाहा छ, जानेहरू फर्किँदैनन्। झ्यालबाट विमान उडिरहेको देखेँ। त्यसको रातो–निलो टेइलमा मेरा पाँचै जना साथीहरू उडिरहेका थिए जस्तो लाग्यो— उड्नेहरू क्यानडातिर, बेलायततिर, अमेरिका र अस्ट्रेलियातिर। म सोच्दै थिएँ— कहिलेकाहीँ देश छाड्नेहरूलाई दोष दिन मन लाग्दैन। किनकि जब देशले तिमीलाई मान्दैन, रोजगारी दिन सक्दैन, जब तिमीलाई योग्य भएर पनि तुच्छ बनाइन्छ, तब देशमै बस्ने निर्णय नै आत्मघाती लाग्न थाल्छ।
तर म अझै पनि त्यही 'पागलपन' बोकेर बाँचेको छु। देश छाड्नेहरू बाँच्न बाध्य छन्, देशमा बाँकी हुनेहरू सपना बाँच्न बाध्य छन्। रातभर पुराना फोटोहरू हेर्छु। फेवा तालमा खिचेको फोटो। फेयरवेलको ग्रुप फोटो। त्यो संविधान दिवसको पोस्टर जहाँ हामीले लेखेका थियौँ, ‘यो संविधान हाम्रो हातमा!’
फोटो हेर्दा मनमा एउटै प्रश्न गुन्जिन्छ— के हामी गलत थियौँ?
कोठामा फर्किएपछि किताब खोल्छु— नेपालको संविधान। त्यसमा लेखिएको छ- समान अवसर, समान न्याय। तर त्यो संविधान पढ्दा कहिलेकाहीँ मन रुन्छ। किनकि त्यो संविधान हामीजस्ता बाँकीहरूका लागि होइन जस्तो लाग्छ।
सपना थियो— गरिब गाउँमा कानुनी सहायता पुर्याउने।
सपना थियो— संविधान बुझ्ने जनतालाई बनाउने।
सपना थियो—नेपालको नाम बोल्दा गर्व हुने बनाउने।
सपना अझै बाँकी छ। तर साथीहरू छैनन्।
अझै म चिया पसल जान्छु। उही कुना कुर्सीमा बस्छु। कागजमा लेख्छु— समाजवाद, समानता, समृद्धि। तर लेख्दै गर्दा बुझिन्छ, यी शब्द सुनिदिने कोही छैन। मन भन्छ— गए भइहाल्यो नि।
पढाइ सकेर, इन्जिनियर भएपछि अमेरिका जान्थेँ। कमाइन्थ्यो। बाआमालाई राख्न पाइन्थ्यो। जीवन सरल हुन्थ्यो। तर मनकै अर्को कुनाबाट आवाज आउँछ— ‘त्यसपछि बाँकी को हुन्थ्यो?’ सायद त्यही प्रश्नले मलाई रोकिरहेको छ।
अब देशमा बाँकी केवल म छु— सपना, संविधान, चिया र एक्लोपन। सायद म बाँकी छु किनकि म पर्खिरहेको छु— कुनै दिन, ती उडेका साथीहरू फर्कुन्, त्यही चिया पसलमा फेरि हामी बसौँ।
र म भन्नेछु— ‘हामीले बनायौँ यो देश।’
देश छाड्नेहरूको यात्रा सजिलो हुँदैन, जस्तै देशमै बाँकी रहनेहरूको लडाइँ पनि सहज हुँदैन। जानेहरू बाँचेको खोजीमा छन्, हामी बाँकीहरू बाँच्नुपर्ने सपना बचाउन लडिरहेका छौँ। त्यो सपना सस्तो छैन— न भावनामा, न संघर्षमा। तर त्यो सपना नै हो, जसले हामीलाई अझै यहाँ अडाइरहेको छ।
देश बनाउने कुरा किताबमा लेख्न सजिलो होला तर त्यो अक्षरलाई भिजाउँदै बाँच्नु भनेको एक किसिमको बलिदान हो। कहिलेकाहीँ त्यो यात्रा अर्थहीन लाग्छ, एक्लो लाग्छ तर त्यही भीडमा केही यस्ता ‘पागल’हरू चाहिन्छ जो आशा नमरुन्जेल पर्खन सक्छन्, चिया पसलको पुरानो कुर्सीमा बसिरहन्छन् र संविधानको धुलो पनि आँखा बन्द गरेर पढिरहन्छन्। किनभने साँचो परिवर्तन कहिल्यै भीडबाट होइन, थोरै तर अडिग मनहरूबाट सुरु हुन्छ। जब फेरि त्यो कुना भरिन्छ, हामी दृढ भएर भन्न सक्छौँ—
‘देश हामीले बनायौँ, त्यो अधुरो सपना जोगाएर।’