यो अर्थहीन भागदौडबाट
केही पर-पर पुगेर
मनको बिसौनी
शान्त चौतारी
खोज्छ जीवन
चाहनाको जालोबाट निस्किएर
केही टाढा पर क्षितिजमा
घर बसाऊँ भन्छ जीवन।
को आफ्नो को पराई सबै सम्बन्ध क्षणिक
मात्र केवल भ्रम
यो मोहको जन्जालबाट
केही टाढा भएर जोगाऊँ भन्छ जीवन
यी अनगिन्ती यात्राहरू अनगिन्ती बिसौनीहरू
यो थकान यो तनाव पैतालाभरि बिझेका
असङ्ख्य काँडाहरू, यो पीडा-वेदना
एक एक गरी निकाल्न केही क्षणलाई भय पनि
संगाल भन्छ- जीवन जीवन न हो!
यो सासको डोरीको मापन आजसम्म कसले गरेको छ र
कहाँ कसरी चुँडिने हो
भरोसा कहाँ पो छ र?
तर पनि
यही डोरी सहारा लिई
जीवनको अन्तिम यात्रासम्म
सकुशल पुग्नै पर्छ भन्छ जीवन।
यो सम्बन्धको बजारमा मोलमोलाइमा जुट्ने
र फुट्ने सम्बन्धहरूबाट सुरक्षित रहन
केही छिन्नभिन्न सपनाहरू
केही सुरक्षित सपनाहरू
केही देख्न बाँकी सपनाहरू
जोगाएरै राख्नु छ
केही आशाहरू, केही भरोसाहरू जीवितै राख्नु छ
केही भावनाहरू, केही विश्वासहरू
समेटेर मनभरि
मनकै सन्दुकमा लुकाएरै राख्नु छ
यात्रा त आखिर
अन्तिम बिन्दुसम्म अथक अविराम गर्नै पर्ने छ
यो भ्रमको पर्दा च्यातेर
एक पटक आफैलाई नियाल भन्छ जीवन।
यी सारा भ्रमको पर्दाबाट
जीवनकै रङ्गमञ्चमा फर्की आऊ भन्छ जीवन
आकार भित्रको साक्षभाव खोजी ल्याऊ भन्छ जीवन
बुझ्दै छु आज
भ्रमको पट्टी बाँधेर आँखामा
अँध्यारोलाई उज्यालो
उज्यालोलाई अँध्यारो
देख्ने भ्रम
भ्रमको झ्यालखानाका बन्दी
मेरा भावनाहरू
मेरा चाहनाहरूमा घोत्ली बस्छ जीवन
आज आफैसँग आफै
बोल्छ जीवन
म सत्यलाई तिरस्कार
गरूँ कसरी?